काठमाडौं । मासिक रूपमा हुँदै आएको कथा वाचनको १३औँ शृंखला सम्पन्न भएको छ ।
काठमाडौंमा सम्पन्न कथा वाचन कार्यक्रममा दिवंगत स्रष्टाको कथाअन्तर्गत कवि सिद्धिचरण श्रेष्ठका पिता साहित्यकार विष्णुचरण श्रेष्ठको कथा ‘कुवेरको ढुकुटीको साँचो’ वाचन गरियो । उक्त कथा शारदा मासिकको वर्ष एक, अंक चारबाट वाचन गरिएको थियो ।
कार्यक्रममा कथाकारहरू योगेन्द्र तिमिल्सिनाले ‘बैंशको निर्वासित सहर’, पद्मावती सिंहले ‘बुढो आँपको बोट’, मधुवन पौडेलले ‘अकलबहादुर’, हरिश कल्पितले ‘प्रमोसन’ शीर्षकको कथा वाचन गरे । त्यस्तै, मधुसूदनप्रसाद घिमिरेले ‘बिछ्यौना’ र पवित्रा अधिकारीले ‘नचिनेको पुरुष’ वाचन गरे ।
कार्यक्रममा कथा वाचन अभियानका परिकल्पनाकारहरू पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईले कथा वाचन कार्यक्रम र यसको उपलब्धिबारे बोलेका थिए ।