site stats
बाह्रखरी :: Baahrakhari
हाम्रो बारेमा

साँवा अक्षर (कखरा)मा बाह्रखरी (मात्रा) मिल्नाले भाषा समृद्ध र अर्थपूर्ण बनेजस्तै देशको समाजिक, राजनीतिक, आर्थिक र अन्य क्षेत्रको स्थूल स्वरूपलाई विवेचनात्मक दृष्टिबाट अथ्र्याइएमा मात्र जनताले देशको गति र शासनको नियत बुझ्ने विश्वास लिएर त्यसको भित्री एवं समग्र स्वरूप जनता समक्ष प्रस्तुत गर्ने जमर्कोमा यो अनलाइन खबर पत्रिका बाह्रखरी उपस्थित भएको छ ।

हामी आफूलाई उदार लोकतन्त्र र उदार आर्थिक प्रणालीका पक्षधर हौँ भन्न हिचकिचाउँदैनौ भने गरिब र पिछडिएका जनताका पक्षमा सरकारको सशक्त उपस्थिती र लोकोपकारी कार्यकारीको महत्वलाई पनि अस्वीकार गर्दैनौ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्ने छैनौ । नेपालको वर्तमान राजनीतिक परिवृत्तमा सबैले आफूलाई लोकतान्त्रिक शक्तिका रूपमा परिचित गराउने तर विचार, व्यवहार र कार्यशैलीमा बहुलता स्विकार गर्न नसक्ने विडम्बना देखिएको छ । कतिपय अवस्थामा लोकतान्त्रिक राजनीतिका पक्षधर भन्नेबित्तिकै निश्चित राजनीतिक दलसँग आबद्ध भनेर ठान्ने सोच कायमै छ । तर सबै राजनीतिक दल, हरेक व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना वा दुवै समानान्तररूपमा अघि बढाउनु बाह्रखरी खबर पत्रिकाको विशेषता हुनेछ ।

जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताकोअधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारितामार्फत् बाह्रखरी यहाँहरू समक्ष उपस्थित भएको छ ।

जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । खानेपानी, बिजुली, इन्धन, यातायातजस्ता जनताका आधारभूत समस्याभन्दा अरू राष्ट्रिय आवश्यकता ठूला वा महत्वपूर्ण हुँदैनन् र मानिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र सञ्चारको सुविधाबाट जनसाधारण विमुख हुनुहुँदैन ।

बाह्रखरीले कुनै पनि सरकारको मूल्यांकन जनताले पाएको सेवाका आधारमा गर्नेछ । भ्रष्टाचार, कालोबजारी, करछली र जनतालाई आर्थिक, सामाजिक तथा शारीरिक शोषण गर्ने कुनै पनि समूह, व्यक्ति वा प्रवृत्तिविरूद्ध समाजलाई जागरुक बनाउने एउटा अभियानकै रूपमा बाह्रखरीलाई यसका शुभचिन्तकले मान्ने र माया गर्ने विश्वास हामीले लिएका छौँ

नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्नुलाई हामी आफ्नो महत्वपूर्ण कर्तव्य ठान्नेछौँ । देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुनुमा बाह्रखरीको दैनिक क्रियाकलाप हुनेछ ।

हामी कस्तो र कुन प्रकारको पत्रकारितामा विश्वास गर्छ भन्ने हाम्रा मूल्य र मान्यता पारदर्शी बनाउने उद्देश्यले हामीले बाह्रखरीको आचार संहिता पनि सार्वजनिक गरेका छौँ ।

हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ । 

NIBLNIBL
प्रतिक्रिया दिनुहोस्