site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
एनआरएनए अस्ट्रेलियामा १६ हजार सदस्य

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आवेदक संख्या १६ हजार २७ पुगेको छ । जसमध्ये केहीको सदस्यता स्वीकृत हुने चरणमा छ । यो संख्यामा कुल १५ सय ६८ जना आजीवन सदस्यमध्ये ५० प्रतिशत मात्रैले विवरण अद्यावधिक गरेको अवस्थामा एनआरएन अस्ट्रेलियाको कुल सदस्य संख्या १७ हजार ७५ पुग्नेछ । यसमा सदस्यता शुल्क तिरिसकेका तर कागजपत्र अपलोड गर्न छुटेकाहरू २६४ जना पनि जोडिएको छ । 

समग्रमा आईसीसीमा देखिएको विवादका कारण सदस्यता घट्ने आकलनलाई गलत सावित गर्दै एनआरएनए अष्ट्रेलियाले ऐतिहासिक रूपमा सदस्य संख्या पछिल्लो वर्षभन्दा बढी बनाउन सफल भएको छ । एनआरएनएका ठूला एनसीसीमा अष्ट्रेलियासँगै, जापान, अमेरिका, बेलायत पर्दछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एनआरएनए अस्ट्रेलियाका महासचिव सन्तोष कुँवरले एनआरएनए अस्ट्रेलियाले गर्दै आएका कामहरूलाई समुदायले नजिकबाट हेरिरहेको र सही मूल्यांकन गरेको अनुभव गरेको बताए । उनले आईसीसीमा रहेका विवादबीच सदस्य संख्या अपेक्षा गरेभन्दा उत्साहजनक भएको प्रतिक्रिया दिए । कुँवरले भने, “अस्ट्रेलियामा रहेका सबै नेपालीहरूलाई सम्पूर्ण एनआरएनए अष्ट्रेलियाको कार्यसमितिकै तर्फबाट धन्यवाद दिन चाहन्छु । आगामी दिनमा सबैलाई सँगै लैजानका लागि एकताबद्ध भएर अगाडि बढ्ने प्रयास गर्नेछौँ । अस्ट्रेलियामा १६ हजार प्लस रजिष्टर्ड मेम्बर्स भएको संस्था भन्नुको महत्त्व बेग्लै हुनेछ र यसमा गर्व गर्न लायक भएका छौँ, कुवरले भने । 

एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेलले  सदस्यता नवीकरण र आवेदन सुरुको दुई साता विस्तारै अघि बढे पनि पछिल्लो समय उत्साहप्रद रूपमा बढेकोमा खुसी व्यक्त गरे । यो सामजिक सद्भाव र एकताको सन्देश हो, उनले भने । 

एनआरएनए अस्ट्रेलियाले सदस्यता शुल्क बुझाइसकेका तर आवश्यक कागजात आइनसकेका व्यक्तिहरू र आजीवन सदस्यता लिएकाहरू तर हालसम्म अद्यावधिक नगरिएकाहरूलाई एक साताको समय दिने निर्णय गरेको छ । यसका लागि इमेलमार्फत सम्पर्क गरी नवीकरणका लागि पत्राचार गरिने न्युसाउथवेल्स राज्यका सचिव कल्याण खड्काले स्पष्ट पारे  । 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्