
काठमाडौं । भारतमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा होस्टेलमा रहेका ४९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मृत्यु हुने कुल संख्या कम्तीमा २९० पुगेको छ ।
अहमदावादबाट लन्डन जाँदै गरेको विमान दुर्घटना हुँदा चिकित्सकहरूको एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो ।
प्रहरीका अनुसार मृतक संख्यामा विमानमा सवार यात्रु र जमीनमा भएका अन्य व्यक्तिहरू समावेश रहेको सीएनएनले जनाएको छ ।
एयर इन्डियाका अनुसार उक्त एयर इन्डिया फ्लाइट न। १७१ मा सवार २४२ यात्रुमध्ये २४१ जनाको दुर्घटनामा मृत्यु भएको छ । एकजना ब्रिटिश नागरिकमात्र बच्न सफल भएको सीएनएन ले जनाएको छ ।
बाँकी मृतक होस्टेल भवन र जमिनमा भएका अन्य व्यक्तिहरू हुन् । मृतकको संख्या अझ बढ्नसक्ने बताइएको छ ।
गुजरात राज्यको अहमदाबादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै उडान भर्ने क्रममा एयर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटना भएको थियो ।
टाटा समूहले मृतकका परिवारलाई एक करोड दिने
टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रतिव्यक्ति एक करोड रुपैयाँ दिने घोषणा गरेको छ । एयर इन्डिया टाटा समूहको कम्पनी हो ।
टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग सुनिश्चित गर्ने पनि बताएको छ ।
कम्पनीले टाटा सन्स र एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले एक्समा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, "एयर इन्डियाको उडान १७१ सँग सम्बन्धित भयानक घटनाबाट हामी दुःखी छौँ । यस क्षणमा हामीले महसुस गरिरहेको दुःख शब्दमा व्यक्त गर्न सकिँदैन ।"
"हाम्रा विचार र प्रार्थनाहरू आफ्ना प्रियजनहरू गुमाएका परिवारहरू र घाइते भएकाहरूसँग छन्," विज्ञप्तिमा भनिएको छ, "टाटा समूहले यस दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति प्रदान गर्नेछ । हामी घाइतेहरूको उपचारको खर्च बहन गर्नेछौँ र उनीहरूलाई आवश्यक सबै हेरचाह र सहयोग सुनिश्चित गर्नेछौँ । यसबाहेक, हामी बीजे मेडिकलको लागि होस्टेल निर्माणमा मद्दत गर्नेछौँ ।"
अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परी कम्तीमा २०४ जनाको मृत्यु भएको छ ।