काठमाडौं । नेपालमा सूचना प्रविधि क्षेत्रले आन्तरिक बजारमा मात्रै नभएर निर्यातका क्षेत्रमा पनि राम्रो स्थान बनाउँदै गएको छ । नेपालबाट आईसीटी सेवा निर्यात गरेर धेरै कम्पनीले अर्बको आकडामा आम्दानी गर्न थालेका छन् ।
आईटी क्षेत्रको विकास र विस्तार हुन थालेसँगै निर्यातको तथ्यांक नेपाल राष्ट्र बैंकले पनि राख्न थालेको छ । बैंकहरूले उपलब्ध गराएको तथ्यांकका आधारमा राष्ट्र बैंकले दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसन सेवा निर्यातको तथ्यांक सार्वजनिक गर्न थालेको हो ।
यो तथ्यांकको वास्तविकतासँग आईटी क्षेत्र भने सहमत हुन सकेको छैन । राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा नेपालबाट ४ अर्ब ६५ करोड ५१ लाख रुपैयाँको दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसनसम्बन्धी सेवा निर्यात भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा ४ अर्ब ५६ करोड २७ लाख रुपैयाँको आइटी सेवा निर्यात गरिएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा १५ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको यस्तो सेवा निर्यात भएको छ । आर्थिक वर्ष २०७९/०८० मा १५ अर्ब ८० करोड ९४ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा १४ अर्ब ५३ करोड २७ लाख रुपैयाँको निर्यात भएको थियो ।
दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसनसम्बन्धी सेवा तुलनामा ‘अन्य व्यवसायिक सेवा’ शीर्षकको सेवा निर्यात भने निकै उच्च छ । गत आर्थिक वर्षमा यस्तो बिजनेस सेवा निर्यात ८६ अर्ब ६२ करोड ९३ लाख रुपैयाँको छ ।
आर्थिक वर्ष २०७९/०८० मा ६९ अर्ब ५५ करोड ६९ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा ४३ अर्ब २० करोड २० लाख रुपैयाँको बिजनेस सेवा निर्यात भएको थियो ।
तथ्यांक वास्तविक नभएको आशंका
राष्ट्र बैंकले सुरु गरेको आईटी निर्यातको डाटा रेकर्डिङ स्वागतयोग्य भएको नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नास–आईटी)का अध्यक्ष सन्तोष कोइराला बताउँछन् । अब यो डाटालाई कसरी वास्तविक बनाउने र राम्रो बनाउने ? कस्ता कस्ता बिजनेस बजारमा छन् ? कस्तो कस्तो सेवा, वस्तु यहाँबाट बाहिर बेचिरहेका छन् ? यी तथ्यांक व्यवस्थित, ट्र्याक गरेर वैज्ञानिक र वास्तविक डाटा निकाल्न आवश्यक रहेको उनको भनाइ छ ।
“जुन डाटा आइरहेको छ त्यसमा हामी सप्राइज्ड छौं । किनभने हाम्रो अनुमान आजको दिनमा आईटी निर्यात वार्षिक ८० करोड अमेरिकी डलर (एक खर्ब रुपैयाँभन्दा बढी) छ भन्ने हो । कम्तीमा ८० अर्बको निर्यात हुन्छ भन्ने हाम्रो अनुमान छ,” नास आईटीका अध्यक्ष कोइरालाले भने ।
“यो तथ्यांक वास्तविक हैन, केही मिसिङ छ भन्ने हामीलाई लाग्छ । किनभने अस्ती भर्खर पनि सबैभन्दा बढी आईटी निर्यात ग¥यो भनी एउटा कम्पनीले अवार्ड पायो । अघिल्लो वर्ष अर्काे कम्पनीले पाएको थियो । त्यसैले वर्षको आठ/दश अर्ब भित्र्याउने कम्पनी त यो–यो छ भनेर भन्न सकिने अवस्था छ,” उनले भने ।
उनको भनाइमा त्यो भनेको महिनाको एक अर्ब रुपैयाँ त नाम तोकेर भन्न सकिने कम्पनीले भित्र्याइरहेका छन् । “जबकि हामीकहाँ त्यस्तो काम गर्ने सयौं कम्पनीहरू छन्, भलै साइज सानो होला । त्यसैले तीन महिनामा चार अर्ब भन्नु त त्यो सात कम्पनीको पनि पुग्दैन । तर यो तथ्यांक वास्तविक हो भने हाम्रो लागि अर्लामिङ हो,” उनले भने ।
सरकारले वास्तविक तथ्यांक नराखेमा यसले पूरै उद्योगलाई गलत दिशातर्फ डोर्याउने उनको चिन्ता छ ।
“त्यसैले यो डाटा कसरी संकलन भइरहेको छ भन्ने प्रश्न छ । सरकारले राष्ट्र बैंकको डाटालाई वास्तविक मान्छ । यसले हामीलाई के समस्या पार्ने भयो भने, यो ठूलो उद्योग भनेको त गफ रहेछ, वास्तविकतामा राष्ट्र बैंकको डाटाले यस्तो देखाउँछ भनी निरुत्साहित गर्नेतिर गयो र धेरै प्राथमिकता दिनुपर्ने क्षेत्र हैन रहेछ भनेर सरकारले बुझ्यो भने हामीलाई गाह्रो हुन्छ,” टेकक्राफ्ट इंकका कार्यकारी निर्देशक समेत रहेका कोइरालाले भने ।
“त्यसैले राष्ट्र बैंकले कसरी डाटा ल्याएको हो भन्ने कुरा थाहा भएन । पहिले डाटा नै नभएर समस्या भयो । डाटा ल्याउने अभ्यास स्वागतयोग्य कुरा भयो । तर, डाटा नहुनुभन्दा, गलत डाटा हुनु सय गुणा डरलाग्दो हो, किनभने त्यसले पूरै बिजनेसलाई ‘मिसलिड’ गर्छ,” उनले भने ।
फ्रिलेन्सर दर्ता गर्न /विवरण राख्न जरुरी
हाल नेपालमा कुनै कुनै कम्पनीले भन्दा बढी फ्रिलेन्सरले आइटी सेवा निर्यात गरिरहेका छन् । आइटी निर्यातको तथ्यांक यकिन गर्न र यो उद्योगलाई व्यवस्थित गर्न यस क्षेत्रमा काम गर्ने फ्रिलेन्सरहरूको विवरण राख्न पनि आवश्यक हुने उनको भनाइ छ ।
“नेपालमा फ्रिलेन्सरको दर्ता गर्ने सिस्टम छैन यो आफैँमा डर लाग्दो संकेत हो । किनभने साइबर डरलाग्दो चिज भइसक्यो । भोलि गएर न्युर्योकमा साइबर आक्रमण भयो र त्यसको योजनामा चाहिँ नेपालमा बसेर काम भइरहेको रहेछ भनेर समाचार आयो भने के हुन्छ ?” उनले प्रश्न गरे, “त्यसैले नियमानुसारको कर तिरेर जति पनि पैसा ल्याउन दिनुपर्छ । तर, राज्यले स्रोत खोजेको हुनुपर्छ । स्रोत खोज्ने भनेको कसका लागि काम गरिरहेको छ भनी कागज दिने त हो ।”
राज्यले आफ्नो देशबाट कसै अरुका लागि हुने काम छ भने त्यो काम कहीँ न कहीँ रेकर्ड गर्नुपर्ने नासआइटीका अध्यक्ष कोइरालाको भनाइ छ । ‘फ्रिलेन्सर अत्यावश्यक हुन र उनीहरूलाई आइटी कम्पनीका ब्रान्ड एम्बास्डर नै हुन् । तर कसको काम गर्छ, कहाँ काम गर्छ, कस्तो सम्झौता छ जस्तो विवरण सरकारले राख्न आवश्यक देखिएको’ उनको भनाइ छ ।
आइटी उद्योगको तीसदेखि चालिस प्रतिशत मात्रै प्रतिनिधित्व गरेको अनुमान गर्ने नासआइटीकै सदस्यले राष्ट्र बैंकको तथ्यांक भन्दा दोब्बर निर्यात गरेको आंकलन छ ।
आईएमएफको गाइडलाइनअनुसार डाटा संकलन
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले अन्तर्राष्ट्रिय आर्थिक कारोबारहरूलाई रिपोर्टिङ्ग गर्ने प्रयोजनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जारी गरेको शोधनान्तर सन्तुलन तथा अन्तर्राष्ट्रिय लगानी अवस्थासम्बन्धी म्यानुअलका आधारमा विवरण राखिने बताएको छ ।
आईएमएफको म्यानुअलका आधारमा हरेक शीर्षकभित्र अनेक किसिमका आम्दानीको विवरण राखिने विभागका एक अधिकारीले बताए ।
“हामीले अन्तर्राष्ट्रिय कारोबार प्रणाली (आइटीआरएस)का आधारमा विवरण राख्ने हो । हरेक आइटीआरएस कोडभित्र कुन–कुन शीर्षकको आम्दानी पर्छ भनेर हेर्न सकिन्छ र सोही आधारमा कुन सेवा निर्यातबाट के आम्दानी भएको छ भन्ने यकिन जानकारी थाहा हुन्छ,” राष्ट्र बैंकका ती अधिकारीले भने, “उनीहरूले निर्यात गरेको शीर्षकको सामग्री कुन आइटीआरएस कोडमा पर्छ भनेर हेरेर विवरण पत्ता लाग्छ ।”
कम्प्युटर सर्भिसेस र प्रोफेसनल सेवा आइसीटी हुनसक्ने
यसरी हेर्दा कम्प्युटर सर्भिसेसको शीर्षकभित्र आइटीसम्बन्धी सफ्टवयर, वेबसाइटजन्य वस्तु तथा सेवा निर्यात पर्ने देखिन्छ । यस्तै बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ)जन्य सेवा प्रोफेसनल एन्ड म्यानेजमेन्ट कन्सल्टिङ सर्भिसेस अन्तर्गत पर्छ ।
कम्प्युटर सर्भिसेस क्षेत्रको निर्यात पछिल्लो तीन महिनामा ३ अर्ब ५४ करोड २५ लाख रुपैयाँ र प्रोफेसनल एन्ड म्यानेजमेन्ट कन्सल्टिङ सर्भिसेसतर्फको निर्यात ८ अर्ब ५३ करोड ९२ लाख रुपैयाँ छ । दुवै गर्दा करिब १२ अर्ब रुपैयाँ भन्दा बढीको निर्यात तीन महिनामा भएको छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको भनाइ र नास आइटीका अध्यक्ष कोइरालाले भने अनुसार आइसीटी निर्यात मान्दा यो विवरण नै आइटी उद्योगले गरेको निर्यातको हुने देखिन्छ ।
राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले यो बैंकहरूबाट रिर्पोटिङ आएका तथ्यांकमा आधारित भएको बताए ।
“यो डाटा बैंकहरूबाट रिपोर्टिङ भएर बैंकिङ सिस्टममा आएको हो । उहाँहरूले बैंकमार्फत गरेको छ भने बैंकले अनिर्वाय रिर्पोटिङ गर्छ । त्यहीँ रिपोर्टिङको आधारमा डाटा आउने हो,” उनले भने, “निर्यात गरेको पैसा सम्बन्धितको खातामा आउने हो । त्यसैले बढी गरेको थियो भने उहाँहरूले कसरी गर्नुभयो ? बैंकहरूले किन रिपोर्टिङ गरेन भन्ने थप सम्बन्धित निकायले हेर्ला ।”
कस्तो आईसीटी सेवा निर्यात हुन्छ नेपालबाट ?
नेपालबाट निर्यात हुनेमा विभिन्न किसिमका सफ्टवयर, एप, वर्डप्रेसका लागि प्लगइन तथा थिम, गेमिङलगायत विभिन्न किसिमका आइटी वस्तुहरू छन् ।
विदेशी कम्पनीले नेपालका कम्पनीलाई दिने विभिन्न किसिमका काम अथवा आउटसोर्सिङ बिजनेसबाट पनि विदेशी मुद्रा भित्रिने गरेको छ ।
नेपालमा खुलेका विदेशी कम्पनीका सहायक कम्पनीले आफ्नै मुख्य कम्पनीका लागि गर्ने काम पनि आईटी सेवा निर्यातमा पर्छ । धेरै यस्ता कम्पनीले नेपालमा कार्यालय राखेर काम गरिरहेका छन् ।
यसबाहेक आइसीटी भन्ने बित्तिकै रिमोटरुपमा गरिने सबैजसो काम पर्छ । यसमा बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) भित्र पर्ने डाटा इन्ट्री, विभिन्न कामको प्रोसेस गरिदिने काम, व्यवस्थापन गरिदिने कामलगायत बिजनेसलाई मद्दत पुर्याउने काम नेपालबाट हुन्छ ।