
काठमाडौं । लामो समयको विवादपछि प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको घोराही सिमेन्टप्रति लगानीकर्ताको विश्वास गुमेको छ । पहिलो कारोबार दिन नै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६ रुपैयाँ ५० पैसाले घटेको छ ।
आईपीओ सूचीकृत भएको जुनसुकै कम्पनीको सेयर मूल्य केही दिन लगातार बढ्ने गरेको छ । तर, यो कम्पनीको सेयर मूल्य पहिलो दिन नै ९.९९ प्रतिशतले घटेर कारोबार भएको हो । आइतबार यो कम्पनीको सेयर मूल्य सर्वाधिक घट्ने पहिलो नम्बरमा रह्यो ।
यसले आगामी दिनमा पनि लगानीकर्ता आत्तिएर सेयर बिक्री गर्नेतर्फ अग्रसर हुन सक्ने देखिएको छ । लगानीकर्ताले यसरी आत्तिएर बेच्दा आगामी दिनमा पनि यो कम्पनीको सेयर मूल्य अझै घट्न सक्छ ।
घोराहीले आईपीओ जारी गर्दा अंकित मूल्य १०० रुपैयाँमा प्रतिकित्ता ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेको थियो । यसरी कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गरेको हो ।
नेपाल स्टक एक्सचेन्जमा गत बिहीबार सूचीकृत भएको कम्पनीको आइतबार पहिलो कारोबार ५६५ रुपैयाँमा खुलेको थियो । ४३५ रुपैयाँमा आईपीओ खरिद गरेका लगानीकर्तालाई पहिलो कारोबारमै प्रतिकित्ता १३० रुपैयाँ फाइदा भएपछि बेच्नतर्फ लागेका हुन् ।
यस दिन यो कम्पनीको मूल्य प्रतिकित्ता ५८१ रुपैयाँ ४० पैसासम्म पुगेको थियो । तर, अन्तिममा बन्द हुँदा आजको कम मूल्य ५०९ रुपैयाँमै बन्द भएको छ ।
कम्पनीले सञ्चालकहरूकै लगानी भएको केयर रेटिङ नेपालबाट रेटिङ गराई आईपीओ निष्कासन गरेको थियो । बोर्डले पनि केयर रेटिङलाई समेत यो विषयमा स्पष्टीकरण सोधेको थियो । यसका साथै कम्पनीले आईपीओ बिक्री नहुने संकेत देखेपछि पैसा नै नभएका खाताबाट बढी कित्ता माग गरी सर्वसाधारण लगानीकर्तालाई आकर्षित गरेको थियो ।
जेठ ३२ देखि असार ४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । तर, धितोपत्र बोर्डले यो कम्पनीको आईपीओमा फर्जी आवेदन परेको भन्दै असार ४ गते नै निष्कासन रोक्न निर्देशन दिएको थियो । त्यसपछि अध्ययन गरी असार २० गते पुनः आवेदन खुला गर्न बोर्डले निर्देशन दिएको थियो ।
आसार २० को निर्णयमा बोर्डले कम्पनीको आईपीओमा लगानीकर्ता फस्ने भन्दै आवेदन फिर्ता लिन चाहनेलाई समय दिन निर्देशनसमेत दिएको थियो । कम्पनीले असार २२ देखि २४ गतेसम्म फिर्ता लिन र आवेदन दिन चाहनेहरूलाई समय दिएको थियो ।
धितोपत्र बोर्डले यस्तो कार्यमा संलग्नलाई छानबिन गर्न प्रहरीलाई अधिकार दिने भनेको थियो । तर, बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठलाई यो विषय कहाँ पुग्यो भनेर थाहा छैन । उनी भन्छन्, “यो मैले हेर्ने विषय हैन, शाखाले हेर्दै होला । हामीले चासो दिएर सोध्न पनि मिलेन ।”
महँगोमा निष्कासन गरेको आईपीओ एकैजनाले १० लाखसम्म माग गरेका थिए । यसरी १० लाखसम्म माग गर्नेको संख्या १२ जना थियो । डेढ महिना बितिसक्दा पनि यी १२ जनाको छानबिनको निष्कर्ष आएको छैन ।
कम्पनीको आईपीओ स्थानीय र कर्मचारीले नै किनेका थिएनन् । कर्मचारीले नै आईपीओ खरिद नगर्दा कम्पनीको ‘पर्फर्मेन्स’मा नै शंका उत्पन्न भएको छ । कम्पनीले कर्मचारीलाई भनेर तीन लाख ७७ हजार ३३१ कित्ता आईपीओ निष्कासन गरेकोमा १९ हजार ५३० कित्ताका लागि मात्र आवेदन परेको थियो । यो कर्मचारीलाई निष्कासन गरेको आईपीओको ५.१८ प्रतिशत मात्र हो ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । यो रेटिङले वित्तीय दायित्व बहन गर्ने सुरक्षा क्षमतामा मध्यम आधार भएको संकेत गर्ने बताइएको छ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि तीन लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सात लाख ५४ हजार ६६१ कित्ता, सामूहिक लगानी कोषका लागि तीन लाख ७७ हजार ३३१ कित्ता र कम्पनीका कर्मचारीहरूमा तीन लाख ७७ हजार ३३१ कित्ता बिक्री खुला गरेको थियो ।
तर, कर्मचारीलाई छुट्याइएको सबै कित्ता सेयरमा आवेदन परेन । बिक्री नभएको सेयरसमेत थप गरी कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वसाधारणमा जारी गरेको थियो ।
- कर्मचारी र स्थानीयले नै किनेनन् घोराही सिमेन्टको सेयर, कम्पनीको मूल्यांकनमै आशंका !
घोराही सिमेन्टको आईपीओ छलीमा एनआईसी बैंकको मिलोमतो, छानबिन गर्न धितोपत्र बोर्डको निष्कर्ष
घोराही सिमेन्टको आईपीओबारे बोर्डले गर्यो चार निर्णय, प्रहरीले छानबिन गर्ने