काठमाडौं । सुरुमा हजुरआमा जेम्स (प्रधान)लाई साइन्स पढाउन दार्जिलिङ पठाउन चाहन्थिन्, जहाँ तत्कालीन राजपरिवारका सदस्य पढ्थे । पछि खै के भयो, हजुरआमाले नै नपठाउने अडान लिइन् । जेम्स काठमाडौंमै बसे । पढे ।
पपगीतको रजगज सुरु भइसकेको थियो । पपगीत गाउनेहरूको बेग्लै क्रेज थियो । जेम्सलाई पनि त्यसले लोभ्याउन थालेको थियो । स्कुलका कार्यक्रममा उनी पनि गीत गाउँथे ।
जेम्सलाई अहिले पनि प्रस्ट याद छ, ‘जीवन हाम्रो सङ्लो पानी...’ गाउँथे । यो गीत कसको हो – उनलाई अझै पनि थाहा छैन । तर, उनी गाउँथे, राष्ट्रियगान गाएजस्तो । अर्थात्, दायाँबायाँ नहल्ली, हात समेत नहल्लाई ।
पारिवारिक बिजनेस थियो, टेलिकम्युनिकेसनको । छोराले त्यसलाई निरन्तरता देओस् भन्ने चाह बुवाआमाको थियो । तर, जेम्सको नसानसामा संगीतको धुन बग्न थालिसकेको थियो । त्यसलाई किनारीकृत गरेर उनी अगाडि बढ्न नसक्ने भए ।
विद्रोह गर्नुपरे त्यही सही, गरौँला ! उनी संगीतका सुरहरूसँग खेल्न थाले । बजारमा गीतसंगीतसँग सम्बन्धित जे किन्न पाइन्छ, खोजीखोजी पढ्न थाले । गीतसंगीतबाट अलग्गिन नसक्ने अवस्थमा पुगे ।
गीतको बाटोमा यात्रा त सुरु भइसकेको थियो, ठोष रूप भने लिइसकेको थिएन । भेडेटारको सुन्दरता उनका निम्ति गीतसंगीतको बजारमा प्रवेश गर्न उत्प्रेरित गर्ने माध्यम बनिदियो ।
कसरी ?
“सायद त्यहाँको सुन्दरता होला । पहाडी भूगोल । चिसो हावा । चिसै पानी । तलबाट सरर्र आएर एकैछिनमा कुहिरोले छोपिदिएको र छिनमै फेरि सफा मौसमले ममा अनौठो भावना जगाइदियो,” जेम्स भन्छन्, “त्यस्तो वातावरण कहिल्यै देखेको थिएनँ । त्यहाँको सुन्दरताले मलाई गीत लेखौँलेखौँ, कम्पोज गरौँगरौँ, गीत गाऔँगाऔँजस्तो साहित्यिक भावना जगाइदियो ।”
भेडेटारबाट फर्किएर उनले एल्बमको तयारी गर्न थाले । कच्चा उमेर थियो, अनुभव थिएन । जानेको कमै थियो । तर, रहर उत्कर्षमा पुगेको थियो । उनले एल्बम निकाले, नाम नै ‘भेडेटारको चौतारी’ ।
विडम्बना !
गीत चलेन । दुःखले जोरजाम गरेर सकसमा निकालेका गीतले सकस नै दिए ।
तर, यात्रा रोकिएन । कारण, जेम्सले हार मोनन् । स्टुडियो खोले । त्यसपछि उनको दिनरात नै स्टुडियोमा बित्न थाल्यो ।
‘भैगो उनी जाऊँ’ जेम्सको पहिलो हिट गीत थियो । यो गीतले उनलाई पपगायकमा दर्ज गर्यो । नवीन के भट्टराई, धीरज राई, मोहन भुसाल, योगेश्वर अमात्यको पंक्तिमा उनी मिसिए ।जेम्स गायक मात्र होइनन्, कम्पोजर र एरेन्जर पनि हुन् । उनका कम्पोज र एरेन्ज थुप्रै गायकगायिकाले गाएका छन् । जस्तै, दीपेशकिशोर भट्टराई, योगेश्वर अमात्य, दीपक बज्राचार्यलगायत थुप्रै पपस्टरले उनको कम्पोजमा गीत गाएका छन् ।
जेम्सका थुप्रै गीत हिट भए । तर, आइदेऊ आइदेऊ... पछि भने हिट नम्बर आएको छैन ।
किन ?
सबै राम्रा गीत नचल्ने उनको तर्क छ । कुन गीत कुन समयमा चल्छ भन्ने थाहै नहुने उनी बताउँछन् । उनी भन्छन्, “एक त मैले गाउन नै कम गरेँ, अर्को आफूलाई राम्रा लागेका गीत पनि चलेनन् होला । तर, प्रतीक्षा छ ।”
पछिल्लो दशकमा आफ्ना गीत सोचेजस्तो पपुलर नहुँदा वर्तमान पुस्ताले कम चिन्ने गरेको उनी स्वीकार्छन् । “अहिले र हाम्रो समयका गीतमा त्यति धेरै फरक छ भन्ने लाग्दैन,” उनी भन्छन्, “फरक भनेको टेक्नोलोजी मात्रै हो ।”
जेम्स गीत गाउँछन्, लेख्छन्, संगीत भर्छन् । एरेन्ज गर्छन् । उनले ५०० भन्दा धेरै गीतमा संगीत भरेका छन् । हजारभन्दा बढी गीतमा एरेन्ज गरेका छन् । १०० जति गीतमा स्वर भरेका छन् । हजारभन्दा धेरै जिंगल बनाएका छन् ।
उनको दायरा अलि फराकिलो छ । विज्ञापनको बजारमा उनको नाम निकै अग्लो छ । हाल तीनदेखि चार दशकको उमेरमा हिँडिरहेको पुस्ताले जेम्सले बनाएका विज्ञापन नहेरेको कमैले होला । कोकाकोलाको होस् वा लाइफब्वाय साबुन वा क्लोजअपका विज्ञापन – जेम्सको दिमागले सिर्जना गरेका हुन् ।
त्यसैले त उनी भन्छन्, “म अलि धेरै नै व्यस्त भएँ । त्यसैले गीतको संख्या कम भयो ।”
भलै, उनले गाउन छोडेका छैनन् । नयाँ पुस्ताका स्रोता आऊन् वा समकालीन समयका हुन्, उनले आफ्नो टेस्ट दिन छोडेका छैनन् । उनी भन्छन्, “म हराएको छैन, भीड अलि ठूलो भएको मात्रै हो । देशी र विदेशी संगीतकर्मीको ठूलो भीडमा आफ्नो अनुहार देखाउन अलमलिएको मात्रै हो ।”