तिहारको दिन, यसै रमाइलो । त्यसमाथि पनि खुसीको खबर थपियो भने के होला ? निश्चय नै खुसी दोब्बर हुन्छ । त्यसमा पनि अपेक्षै नगरेको खुसी थपियो भने ? खुसीको पारोले पहाड चढ्छ ।
वि.सं. २०७१ सालको तिहारको दिन थियो । वर्षा (शिवाकोटी)को फोनमा घण्टी बज्यो ।
सुमन गैरेको फोन थियो । उनले भने, ‘एउटा सिनेमाका लागि नयाँ फेस चाहिएको छ, प्रतिमा (श्रेष्ठ)जीले तपाईंलाई रिफर गरेकाले फोन गरेको हुँ । भोलि अफिस आउनुस् है ।’
टीकाको दिन, सबै घरमै थिए । अनपेक्षित अफर आयो । वर्षालाई के गरौँ के गरौँ भयो । सबैले भने– एकपटक ट्राई गर, राम्रो भयो भने ठिकै छ, होइन भने ड्रप गरिदेऊ ।
अलिअघि,
वर्षा ओपन एक्सपोज हुने स्वभावकी थिइनन् । गीत सुन्थिन् । कपी गर्न मन लाग्थ्यो, तर अरूका अगाडि नाच्न लाज लाग्थ्यो । लाजबाट जोगिँदै नक्कल गर्ने उपाय भने थियो ।
जस्तै ?
ढोका लगाउँथिन् । पर्दा तान्थिन् । नाच्थिन् । एक्सप्रेसन दिन्थिन् । रहर पूरा हुन्थ्यो । स्कुलमा डान्स गर्थिन् । सायद घरमा ढोका थुनेर गरेको नक्कलले काम गरिरहेको थियो । डान्स हेर्नेहरू वर्षालाई भन्थे– यो त हिरोइन हुने खालकी छ । तर, न वर्षाका बुवा सिनेमा इन्डस्ट्रीमा न त आमा । न वर्षामा नै हिरोइन हुने रहर सवार थियो ।
तर, अरूले बारम्बार एउटै कुरा ‘यो त हिरोइन हुन्छे कि क्या हो !’ भन्दा कताकति हुन्छु कि भन्ने लाग्थ्यो । तर, त्यसलाई उनले सपना बनाइनन् । हिरोइन भएर टेलिभिजनमा छमछम माधुरी, श्रीदेवी र करिष्मा मानन्धरजस्तै नाच्छु भन्ने लक्ष्य लिइनन् । सेतो पर्दामा अनेकन् अभिनय गरूँला भन्ने रहर फुलाइनन् ।
सन् २०१४ मा एपेक्स कलेजमा स्नातक अध्ययन गर्दै थिइन् । कलेजले मिस्टर एन्ड मिस एपेक्स कम्पिटिसिन गर्ने भयो । प्रतिमा श्रेष्ठले एक हप्ता कोरियोग्राफी सिकाइन् । कम्पिटिसनको दिन आयो । मिस नेपाल फर्स्ट रनरअप शुभेच्छा खड्का र गायिका आस्था भण्डारी निर्णायक भएर आए । वर्षाका निम्ति भने निर्णायकमण्डल अलि फरक थियो ।
किन ?
“शुभेच्छा र आस्था दुवै मेरा प्लस टुका क्सालमेट थिए, ह्वाइटहाउस कलेजमा सँगै पढेका,” वर्षा भन्छिन्, “आफ्नै साथी निर्णायक हुँदा म अलि नर्भस भएको थिएँ ।”
तर, त्यहाँ उनले अरूभन्दा आउटस्ट्यान्डिङ पफर्मेन्स दिइन् । कारण, उनी घरमा टेलिभिजनमा हेरेर अरूको नक्कल गर्थिन् । एक हप्ता कलेजमा कोरियोग्राफीको तालिम लिँदा क्याटवकदेखि मञ्चमा प्रस्तुति केही निखारिएको थियो ।
त्यही देखेर प्रतिमाले वर्षालाई रिफर गरेकी थिइन् । सुमनले वर्षालाई भनेका थिए– प्रियंका कार्की, सुरजसिंह ठकुरी, सरोज खनालगायत हुनुहुन्छ । टेलिभिजनमा हेरिरहेका कलाकारको नाम सुनेर भने काम गरौँ कि भन्ने लाग्यो ।
वर्षा सुमनलाई भेट्न उनको अफिस पुगिन् । उनले सेटमै जाऊँ भनेर थापाथली पुलछेउको एउटा घरमा पुर्याए – जहाँ भइरहेको थियो, सिनेमाको छायांकन । ‘यी आँखामा तिमी छौ...’ गीत बजिरहेको थियो । कोही मान्छे बोलेका थिएनन्, शान्त थियो ।
“त्यो गीतले मलाई टच गर्यो । आहा, कस्तो राम्रो ! भन्ने भयो । फर्स्ट इम्प्रेसन नै राम्रो पर्यो,” वर्षा सम्झिन्छिन्, “सट सकियो, म आएको थाहा पाएपछि डिरेक्टर (विकास आचार्य) आएर मेरो पनि घर विराटनगर हो नि भनेर आफ्नोपन देखाउनुभयो ।”
वर्षालाई देखेर सबै खुसी भए । कारण, उनीहरूले खोजेको जस्तै फेस रहेछ वर्षाको । “ओहो, ठ्याक्कै मिल्ने ! खोजेकै जस्तो अनुहार भनेर सबै पोजिटिभ हुनुभयो,” वर्षा अतीतका दिन कोट्ट्याउँछिन्, “मैले के गर्नुपर्छ भनेर सोधेँ । उहाँहरूले दुईतीन दिन रेगुलर सेटमा आऊ, घुलमिल भएपछि सजिलो हुन्छ भन्नुभयो ।”
वर्षालाई स्क्रिप्ट दिइयो । २० पेज लामो स्क्रिप्ट थियो । डाक्टरको चरित्र थियो । पढिन् । उनको पार्ट मात्र थियो । फिल्म कहाँ, कसरी अगाडि बढ्छ भन्ने उनलाई थाहा भएन । कति सिनेमाका टर्म थिए । उनले बुझिनन् ।
छायांकन गर्न उनको मात्र पार्ट बाँकी रहेछ । विकास वर्षालाई देखेर खोजेजस्तै मान्छे पाइयो भनेर ढुक्क थिए । स्क्रिप्ट पढेपछि वर्षामा भने कन्फिडेन्स झन् लुज भयो । उनी दोस्रो दिन नै स्क्रिप्ट बोकेर म काम गर्दिनँ भनेर सेटमा पुगिन् ।
तर, विकासले उनलाई पटक–पटक सम्झाए । भन्थे, ‘कन्फिडेन्ट मात्रै भएर आऊ, काम गराउने जिम्मा मेरो ।’
दुई दिनमा चारपाँचपटक काउन्सिलिङ गरेपछि बल्ल वर्षा काम गर्न तयार भइन् । काम गर्न त तयार भइन्, तर भनिन्, ‘म यति धेरै काम गर्न सक्दिनँ, मेरो सिन घटाइदिनु ।’
सिनियर र सेटको माहोल देखेर वर्षा डराइन् । सिन घटाइदिन पटक–पटक अनुरोध गरिन् । केही सिन विकासले घटाइदिए पनि ।
बत्तिसपुतली राम मन्दिरबाट सुटिङ सुरु गरिन् । विकासले वर्षाको भावना बुझेका थिए । पहिलोपटक क्यामेरा फेस गर्न गाह्रो हुन्छ भनेर सबैभन्दा सजिलो सिन छानेर दिए ।
“तिम्रो स्माइल राम्रो छ, फर्स्ट सिन नै स्माइलबाट लिन्छौँ भन्नुभयो । तर, मैले त्यही स्माइल दिन सकिनँ । मेरो ओठ डरले थरर्र काम्यो । मैले त्यो सिन गर्न सकिनँ,” वर्षा स्मरण गर्छिन्, “त्यो सट होल्ड गरेर लिप्सिङ गर्न सजिलो हुन्छ भनेर गीतको लिप्सिङ गर्न दिनुभयो ।”
पाँच दिनमा सुटिङ सकियो । सिनेमेटोग्राफर पुरुषोत्तम प्रधानले वर्षाको अन्तिम सट खिचेपछि भने, ‘बल्ल वर्षामा कन्फिडेन्ट देखियो ।’
जब वर्षामा डर हट्यो, सुटिङ पनि सकियो । जब क्यामेराका अगाडि पर्न रहर जाग्न थाल्यो, सिन सकियो ।
पहिलो सिनेमाबाट उनले ३० हजार रुपैयाँ पारिश्रमिक पाइन् । प्रोडक्सनले ड्रेस किन्नलाई १३ हजार छुट्टै दिएको थियो ।
प्रिमियर हुने भयो । परिवार र रिफर गर्ने प्रतिमा समेतलाई लिएर सिटी सेन्टर पुगिन् । मिडियामा वर्षा डेब्यु लिड एक्ट्रेस भनेर समाचारहरू आइरहेका थिए ।
“तर, जब मैले हलमा सिनेमा हेरेँ – मलाई त मेरो सिन हेर्नै पुगेन । आफ्नो सिन निकै थोरै रहेको महसुस गरेँ,” वर्षा भन्छिन्, “त्यहीबीचमा अरू चलचित्रबाट अफर आइरहेको थियो । समाचारहरू आइरहेका थिए । त्यही भएर पनि कति थोरै सिन भन्नेजस्तो लाग्यो ।”
वर्षा कहिले साथीलाई लिएर कहिले परिवारलाई लिएर मास्क लगाएर हल जान्थिन् । सातपटक हेरिन्, ‘नाइँ नभन्नू ल–२ ।’ उनले कमेन्ट पाइन्, ‘स्क्रिनमा पनि राम्रो देखिँदो रहेछ, तर रियलभन्दा अलि मोटो देखिने रहेछ ।’ “मोटो देखिने समस्या त अहिलेसम्म छँदै छ,” उनी भन्छिन् ।
पहिलो सिनेमा हिट भयो । दर्शक र सिनेकर्मी दुवैमाझ वर्षा नोटिस भइन् । कलेजमा उनलाई जिस्काउन थाले । सेलिब्रिटी भन्न थाले । साथी र शिक्षकले ट्रिटमेन्ट गर्ने तरिकामा परिवर्तन भयो । त्यसको असर कक्षामा उपस्थितिमा देखियो । कलेज जानेक्रम पातलियो । म्युजिक भिडियोमा व्यस्त हुन थालिन् । कलेज तारिक थाम्न गएजस्तो हुन थाल्यो ।
० ० ०
आलोक नेम्वाङ निर्देशित म्युजिक भिडियोमा वर्षाले काम गर्न थालेकी थिइन् । आलोक, उनको टिम र वर्षाले सँगै हेरेका थिए, ‘टलकजंग भर्सेस टुल्के’ । त्यो चलचित्र हेर्दै वर्षालाई लागेको थियो– यो मान्छेसँग फिल्म खेल्न पाए हुन्थ्यो । खगेन्द्रको काम गजब मन परेकाले उनीसँग काम गर्ने रहर लागेको थियो ।
भलै, उनलाई सिनेमा नै मेरो करिअर हो भन्ने थिएन । लिड रोलको प्रस्ताव कहिले आउला भन्ने पर्खाइ थिएन । त्यसको पनि कारण छ ।
कस्तो कारण ?
त्यो समय वर्षालाई म्युजिक भिडियोमा काम गर्नै भ्याइ नभ्याइ थियो । पारिश्रमिक पनि राम्रो थियो । वर्षा त्यस्तो समय आलोकसँग काम गरिरहेकी थिइन्, जुन बेला आलोकको म्युजिक भिडियोमा काम नगरी कुनै पनि मोडल कम्प्लिट हुन्न भन्ने थियो ।
त्यसमा पनि ‘नाईं नभन्नु ल–२’ पछि चलचित्रमा काम नगरेको एक वर्ष भइसकेको थियो । मात्र ‘टलक जंग भर्सेस’ मन परेर त्यो टिमसँग काम गर्ने रहर पलाएको थियो ।
आलोक केही समयपछि चलचित्र बनाउने योजनामा थिए । उनको क्लोज सर्कलभित्र वर्षा अटाइसकेकी थिइन् । त्यसैले चलचित्रमा काम गरेँ भने सायद त्यही गर्छु होला भन्ने उनको सोच थियो ।
तर, त्यसको करिब पाँच महिनापछि आलोकले सांसारिक संसारबाट बिदा मागे । म्युजिक भिडियोकै सर्कलमा सीमित रहेकाले वर्षालाई अब चलचित्रको आस थिएन । अफर आए ठिकै छ, नआए म्युजिक भिडियो नै गर्छु भन्ने मनस्थितिमा थिइन् ।
नेपालीमा एउटा उखान छ, ‘तँ चिता म पुर्याउँछु ।’ यो उखान वर्षामा चरितार्थ भयो । निर्माता माधव वाग्लेले ‘पशुपति प्रसाद’का लागि अफर गरे ।
‘नाइँ नभन्नू ल–२’ र ‘मिस्टर झोले’को सम्पादन एकै ठाउँमा भइरहेको थियो । त्यहीँ निर्देशक दीपेन्द्र के खनालले वर्षालाई देखेका रहेछन् । “त्यहीँ उहाँले मलाई यो त बोल्न नसक्ने नसक्ने जस्तो देखिने रै’छ भन्नुभएको रहेछ, कमन फेसजस्तो पनि देखिने भएकाले मलाई माधव वाग्ले दाइले ‘पशुपति प्रसाद’का लागि अफर गर्नुभयो,” वर्षा नोस्टाल्जिक हुन्छिन् ।
यसपटक पूरै स्क्रिप्ट उनको हात पर्यो । स्क्रिप्ट पढ्दा उनले महसुस गरिन्, ‘यो त प्रकाशन भइसकेको कुनै पुस्तक हो, राम्रो स्क्रिप्ट त यस्तो पो हुने रहेछ !’ स्क्रिप्ट पढ्दै उनले इन्जोय गरिन् । स्क्रिप्ट पढ्दा नै उनको दिमागमा सिनेमाको पूरै भिजुअल आइसककेको थियो । “स्क्रिप्टमा जे थियो, डिट्टु भिजुअलमा आएको थियो,” वर्षा सुनाउँछिन् ।
आफ्नो क्यारेक्टरलाई लिएर भने वर्षालाई ठूलो अपेक्षा थिएन । कारण, उनको रोल नै धेरै थिएन । भएको चरित्रमा पनि संवाद थिएन । बोल्न नसक्ने चरित्र उनको पोल्टामा थियो । यद्यपि, उनले अफर नकारिनन् । कारण, त्यो टिमसँग काम गर्ने चाह थियो ।
दीपेन्द्रले वर्षालाई ‘स्क्रिप्ट पढिहाल्यौ, चरित्र कस्तो हुन्छ आफैँ वर्कआउट गर’ भने । वर्षा बोल्न नसक्नेहरूको हाउभाउ अध्ययन गर्न नक्साल पुगिन् । तर, त्यहाँ सिक्ने माहोल देखिनन् । युट्युब र गुगल गरेर केही अध्ययन गरिन् ।
धेरै सिन नभएको, त्यसमा पनि संवाद नभएकाले वर्षाले प्रेसर फिल गरिनन् । तीन दिनमा छायांकन सकियो ।
‘पशुपति प्रसाद’को पनि प्रिमियर भयो । परिवार र साथीसहित हल पुगिन् । प्रिमियरमा आएका सबैले चलचित्र राम्रो भनेर प्रतिक्रिया दिए । “प्रतिक्रिया देखेर के भइरहेको छ भन्नेजस्तो भयो । अन्तिममा आएर म बोल्न नसक्ने भन्ने थाहा पाएपछि सबै सक्ड हुनुभएको थियो,” वर्षा भन्छिन्, “मेरो क्यारेक्टर सानो भए पनि इम्प्याक्टफुल रहेछ भनेर प्रिमियरमा आएको प्रतिक्रिया र फेसबुकमा आएका पोस्टले पो थाहा पाएँ ।”
प्रिमियरको भोलिपल्टदेखि नै धेरैले फेसबुकमा मास्टरपिस सिनेमा भनेर लेखिरहेका थिए । अधिकांश फेसबुक पोस्टमा वर्षाको क्यारेक्टरलाई मेन्सन गरिरहेका थिए । अनि, उनले महसुस गरिन् – सानो क्यारेक्ट पनि इम्प्याक्टफुल हुने रहेछ भन्ने । हरेक दिन प्रतिक्रिया थपिइरहेका थिए । तारिफ पाउनेमा वर्षा पनि थिइन् । “दश वर्षपछि आज पनि मलाई धेरैले पशुपति प्रसादको होइन र ? भन्नुहुन्छ,” सानो क्यारेक्टरले दिएको ठूलो पहिचान सुनाउँछिन् वर्षा ।
पहिलो सिनेमा सातपटक हेरेकी वर्षाले ‘पशुपति प्रसाद’ गनेरै दशपल्ट हेरिन् । उनको सिन आउँदा अरू पर्दामा हेर्थे, वर्षा भने उनको अभिनयलाई लिएर उनीहरूले गर्ने रियाक्ट हेर्थिन् । र, आफ्नो अभिनयको फिडब्याक महसुस गर्थिन् ।
० ० ०
‘पशुपति प्रसाद’पछि वर्षालाई आयो अचम्मको अफर । ‘पशुपति प्रसाद’मा संवादविहीन क्यारेक्टर देखेर ग्याङस्टार मुभीबाट अफर आयो । सिनेमा थियो, ‘लप्पन छप्पन’ ।
“तपाईंले पशुपति प्रसादमा त्यस्तो क्यारेक्टर त गर्नुभयो, यो त सकिहाल्नुहुन्छ नि, यो टोटल्ली अपोजिट, ग्याङस्टार क्यारेक्टर भनेर निर्देशक मुकुन्द भट्टले भन्नुभयो,” वर्षा सम्झिन्छिन्, “उहाँहरू मप्रति पूरै कन्फिडेन्ट हुनुहुन्छ, म भने दोधारमा छु, उहाँहरूले सक्नुहुन्छ भनेपछि म कसरी नाइँ भन्नु भन्ने भयो ।”
को–को हुनुहुन्छ ?
‘दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा,’ मुकुन्दले भने । सुटिङ युरोपमा । त्यसपछि वर्षालाई लाग्यो– यो त गर्नुपर्छ । उनी तयार भइन् ।
मुकुन्दले सोचेजस्तो वर्षाले ट्रान्सफर्मेसन अलि गर्न सकिनन् । बीचमा मुकुन्दलाई शंका भयो । ग्याङस्टार क्यारेक्टरमा दर्शकले विश्वास गर्छन् वा गर्दैनन् उनलाई डर लागेको थियो । जति वर्कआउट गरे पनि फेस इनोसेन्ट देखिरहेको छ भन्थे ।
स्लिम र फिट देखिन वर्षाले पाँच केजी वेट लुज गरिन् । दुई महिनासम्म हरेक दिन बिहान सीतापाइलाबाट स्वयम्भूको माथि पुगेर दौडिँदै घर फर्किन्थिन् । फाइटको सिन थियो । फाइट क्लास लिइन् । तर, सिनेमामा फाइटको सिन धेरै रहेन ।
पहिलो र दोस्रो चलचित्रमा नसीमित सिन भएकाले वर्षाले सेटको वास्तविक अनुभव लिन पाएकी थिइनन् । ‘पशुपति प्रसाद’मा एउटा क्यामेराले खिचेको अनुभव थियो । पहिलो चलचित्र त डरैडरमा बित्यो । सुटिङको वास्तविक अनुभव लिनै पाएकी थिइन् ।
‘लप्पन छप्पन’मा भने उनी लिड रोलमा थिइन् । छायांकन बेल्जियम, फ्रान्स, स्वीट्जरल्यान्ड र नेदरल्यान्ड्समा थियो । युरोपमा छायांकन भएकाले सीमित व्यक्ति मात्र जानुपर्ने थियो । मेकअप आर्टिस्टको भिसा लागेन । निर्माण टिमले भन्यो, ‘तपाईंले आफ्नो मेकअप आफैँ गर्नुपर्छ है ।’ मेकअप किट किनेर, सिकेर वर्षा बेल्जियम गइन् ।
निर्माणपक्षले उतैको नेपाली मेकअप आर्टिस्टसँग सम्झौता गरेको थियो । उनी पनि नहुने भइन् । पर्यो फसाद !
कस्तो ?
आफ्नो मेकअप त आफैँ गर्नुपर्ने भयो नै, सौगात, दया र अर्पणको मेकअप गर्ने जिम्मा पनि वर्षाकै काँधमा आयो । “मेकपसम्म त ठिकै थियो, सौगात दाइलाई दारी पनि जोड्दिनुपर्ने भयो । त्यही भएर केही फेकजस्तो देखिएको छ, सौगात दाइको दारी,” उनी भन्छिन्, “बिहान उठ्यो, अरूको मेकअप सक्यो अनि आफ्नो गर्यो ।”
परिबन्धले मेकअप आर्टिस्ट पनि बनायो । सेटमा लाइट बोकेर समेत हिँड्नुपर्थ्यो । जे आइपर्छ त्यही गरिन् । अपार्टमेन्टमा बसेका थिए । त्यहाँ आफैँ खाना पकाउने काम पनि गरिन् ।
जाडो मौसम थियो । पहिलोपटक युरोपको सुटिङमा थिइन् । फरक अनुभव थियो । कहिलेकाहीँ लुकीलुकी सुटिङ गर्नुपर्थ्यो । ब्रसेल्समा भर्खरै मात्र आतंकवादी हमला भएको थियो । सुरक्षा जाँच कडा थियो ।
ग्याङस्टार मुभी – प्रप्समा बन्दुक, पेस्तोल पनि थियो । “प्रोडक्सनको एकजनाले बाहिर बसेर गन खेलाइरहनुभएको रहेछ, प्रहरीले समाएर हाम्रो अपार्टमेन्टमा हामीलाई पक्राउ गर्न आयो । अपार्टमेन्ट सर्च गर्यो,” वर्षा सुटिङको रमाइलो र झमेला सुनाउँछिन्, “त्यो दिनभर सुटिङ डिस्टर्भ भयो ।”
० ० ०
वर्षालाई लिड रोलमा अफर आउनेक्रम बाक्लियो । ‘कारखाना’ फिमेल सेन्ट्रिक सिनेमा थियो । कथा राम्रो थियो । तर, त्यसको मेकिङ अपेक्षित भएन । प्रचार फितलो भयो । दर्शकले चलचित्रलाई पत्याएनन् ।
“त्यस्तै कन्टेनमा बलिउडमा तीन वर्षअगाडि मिमि बन्यो, कृति सेननले नेसनल अवार्ड जितिन्,” उनी भन्छिन्, “मिमिभन्दा धेरै पहिला नै हाम्रोमा कारखाना बनेको थियो । म त्यो सिनेमाको लिड क्यारेक्टरमा थिएँ । तर, एक्ज्यिुकेसन राम्रो भएन । चलचित्र राम्रो भएन ।”
निर्देशक र निर्माताबीच मतभेद आयो । रिलिजसम्म आइपुग्दा चलचित्रको टिमले गर्नुपर्नेजति काम गरेन । वर्षालाई त्यही कन्टेनमा राम्रो मेकरले फेरि सिनेमा बनाए हुन्थ्यो भन्ने लाग्छ ।
० ० ०
खोइ, कस्तो संयोग हो ! जबजब वर्षा नेपालबाहिरको ट्राभलमा हुन्छिन्, उनलाई सिनेमाको अफर आउँछ ।
‘लक्काजवान’को अफर उनी युरोपमा हुँदा आएको थियो । ‘छक्का पञ्जा’मा पनि त्यस्तै भयो ।
दीपाश्री निरौला र दीपकराज गिरीसँग एकाधपटक भेट भएको थियो, तर क्लोज सम्बन्ध थिएन । ‘छक्का पञ्जा’ टिमसँग उनको कुनै कनेक्सन थिएन ।
वर्षा भियतनाममा थिइन् । दीपकराज गिरीले म्यासेज गरे, ‘के छ खबर ?’
वर्षाले सोधिन्, ‘फिल्म बनाउँदै हुनुहुन्छ ?’
‘गर्दै छु, स्क्रिप्टमा छु । आईएम सर्चिङ योर रोल । यसपटक सँगै काम गर्न सकिन्छ होला ।’
दीपकले स्पष्ट केही भनेनन् । वर्षाले लेखिन्, ‘यतिका वर्षपछि मेरो पालो आउलाजस्तो छ तपाईँहरूसँग काम गर्ने ।’
दीपकले फेरि क्लियर कुरा गरेनन्, मात्र भने– लेट्स सी ।
दुई हप्ता केही कुरा भएन । बोलचाल भएन । वर्षाले सोधिन्, ‘के छ डेभलपमेन्ट ?’
‘स्क्रिप्टमै छु । आईएम सर्चिङ योर रोल इन द स्क्रिप्ट ।’
प्रस्ट नभने पनि सर्चिङ योर रोल भनेपछि वर्षाले सोचिन्, ‘सायद मप्रति स्योर हुनुहुन्छ होला ।’
उनले हिन्ट्स पाइन्, तर कसैलाई भनिन् । सुरुसुरुमा सानो कुरा पनि सुनाइहाल्ने वर्षा अलि परिपक्व हुँदै छिन् । काम नबनेसम्म भन्दिनन् । गोप्य राख्छिन् । साथी सर्कल मात्र होइन, आमालाई पनि सुनाउँदिनन् ।
करिब एक हप्तापछि दीपकले भने, ‘वी आर मिटिङ टुमरो । हामी भोलि भेट्दै छौँ । अफिस आउनू, लेट्स टक ।’ अझै प्रस्ट पारेनन् ।
दीपकदीपाको बालुवाटारस्थित अफिस पुग्दा सिनेमाको छायांकनमा जाने सबै तयारी भइसकेको रहेछ । दीपाश्रीले भनिन्, ‘ल वर्षा, योपटक सँगै काम गरिने भइयो । तिमीलाई काम गर्न भनेरै बोलाएको हो ।’
काम गर्ने कि नगर्ने भनेर पनि सोधिएन । वर्षा काम गर्न तयार नै थिइन् । त्यति बेलै एग्रिमेन्ट भयो ।
एउटा सर्त थियो, कलाकारको लाइनअप फ्ल्यास नगर्ने । साथीभाइलाई सुनाउन वर्षालाई खसखस भइरहेको थियो, तर सर्तले बाँध्यो । आमाबाहेक कसैलाई सुनाइनन् । उकुसमुकुस भइरह्यो ।
न वर्कसप न स्क्रिप्ट । युनिट छायांकनमा निस्कियो । वर्षाको हात खाली थियो ।
एग्रिमेन्ट भएकै दिन अर्को कोठामा लगेर दीपकले वर्षालाई भनेका थिए, ‘हाम्रो सिनेमा फेमेली ड्रामा हो, तिम्रो रोल मोर्डन रेडियो जकीको हो । हसबेन्ड एन्ड वाइफ हुन्छ, त्यहीअनुसार प्रिपेयर गर न ।’
न स्टोरी न स्क्रिप्ट केही भनेनन् । ‘बिहे भा’को छैन’ भन्ने गीत भने सुनाएका थिए ।
सुटिङमा पनि वर्षाको हातमा स्क्रिप्ट थिएन । सट लिनु १० मिनेटअगाडि सेटबाहिर बसेर को–एक्टरसँग रिहर्सल गर्ने शैली रहेछ ।
दीपकले वर्षालाई भनेका थिए, ‘तिमी यो सिनेमामा काम गर्न होइन, भ्याकेसन मनाउन आएको छु भनेर सम्झ । प्रेसर लिनु पर्दैन । चिन्ता लिनु पर्दैन ।’
अरूले छायांकन सुरु गरेको एक हप्तापछि वर्षा सुटिङ सेटमा ज्वाइन हुँदै थिइन् । एक दिनअगाडि उनले म्यासेज गरिन्, ‘भोलि मैले गर्नेचाहिँ के हो ?’
दीपकले जवाफ दिए, ‘तिमी प्रेसर नलेऊ, हाम्रो वर्किङ स्टाइल नै यही हो । भोलि एक दिन मात्रै तिमीलाई गाह्रो हुने हो, त्यसपछि तिमी एड्जस्ट भइहाल्छौ ।’
काम गर्ने यो तरिका राम्रो कि नराम्रो ? कसैले राम्रो भन्लान्, कसैले नराम्रो – वर्षाले भने प्रेसरलेस फिल गरिन् । “अब जस्तो सिचुएसनमा जोसुकैसँग पनि काम गर्न सकिन्छ भन्ने लाग्यो,” उनी भन्छिन्, “अन द स्पट जस्तोसुकै च्यालेन्जिङ काम पनि गर्न सकिन्छ भन्ने भयो ।”
वर्षाले यो वर्किङ स्टाइलबाट अर्को पनि अनुभव गरिन्, “अन द स्पट काम गर्दा क्यारेक्टरमा चाहिँ काम हुँदैन । एक्टरले क्यारेक्टरमा गर्न सक्ने इनह्यान्स गर्न सक्दैन ।”
नयाँ र कच्चा मेकर भएको अवस्थामा यो कार्यशैलीले काम गर्दैन । तर, यही कार्यशैलीले काम गर्ने दीपकदीपाको टिम अहिलेसम्म सफल छ । त्यसैले वर्षा ढुक्क थिइन् ।
नसोचेको बाटोमा हिँडिन् । चलचित्रको अभिनय उनको कर्म बन्यो । जसै चलचित्रमा उनले बलियो पाइला टेकिन्, करिअर नै यही बन्यो ।