site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब अमेरिकी दूतावासबाट फोन आयो...
SkywellSkywell

मंगलबार करिब साढे ८ बजेको हुँदो हो । अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रम सकेर भर्खर घर आइपुगेकी थिइन् । भूमिका (श्रेष्ठ)को मोबाइलमा घण्टी बज्यो । घण्टी थियो, नेपालस्थित अमेरिकी दूतावासको । फोन गरेकी थिइन्, रोजी कट्टेलले । 

यति बेला किन आयो फोन ? जिज्ञासा त हुने नै भयो । फोनको हरियो बटम थिचिन् । आवाज सुनियो, ‘भूमिका ल तिमीलाई बधाई छ, हामी सबैलाई पनि बधाई । तिमीले अमेरिकी सरकार (विदेश मन्त्रालय)ले प्रदान गर्ने इन्टरनेसनल वुमन अफ करेज अवार्ड–२०२२ जितेकी छौ ।’

“मलाई त सपनाजस्तो लाग्यो । हो र ! यो कसरी सम्भव छ ? भन्नेजस्तो लाग्यो । मैले उहाँलाई धन्यवाद भनेर फोन राखेँ । फोन राखिसक्दा पनि मलाई विश्वास गर्न कठिन भइरहेको थियो,” अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आईडब्ल्यूओसी) पाएको जानकारी पाउँदाको खुुसीको क्षण सुनाउँछिन् भूमिका ।

KFC Island Ad
NIC Asia

सबैभन्दा पहिला खुसीको खबर भूमिकाले आमालाई सुनाइन् । आमाका आँखामा खुसीका आँसु छल्किए । त्यो देखेर भूमिका आफैँ भावुक भइन् ।

त्यसपछि उनले खुसी साटिन्, नीलहीरा समाजकी निर्देशक तथा तेस्रोलिंगी अभियन्ता मनीषा ढकाललाई । मनीषा पनि भूमिकाको खुसीमा खुसी सुनिइन् । दशकौँ सँगै गरेको संघर्षमा साथीले पाएको सम्मानले मनीषालाई पनि पुलकित बनाइदिएको थियो ।

Royal Enfield Island Ad

भूमिकाको खुसी छल्कियो, सामाजिक सञ्जाल फेसबुकमा । उनले नेपालस्थिल अमेरिकी दूतावास र अमेरिकी सरकारलाई धन्यवाद दिँदै आफूले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार पाएको फेसबुकमार्फत आफ्ना सम्पूर्ण साथी तथा शुभचिन्तकहरूलाई जानकारी गराइन् । त्यसपछि उनको मोबाइलका रिङ अबेर रातिसम्म बजिरह्यो । कति आफ्नै समूह र समुदायका साथीहरूले बधाई दिए । कति शुभचिन्तिक र सहकर्मीहरूले दिए । जे होस्, उनलाई बधाईको ओइरो लाग्यो ।

उनले महसुस गरिन्– मैले जिन्दगीका कठिनतम दिनहरूमा गरेको संघर्ष र व्यहोरेको घृणा आज सफलतामा रूपान्तरण भयो ।

ऊ बेला अरूले आफूलाई घृणा गर्दा भूमिकाले दुःखमा आँसु बगाइन् । मंगलबार तिनै आँखामा खुसीका आँसु छल्किए । उनले बाल्यकाल सम्झिन् । किशोरावय सम्झिइन् । त्यो बेला सहेको लाल्छना र तिरस्कारका घाउहरू सम्झिइन् । एकपछि अर्को घटनाहरू तँछाड मछाड गर्दै आँखा वरिपरि घुम्न थाले ।

शिशुकालमै स्कुलमा ‘केटीजस्तो व्यवहार गर्छ’ भनेर शिक्षकले अभिभावकलाई गरेको कम्प्लेन । त्यसपछि स्कुल जान मन नलागेको तत्कालीन समयको मनोविज्ञान दिमागभरि भयो । आफ्नै साथीसंगतिले गरेको हेला र लगाएको लाल्छना सम्झिइन् । सडकमा हिँड्दा उनलाई देखेर भनिने ‘हिजडा’ र ‘छक्का’ शब्द प्रतिध्वनित भइरह्यो ।

जिन्दगीमा खुसीको घाम झुल्कियो । तर, सम्झनाका छालहरूले उनलाई किच्दै गए । बक्ररेखाहरूको यात्राका तीता पलहरूले कोट्ट्याउन थाले । 
 
सन् २००१ मा सुनीलबाबु पन्तलगायत व्यक्तिले नीलहीरा समाज नामक संस्था खोलेका थिए । समलिंगी तथा तेस्रोलिंगीको अधिकारका लागि खोलिएको यो संस्थामा भूमिका २००४ मा जोडिइन् । त्यसको दुई वर्षपछि यसमा सक्रिय रूपमा काम सुरु गरेकी भूमिकाले यहीबीच थुप्रै सफलता पनि चाखिसकेकी छन् ।

पुरुष भएर जन्म लिएर महिलाको हाउभाउमा देखिएपछि उनले खेप्नुपरेको समाजको तिरस्कार अब अरूले भोग्नु नपरोस् भन्ने उद्देश्यले तेस्रोलिंगी अभियन्ता बनिन् । “अधिकारका लागि हामी सरोकारवाला निकायसँग छलफल गर्न जान्थ्यौँ । तर, त्यहीँ हामीलाई हेर्ने दृष्टिकोण पूरै फरक हुन्थ्यो,” उनी भन्छिन्, “हामी जहाँ अधिकार, सहयोग र सहकार्यको अपेक्षा गरेर जान्थ्यौँ, त्यहीँ अपमानित भएर फर्किन्थ्यौँ ।”

‘हिजडा हुन छोड्’ भन्थे । जन्मजात लिएर आएको पहिचान कसरी छोडिन्थ्यो र ? “हिजडा भनेको के हो मलाई नै थाहा थिएन । तर, केटाको रूपमा जन्मिएपछि केटाको जस्तै फिलिङ्स किन आउँदैन भन्ने मलाई पनि लाग्थ्यो,” भूमिका भन्छिन्, “मैले केटाजस्तै हुन्छु भनेर कैयौँपटक प्रयास गरेँ । तर, सकिनँ । बाटोमा हिँड्दा मलाई हिजडा भन्थे । म यो भनेको के रहेछ भनेर सोच्थेँ । पछि पो थाहा भयो, तेस्रोलिंगीलाई यहाँ हिजडा भन्दारहेछन् ।” 

ऊ बेला भूमिका ‘हिजडा’ भनेको के हो बुझ्दिन थिइन् । अहिले त उनी हिजडा मात्रै होइन सम्पूर्ण यौनिक तथा लैंगिक अल्पसंख्यकको रौँ–चिरा केलाउने भइन् । तर, समाजले अझै पनि हिजडा के हो बुझेको छैन रे !

“समाज तेस्रोलिंगीलाई हिजडा भनिरहेको छ, जुन गलत हो । हिजडा भनेको त भारतका केही ठाउँमा रहेको कल्चर हो ?,” भूमिका बुझाउँछिन्, “तत्कालीन समयमा राजदरबारमा बसेर गायन र नृत्य सिकाउने तथा सघाउने पुरुषहरूबाट कुदृष्टि रानी तथा राजकुमारीहरूमा नपरोस् भनेर उनीहरूको लिंग छेदन गरिन्थ्यो । पछि त्यो नै त्यहाँ कल्चरका रूपमा विकास भयो । त्यसरी लिंग छेदन गर्नेहरूलाई हिजडा भन्न थालियो ।”

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति आम समुदायमा रहेका यस्तै गलत बुझाइ र व्यवहार परिवर्तन गराउन तेस्रोलिंगी अधिकारकर्मी भएर भूमिका समाजसँग जुधिरहेकी छन् । नीलहीरा समाजमा उनीजस्तै थुप्रै अभियन्ता अधिकारका लागि लामबद्ध छन् । भूमिकाले तरेलीको यात्रा जति पार गरिन्, त्यही यात्रामा केही रंगिन दिनहरू पनि भेटिए ।

‘मिस पिंक’ उनको पोल्टमा पर्‍यो । त्यसले भर्खर–भर्खर अधिकारका लागि टेक्न थालेको खुट्टो बलियो गरी हिँड्न सघायो । मोडलिङका लागि ढोका खोलिदियो । तर, यसमा मात्रै उनले जिन्दगीको गोरेटो तय गरिनन् । कारण, उनलाई मोडलिङको दुनियाँमा रमाएर अधिकारको दौडलाई बिसाउनु थिएन । यद्यपि, उनले चटक्कै माया मारिनन् । मोडलिङकै छेउछाउको सिनेमाको केही अनुभव सँगालिन् । विश्वका थुप्रै देशका थुप्रै फिल्म फेस्टिभल चहारेको ‘हाइवे’मा छोटै भए पनि अभिनय गरिन् । चलचित्र ‘कान्छी’मा उनलाई लामै भूमिकामा दर्शकले देखे ।

त्यसो त मोडलिङ र सिनेमा मात्रै होइन, उनले राजनीतिको अनुभव पनि सँगालेकी हुन् । काठमाडौंबाट उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भइसकेकी छन् । 

अधिकारको भागदौडमा उनीहरूले धेरै कुरा पाइसकेका छन् । तर, अझै पाउन थुप्रै छ । ‘अन्य’ लेखेर अधिकार पाउन थालेका छन् । पहिचानानुसारको राहदानी पाउन थालिसकेका छन् । संविधानले नै लैंगिक तथा यौनिक अल्पसंख्यक भनेर उल्लेख गरिसकेको छ । तर, अधिकारको लडाईं सकिएको छैन ।

समाजलाई बुझाउन बाँकी नै छ । पहिचानानुसारको नागरिकता बनाउन जिल्ला प्रशासन पुग्दा अझै पनि धेरै प्रशासनले ‘समलिंगी र तेस्रोलिंगी भएको मेडिकल सर्टिफिकेट ल्याऊ’ भन्ने गरेको उनका साथीहरूसँग अनुभव छ । “केटा वा केटीलाई उनीहरूको लिंगीय पहिचानका लागि मेडिकल सर्टिफिकेट नचाहिने तर हामीलाई चाहिँ किन चाहिने ?,” भूमिका प्रश्न गर्छिन्, “संविधानले अल्पसंख्यक भनेर सम्बोधन गरेपछि हामीलाई आरक्षण खोइ ?”

सधैँ कर्के आँखा लगाएर तिरस्कृत भावले हेर्ने समाजसँग उनको लडाइँ कायमै छ । उनलाई यो पुरस्कारले अधिकारको बाटोमा लाग्न थप प्रेरित गरेको छ । संघर्षका लागि थप हौस्याएको छ । उनकै शब्दमा जाँगर र उत्साह थपिएको छ । 

पुरस्कार रकम कति छ, त्यो त उनलाई थाहा छैन । “तर, पुग्ने रकम आए कोभिडका कारण डिप्रेसनमा गएका समलिंगी तथा तेस्रोलिंगी साथीहरूलाई त्यसबाट बाहिर निकाल्न खर्च गर्ने योजना छ,” उनले सुनाइन्, “जसको सामीप्यमा रहेर मैले पहिचान बनाएँ र यो पुरस्कार पाएँ, उनीहरूमै समर्पण गर्ने मेरो लक्ष्य छ । हेरौँ, म मेरो समुदायलाई के कति गर्न सक्छु । तर, अवश्य गर्छु ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  ०७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro