site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कर्मचारी र स्थानीयले नै किनेनन् घोराही सिमेन्टको सेयर, कम्पनीको मूल्यांकनमै आशंका !

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले आयोजना प्रभावित स्थानीय, कर्मचारी, म्युचुअल फण्ड र वैदेशिक रोजगारीमा गएकालाई निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ)मा न्यूनमात्रै आवेदन परेको छ । 

पछिल्लो समय सिमेन्टको व्यवसाय नै ओरालो लागेको बेला घोराहीले प्रस्तुत गरेको तथ्यांकमा शंका उब्जिएपछि निष्कासन गरेको आईपीओमा मागअनुसार आवेदन नपरेको देखिन्छ ।

यसको बलियो प्रमाण कम्पनीका कर्मचारीले नै आईपीओमा न्यून आवेदन दिएका हुन् ।  यो कम्पनीले कर्मचारीलाई भनेर तीन लाख ७७ हजार ३३१ कित्ता आईपीओ निष्कासन गरेकोमा १९ हजार ५३० जनाले मात्र आवेदन दिएका थिए । यो कर्मचारीलाई निष्कासन गरेको आईपीओको ५.१८ प्रतिशत मात्र हो ।

कुनै पनि कार्यालयमा काम गर्ने कर्मचारीलाई आफ्नो कार्यालयको बारेमा थाहा हुन्छ । तर, वास्तविक अवस्था थाहा भएर नै यो कम्पनीको आईपीओमा कर्मचारीले नै आवेदन नदिएको हुन सक्ने एक विश्लेषकको टिप्पणी छ ।

यसअघि यो कम्पनीको आईपीओलाई बोर्डले प्रिमियममा स्वीकृति गर्न दिनु नै गलत भएको बताइँदै आएको छ ।  यसको विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नै स्पष्टीकरण दिनुपरेको थियो ।

उनले ‘भ्यालुएसन’ गरेर ल्याएको कम्पनीको कागजात मात्र बोर्डले हेर्ने पनि भनेका थिए ।  कमजोर वित्तीय विवरण भएका कम्पनीलाई सर्वसाधारणले नै अस्वीकार गर्नुपर्ने उनको भनाइ थियो । यसअघिका आईपीओमा बढी माग गर्दै स्थानीय, कर्मचारी र वैदेशिक रोजगारीमा भएका नेपालीले आवेदन दिने गरेका थिए । 

तर, यो कम्पनीको पहिलोचरणमा निष्कासन गरेको आईपीओ ५५ प्रतिशत बिक्री भएको तथ्यांक छ । स्थानीयलाई कुल तीन लाख ९७ हजार १९० कित्ता छुट्याएकोमा ७७ हजार २९० कित्ताका लागि मात्र आवेदन दिएका थिए । 

यो स्थानीयलाई निष्कासन गरेकोमध्ये १९.४६ प्रतशत हो । त्यसैगरी वैदेशिक राजगारीमा गएकाहरूले निष्कासनमध्ये ८० प्रतिशतमा आवेदन दिएका छन् भने सामूहिक लगानी कोषहरूले ८७.१८ कित्ताका लागि आवेदन दिएको छ । 

आवेदन दिएको सेयर बाँडफाँड गरेर कम्पनीले आगामी ३२ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने सूचना जारी गरिसकेको छ । कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँमा ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

सर्वसाधारणलाई निष्कासन गर्न लागेको उक्त सेयरमा स्थानीय, म्युचुअल फण्ड, वैदेशिक रोजगारीमा रहेका नेपाली र कर्मचारीले नकिनेको आठ लाख ७४ हजार ३८२ कित्ता सेयर पनि जोडेको छ ।

सिमेन्टको व्यापार घट्दै गएकोले दोस्रो बजारमा यो कम्पनीको सेयर मूल्य पनि कम हुने आकलनले आवेदकले प्राथमिक सेयरमा आवेदन नदिएको हुन सक्ने जानकार बताउँछन् ।

धितोपत्र दोस्रो बजारमा कारोबार भइरहेको शिवम् सिमेन्टको सेयर मूल्य ४०० रुपैयाँभन्दा तलसम्म झरेकाले पनि दोस्रो बजारमा सस्तोमा पाउने आशले यो कम्पनीको प्राथमिक सेयरमा लगानीकर्ताको आकर्षण नदेखिएको आकलन छ । शिवम्को पछिल्लो ५२ हप्तामा सेयर मूल्य ३८९ रुपैयाँसम्म झरेको थियो । 


 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro