site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको अव्यावहारिक हठ

'म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो' भन्ने आहान यतिखेर प्रधानमन्त्री खड्गप्रसाद ओलीका लागि चरितार्थ हुनलागेको भान हुन्छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष प्रधानमन्त्री खड्प्रसाद ओली चीन भ्रमणमा जान लागेका छन् । तर, भ्रमणको औपचारिक घोषणा नहुँदै उनका नयाँ पुराना 'मित्र'हरूले भने बिच्छुक लगाउन थालिसके ।

सबैभन्दा पहिले पूर्वप्रधानमन्त्री एवं प्रमुख विपक्षी नेता पुष्पकमल दाहालले ओली भारतभन्दा पहिले चीन भ्रमणमा जान लाग्नुलाई 'चिनियाँ कार्ड' खेल्न लागेको भनेर विवाद उठाइदिए । प्रधानमन्त्री ओलीले पनि दाहाललाई जवाफ दिने क्रममा भारतीयहरूले दुःख दिएको भन्न भ्याए । दाहालको 'सगुफा' अन्ततः 'सातुको पोको' भएजस्तो छ – फास्स न फुस्स !

ऋण लिनै नपाइ !

Dabur Nepal
NIC Asia

दाहाल के मन्सिएका थिए सत्ता साझेदार नेपाली कांग्रेस बाउँठियो । कांग्रेसका नेताहरूको एउटै रटान सुनिन्छ – 'बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)'मा ऋण लिनै हुँदैन । झट्ट सुन्दा कुरा सही हो जस्तो पनि लाग्छ । उता प्रधानमन्त्री ओली बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर नगरे चीन जानुको के अर्थ भन्दै घुर्क्याउँदै छन् । दाहाललाई जस्तो देउवालाई सजिलै ओँठे जवाफ लाउन पनि मिलेन । बिचरा ओलीलाई 'बोलबोल मछली मुखभरी पानी' भने झैँ पो भयो ।

खण्डखातिर केही नपरे प्रधानमन्त्री ओली चीन त पक्कै जालान् । तर, बीआरआई कार्यान्वयन सम्झौता भने हुने नहुने टुंगो भएन । बीआरआई कार्यान्वयन चिनियाँ पक्षको अडान र रटान दुवै भएको छ । चीन सरकारलाई नेपालले बीआरआई पन्छाउनै खोजेको हो भन्ने भान पर्‍यो भने न भ्रमणलाई उचित महत्त्व दिनेछ न ओलीकै साख रहनेछ । अनि, 'चिनियाँ कार्ड' खेल्न खोजेको आरोप लगाउनेहरू नै भोलि चीनले नपत्याएको हल्ला चलाउन थाल्नेछन् ।

बीआरआईको गाँठो

ओली हुन वा अरू कोही नेपालको प्रधानमन्त्री छिमेकी मुलुकमा जाँदा पारस्परिक सम्बन्ध झन् 'चिसो' भयो भने हानि त देशकै हुन्छ । त्यसमाथि विश्व महाशक्ति चीनलाई नेपालले आफ्नै हितका लागि पनि चिढ्याउन त हुँदैहुँदैन । यसैले प्रधानमन्त्री ओली चीन भ्रमणमा गइसकेपछि बीआरआईको गाँठो फुकाउनै उचित हुन्छ । अर्थात्, बीआरआई कार्यान्वयन सम्झौता हुनुपर्छ ।

बीआरआई अमेरिकी अनुदान सहयोगजस्तो पारदर्शी छैन । चीनको शासन व्यवस्था नै अमेरिकाको भन्दा फरक छ । उदार, पारदर्शी लोकतान्त्रिक विश्व व्यवस्थालाई चीनले स्वीकारेको पनि छैन । यसैले संसारभरको बीआरआई सम्झौता पारदर्शी हुनुपर्छ भन्नु निहुँ खोज्नुमात्र हुनेछ । यस्तै बीआरआईमा ऋण लिँदै नलिने लेखेर सम्झौता गर्न चीन पक्कै पनि मान्दैन । विश्वका १५० भन्दा बढी देशसँग चीनले बीआरआई सम्झौता गरेको र २०० भन्दा बढी सहयोग सम्झौता भइसकेको जानकारी चीन सरकारको आधिकारिक सूचनाबाट पाइन्छ । यी सबैभन्दा बेग्लै हुने गरेर सम्झौतै गर्न त चीन पो किन मान्ला र ?

यति त नेपाली कांग्रेसका नेताहरूले पनि बुझेकै होलान् । हुन त नेपालले लिएको सार्वजनिक ऋण तुलनात्मकरूपमा थोरै नै छ तर राज्यले ऋण लिनै हुन्न भन्नेहरूको स्वर निकै चर्को छ । त्यही कारणले 'लोकप्रिय' हुन त कांग्रेसका नेताहरूले ऋण लिनैहुन्न भनेका त होइनन् होला ।

कसैसँग पनि नलिने कि चीनसँगमात्र ?

यसैगरी नेपालले अब अन्तर्राष्ट्रिय ऋण लिँदै नलिने भन्न खोजेको हो त नेपाली कांग्रेसले ? कि चीनसँग चाहिँ ऋण नलिने भन्न खोजेको हो ? स्पष्ट भएन । ऋणै नलिने भन्न खोजिएको त पक्कै होइन होला । भौतिक र सामाजिक पूर्वाधारको विकासका लागि ऋण त संसारका सबै मुलुकले लिन्छन् । नेपालले पनि लिनुपर्छ होला नै । सबै योजना एमसीसीकै अनुदानमा कार्यान्वयन गर्न त पक्कै सकिँदैन ।

ओलीलाई बीआरआई कार्यान्वयन गरेको जस नदिनमात्रै खोचे थापेको हो भने त्यो पनि राम्रो त भएन । ओली बिच्किए त दाहालसँग दोस्ती होला तर चीन बिच्कियो भने त कांग्रेसलाई मुस्किलै पर्ला नि ! यसैले नेपाली कांग्रेसले बीआरआई कार्यान्वयन सम्झौतामा ऋण नलिने हठ गर्नुको साटो व्यावहारिक बाटो खोज्नुपर्छ ।

पारदर्शिता र तुलनात्मक लाभ खोज

नेपालमा एमसीसी प्रकरणबाट स्पष्ट भएको छ अब गुपचुप सम्झौतालाई जनताले मान्यता दिँदैनन् । त्यस्तो सम्झौता गरियो भने कुनै पनि बेला भङ्ग हुनसक्छ । कांग्रेसले त बीआरआई सम्झौता पारदर्शी हुनुपर्ने अडान लिएको भए सैद्धान्तिक दृष्टिबाट सही हुन्थ्यो । यस्तै, ऋणका ब्याजलगायत सर्तहरू बहुपक्षीय वा दुईपक्षीय अरू दाताको भन्दा सहज हुनुपर्छ भनिएको भए पनि स्वाभाविक हुन्थ्यो । त्यस्तो अडान एकातिर 'निहुँ खोजुवा' हुनेथिएन भने अर्कातिर चीनप्रति भेदभावपूर्ण पनि हुनेछैन । चीनको सद्भाव देशका लागि मात्र होइन नेपाली कांग्रेसका लागि पनि महत्त्वपूर्ण हुन्छ सानातिना सन्धिसम्झौताका सर्तभन्दा भन्ने हेक्का रहोस् ।

कुनै बेला थियो नेपाली कांग्रेसका नेताहरू सिद्धान्तमा अडिएर पनि हदैसम्म लचिला र व्यावहारिक हुन सधैँ तत्पर रहन्थे । यसैले त २००७ देखि २०६३ सम्मै नेपाली कांग्रेस नेपालीको राजनीतिमा चौतारोजस्तो थियो । त्यसैले त कांग्रेसको ओझ घटे पनि अझै कुनै न कुनै बेला रुखको छायामा प्रत्यक्षपरोक्ष सुस्ताएको पुस्ता नेपालको राजनीतिमा निर्णायक छ ।

कांग्रेसको गिर्दो साख

विसं २०६३ पछि बिस्तारै खुइलिन थालेको कांग्रेसको रङ्ग गिरिजाप्रसाद कोइरालाको देहावसानपछि धमिलो हुँदै गयो । नेपालको संविधान, २०७२ पछि त कांग्रेस भिडमा नचिचिने गरी बिलाएजस्तो भएको छ । कम्युनिस्टहरू नमिलेमात्र सत्तामा पुग्ने हैसियतमा ओर्लेको कांग्रेसको नेतृत्व र नीति दुवैमा स्पष्टता देखिँदैन । कांग्रेस नेतृत्वले कहिले शीतयुद्धकालीन 'अडान' देखाउँछ भने कहिले व्यवहारका नाममा सिद्धान्तै छाडिदिन्छ ।

अहिलेको कांग्रेस शेरबहादुर देउवाको नेतृत्वमा चलेको छ । अरूले तामझाम र चुरीफुरी देखाउनका लागिमात्र देखाउने हुन् । सिद्धान्ततः पनि जनाधारित (मास बेस्ड) उदार लोकतान्त्रिक दल निर्वाचित पार्टी नेतृत्वकै सेरोफेरोमा चल्ने हो । बाहिर निस्कन त कि मियो भाचिनुपर्छ कि दाम्लो फुस्कनु वा चुँडिनुपर्छ । यत्ति हो अहिले देउवा आफू बोल्दैनन् अरूलाई बोलाउँछन् ।

आफ्नो भन्नु को छ कांग्रेसको ?

कुनै बेला नेपाली कांग्रेस लोकतान्त्रिक खेमाको नेपालमा एकमात्र भरपर्दो मित्र थियो । भारतको सबैभन्दा नजिक थियो र चीनको विश्वासपात्र थियो । सबैसँग विश्वासको सम्बन्ध बनाएको थियो । त्यही कांग्रेसको आज कस्तो अवस्था छ ? सम्भवतः कुनै पनि शक्तिले कांग्रेसलाई भरपर्दो मित्र मान्न सकेको छैन ।

वर्तमान भारत सरकार नेपाली कांग्रेसलाई भारतीय राष्ट्रिय कांग्रेसकै अर्को अवतार ठान्छ । संस्कारतः हुन पनि हो । नेपाली कांग्रेसको धार्मिक प्रभुत्ववादी भारतीय जनता पार्टीसँग संस्कार नै मिल्दैन । 'राखी कूटनीति'ले आरजु देउवालाई विजय चौथाइवालेको निकट बनाउन सक्ला तर नेपाली कांग्रेस र भारतीय जनता पार्टीलाई होइन । नेपालको लोकतान्त्रिक आन्दोलनका मित्रहरूलाई त कांग्रेसले चिढ्याइसकेको छ ।

अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरोदयले पश्चिमी 'स्वतन्त्र' विश्व मियोविनाको दाइँ बन्न लागेको छ । 'दक्षिणपन्थी राष्ट्रवाद'को प्रभाव बढेका कारण पश्चिम युरोपको उदार लोकतान्तिक साख खस्कँदो छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले पश्चिमबाट पनि कुनै भरथेग र सहयोग पाउन सक्तैन ।

रह्यो चीन । चीनसँगको कांग्रेसको सम्बन्धको जग बीपी कोइरालाले नै बसाएका हुन् । सैद्धान्तिक भिन्नताले चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसलाई शीतयुद्ध कालमा समेत टाढा बनाउन सकेको थिएन । यद्यपि, रणनीतिकरूपमा चीनले सधैँ राजालाई नै साथ दिएको थियो । पछिल्ला दिनमा भने नेपाली कांग्रेससँग चीन टाढिँदै भएको देखिएको छ । नेपालका कम्युनिस्टहरूलाई एक बनाउनेदेखि कम्युनिस्ट नेता र कार्यकर्ताको भ्रमण तथा प्रशिक्षणसम्ममा चिनियाँहरूको आक्रामक अग्रसरताको असर अन्ततः नेपाली कांग्रेसलाई नै पर्छ ।

चीनले विश्वास गरेकै बेस !

कांग्रेसका नेताहरूले 'बीआरआई'मा अनुदानमा जोड दिने भनुन्, सम्झौता पारदर्शी बनाउन नागरिक समाजलाई साथ दिउन्, ऋण लिनु परे ब्याज तुलनात्मकरूपमा सस्तो र सहज होस् भन्नेमा ध्यान दिऊन् तर कार्यान्वयन सम्झौता नै अड्काउने गरी जिद्दी नगरून् । चीनले पनि कम्युनिस्टहरू जुटाएर कांग्रेस लडाउने खेलमा राजदूतहरूलाई उछलकुद गर्न रोकोस् ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro