
काठमाडौं । नेपाली चलचित्रको बजार कत्रो छ ? यसको ठोस जवाफ कसैसँग नहोला । तर, पछिल्लो ६ महिनाको नेपाली चलचित्रको बजार हेर्दा निकै लोभलाग्दो छ ।
नेपाली चलचित्रलाई डिजिटल युगमा प्रवेश गराउने डीसीएनले सन् २००७ मा उक्त प्रविधि भित्र्याएको थियो । डीसीएनले त्यति बेला सन् २०३० मा नेपाली चलचित्रको बजार ५० करोड पुग्ने अनुमान गरेको थियो । “६ वर्षअगाडि नै हामीले लक्ष्य भेट्टायौँ,” डीसीएनका सञ्चालक समेत रहेका कलाकार तथा निर्देशक अशोक शर्मा भन्छन्, “पूर्ण बहादुरको सारङ्गीको अहिलेको ग्रसकलेक्सन हेर्दा हामीले १७ वर्षअगाडि गरेको प्रेडिक्सनमा ६ वर्षअगाडि नै पुग्यौँ ।”
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हाल गरिरहेको कलेक्सन हेर्दा करिब ५० करोड रुपैयाँ नेपालभित्रै उठाउने देखिएको उनी बताउँछन् । नयाँ टेक्नोलोजी भित्रँदै जानु, सिनेमा हलको संख्या थपिनु र विभिन्न जानराका चलचित्र निर्माण हुँदै जाँदा बजार पनि फैलँदै गएको उनको भनाइ छ ।
“सुरुमा २५ लाखमा सिनेमा बन्थे । डिजिटल प्रविधि नहुँदा काठमाडौंका दर्शकले हेरेको एक वर्षपछि विराटनगरका दर्शकले हेर्न पाउँथे । हल थोरै थिए,” अशोक भन्छन्, “७० लाखमा सिनेमा बन्न थाले । त्यसपछि एक करोड नभई सिनेमा नबन्ने भयो । अहिले दुई करोड नभई चलचित्र बन्दैन । कसैले तीन/चार करोडमा पनि चलचित्र बनाइरहेका छन् । लगानी बढ्दै जाँदा गुणस्तर र बजार पनि बढ्दै गएको छ ।”
सुरुका वर्षमा एउटै जानराका चलचित्र बन्ने गरेको उनी स्मरण गर्छन् । जानरामा विविधता बढ्दै जाँदा बजार पनि विस्तार हुँदै गएको उनी सुनाउँछन् ।
“यही वर्षको महाजात्रादेखि, बोक्सीको घर, घरज्वाइँ, खुस्मा, छक्का पञ्जा, १२ गाउँ, पूर्ण बहादुरको सारङ फरक–फरक जानरामा आए,” अशोक भन्छन्, “जानरा फरक हुँदा सिनेमा हेर्ने दर्शक पनि बढे ।” यसले निरन्तरता पाए बजार थप बढ्दै जाने उनी बताउँछन् ।
तर, ‘पूर्ण बहादुरको सारङ्गी’, ‘१२ गाउँ’ चल्यो भनेर त्यस्तै चलचित्र बनाइने नचल्ने उनको भनाइ छ ।
यो वर्षका ६ महिनामा करिब एक अर्बको व्यापार भएको उनले जानकारी दिए । “पूर्ण बहादुरको सारङ्गीको व्यापार भइसक्दा यो महाजात्रायता करिब एक अर्बको कारोबार हुनेजस्तो देखियो,” उनी भन्छन्, “यसले नेपाली बजार सानो छ भन्ने देखाउँदैन । अझै करिब ६ महिना बाँकी छ । अझै धेरै चलचित्र रिलिज हुन बाँकी नै छ । प्रदर्शन हुन बाँकी रहेका चलचित्र पनि राम्रोसँग चले भने २०० करोडको बजार रहेछ भन्ने देखाउँछ ।”
बजेट जति बढ्दै जान्छ र फरक–फरक जानरामा सिनेमा बनाइन्छ, त्यति नै राम्रा चलचित्र र बजार पनि बढ्दै जाने सम्भावना उच्च हुने उनी बताउँछन् ।
यो नेपाली बक्सअफिसको बजार मात्र हो । ओभरसिजको मार्केट पनि ठूलो छ ।
वितरक करण श्रेष्ठ एक वर्षअघि नै आफूले नेपाली चलचित्रको बजार एक वर्षपछि करोड पुग्ने बताएको स्मरण गर्छन् । “मैले एक वर्षअगाडि पशुपति प्रसाद–२ : भष्मे डन रिलिज हुँदा यो चलचित्रले ३० करोड रुपैयाँ कलेक्सन गर्छ भनेको थिएँ,” करण भन्छन्, “तर, विभिन्न कारणले भष्मे डनले ३० करोड कमाउन सकेन । तर, यो वर्ष पूर्ण बहादुरको सारङ्गीले ५० करोड कमाउने सम्भावना देखाएको छ ।”
यो वर्ष चलचित्रका निम्ति गजबको माहोल बनिरहेको र अब आउने सिनेमाको लाइनअप पनि आशालाग्दो रहेको उनी बताउँछन् । अब ‘नरसिंह अवतार’, ‘जेरी अन टप’, ‘के घर के डेरा’, ‘तेल भिसा’ जस्ता सम्भावना बोकेका चलचित्र लाइनअपमा रहेकाले अर्को सय करोड थपिन सक्ने उनको अनुमान छ । तर, त्यो चलचित्रको गुणस्तरले निर्धारण गर्ने उनी स्पष्ट पार्छन् ।
“एउटा सिनेमाले ५० करोड रुपैयाँ नेपाली बजारबाटै उठाउने देखियो । यसले नेपाली चलचित्रको बजार ठूलो छ भन्ने देखाउँछ,” उनी भन्छन्, “नेपालमा ५० करोड ग्रस गर्ने सिनेमाले ओभरसिज मार्केटबाट करिब ४० करोड ग्रसकलेक्सन गर्न सक्छ । यसले नेपाली चलचित्रको बजार सानो छैन भन्ने प्रस्ट पार्छ ।”
‘पूर्ण बहादुरको सारङ्गी’ले देखाएको बजारलाई जोगाएर राख्नु नेपाली सिनेमा मेकरका लागि चुनौती हुने उनी बताउँछन् । “पूर्ण बहादुरको सारङ्गीबाट देखिएको बजारलाई कसरी जोगाएर राख्ने, कसरी टिकाउने र बचाउने भन्ने चुनौती दिएको छ,” वितरक करण भन्छन्, “दर्शकले जसरी नेपाली सिनेमा र मेकरलाई विश्वास गरेका छन्, त्यो भरोसालाई कायम राख्नु अहिलेको चुनौती हो ।”
‘पूर्ण बहादुरको सारङ्गी’ हेर्न आएका दर्शकलाई अर्को सिनेमाका निम्ति पनि हलसम्म ल्याउन सक्नुपर्ने र यो चुनौती भएको उनी टिप्पणी गर्छन् । “फुटेर मात्रै होइन, जुटेर यो उपलब्धि र बजारलाई जोगाउनुपर्छ,” उनी भन्छन्, “मेकर र वितरक फुटेर होइन, जुटेर नेपाली सिनेमाको बजार जोगाउनुपर्छ । मिल्ने र मिलाउने हाम्रो जिम्मेवारी हो ।”
हालका निर्देशक र निर्माताले ‘पूण बहादुरको सारङ्गी’ले खोलेको बजारलाई निरन्तरता दिनुपर्नेमा उनको जोड छ । “रामबाबु गुरुङ, दीपेन्द्र के खनाल, निश्चल बस्नेत, प्रदीप भट्टराईजस्ता निर्देशकले यो बजारलाई जोगाउँदै विस्तार गर्नुपर्छ,” करण भन्छन् ।
निर्देशक दीपेन्द्र के खनाल नेपाली चलचित्र क्षेत्रलाई बल्ल उद्योग भन्न सुहाउने भएको बताउँछन् । “हामी नेपाली चलचित्र क्षेत्रलाई उद्योग भन्थ्यौँ, तर वास्तवमा उद्योग भन्न सुहाउने अवस्था थिएन । तर, यो वर्ष जसरी नेपाली चलचित्रले व्यापार गरिरहेका छन्, यसले यो पनि उद्योग हो भन्न सुहाउने भएको छ,” दीपेन्द्र भन्छन् ।
‘पूर्ण बहादुरको सारङ्गी’को सफलता नेपाली चलचित्र उद्योग र चलचित्रकर्मीका लागि सेलिब्रेसन भएको उनको भनाइ छ । “मलाई अबको चार/पाँच वर्षमा नेपाली चलचित्रको बजार ५० करोड पुग्छ भन्ने लागेको थियो, तर यही वर्ष पुग्यो,” उनी अगाडि थप्छन्, “नेपाली चलचित्रमा लागेर के हुन्छ र भन्नेका लागि यो जवाफ पनि हो । करिब ६ महिनामा सवा करोड लगानी गरेर ५० करोड बजारबाट उठाउनु कम आँक्ने कुरा होइन, अरू बिजनेसमा यो सायदै होला ।”
‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड अब अर्को चलचित्रले तोड्नुपर्ने उनी बताउँछन् । रेकर्ड भनेको तोड्नकै निम्ति बन्ने र त्यो जोगाउनका लागि नबन्ने उनी बताउँछन् ।
“कोहिनुरले १० करोड कलेक्सन गर्दा यो त हिरोको मृत्युका कारण दर्शकको सेम्पेथीले चलेको हो, यसको रेकर्ड कसले ब्रेक गर्न सक्ला र भन्ने थियो,” उनी भन्छन्, “त्यसपछि छक्का पञ्जाले लगातार उक्त रेकर्ड ब्रेक गर्दै आफ्नै रेकर्ड पनि तोड्यो । छक्का पञ्जाको रेकर्ड ब्रेक कसले गर्ला भनिरहेका बेला कबड्डीले तोड्यो । कबड्डीको रेकर्ड १२ गाउँले तोडेको दाबी गरिरहेका बेला पूर्ण बहादुरको सारङ्गी सबैभन्दा माथि पुग्यो ।”
मल्टिप्लेक्स थपिँदै जानु, एउटै सिनेमा तीन पुस्ताका दर्शकको रोजाइमा पर्नु र फेमेली अडियन्स बढ्नुले नेपाली चलचित्रको बजार बढ्दै गएको दीपेन्द्रको बुझाइ छ । युवाले मात्र चलचित्र हेर्दा सीमित बिजनेस, तर पारिवारिक दर्शक हुँदा व्यापार उच्च हुने उनी बताउँछन् ।
“नेपाली सिनेमाप्रति दर्शकको क्रेज बढेको देखिएको छ । यस्तै क्रेज बढ्दै जाने हो भने अहिले ५० करोडको बजार पुग्यो भने अर्को वर्ष ५५ करोड पुग्छ,” उनी भन्छन्, “जब एउटा बेन्चमार्क खडा हुन्छ, त्यसलाई भेट्टाउने उद्देश्य हुन्छ । जब कसैले कुनै उद्देश्य राखेर काम गर्छ भने त्यसमा सफलता पनि छिट्टै हात पर्छ ।”
भारतमा ५० करोड, १०० करोड, ५०० करोड हुँदै अहिले हजार करोड कलेक्सन गर्ने भन्ने भइसकेको दीपेन्द्र बताउँछन् । नेपालमा पनि ५० करोडको बेन्चमार्क खडा भएपछि त्यसलाई उछिन्ने उद्देश्यले काम हुनुपर्नेमा उनी जोड दिन्छन् ।