
टोम बेटम्यान, बीबीसी
इजरायल–इरान द्वन्द्वमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिप्पणी कहिले इजरायली हमलाको समर्थनमा आएका छन् । कहिले उनले आफूलाई हमलाबाट टाढा राख्ने प्रयास गरेका छन् । कहिले उनी फेरि समर्थनतर्फ नै फर्किन्छन् ।
युद्ध चर्किँदै जाँदा ट्रम्पको अस्पष्टता अझ अनिश्चितता थप्ने कारक बनेको छ । यसबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकासँगको पूर्ण समन्वयमा आक्रमण भएका बताएका छन् ।
त्यसकारण स्वाभाविक प्रश्न उठ्छन्– के कारक तत्वले ट्रम्पलाई प्रभाव पारिरहेका छन् ? ट्रम्पसँग के छन् विकल्प ?
नेतान्याहुको दबाबमा झुक्नु र द्वन्द्व चर्काउनु
शुक्रबार इजरायली मिसाइलले तेहरानलाई अमेरिकी बमले सुसज्जित हतियारबाट आक्रमण गरेपछि ट्रम्पले इरानी नेताहरूलाई अझै क्रुर आक्रमणको धम्की दिएका थिए । ट्रम्प नेतान्याहुझैँ इरानले परमाणु बम पाउन हुँदैन भन्ने धारणा राख्छन् । तर, फरक के हो भने उनले (नेतान्याहुभन्दा भिन्नरूपमा) यो लक्ष्य अमेरिकी–इरानी सम्झौतामार्फत हासिल गर्नुपर्ने विचार राख्छन् । यो धारणा उनले बनाएको आफूलाई 'सर्वोत्कृष्ट सम्झौताकार'को छविसँग मेल खान्छ ।
तर, उनले त्यहाँसम्म पुग्ने बाटोमा अनिश्चितता देखाएका छन् । कहिले सैन्य बलको धम्की दिन्छन् त कहिले कूटनीतिक उपायको कुरा गर्छन् । गत हप्ता त उनले भनेका थिए– इजरायली आक्रमणले वा त सम्झौतामा मद्दत पुर्याउँछ, वा त्यो सम्झौत नै उडाइदिन्छ ।
उनको यो अनिश्चितता कहिलेकाहीँ उनका समर्थक 'पागल व्यक्तिको सिद्धान्त'अन्तर्गत रणनीतिकरूपमा व्याख्या गर्छन् ।
यस सिद्धान्तअनुसार, विपक्षी (वा कहिलेकाहीँ सहयोगीहरूसमेत) नेताहरूको अनिश्चित वा अप्रत्याशित व्यवहारले दबाबमा परेर सम्झौतामा आउन सक्छन् । यो सिद्धान्त सर्वप्रथम शीतयुद्धकालमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनसँग सम्बन्धित थियो ।
ट्रम्पका केही सल्लाहकार र समर्थकले इरानप्रति उनको 'अत्यधिक दबाब' रणनीतिको समर्थन गर्छन् । उनीहरू धम्की अन्ततः सफल हुने विश्वास गर्छन् । किनभने उनीहरूको तर्कमा इरान गम्भीररूपमा सम्झौता गर्न चाहँदैन । यद्यपि, सन् २०१५ मा ओबामाको नेतृत्वमा गरिएको आणविक सम्झौतामा इरानले हस्ताक्षर गरेको थियो, जुन ट्रम्पले पछि तोडेका थिए ।
नेतान्याहुले ट्रम्पमाथि कूटनीतिक माध्यममार्फत समाधान नभई सैन्य विकल्प अपनाउन निरन्तर दबाब दिइरहेका छन् । नोबेल शान्ति पुरस्कार जित्ने इच्छा बारम्बार व्यक्त गरेका ट्रम्पले अन्ततः तेहरानको नेतृत्वलाई दिइएका आफ्ना आक्रामक धम्की कार्यान्वयनमा ल्याउन आवश्यक ठान्न सक्छन् ।
इजरायलले पनि पर्दा पछाडिबाट अमेरिकालाई अझ बलियो समर्थन गर्न दबाब दिन सक्छ, जसले उनले 'काम सम्पन्न' गर्न सक्छ भन्ने विश्वास उनीहरूले राख्छन् । अमेरिकासँग 'बंकर बस्टर' बमहरू छन्, जसले इजरायलका अनुसार इरानको भूमिगत युरेनियम प्रशोधन केन्द्र ’फोर्डो’ नष्ट गर्न सक्छ ।
जसरी द्वन्द्व चर्किँदै गएको छ, त्यसरी नै ट्रम्पमाथि अमेरिकी संसद्का युद्धप्रेमी रिपब्लिकन समूहबाट दबाब बढिरहेको छ, जुन समूहले लामो समयदेखि इरानमा सत्ता परिवर्तनको माग गर्दै आएको छ ।
ट्रम्प यसमा एउटा तर्क देख्न सक्छन्– सैन्य दबाबले इरानलाई कमजोर बनाई सम्झौतामा ल्याउन सकिन्छ । तर, यथार्थ के हो भने इरानीहरू पहिले नै वार्ताको टेबुलमा थिए । ट्रम्पका दूत स्टिभ विटकोफसँग ओमानमा आइतबार छैटौँ चरणको वार्ता तय गरिएको थियो । अब ती वार्ताहरू रद्द भइसकेका छन् ।
मध्यम मार्ग– अहिलेको स्थिति कायम राख्ने
ट्रम्पले हालसम्म इजरायली हमलामा अमेरिका संलग्न नरहेको दोहोर्याएका छन् । तर, द्वन्द्व चर्काउने निर्णयले ट्रम्पका लागि दीर्घकालीन असर पार्ने खतरनाक मोड ल्याउन सक्छ ।
अमेरिकी नौसेनाका डेस्ट्रोयर र जमिनमा तैनाथ मिसाइल प्रणालीहरूले हाल इजरायललाई इरानी आक्रमणबाट जोगाउन सहयोग गरिरहेका छन् ।
ट्रम्पका केही राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारले यस्तो संवेदनशील अवस्थामा इजरायली आक्रमणलाई थप भड्काउने कुनै कदम चाल्न नदिन चेतावनी दिइरहेका हुन सक्छन् । विशेषगरी, केही इरानी मिसाइलले इजरायली–अमेरिकी सुरक्षा प्रणाली छलेर प्राणघातक क्षति पुर्याएको अवस्थामा ।
‘मागा’ आवाज सुन्ने र पछि हट्ने
ट्रम्पको सोचमा खेलिरहेको एक ठूलो राजनीतिक पक्ष हो, उनको घरेलु समर्थन । संसद्मा अधिकांश रिपब्लिकनले अझै पनि इजरायलको कडा समर्थन गरिरहेका छन्, जसमा अमेरिकी हतियार आपूर्ति निरन्तर जारी राख्नुपर्ने धारणा पनि छ ।
धेरैले इरानमाथिको इजरायली आक्रमणलाई खुलेर समर्थन गरेका छन् । तर, ट्रम्पको मेक अमेरिका ग्रेट अगेन (मागा) आन्दोलनभित्र केही प्रभावशाली आवाज छन्, जसले इजरायलप्रतिको परम्परागत 'अटुट समर्थन'लाई अब अस्वीकार गर्न थालेका छन् ।
पछिल्ला केही दिनमा यिनीहरूले सोधिरहेका छन्– ट्रम्पको 'अमेरिका फर्स्ट' परराष्ट्र नीतिको वाचा गरेको देश किन फेरि मध्यपूर्वको युद्धमा तानिँदै छ ?
ट्रम्प समर्थक पत्रकार टकर कार्लसनले शुक्रबार आलोचना गर्दै लेखे, “उनीहरूले इजरायली आक्रमणमा संलग्न छैनौँ भन्ने दाबी झुट हो । अमेरिकाले अब इजरायललाई छाड्नुपर्छ ।”
उनले सुझाव दिएका छन्, “नेतान्याहु र उनको युद्धप्रेमी सरकारले यस्तो ढंगमा व्यवहार गरिरहेका छन्, जसले अमेरिकी सेनालाई युद्धमा तान्न सक्छ, त्यो पनि नेतान्याहुकै स्वार्थका लागि ।”
कार्लसनले थप भनेका छन्, “यस युद्धमा संलग्न हुनु भनेको ती लाखौँ मतदाताहरूको अनुहारमा चित्त दुखाउने काम हो, जसले अमेरिका अन्ततः पहिलो प्राथमिकतामा पर्ने सरकार चुन्ने आशामा मतदान गरेका थिए ।”
त्यस्तैगरी, ट्रम्पप्रति कट्टर निष्ठावान् अमेरिकी सांसद मार्जोरी टेलर ग्रिनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “जो कोही इजरायल–इरान युद्धमा अमेरिका पूर्णरूपमा संलग्न होस् भनेर लालायित छन् । उनीहरू अमेरिका फर्स्ट वा मागा अभियानका समर्थक होइनन् ।”
यो अवस्था ट्रम्पका लागि गम्भीर राजनीतिक कमजोरीको संकेत हो । यसले ट्रम्पमाथि अमेरिकालाई इजरायली आक्रामक कारबाहीबाट टाढा राख्ने दबाब बढाएको छ । र, कम्तीमा सार्वजनिकरूपमा हेर्दा, ट्रम्पले त्यसअनुसार प्रतिक्रिया दिएको देखिन्छ ।
गत सप्ताहन्तमा चलेको मागा बहससँगै ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मिलेर युद्ध अन्त्यको माग गरेका थिए । ट्रम्पले भनेका थिए, “इरान र इजरायलले अब सम्झौता गर्नुपर्छ । इरानमाथिको आक्रमणमा अमेरिकाको कुनै संलग्नता थिएन ।”
तर, इरानले पहिले नै चेतावनी दिइसकेको छ– यदि वासिङ्टनले इजरायलको रक्षा गर्ने कार्य जारी राख्यो भने, यस क्षेत्रका अमेरिकी सैन्य अड्डाहरू लक्षित हुन सक्छन् ।
बीबीसीबाट ।