site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
स्वयंको यात्रा ‘स्व’

हाम्रो जीवनसँग ठोक्किन आउने कतिपय प्रश्नहरू निकै सरल लाग्छन्, तर ती सरल प्रश्नहरूका उत्तरहरू त्यति सजिलै प्राप्त हुन सक्दैनन् । जस्तो कि ॐ शब्द कति सूक्ष्म छ, कति सरल छ, तर के ॐ हामीले सोचेको जस्तो सरल छ त ? कदापि छैन ।

त्यसैले सजिलो प्रश्नको उत्तर हामीले सजिलै दिए पनि त्यो उत्तर वास्तवमा सही नहुन सक्छ । प्रश्नले खोजेको शाश्वत उत्तर हामीले दिन नसकिरहेका हुनसक्छौँ । हाम्रो जीवनमा पनि एउटा यस्तो प्रश्न छ, जो अपार छ । म को हुँ ? यो प्रश्न सुन्दा कति सरल लाग्छ । झट्ट उत्तर पनि दिन्छौँ, ‘म फलानो हुँ । ढिस्कानो हुँ ।’ हाड, मासु र छालाले बेरिएको शरीरलाई अर्थपूर्ण र मूल्यवान् पार्ने जुन मूलतत्त्व छ, त्योसँग अपरिचित भएर नै हामी यो संसारबाट बिदा हुन्छौँ ।

आखिर आफैँभित्रको विराटतालाई चिन्न नसकेर, बुझ्न नसकेर ओइलाउँदो रहेछ मान्छे । व्यापकतालाई बेवास्ता गरेर संकीर्णतामा सम्पन्न हुन खोज्दो रहेछ मान्छे ।

Dabur Nepal
NIC Asia

यसै सन्दर्भमा कुरा गर्दै छु, सरस्वती प्रतीक्षाको नवीनतम उपन्यास ‘स्व’का बारेमा । बुद्ध दर्शनको आँगनमा टेकेर रचिएको यो उपन्यास २८० पृष्ठमा विस्तारित छ ।

वर्तमान समयको मान्छे स्वको बोधबाट निकै टाढा छ । आफैँभित्रको परमज्ञानको सागरलाई भेट्न नसक्दा किनारमा भट्किएर रुक्खिएको छ । जलभित्रको मीन भएर छट्पटिएको छ । आजका कैयौँ पुस्ता अशान्त छन् । शृंखलित जीवनशैलीबाट खँगारिएका छन् यत्रतत्र । यसै सन्दर्भमा दुःखपीडा र संघर्षपूर्ण अव्यवस्थित जीवनलाई कथानकले डोर्‍याएको छ ।

उपन्यास पढ्दा यस्तो लाग्छ, मान्छे दुःख, संघर्ष, पीडाको पुलिन्दा हो । पात्रहरूको जीवन यात्रा पढ्दै जाँदा लाग्छ, पीडाभित्र पनि ठूलो खजाना छ । दुःखको निदान छ ।

चेतन मन हाबी हुन्छ, शक्तिशाली अवचेतन मनमाथि । तर, सबैले अवचेतन मनलाई चिन्न पनि असम्भव छ । त्यही अवचेतन मनले खोज्दो रहेछ निरन्तर स्वको स्वाद । अस्तित्वको भोक । आनन्दको प्यास ।

आखिर म हो हुँ ? यो प्रश्नको उत्तर शब्दातीत छ । व्याख्यातीत छ । वर्णनातीत छ । विश्वातीत छ । यो प्रश्नको उत्तर अनुभवबाट मात्र प्राप्त हुन्छ । साक्षात्कारबाट बोध हुन्छ । अमूर्त कुरा बुझ्न हामी पनि अमूर्तकै गर्तमा डुबुल्की मार्नुपर्छ ।

शरीरको साधारण संवेदना बुझ्न त अनुभवको कसीमा उत्रिनुपर्छ भने यो त अमूर्तभन्दा पनि अमूर्त कुरा हो । मन, बुद्धि, विवेक र अहंकारभन्दा परको विषय । इन्द्रियभन्दा अझ परको छैटौँ इन्द्रियको अनुभवको साम्राज्य हो, स्व ।

हामी अशान्त, अतृप्त, अपूर्ण र विक्षिप्त छौँ । किनकि, हामीले आफ्नो जरा समात्न सकेका छैनौँ । स्व हाम्रो जरा हो । जबसम्म जरामा मल, जल पुग्छ, तब मानवरूपी वृक्ष पनि पूर्ण रूपमा स्वस्थ्य हुन्छ । तर, आधुनिकताको नाममा हामी यति मूर्ख हुँदै छौँ कि जराको अस्तित्व नै छैन लाग्छ । अनि, जीवनरूपी वृक्षको पात, फूल, फल र हाँगाबिँगामा मात्र पानी हाल्न दौड्न्छौँ ।

हाम्रो जरा त आकाशतिर फैलिएको छ, मस्तिष्क हाम्रो जरा हो । मस्तिष्क नै विश्वब्रह्माण्ड हो । तर विडम्बना, हामी त्यहाँसम्म पुग्न कोसिससम्म गर्दैनौँ ।

सरस्वती प्रतीक्षा ‘स्व’को माध्यमबाट हामीलाई झकझक्याउँछिन् आफैँभित्रको यात्राका लागि । वास्तवमा हामी स्वलाई आत्मसात् गर्न नसकेर नै अशान्त भएका रहेछौँ । अधीर, असन्तुष्ट, अव्यवस्थित, अज्ञानी हुँदै अभागी बन्न पुगेका रहेछौँ ।

स्वको परिभाषा शब्दमा किमार्थ दिन सकिँदैन । सरस्वती प्रतीक्षाले ‘स्व’मा सप्तमको जीवनलाई आधार बनाएर सम्पूर्ण मानव जीवनलाई देखाएकी छन् ।

उपन्यासकारले डब्ल्यूएच प्रश्नहरूमार्फत राजविद्यासँग नजिक पुर्‍याएकी छन् । अवचेतन मनसँग साक्षात्कार गराउँदै संवाद गराएकी छन् ।

विभिन्न उपशीर्षकमार्फत जटिल दर्शनलाई सरल पारेर उतारेकी छन् । समाज, सम्बन्ध र मनोविज्ञानबाट आरम्भ भएको कथा समाधितिर बगेको छ । अनौठो ठाउँ, अनौठो मान्छे भेटेपछि सप्तम भिज्दै जान्छ ज्ञानको रसमा । ‘अर्को सिद्धार्थको कथा’ सुन्दै ‘मादी किनाराका घाउहरू’ चहर्‍याउँछन् ।

‘खसीलाल’को मनमस्तिष्कको कथा पढ्दा काँतर हृदय डराउँछ । लाग्छ, राक्षस कपोलकल्पित पात्र अवश्य होइन । देव र दानव सहोदर भाइ हुन् । यी अलग छैनन् । हाम्रो मस्तिष्कमा विराजमान छन् यी पात्रहरू । प्रश्न उठ्छ, अब कसलाई जागृत गर्ने ? मान्छेको हातमा रहेछ उत्तर ।

‘अँधेरीको नयाँ पञ्चशील’ जानेपछि भन्न मन लाग्छ, ‘सन्देह नगर सुशीला’ । दुःखको सागर पार गरेपछि ‘अन्तर्दृष्टि’ खुल्छ अनि पुग्छौँ, ‘अन्तिम अस्पताल’ र स्वलाई प्राप्त गरेपछि शान्त हुन्छौँ ।

सुललित भाषा, बोधगम्य शब्द, विम्ब र कलापूर्ण प्रस्तुतिले उपन्यास पठनीय छ । घरभित्र अशान्तिको पर्खाल निर्माण भएपछि पात्रहरूको दैनिकीले पाठकलाई चिन्तनशील बनाउँछ । स्वको खोजीमा लडिरहेका पात्रहरूलाई नजिकबाट हेर्न सकिन्छ । कथाहरूमा पाठकले आफैँलाई भेट्न सक्छन् ।

सहअस्तित्व स्वीकार गर्न नसक्दा उत्पन्न भएको कलहले निर्माण गरेको पात्रको बालमनोविज्ञानलाई सरस्वतीको कलमले बडो कलात्मक तवरले उठाएको छ ।

बुद्ध दर्शनलाई विभिन्न पात्रहरूका कथाबाट जोड्दै लगिएको छ । शृंखलाबद्ध कथाहरूको माध्यमबाट दर्शनको मिठो पीयूष पिलाएकी छन् उपन्यासकारले ।

मान्छेभित्रका डरलाग्दा आकांक्षाहरू पढ्दा पाठकको सातो जान्छ । उपन्यासले नवीनतालाई अँगालेको छ । साथै, दर्शन र विचारको अश्व चढेर रोचकताको काठी कसेको छ । जीवन दर्शन, अध्यात्म, ज्ञान, विज्ञानको भावभूमिमा उपन्यास विस्तारित छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro