site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
विदेसिएका सन्तानलाई बाबुआमाले खोज्नु नपरोस् ...

छोरा छोरीको रहर छ,गाउँगाउँमा लहर छ, हरेक घरमा कहर छ - विदेश जानै पर्छ, अनिमात्र 'कलर' पनि फेरिन्छ डलर पनि कमाइन्छ भन्ने । यतिबेला विदेश अध्ययन गर्न जाने र पठाउनेको प्रतिस्पर्धा नै देखिन्छ नेपालमा । अमेरिकाले भिसा दिएन अस्ट्रेलिया 'ट्राइ' गर्ने । त्यता पनि भएन क्यानडा जाने । कतै भएन भने न्युजिल्यान्ड र लन्डन पनि नछाड्ने । युवाको दिमागमै हरियो डलर र खैरो कलरले डेरा जमाइसकेको छ । 

यसरी बर्सेनि लाखौं युवा विदेसिने क्रम बढ्दैगर्दा अस्ट्रेलिया, अमेरिकाजस्ता हजारौं नेपाली विद्यार्थी अध्यनरत मुलुकमा केही खुसीका क्षणसँगै पीडाको पहाड पनि उक्लिनेक्रम बढ्दो छ । छोराछोरीलाई विदेश पठाएपछि कमाउँछन् र रमाउँछन् भन्ने सोच्ने अभिभावक केही महिना, वर्षमै बिछोडको पीडामा रुमल्लिन बाध्य भएको केही घटनाक्रमले पुष्टि गरेका छन् । 

अस्ट्रेलियामा केहीले उन्नतिका पथमा प्रगतिका इँटाथपेका उदाहरणसँगै कोहीको भने बिछोडको पीडा र ज्यानै जाने घटनाक्रमले परिवार आँसुको भेल थामिनसक्नु भएको छ । यस्तै पीडा र बिछोडको केही प्रतिनिधि घटनाले अस्ट्रेलियाको नेपाली समाजलाई पनि झकझकाएको छ । 

Dabur Nepal
NIC Asia

पछिल्लो तीन महिना अस्ट्रेलियामा पाँच जना नेपाली विद्यार्थीले ज्यान गुमाए । पर्थमा घुम्न गएका एक नेपाली युवाले पानीमा डुबेर अकालमा ज्यान गुमाए भने मेलबर्नमा घाँटी रेटेर अर्का युवाले ज्यान फाले । यस्तै क्यानबेरा र सिडनीमा दुई जना नेपाली विद्यार्थीहरूले देहत्याग गरे ।

यस्ता दुःखद घटनाले ती विद्यार्थीको परिवारमा कस्तो भयो होला ? कैयौं बाबुआमाका आँसु अझै थामिएका छैनन् । विदेश पठाएको छोरोको लाश कुरेर बसेका ती अभिभावकमाथि परेको वज्रपातको कुरो गरेर साध्य छैन । आमा मूर्च्छित, बाबु अवाक अनि परिवार शोकमा डुबेको खबरले यताका साथीभाइ पनि बोल्न सकिरहेका छैनन् । 

यसरी अकालमा ज्यान गुमाउनेहरूको घटनासँगै पारिवारिक बिछोडको अर्को पीडाले नराम्रो गाँजेको छ विदेशमा । समुन्द्र किनार र गगनचुम्बी मिनार अनि पहेलो डलर र त्यसले फेरिने कलरको मोहमा कलिलै उमेरमा विदेसिएका युवायुवती अभिभावकसँग सम्पर्कविहीन हुन थालेपछि यसले परिवारलाई पिरोल्न थालेको छ । 

लाखौं रुपैँया खर्चेर अस्ट्रेलिया पढ्न पठाएको छोरो डेढ वर्षमै सम्पर्कहीन भएपछि हारगुहार गर्दै एक जोडी नेपाली अभिभावक डेढ महिना अस्ट्रेलिया बसेर फर्केको भर्खरै हो । छोरी पढ्न अस्ट्रेलिया पठाएको तर महिनौ सम्पर्कमा नआउने भएपछि भर्खरै छोरीको खोजीमा सीडनी आइपुगेको परिवारको व्यथा पनि त्यस्तै छ । 

पढेर उच्च शिक्षा र मनको आकांक्षा पूरा गर्ने आशामा बसेका अभिभावक आफैँ छोराछोरी खोज्न अस्ट्रेलियाको सहर सहर भौँतारिनु पर्दाको पीडा कसलाई सुनाउने र भन्ने ? छोराको खोजीमा आएको आमा नै बिरामी परेर थलिएपछि परिवारमा पीडाको पहाड नै टुट्यो । तर, अठार वर्ष पुगिसकेको छोरोले आमाबाबुलाई समेत भेट्न नमानेपछि उनीहरू वज्रपात सहेर नेपाल फर्केका छन् । 

अस्ट्रेलियाको कानुनअनुसार १८ वर्षमाथिको कुनै पनि स्वदेशी वा विदेशीलाई उसको इच्छाबेगर केही गर्न पाइँदैन । यो अधिकार मिचेर राजदूतावास होस् या सामाजिक संघसंस्था अथवा अभिभावकले पनि केही गर्न सक्ने आधार रहँदैन । त्यस्तै भयो त्यस परिवारमा छोराले नेपालबाट अस्ट्रेलिया पुगेका बाबुआमा भेट्न मानेन । प्रहरीले 'सरी' भनिदियो । 

यस्तै अर्को घटना सात वर्षदेखि अस्ट्रेलिया बसेका एक युवा पढाइ बिगारेपछि परिवारसँग बिस्तारै टाढिन थाले । पढ्न पठाएको छोरो चार वर्षदेखि सम्पर्कमा नआएपछि अभिभावकले नाता गोतासँग खोजिदिन आग्रह गरे । ऊ भने सिडनीमै थियो तर सबै नाता कुटुम्ब अनि साथीभाइको सम्पर्कबाहिर । पढाइ बिग्रियो, त्यसपछि भिसा सिद्धियो । ऊ यतै कतै भौँतारिदै छ । उसलाई देख्ने प्रशस्तै छन् तर अभिभावक भने खोजेका खोज्यै छन् । 

लागु पर्दाथ, जुवा तास, फेसनमा फसेका युवायुवतीमा यस्तो अवस्था बढी देखिएको एनआरएन एनएसडब्लुका सचिव वकिल कल्याण खड्का बताउँछन् । सानै उमेरमा विदेश आए, रमाइलोमा फसे, पढाइ कमजोर हुँदैगयो । अनि बिस्तारै जुवा, लागुपदार्थमा तानिए । त्यसपछि परिवारसँग टाढिए । पछिल्ला केही घटनाक्रमले यस्तै यस्तै कुरा देखिएको सीडनीमा वकिलसमेत रहेका खड्काको कथन थियो । 

 छात्रहरूमा मात्र हैन युवा छात्रामा पनि अहिले यस्तो प्रवृत्ति देखिन थालेको छ । पढाइ र बसाइ बारे जानकारी नदिने, परिवारसँग सम्पर्कमा नआउने, चाडो पैसा कमाउने नाममा 'स्क्याम'मा फस्ने अनि गाँजा र रक्सी जाँडमा मदमस्त हुनेजस्ता घटनाक्रमले छोरीहरूको चियोचर्चोमा अभिभावकको चासो बढ्नुपर्ने देखिएको छ । यता अहिले 'लिभिङ टुगेदर'को संख्या हवात्तै बढेको छ । सिडनी सहरका नामचलेका पबहरूसमेत ठमेल नाइट र डेटिङ साइटबाट चर्चित हुन थालेका छन् । यसले हाम्रो युवा पुस्ता कता रमाउँदै छन् भन्ने पनि संकेत गर्छ । 

हुन त संख्यात्मकरूपमा नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढ्दै गर्दा विकृतिका सानातिना घटना सामान्य लाग्लान् । तर, त्यसो भन्दैमा भाग्न पाइने अवस्था छैन । अध्ययन र अध्यापनका लागि भनेर बाबुआमाले स्वर्णीम भविष्यको कल्पना गर्दै विदेश पठाएका नानीबाबुहरूको पहिलो उद्देश्य शिक्षामै निहित हुनुपर्छ । पढाइ सकेर, जागिर खाएर रमाइलो गर्ने अनि मोजमस्ती गर्ने दिन पनि उनीहरूका लागि प्रशस्तै रहन्छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro