एकपटक वुवाको मुख हेर्ने दिन मैले करिब ७० वर्षीय मेरो बालाई सोधेकी थिएँ - बा तपाईले आजको दिनमा मा सबैभन्दा बढी चाहनु भएको कुरा के हो ? उहाँको जवाफ थियो - म सुखद मरण चाहन्छु । उहाँको यो जवाफ आज पनि मरो मनमस्तिष्कमा गडेर बसेको छ ।
मुत्यु जीवनको अन्तिम सत्य हो । यो सत्यको ज्ञान हुँदा हुँदै पनि अधिकांश मानिस दैनिक मृत्यु स्मरण गर्ने अभ्यास गर्न बिर्सन्छन वा गर्न जान्दैनन्। हरेक व्यक्तिले मृत्यु सम्झने अभ्यास गर्ने हो भने समाजमा रिस, राग, द्वेष, लोभ, मोहले निम्त्याएको विचलन र दुःख कम हुन्थ्यो । हामी सामान्य मनुष्यमा भने मसान बैराग लाग्दा, ठूलो रोग लाग्दा, आफ्नो प्रियजन गुमाउँदा जस्ता घटनामा मात्र मृत्यु स्मरण हुँदो रहेछ । यस्तो अवस्थामा प्रायःय मनिसले 'मर्नु त एक दिन पर्छ नै दुःख नपाई जान पाए हुन्थ्यो' भन्ने गर्छन् । कोही पनि दुःखद मरण चाहँदैन । विडम्बना, मृत्यु कसरी हुन्छ र कहिले हुन्छ भन्ने ज्ञान साधारण मनुष्यलाई हुँदैन ।
बाले सुखद मरणको कुरा गर्दा हामी बाबुछोरीले लामो कुराकानी गरेका थियौँ । हाम्रो वार्तालापमा नेपालमा इच्छा मरणको व्यवस्था नभएको कुरासमेत निस्केको थियो । कुनै पनि व्यक्तिलाई निको नहुने रोग छ वा असह्य पीडा हुने रोग छ र त्यस्को कारणले उक्त व्यक्तिको हरेक पल पीडादायक भएको छ भने निजको इच्छाअनुरूप मर्न दिने व्यवस्थालाई 'इयुथनेसिया' वा 'मर्सी किलिङ' वा इच्छा मरण भनिन्छ । इच्छा मरणलाई अनुमति दिने पहिलो देश निदरल्यान्ड हो ।
विसं २००२ साल अप्रिल १ देखि निदरल्यान्डमा इच्छा मरणले कानुनी मान्यता पाएको छ । आजभोलि संसारभर इच्छा मरणले कानुनी मान्यता पाउनुहुन्छ या हुँदैन भन्ने विषयमा बहस चलिरहँदा बेल्जियम, लग्जेम्बर्ग, कोलम्बिया, क्यानडालयायतका देशले इच्छा मृत्युको कानुनी व्यवस्था गरेकाछन् ।
सबै मानिसले कुनै न कुनै बेला मृत्यु भय अनुभव गरेकै हुन्छन् । यद्यपि, ठीक मृत्युको समयमा के हुन्छ जीवित कसैलाई थाहा हुँदैन । हाम्रो समाजमा प्रायःले आफू निकै बिरामी हुँदा, बृध्द अवस्थामा आफ्नो परिवारको साथ र सामीप्य खोज्दा रहेछन् ।
तर ठूलो रोग लाग्दा वा विभिन्न रोगले सताएको ज्येष्ठ नागरिकलाई आजभोलि उपचारको लागि आईसईयुमा महिनौ राख्नुपर्ने पनि हुनसक्छ जुन ठाउँ परिवारको सामिप्यबाट टाढा हुन्छ । हुनत परिवारका सदस्यले आफ्नो बिरामी निको हुन्छ भने आफ्नो आँखाबाट टाडा राख्न पनि स्वीकार गर्छन् । आईसीयुको बास कति गाह्रो वा सजिलो हुन्छ भन्ने पनि बिरामीलाईमात्र थाहा हुन्छ।
हाम्रो बालाई सबैभन्दा बस्न मन नलाने ठाउँ आईसीयु थियो । परिवारसँग चाहेको समयमा भेट्न नपाउने, फोन प्रयोग गर्न नपाउने, डाइपर लगाउनुपर्ने लगायत अनेक कारण थिए उहाँलाई यो ठाउँ मन नपर्नुका । आईसीयुमा एकएक रात कटाउन उहाँलाई गह्रो हुन्थ्यो र हरेकपटकको बसाइमा उहाँको गुनासो रहन्थ्यो ।
क्याबिनमा कहिले लैजाने पटकपटक सोध्नु हुन्थ्यो । उहाँको जीवनको अन्तिम २ महिना अस्पतालको आईसीयु, क्याबिन, घर, इमर्जेन्सी गर्दैमा गयो । उहाँले ८९ वर्षको उमेरमा आफ्नो पार्थिव शरीर त्याग्नु भयो तर उहाँले आफ्नो अन्तिम सास आफूले सबैभन्दा नरुचाएको ठाउँ आइसीयुमा लिनु भएन ।
कुनै पनि व्यक्तिले सुखसँग बाँच्न र मर्न चाहनु स्वाभाविक हो । तर अहिलेको भौतिकवादी समाजका मानिसहरू मानवीय संवेदनाको कदर गर्न चुक्दै छन् । जीवनको अन्तिम सास लिँदै गरेको व्यक्तिलाई कति गाह्रो हुन्छ त्यसको बेवास्ता गरी भेनटिलेटरमा राखेरै भए पनि विदेसिएका परिवारजनलाई सास फेर्दै गरेको अनुहार देखाउने चलन बढ्दो छ ।
शरीरको सम्पूर्ण अंगले साथ छोडिसकेको र निको नहुने अवस्थाको व्यक्तिलाई आधुनिक उपकरणको सहायतामा प्राण त्याग्न पनि नदिनु कति न्यायोचित हो ? हुन त आशै नभएको अवस्थामा पनि 'सास रहुन्जेल आश' भन्ने गरिन्छ । हाम्रो सामजमा बोल्नै नसक्ने अन्तिम अवस्था भए पनि बिरामीलाई आफन्तजन सबैले भेट्ने चलन छ ।
प्रेम, सदभाव, श्रध्दा, लोकाचारजस्ता विभिन्न कारणले यो परम्पराले निरन्तरता पाएको हुनुपर्छ । आफ्नो कमजोर अवस्था कसैलाई देखाउन हुँदैन भन्ने मानसिकताले वा पीडा, असहजताको चरम अवस्थाले हुनसक्छ कतिपय अन्तिम अवस्थाका बिरामी स्वयं आफ्नो नजिकका केहीबाहेक कसैसँग भेट्न रुचाउँदैनन् । जेजस्तो कारण भए पनि अन्तिम अवस्थामा रहेका व्यक्तिको इच्छाको कदर सबैले गर्नुपर्छ ।
हाम्रो जीवनमा बाको मुख हेर्ने यो पहिलो वर्ष हो जसमा हामी दिदीभाइले बालाई प्रत्यक्ष दर्शन गर्न पाउँदैनौ । तर, यो दिन उहाँको गुण र कमजोरीबाट सिकेका कुरा स्मरण गरी आफूलाइ जन्म दिनु भएकोमा कृतज्ञता व्यक्त गर्ने अवसरको रूपमा सधैँ रहनेछ ।