नेपालबाट अमेरिका आएर जब मैले यहाँको कर्पोरेट संसार, विशेषतः बैंकिङ तथा सूचना प्रविधि (आईटी) क्षेत्र नजिकबाट हेर्ने मौका पाएँ तब मैले बुझेँ राष्ट्रको समृद्धि राजनीतिक नीतिमा मात्र होइन देशको संस्थागत सोच, कार्यसंस्कृति र व्यवस्थापनको प्रभावकारितामा भरपर्छ । यहाँको अनुभवले मलाई नेपालका बैंक तथा वित्तीय संस्थाहरू, संस्थागत व्यवहार र व्यवस्थापन प्रणालीप्रति सोच्न बाध्य बनाएको छ ।
यहाँको कर्पोरेट वातावरणमा प्रत्यक्ष संलग्न हुन थालेपछि मलाई एक प्रकारको सांस्कृतिक झड्का लाग्यो । नेपालको संस्था र प्रणालीसँग तुलना गर्दा यहाँको कार्यशैली, सोच, व्यवहार र व्यवस्थापन कति फरक लाग्यो भने मैले आफैँसँग प्रश्न गर्न थालेँ- हामी नेपालमा अझै पनि यो सम्भव छैन भनेर चुप लागिरहने कि अरूले गरेर देखाएका कुरा हामीले पनि गर्नसक्छौँ भनेर आँट गर्ने?
मेरो लागि काम प्राविधिक विषयमात्र हैन । यो अनुभवको संगालो हो । मनोविज्ञानको पाठशाला हो । अनि दृष्टिकोणको पुनःनिर्माण पनि हो । मैले यहाँ आएर बुझ्न थालेँ - अमेरिका किन यति अगाडि छ? किन यहाँका संस्था संसारभर सशक्त छन् ? अनि, नेपाल किन स्थिरतामा थला परेको छ ? अमेरिकी कर्पोरेट संसारले मलाई देखाएको एउटा नयाँ यथार्थ यस लेखमा प्रस्तुत गर्ने जमर्को गरेको छु ।
संस्थागत सोच र मानसिकता
अमेरिकामा संस्था भन्नाले सोच, मूल्य र व्यवहारको संयोजनलाई बुझिन्छ । यहाँ संस्थाका सबै कर्मचारी एउटै लक्ष्यतर्फ लागिरहेका हुन्छन् । नेपालमा अझै धेरैजसो संस्थाहरूलाई निजी मुनाफाको उपकरण ठानिन्छ । कर्मचारीहरूले संस्थालाई काम दिने ठाउँका रूपमा मात्र हेर्छन् । व्यवस्थापनले कर्मचारीलाई खर्चिलो वस्तुका रूपमा व्यवहार गर्छ । अमेरिका आएपछि मैले बुझेँ- सफल संस्था त सार्वजनिक मूल्य सिर्जना गर्ने संयन्त्र पो रहेछ ।
मैले काममा प्रवेश गर्दैगर्दा पाएको पहिलो सन्देश थियो - ‘तिमी के गर्छौ भन्ने कुरा तिमीलाई लिनुभन्दा पहिल्यै तय भइसकेको हुन्छ’ । यहाँ कामको कुनै अन्योल छैन । कसले के गर्छ? कसको उत्तरदायित्व के हो? कसलाई रिपोर्ट गर्नुपर्छ ? सबै स्पष्ट र पारदर्शी छ ।
नेपालमा यस्ता स्पष्टता प्रायः पाइँदैन । एउटा सामान्य स्थामा प्रवेश गर्दा पनि कर्मचारीलाई आफूले के गर्नुपर्ने हो भन्ने अन्योल हुन्छ । व्यवस्थापन स्वयं अनिश्चित हुन्छ । निर्णय प्रक्रिया अलमलिन्छ र जिम्मेवारीहरू मिलाउँदा मिलाउँदै समय खर्च भइरहेको हुन्छ । संस्थाको गति कम हुनु र कर्मचारीको उत्साह हराउनुको मुख्य समस्या यही नै हो ।
अमेरिकामा संस्थाको मापन नाफा वा नोक्सानबाट मात्रै हुँदैन । उसको मापन ग्राहकको सन्तुष्टि, सेवा दिन सकेको स्तर अनि समाजमा बाँडिएको विश्वासका आधारमा गर्ने गरिन्छ । जब सेवा सशक्त हुन्छ तब नाफा स्वत: आउँछ भन्ने यहाँका सबैजसो संस्थाले राम्रोसँग बुझेका छन् । नेपालमा पनि सेवा राम्रो भयो भने परिणामस्वरूप पैसा आउँछ भन्ने बुझ्न आवश्यक छ । तर पैसा खोजेर सेवा दिँदा संस्थाले प्रगति गर्न सक्दैन ।
प्रविधिको प्रयोग र कामको प्रवाह
अमेरिकाको सबै संस्था कति प्रविधिमैत्री छन् भने सबै काम एउटै प्रणालीभित्र हुन्छ । सूचना प्रवाहबाट निर्णय प्रक्रिया, ग्राहक सेवादेखि सुरक्षा व्यवस्थासम्म सबै कुरा डिजिटल र डेटामा आधारित हुन्छ । कुनै पनि कार्य बिनाट्र्याक वा बिनाअभिलेदन हुँदैन । कसले, के, कहिले, किन गर्यो भन्नेमा पारदर्शिता हुन्छ ।
नेपालमा प्रविधिको प्रयोग भनेको प्रायः 'कोर बैंकिङ' सञ्जालसम्म सीमित छ । त्यो पनि पूरै प्रयोगमा छैन । कागजपत्रमा भरपर्ने अवस्था अझै हटेको छैन । कर्मचारीले प्रणालीको सट्टा अनुमान र अनुभूतिको भरमा काम गर्ने प्रवृत्ति विद्यमान छ ।
कर्मचारी व्यवहार र वातावरण - एकआपसमा भरोसा र इज्जत
मैले अमेरिकाको कार्यसंस्कृतिमा सबैभन्दा मन पराएको कुरा हो यहाँ सम्मान कामको आधारमा हुन्छ पदको आधारमा होइन । कुनै पनि सहकर्मी कनिष्ट होस् वा वरिष्ट सबैले एकअर्कालाई नामले सम्बोधन गर्छन् । देख्दा यो सानो कुरा लाग्न सक्छ तर यही समानताको भावना नै सहयोग, जिम्मेवारी र आत्मगौरवको जग हो । नेपालमा अझै पनि पदको आधारमा व्यवहार गरिन्छ । कनिष्टले बोल्न पाउँदैन । नेपालका संस्थाहरूमा आत्मसम्मान भन्दा भयको संस्कार बढी छ ।
एक जना अमेरिकी म्यानेजरले मलाई भनेका थिए - 'म तिम्रो हाकिम होइन । म तिम्रो कार्यलाई सजिलो बनाउने व्यक्ति हुँ । मेरो काम तिमीलाई सफल बनाउनु हो।' यो भनाइले मेरो सोच नै उल्ट्याइदिएको थियो । यहाँ म्यानेजरले कर्मचारीलाई नियन्त्रण गर्न होइन सम्भावना उजागर गर्न नेतृत्व गर्छन् । कहिलेकाहिँ काम गर्दै जाँदा महसुस हुन्छ म यहाँ डरले होइन भरोसाले काम गरिरहेको छु ।
नेपालमा व्यवस्थापन अझै पनि सत्ताको रूपमा काम गर्छ । पद भएपछि मै ठूलो भन्ने सोचले दरबार जन्माउला संस्था होइन । यसले नवीन सोचलाई दबाउँछ र संस्थाको दीर्घकालीन विकासलाई बाधा पुर्याउँछ । नेपालमा व्यवस्थापन माथि र कर्मचारी तल भन्ने भाष्य प्रखर छ । तर यहाँ व्यवस्थापन सँगसँगै उभिन्छ र प्रतिक्रिया सोध्छ । अनि सहयोगी भूमिका खेल्छ ।
कर्मचारीको सोच र मनोवृत्ति
अमेरिकामा एउटा जागिरे आफ्नो कामलाई जीविकोपार्जनको माध्यमको रूपमा मात्र होइन आफ्नो पहिचानको रूपमा पनि हेर्छ । प्रत्येक व्यक्ति आफ्नो काममा गर्व गर्छ । समयमै उपस्थित हुने, कामलाई प्राथमिकता दिने र व्यक्तिगत विकासमा लगानी गर्ने प्रवृत्ति अत्यन्तै सामान्य छ । नेपालमा यो चेतना अझै विकासको चरणमा छ । कर्मचारीहरूले जागिरलाई धेरै हदसम्म नियतिबद्ध बोझको रूपमा बुझ्ने गर्छन् । उनीहरूले आफ्नो कामलाई अरूको निर्णयको परिणामको रूपमा हेर्छन् र यसले व्यक्तिगत उत्तरदायित्वको भावना कमजोर बनाउँछ ।
सामान्य देखिने असाधारण अभ्यास
अमेरिकामा लञ्च ब्रेक खानपिनको समयमात्र होइन संवाद र सञ्जाल विस्तारको समय पनि हो । त्यस ठाउँमा म्यानेजर र इन्टर्न एउटै लाइनमा हुन्छन् । एउटै टेबलमा बस्न सक्छन् । त्यहाँ पद होइन मानवीय सम्बन्ध महत्त्वपूर्ण हुन्छ । दिनको अन्त्यमा आफ्नो डेस्क सफा गर्नु यहाँको सामान्य नियम हो । यसले व्यवस्थित कार्यशैलीका साथै जिम्मेवार मानसिकतालाई पनि प्रतिविम्बित गर्छ । नेपालमा अझै पनि फाइलको थुप्रो, चियाको कप र कागजका च्यातिएका टुक्रालाई व्यस्त हुनुको सूचक मानिन्छ ।
सोचको विविधता, सफलताको गहिराइ
अमेरिकामा एकै ठाउँमा विभिन्न देश, भाषा, जात, धर्म र यौन पहिचान भएका मानिस बसेर काम गर्छन् । सबैको आवाज सुन्ने प्रयास हुन्छ । यसले संस्थालाई अझ फराकिलो सोच र वैश्विक दृष्टिकोण दिन्छ । नेपालमा अझै पनि को आफ्नो भन्ने सोच व्याप्त छ । निजी संस्थामा जागिरमा लिने, बढुवा दिने कुनै मापदण्ड हुनुपर्दैन भन्ने सोचको दबदबा छ ।
अमेरिकाबाट नेपाल हेर्दा
यहाँ आएर सुरुसुरुमा मलाई एक किसिमको हिनताबोध भयो । किनभने नेपालमा हुँदा गरेका धेरै कमजोरीहरू यति सामान्य लाग्थे कि कहिल्यै सुधार्ने प्रयास गर्नु आवश्यकै ठानेको थिइन । तर यहाँ आएर बुझेँ त्यो सामान्य भनिएको कुरा नै हाम्रो पतनको आधार रहेछ । कुनै पनि देश नेतृत्वको मात्र होइन सामान्य मानिसको सोचले पनि निर्माण हुन्छ । जब एकजना सामान्य कर्मचारीले समयको सम्मान गर्छ, कामको इज्जत गर्छ अनि इमानदारीको मूल्य बुझ्छ तब संस्था बलियो बन्छ । जब कुनै संस्था बलियो बन्छ, राष्ट्र बलियो हुन्छ ।
अन्त्यमा, नेपाल अमेरिका बन्नु त पर्दैन तर नेपालले सिक्न सक्ने भने धेरै छन् । प्रविधिको प्रयोग, व्यवस्थापनमा पारदर्शिता, कर्मचारीको मनोबल, नेतृत्वको दृष्टिकोण र व्यक्तिगत अनुशासनमा नेपालीले ध्यान दिनु आवश्यक छ । यी सबै देख्दा सामान्य लाग्न सक्छन् तर यिनै ससाना कुराले अमेरिकी 'कर्पोरेट वर्ल्ड'लाई विश्व बजारमा अद्वितीय बनाएको छ ।
(अमेरिका निवासी टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोता)