site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
ह्याप्पी तिज !

नेपाली समाजमा तिज सामाजिक चाडका रूपमा स्थापित भएको छ । नेपाली महिलाले तिज मनाउने सन्दर्भमा जात, धर्म र क्षेत्रका सीमा नाघेका छन् र सबै रमाएका छन् । रमाउनु कुनै पनि चाडपर्वको महत्त्वपूर्ण पक्ष हो । यसरी तिजमा कोको व्रत बसे वा को व्रत बसेन र पूजामा सामेल भएन भन्ने कुरा गौण बन्दै आएको छ । सामाजिक रूपमा तिजको दर कार्यक्रममा को सामेल भएन वा तिजमा को नाचेन भन्ने लेखाजोखाको विषय बन्न पुगेको छ । दर र नाचगान सामाजिक रूपमा तिजका मुख्य पक्षका रूपमा अगाडि आएका छन् ।

परम्परागत रूपमा हेर्दा तिजका सन्दर्भमा दर तिजको अघिल्लो रात व्रतालुले भाले बास्नुअघि खाने शाकाहारी परिकार हो । ‘दर’बारे प्रज्ञा नेपाली बृृहत् शब्दकोश भन्छ— तिजको अघिल्ला रात स्त्रीहरूले खाने विशेष दरिलो भोजन नै ‘दर’ हो । 

तर, केही वर्षयता नेपालको विशेषतः सहरिया समाजका ‘दर कार्यक्रम’मा देखिएको दृश्यले भने यसको शब्दकोशीय र परम्परागत दुवै अर्थ अस्वीकार गरेकोे छ । अब दर तिजको कति दिनअघिदेखि सुरु हुन्छ भन्ने कसैले बताउन सक्दैन । तिजको जति दिनअघि प्रारम्भ भएपनि तिज सकिएसँगै दर कार्यक्रम पनि सकिने गरेका छन् । 

Dabur Nepal

तिज महिलाको चाड हो । त्यसैले दर कार्यक्रम पनि महिलाको कार्यक्रम हो । एकैदिन सबै आफन्तकहाँ खानपिन गरेर नाचगान गर्ने अवस्था नभएपछि दर तिज आउनुभन्दा केही दिनअघिदेखि खान थालिएको हो । जमघट हुने सदस्यहरूको संख्या र नाचगानका लागि घरपरिवारको सीमा अपर्याप्त अनुभव भएपछि दर कार्यक्रम पार्टी प्यालेसमा पुगेको छ । 

घरभित्रको दरमा परिकार निर्माणदेखि सरसफाइसम्मका सबै काम महिलाहरूकै भागमा पर्थ्यो । यो शारीरिक थकानको कुरा पनि थियो भने हतार र समय व्यवस्थापनका दृष्टिले असहज पनि थियो । परिकार तयार गर्ने र सरसफाइ गर्ने भूमिका पार्टी प्यालेसमा सार्न पाएपछि खानपान, नाचगान र ‘फोटो सेसन’का लागि समय पर्याप्त हुने गरेको छ र दर कार्यक्रम सहज रूपमा सम्पन्न हुने गरेको देखिएको छ ।

नेपाली समाजमा पुरुषको प्रभुत्व छ । त्यसैले पुरुषलाई सूचनाको स्रोत मानेर समाजलाई बुझ्न खोज्दा समाजको सिंगो होइन, एकपक्षीय स्वरूप मात्र प्रकट हुन्छ । त्यस्तै, महिलाहरू समाजमा अधीनस्थ अवस्थामा रहेकाले र उनीहरूलाई सूचनाको स्रोत मानेर समाजलाई बुझ्दा पनि समाजको एकपक्षीय स्वरूप मात्र प्रकट हुन्छ । त्यसैले समाजलाई सही रूपमा बुझ्न समलैंगिक दृष्टिकोण आवश्यक पर्छ । 

हाम्रो दृष्टिकोण निर्माणमा परिवारको मुख्य भूमिका हुन्छ । परिवार सर्वव्यापक र सर्वप्राचीन सामाजिक संस्था हो । यसलाई उत्पादन प्रक्रियाको आधारभूत एकाइ पनि मानिन्छ । परिवारमा श्रम विभाजन, निर्णय प्रक्रिया, उपयोग प्रक्रिया आदि संस्थागत भएका हुन्छन् । परिवारले आफ्ना सदस्यहरूलाई आर्थिक र सामाजिक सुरक्षा प्रदान गर्दछ, । परिवारबाटै मानिसले भाषा, धर्म, रीतिरिवाज, परम्परा, चालचलन र सामाजिक मूल्य–मान्यता सिक्ने गर्छ । 

नेपालका सबैजसो समाजमा परिवारको स्वरूप पितृसत्तात्मक भएकाले सामान्यतया पुरुषलाई घरबाहिरको महिलालाई घरभित्रको भूमिका सुम्पिइन्छ । घरभित्रका काम काममै गनिँदैन र ‘काम होइन’ भन्ने ठानिन्छ । समाजको स्वरूप पितृसत्तात्मक भएकाले घरभित्रको कामलाई कम महत्त्वपूर्ण र आयआर्जन नहुने कामको रूपमा लिइन्छ । तर, घरधन्दा कष्टकर र नैराश्य उत्पन्न गराउने किसिमको हुन्छ । घरधन्दा गरेबापत न त वृत्तिविकास हुन्छ न पदोन्नति नै ।

यही कामको रूपमा गणना नहुने, आयआर्जन पनि नहुने घरधन्दाको दिक्क लाग्दो कामलाई महिलाको आफ्नो पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने गरिन्छ । घरधन्दाले महिलालाई घरको चौघेरामा सीमित गर्छ र घरधन्दामा महिलाको मुख्य टाउको दुखाइको विषय बन्छ ।

सामाजिकीकरण र सांस्कृतिकरणको मुख्य एजेन्ट भएकाले परिवारले बालकलाई सार्वजनिक क्षेत्रका काममा लाग्न र बालिकालाई घरधन्दा सिक्न लगाउँछ । परिवारले छोरालाई स्वाधीन र व्यावसायिक जीवनको महत्त्व सिकाउँछ भने छोरीलाई वैवाहिक, पारिवारिक र आश्रित जीवनको उन्मुख गराउँछ । परिणामतः परिवारभित्र महिला आर्थिकरूपले आश्रित र पराधीन बन्न पुग्छन् ।

परिवार लैंगिक भेदभावको पहिलो अभ्यास थलो पनि हो । पितृसत्तात्मक परिवारमा छोरालाई बढी महत्त्वपूर्ण र छोरीलाई महत्त्वहीन ठानिन्छ । परिवारभित्र महिलाको स्वतन्त्रता र स्वाधीनताको स्तर अत्यन्त न्यून हुन्छ भने परिवारभित्रको निर्णय प्रक्रियामा महिलाको हैसियत पनि अत्यन्त न्यून रहेको पाइन्छ ।

तिजमा हुने नाचगान र दर कार्यक्रमलाई पितृसत्तात्मक परिवारले निर्माण गरेको दृष्टिकोणले हेर्ने र बुझ्ने अभ्यास भएको देखिएको छ । औद्योगिक क्रान्तिपछि महिला र पुरुषको लैंगिक भूमिका प्रभावित भएको छ । महिलाहरू घरधन्दामा मात्र सीमित रहेका छैनन् । आफ्नो भूमिकालाई उत्पादनका विविध आयाममा विस्तार गरी आय–आर्जनमा पहुँच कायम गरेको अवस्थामा देखिएका छन् । महिलाको लैंगिक भूमिकामा देखिएको यस्तो परिवर्तन नेपाली समाजमा पनि देखिनु स्वाभाविकै हो ।

आजका नेपाली महिला जागिर खान्छन् । व्यापार व्यवसाय गर्छन् । सेवामूलक व्यवसायमा संलग्न हुन्छन् । राजनीति गर्छन् । सामुदायिक भूमिकामा हिस्सेदारी कायम गरेका छन् । सामाजिक जीवनको कतिपय क्षेत्रमा नेतृत्वदायी भूमिकामा देखिएका छन् ।

दर कार्यक्रमका रूपमा महिलाहरू घरबाहिर निस्किनु र उन्मुक्त किसिमले रमाउनु महिलाको नैसर्गिक स्वतन्त्रता पनि हो । दर कार्यक्रममा महिलाहरू परस्परमा जात सोध्दैनन्, धर्म सोध्दैनन्, क्षेत्र सोध्दैनन् । दर कार्यक्रममा महिलाहरू परस्परमा छुवाछुतको मान्यता राख्दैनन् । सामाजिक रूपमा हेर्दा यो दर कार्यक्रमको सबैभन्दा सुन्दर पक्ष हो । ह्याप्पी तिज !

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro