site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
सिड्नीको ओपेरामा नेपाली कलाकारको सांगीतिक प्रस्तुति हुने

सिड्नी । विश्वप्रसिद्ध सिड्नी ओपेरा हाउसमा पहिलोपटक नेपाली कलाकारले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । प्रसिद्ध संगीतकार तथा गिटारवादक हरि महर्जनको नेतृत्वमा तयार पारिएको ‘कल्चर इन सिंक’ नामक सांगीतिक प्रस्तुति आगामी बिहीबार (जुन १९ तारिख) साँझ ओपेरा हाउसमा आयोजना हुँदै छ ।

संगम प्रोडक्सनको प्रस्तुतिमा हुने यस कन्सर्टले काठमाडौं उपत्यकाको जीवन्त नेवा संगीत र समसामयिक ज्याज संगीतको सिर्जनात्मक फ्युजन प्रस्तुत गर्नेछ । सो अवसरमा नेपाली लोकधुन, परम्परागत वाद्ययन्त्र, नृत्य र ज्याज संगीतको संयोजनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गरिने आयोजकको तयारी छ । ‘कल्चर इन सिंक’ कार्यक्रमले पूर्वीय सांस्कृतिक विरासत र पश्चिमी संगीत शैलीबीचको सशक्त समन्वय प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा नेपाली र अस्ट्रेलियाली संगीतकारहरूको संयुक्त प्रस्तुति रहनेछ । ‘कल्चर इन सिंक’ कार्यक्रम यसअघि सन् २०२५ को प्रारम्भमा काठमाडौंमा पहिलोपटक प्रस्तुत गरिएको थियो । दर्शक तथा समीक्षकबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पाएपछि यसले सिड्नी ओपेरा हाउसमा पाइला टेकेको हो ।

संगीत निर्देशक तथा महर्जनका पूर्वविद्यार्थी निर्वाण विष्टका अनुसार, संगम प्रोडक्सनद्वारा प्रस्तुत हुने ‘कल्चर इन सिंक’ ज्यास प्रेमीहरू मात्र नभई विश्व संगीत र सांस्कृतिक खोजमा रुचि राख्नेहरूका लागि पनि आकर्षक बन्ने अपेक्षा गरिएको छ । हाल उनी सिड्नीको एक युनिभर्सिटी कलेजमा संगीत अध्यापन गरिरहेका छन् ।

त्यस्तै, संगम प्रोडक्सनका सह–संस्थापक तथा कार्यकारी निर्देशक गजेन्द्र शाही भन्छन्, “यो कार्यक्रम संगीतको माध्यमबाट विभिन्न भूगोलमा रहेका नेपाली समुदाय, अन्तर्राष्ट्रिय संगीतप्रेमी र संस्कृतिमा रुचि राख्ने दर्शकहरूलाई एक ठाउँमा जोड्ने प्रयास हो ।”

कार्यक्रमकी होस्ट रुबी राजन श्रेष्ठले ओपेरा हाउसभित्र आयोजना हुन लागेको पहिलो कार्यक्रमको होस्ट बन्न पाएकोमा खुसी महसुस भएको बताइन् ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्