राष्ट्रिय धुन बजिरहँदासम्म प्रतिनिधि सभामा सांसदहरू शान्त देखिन्छन् । जब सभामुख देवराज घिमिरे उद्घोष गर्छन् - ‘माननीय सदस्यहरू ! प्रतिनिधि सभाको आजको बैठक प्रारम्भ हुन्छ ।’ सभामुखको बोली नसकिँदै विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू जर्याकजुरुक उठ्छन् ।
सभामुख घिमिरे सदस्यहरूलाई 'कुर्सीबाट किन त्यसरी उठ्नुभयो ?’ सोध्दैनन् । नसोध्नेमात्र होइन त्यसरी उठिरहेका सांसदहरूको लहरतिर आँखासमेत लगाएनन् सोमबारको बैठकमा त । उनले एकैचोटि अर्थमन्त्रीलाई बोल्न समय दिए ।
अर्थमन्त्री रोस्ट्रमतिर लागेका मात्रै के थिए राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सदनको ‘वेल’ घेर्न पुगे । एकातिर रोस्ट्रमबाट मन्त्रीको भाषण चलिरह्यो अर्कातिर मर्यादापालकको घेराबीच रास्वपा सांसदहरू नारा चर्काइरहे । बजेट अधिवेशन प्रारम्भ भएदेखि नै यो दृश्य निरन्तर छ ।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्त्रीको संलग्नताको आशंकासहित अनुसन्धान गर्न विशेष समितिको माग राख्दै संसद् अवरोध गरिरहेको छ । यही मागको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी भने बैठक बहिष्कारमा छ । तिनको मागका हकमा सर्वदलीय बैठक गराएर निष्कर्ष खोज्नेभन्दा सभामुख घिमिरे भने जबर्जस्ती संसद् चलाउँदै छन् दुनियाँ हसाउँदै ।
अझ हिजो बुधबारकै दृश्य हेर्ने हो भने त सभामुखले विरोधमा उत्रेका सांसदहरूलाई कम्तीमा आआफ्नो स्थानमा फर्किन आग्रह गरेको पनि देखिएन । त्यो पनि एकपटक होइन, पटकपटक । त्यसरी बारबार आग्रह गर्दा पनि नटेरेका भए सांसदहरूको मर्यादाको पनि प्रश्न उठ्थ्यो ।
आश्चर्य, सभामुखले ‘वेल’ घेर्न आएका सांसदहरूका अनुहार हेरेकोसमेत पनि देखिएन । कुनै आग्रह नगरी सभामुखले एकैचोटि अर्थमन्त्रीलाई विनियोजित विधेयक पेस गर्न आदेश दिए । बुधबार असन्तुष्ट दलका एक सांसदलाई बोल्न समयसम्म दिए । सँगै सत्तारुढ दलका प्रमुख सचेतकले नियमावलीका प्रावधानबारे सभामुखको ध्यानाकर्षण गराएपछि बैठक स्थगित हुन पुग्यो ।
विधि निर्माण स्थल संसद्मा अहिले विचित्रको दृश्य नियमित बन्दैछ । संसदीय अभ्यासमा ‘अपवाद’का क्रियाकलाप हाम्रो संसद्मा भने नियमित मञ्चित हुँदैछ । मुलुकलाई थितिमा राख्ने मूलभूत दायित्व बोकेको सदनभित्रको यो दृश्य ‘प्रत्यक्ष’ प्रसारणबाट विश्वभर पुगिरहेको छ ।
सामान्य नागरिकले सदनको कार्यवाही प्रत्यक्ष हेर्दैछन् । तिनले सदनको त्यस्तो दृश्य देखेपछि कस्तो मन बनाउलान् ? सार्वभौम संसद्प्रति कस्तो धारणा बनाउलान् ? संसद् र त्यसका नेतृत्वकर्ता पदाधिकारीहरू भने यसमा घोत्लिएको पटक्कै पाइएन ।
संसदीय पद्धति, मूल्यमान्यता, आदर्श, परम्पराको पालना गर्ने हो भने एक जनामात्र सांसदले उभिए वा आपत्ति जनाए पनि पहिला उनका कुरा सुन्नुपर्छ । अझ कुनै सांसद ‘वेल’मा पुगे त सदन चलाउनै मिल्दैन । प्रतिनिधि सभा नियमावलीमै सदनमा पालना गर्नुपर्ने प्रावधानहरूको लामै फेहरिस्त छ ।
नियमावलीको मूल आशय सभामुखको आसनको अवहेलना गर्न पाइँदैन भन्ने हो । कतिसम्म भने सभामुखको आसनतर्फ पिठ्यु फर्काएर बस्न र उभिनसमेत नमिल्ने व्यवस्था नियमावलीमा छ । तर, सभामुखलाई सांसदले मात्र होइन मर्यादापालकहरूले समेत दिनहुँ पिठ्युँ फर्काइरहनु परेको छ नाराबाजीमा उत्रिएका सांसदलाई घेर्न ।
हुँदाहुँदा सभामुखकै अघिल्तिर कोही सांसदहरू पलेटी कसेर बसिरहेको देखिन्छ भने कोही नाराबाजीमा । अनि कुनै दिन प्रश्न नउठ्ला र सभामुख एवं सांसदहरू स्वयं आफैँले बनाएको नियमावली त मान्दैनन् भने तिनले बनाएको कानुन नागरिकले किन पालना गर्ने ?
सभामुखलाई सदनमा अभद्र व्यवहार गर्ने सदस्यहरूलाई व्यवहार नियन्त्रण चेतावनी दिन सक्नेदेखि सदनबाटै निष्कासन गर्नसक्ने अधिकार नियमावलीले नै दिएको छ । नियमावलीले अमर्यादित र भद्रगोल अवस्थामा सदन चलाउने कुनै परिकल्पना नै गरेको छैन । तर, त्यो प्रावधान नियमावलीमै सीमित छ । सदनको अभ्यास त दुनियाँले प्रत्यक्ष देखिरहेकै छन् ।
सार्वभौम संसद्लाई पेलेरै चलाउने उद्देश्य संसदीय आदर्श, मूल्यमान्यता र मर्यादाभित्र पर्दैन । सभामुख स्वयं नियमावलीको पालना गर्न असमर्थ देखिएपछि प्रश्नहरू त सोझिन्छन् । विद्रुप दृश्य प्रदर्शन गरी संसदीय पद्धतिलाई कता लैजान खोजिँदैछ ? कतै सभामुख सत्तारुढ दलको औजार त बनिरहेका छैनन् ? सभामुख देवराज घिमिरेप्रति प्रश्न निरन्तर उठिरहेको छ ।
कुनै दिन संसदीय इतिहासको समीक्षा हुँदा उनका नियत बद्नियतका धेरै पाटाहरू खोजिने छन् । विसं २०४८–२०५९ को संसदीय कालखण्डमा अपवादबाहेक संसद् अवरोध हुँदा कार्यवाही चलाएको उदाहरण छैन । विसं २०५५ साल मा तत्कालीन सभामुख रामचन्द्र पौडेलले नाराबाजीबीच जबर्जस्ती विधेयक पारित गराएपछि महाभियोग खेप्नुपरेको थियो ।
त्यस कालखण्डका सभामुख दमननाथ ढुंगाना र तारानाथ रानाभाटले भने त्यसरी पेलेर सदन चलाएनन् । सदनमा कुनै विषयमा चरम विवाद देखापर्यो भने सभामुखले निरन्तर संसद् परिसरमै सर्वदलीय बैठक गरेर निष्कर्ष खोज्ने चलन थियो ।
यस्तै, महासचिव लगाएर सूचना टाँस्दै बैठक स्थगित गर्ने चलन पनि थिएन । कुनै कारणले सदन स्थगित गर्नु परे सभामुखकै कुर्सीबाट घोषणा हुन्थ्यो अचेलजस्तो सूचना पाटीमा टाँसेर होइन । पछिल्लो कालखण्डका भने सभामुखहरू हुलदंगाबीच संसद् चलाउँदैमात्र छैनन् महत्त्वपूर्ण विधेयकहरूसमेत पारित गराउँदै छन् ।
त्यसरी संसदीय कार्यवाही चलाँदा संसदीय अभ्यासकै मर्यादा रहँदैन भन्ने ख्याल गरेको पाइँदैन । तिनले पार्टीका उच्च तहका नेताहरूलाई उपस्थित गराएर सर्वदलीय बैठकबाट निकास खोज्ने हिम्मत गरेको पनि देखिँदैन ।
सदनभित्रै भद्रगोल, नारावाजी र विरोधबीच संसद् बैठक चलाउनु कुनै पनि हिसाबले मर्यादित कर्म होइन । यसले संसदकै ओज र साखलाई क्षति गर्छ । यसरी अमर्यादित यात्रामा हिँडिरहनुभन्दा संसदीय अभ्यासका परम्परा, संविधान र प्रतिनिधि सभा नियमावलीकै प्रक्रिया अवलम्बन गर्न सक्नुपर्छ । अनिमात्र सदन र सभामुखको पनि गरिमा बढ्छ ।