
काठमाडौं । इजरायलको राजधानी तेल अभिभस्थित नेपाली दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
दूतावासले आइतबार (असार १) एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थान आसपासमै रहन भनेको छ ।
“आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ,” दूतावासले भनेको छ ।
गएको बिहीबार राति इजरायलले इरानमा हवाई आक्रमण गरेको थियो । त्यसपछि यी दुई देश लगातार आक्रमण तथा प्रत्याक्रमणमा उत्रिएका छन् । तनाव बढ्दै जाँदा दुवै देशमा ठूलो जनधनको क्षति भएको छ ।
जारी युद्धमा इजरायलका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको नेपाली दूतावासले जनाएको छ ।
यो स्थितिमा इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका निम्ति लगातार अध्यावधिक निर्देशन जारी गरिएको पनि दूतावासले जनाएको छ ।
त्यहाँ शैक्षिक संघसंस्थासहित अत्यावश्यकबाहेकका कार्यालय बन्द रहने र सभा/भेला नगर्न समेत निर्देशन जारी गरिएको छ । दूतावासले स्थानीय सुरक्षा ‘प्रोटोकल’को पालना गर्न पनि आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, हाल इजरायलमा पाँच हजार ५०० र इरानमा १२ देखि १५ जनासम्म नेपाली नागरिक छन् ।
इजरायलमा कुनै अप्ठ्यारोमा परेमा तेल अभिभस्थित नेपाली दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ९७२५३५३६०७४८ र तृतीय सचिव सञ्जयकुमार शाहलाई ९७२५४५५८२०७७ मोबाइल नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।