काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनको पारो तातेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर बन्ने दौडमा रहेका उमेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् । प्रमुख दलका उमेदवार एक अर्कालाई मुख्य प्रतिष्पर्धी ठान्छन् ।
चुनावी वाचापत्र बोकेर बाँकी कार्यकालमा कीर्तिपुरलाई कस्तो बनाउने भन्ने योजना सुनाइरहेका छन् ।
कीर्तिपुरको १ र ४ नम्बर वडामा पनि चुनाव हुँदैछ । तर, ९ दलका र स्वतन्त्र र गरी २० उमेदवार खडा भएको कीर्तिपुरको मेयर कसको पोल्टामा पर्छ भन्ने चासो चिया पसल र चोकमा गफगाफमा पनि सुनिन्छ ।
हामीले उपनिर्वाचनका लागि मत माग्न मतदाताका दैलोमा पुग्नैपर्ने चापमा रहेका तीन दलका उमेदवारहरुसँग कुराकानी गरेका छौं ।
१० हजार मत ल्याएर जित्ने कृष्णमानको जिकिर
०७९ को निर्वाचनमा स्थानीय तहमा कांग्रेसले वामापन्थीहरूको गढ भत्काएको थियो । संघ र प्रदेशमा कांग्रेसले लगातार जिते पनि नगरमा भने जित्न सकेको थिएन । ०७९को निर्वाचनमा कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित भएका थिए ।
उनको निधनपछि रिक्त हुन लागेको उपनिर्वाचनमा त्यसभन्दा बढी मत ल्याउने जिकिर कांग्रेस उमेदवार कृष्णमान डंगोलको छ । कांग्रेस पार्टी छाडेर स्वतन्त्र उमेदवार बनेका कविकुमार महर्जनलगायतकाले कांग्रेसको भोट काट्ने चर्चा कीर्तिपुरमा छ ।
बाह्रखरीसँगको कुराकानीमा स्वतन्त्र उमेदवारको एजेन्डा नै नभएको जिकिर गरे । “स्वतन्त्र मात्रै भनेर हुँदैन । उनीहरूसँग एजेन्डा छैन । हाम्रो पार्टीमा एक मत छ । पहिलेको भन्दा बढी मत ल्याउँछौं । १० हजार मत ल्याएर जित्छौं,” उनले भने ।
उनले मुख्य प्रतिपस्र्धा कांग्रेस, एमाले र माओवादीबीच नै हुने बताए ।
मानन्धर भन्छन् – जनताले एमाले खोजेका छन्
एमालेका उमेदवार सुरेन्द्र मानन्धरले कीर्तिपुरबासीले यो चुनावमा एमालेलाई नै खोजेको दाबी गरे । उनले पार्टीबाट आफूलाई सर्वसम्मत उमेवार बनाउनु नै जितको आधार भएको बताए । लोकतन्त्रमा सबैले चुनाव लड्न पाउने मानन्धरको भनाइ छ ।
“लोकतन्त्रमा सबैले उमेदवारी दिन पाइन्छ । सरकारमा हाम्रो सहयकार्य भए पनि चुनावमा कांग्रेस र एमाले प्रतिस्पर्धी हो,” उनी भन्छन् ।
०७४ को निर्वाचनमा कीर्तिपुरको मेयर एमालेले जितेको थियो । ०७९ मा कांग्रेसले जितेकाले विरासत फर्काउने योजनामा एमाले छ । आफूले निर्वाचन जित्ने मानन्धरको दाबी छ ।
मानन्धर ०७० सालको संविधानसभा सदस्यको उमेदवार बनेका थिए । त्यतिबेलादेखि नै जनताका सुख दुःखमा साथ रहेकाले जनताले आफूलाई जिताउने विश्वास समेत गर्छन् ।
माओवादी उमेदवार भन्छन्– कांग्रेस÷एमालेबाट जनता वाक्क भए
माओवादी केन्द्रका उमेदवार हुन्, शिवशरण महर्जन । ०७९ को निर्वाचनमा पनि माओवादीबाट उमेदवार बनेका प्राध्यापकसमेत रहेका महर्जनले इतिहास रच्ने योजना बनाएका छन् । कीर्तिपुरका जनता एमाले र कांग्रेसबाट वाक्क भएकाले आफूले मत पाउने आशामा देखिन्छन् ।
माओवादीले राम्रा व्यक्ति उमेदवार बनाए पनि भोट नपाउने भन्ने चर्चालाई चिर्ने योजनामा आफू रहेको उनले सुनाए । कीर्तिपुरको मेयरमा आफू जितेको खण्डमा सेवा सुविधा नलिने घोषणा समेत गरिसकेका छन् ।
लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका महजर्न भन्छन्, “मेरो परिवार पेन्सनले पाल्न सक्छु । मेयर जितेका खण्डमा सेवा सुविधा लिन्नँ ।”
०७९ को निर्वाचनलाई हेर्दा...
०७९ को स्थानीय तह निर्वाचनमा उमेदवारमा निर्वाचित नकर्मीले नौ हजार ४३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत पाएका थिए । उनीहरूबीचको मतान्तर तीन हजार ५३६ थियो ।
त्यहाँ माओवादी केन्द्रका शिवशरण महर्जनले चार हजार ९०, नेकपा (एकीकृत समाजवादी)का बटुकृष्ण थापाले एक हजार १५३ मत ल्याएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जितबहादुर बिष्टले ५७२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का श्रीकृष्ण महर्जनले ५३२, स्वतन्त्र उमेदवार मनोज बुढाथोकीले ३६५, नेपाली कांग्रेस (बीपी)का प्रविद् खनालले ८१ मत प्राप्त गरेका थिए ।
यस्तै, आमूल परिवर्तन मसिहा पार्टीका श्यामकाजी महर्जनले २१, स्वतन्त्र उमेदवकुमार महर्जनले १३ मत ल्याएका थिए ।
तस्बिर तथा भिडियो– हरिशजंग क्षेत्री