
काठमाडौं । साहसिक पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले काठमाडौंमै ‘वन जंगल एडभेन्चर पार्क’ सञ्चालनमा आएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–३ मा सञ्चालनमा आएको उक्त पार्कमा नेपालमै पहिलोपटक फलामको ‘रोलर कोष्टर’ जडान गरिएको सञ्चालक एलिसा ढकालले जानकारी दिइन् ।
ढकालका अनुसार पार्कमा जीपलाइन, क्लाइमिङ वाल, हाइ रोप कोर्स, अब्सट्याकल गेम, जाइन्ट स्विङ, किड्स एडभेन्चर कोर्ससहितका दर्जन बढी साहसिक गतिविधि छन् । पार्कमा नेपाली मौलिक घर र गाउँघरको झल्को दिने गोठ तथा कृषकले प्रयोग गर्ने पुराना सामग्री पनि अवलोकन गर्न पाइने उनले बताइन् ।
लगभग ३० रोपनी क्षेत्रफलमा फैलिएको उक्त पार्कमा टेन्ट तथा घरमा बास बस्ने सुविधा उपलब्ध गराइएको छ । “पुराना पुस्ताले विस्तारै बिर्संदै गएका मौलिकता नयाँ पुस्तालाई देखाउने हाम्रो प्रयास हो,” ढकालले भनिन् ।
६ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको वनजंगल एडभेन्चर पार्कमा हाल ११ वटा टेन्ट र एक मौलिक नेपाली शैलीको घर सञ्चालनमा छन् । पार्कको सम्पूर्ण संरचना निजी जग्गामा निर्माण गरिएको हो ।
साहसिक खेलहरूका लागि पर्यटन विभागबाट अनुमति लिइएको र सहभागीको बिमा समेत गरिएको ढकालले जानकारी दिइन् ।
उनका अनुसार, भारतीय ‘अक्सो कन्सल्टेन्सी’को प्रविधि सहयोगमा निर्माण गरिएको पार्कको पूर्वाधार निर्माणमा करिब एक वर्ष समय लागेको हो । पार्क सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको चाप बढ्दो छ । विशेषगरी शुक्रबार र शनिबार विद्यार्थी, परिवार र संस्थागत समूह बढी आउने गरेको सञ्चालकको भनाइ छ ।
“हामीले समयअनुसार थप नयाँ खेलहरू ल्याउने योजना बनाएका छौँ,” ढकालले भनिन्, “अहिलेलाई काठमाडौंमै साहसिक पर्यटनको अनुभूति दिने उद्देश्य सफल हुने अपेक्षा गरेका छौँ ।”