site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घोराही सिमेन्टको आईपीओमा ‘चलखेल’, आवेदकको पैसा के हुन्छ ?

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको प्राथमिक सेयर (आईपीओ)मा दिएको आवेदनमा चलखेल भएको पाइएको छ । महँगोमा निष्कासन गरेको आईपीओ एकैजनाले १० लाखसम्म माग गरेका छन् । यसरी १० लाखसम्म माग गर्नेको संख्या १२ जनासम्म रहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) स्रोतले जानकारी दिएको छ ।

कम्पनीका अनुसार कम्पनीमा १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । तर, अहिलेसम्म आवेदन दिनेहरूबाट यतिधेरै रिजेक्ट हुने नगरेको बताइएको छ ।

पहिलो चरणमा स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र कर्मचारीले नै आईपीओमा न्यून आवेदन दिएका थिए । पहिलो चरणमा आईपीओ न्यून बिक्री भएपछि कम्पनीको आईपीओ सर्वसाधारणमा पनि न्यून बिक्री हुने सम्भावना थियो । तर, पैसा नभएका बैंक खाताहरूबाट एकैजनाले बढी कित्ता माग गरेपछि सर्वसाधारणले हौसिएर आवेदन दिएका थिए ।

सीडीएससी स्रोतका अनुसार सोमबार दिउँसो २ बजेसम्म एक करोड २० लाख कित्ता आईपीओ रिजेक्ट भएको छ । यसरी रिजेक्ट हुनेमा आईपीओ माग गरी उक्त आईपीओलाई आवश्यक पर्ने बैंकमा पैसा नहुने छन् ।

“बैंक खातामा पैसा दुई/चार हजार भएकोले पनि १० लाखसम्म माग गरेको पाइयो । यसरी पहिले कसैले पनि आवेदन दिएको पाइएको थिएन,” सीडीएससी स्रोतले भन्यो, “१० लाख कित्ता खरिद गर्न ४५ करोड ५० लाख रुपैयाँ आवश्यक पर्छ । यही शंका छ । आईपीओमा आवेदन दिएकाहरूको पहिले कहिले पनि यतिधेरै रिजेक्ट हुने गरेको थिएन ।”

सर्वसाधारणलाई लोभ्याउन कम्पनीले फर्जी आवेदन दिन लगाएको पनि हुनसक्ने आशंका देखिएको छ । धितोपत्र बोर्डले पनि आईपीओ निष्कासन प्रक्रिया बन्द गर्न निर्देशन दिएको छ । बोर्डले केयर रेटिङ नेपाललाई घोराहीको रेटिङ नियमविपरीत भए/नभएको जानकारी दिन जेठ ३० गते पत्राचार गरेको थियो । तर, उक्त पत्रको जवाफ नआएको पनि बोर्डले जनाएको छ ।

कम्पनीले ३२ गतेदेखि ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । निष्कासित आईपीओमा आवेदन बन्द हुने छिटो मिति (२०८० जेट ४ गते) बेलुका ४ः४४ सम्म पाँच लाख ६२ हजार ४३ जनाले दुई करोड २६ लाख १७ हजार ३७० कित्ता आईपीओ माग गरेका छन् । यो भनेको २.२७ गुणा बढी आवेदन हो । दिउँसो २ बजेसम्म आईपीओ दुई करोड ३३ लाखसम्म आवेदन दिएका थिए । तर, पछिल्लो तथ्यांक अध्यावधिक राख्दा सीडीएसीले आवेदन कित्ता कम देखाएको छ ।

कम्पनीले जेठ ३२ गतेदेखि प्रतिकित्ता ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।

बोर्ड भन्छ– अब अध्ययन हुन्छ

धितोपत्र बोर्डले अब घोराही सिमेन्टको आईपीओमा परेको आवेदनको छानबिन गर्ने बताइएको छ । निष्कासित कित्ताभन्दा बढी आवेदन परेको भए पनि कम्पनीको आईपीओमा आवेदन दिने मिति थप गरेपछि बोर्डले प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

बोर्डका अनुसार अब बोर्डको अनुगमन तथा सुपरीपेक्षण शाखाले जाँचबुझ गर्नेछ । यो विभागले रिपोर्ट तयार गरेपछि मात्र आईपीओमा प्रक्रिया अगाडि बढ्ने बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

“घोराहीको आईपीओमा केही चलखेल भएको जस्तो देखियो । हामीले क्रेडिट रेटिङ गर्ने कम्पनी केयर रेटिङ नेपाललाई पत्र पठाएका थियौं । जवाफ आएन,” उनले भने, “पछि कम्पनीले आवेदन दिने म्याद पनि थप गर्‍यो । त्यही भएर हामीले रोक्न निर्देशन दिएका हौँ । अब आवश्यक अध्ययन हुनेछ । रिपोर्ट तयार भएपछि मात्र काम अगाडि बढ्छ ।”

आवेदन दिएकाहरूको के हुन्छ ?

आजसम्म आवेदन दिएकाहरूको हकमा प्रक्रिया स्थगन भएको छ । के गर्ने भनेर अध्ययनपछि मात्र निर्णय हुने प्रवक्ता श्रेष्ठले बताए । “अहिलेलाई यत्तिकैमा स्थगन भयो । अब पछि के हुन्छ थाहा छैन,” उनले भने ।

फर्जी आवेदन परेको पाइएमा अध्ययनपछि बोर्डले आवेदन रद्द गर्न पनि सक्ने सीडीएससी स्रोत बताउँछ ।

आईपीओमा कर्मचारीले नै दिएका थिए कम आवेदन

कम्पनीले कर्मचारीलाई भनेर तीन लाख ७७ हजार ३३१ कित्ता आईपीओ निष्कासन गरेकोमा १९ हजार ५३० जनाले मात्र आवेदन दिएका थिए । यो कर्मचारीलाई निष्कासन गरेको आईपीओको ५.१८ प्रतिशत मात्र हो ।

कुनै पनि कार्यालयमा काम गर्ने कर्मचारीलाई आफ्नो कार्यालयको बारेमा थाहा हुन्छ । वास्तविक अवस्था थाहा भएर नै यो कम्पनीको आईपीओमा कर्मचारीले नै आवेदन नदिएको हुन सक्ने एक विश्लेषकको टिप्पणी छ ।

यसअघि, यो कम्पनीको आईपीओलाई बोर्डले प्रिमियममा स्वीकृति गर्न दिनु नै गलत भएको बताइएको छ । यसको विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नै स्पष्टीकरण दिनुपरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro