site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
ढुंगानाजस्तो काबिल र निष्पक्ष सभामुख संसद्ले पाउला र ?

दमननाथ ढुंगाना अब हामी माझ रहनु भएन । मानिस जन्मनु र देह त्याग गर्नु प्रकृतिको सामान्य नियम हो । उहाँ हामीमाझ नभए पनि उहाँले हामीलाई धेरै गुन लगाएर जानु भएको छ । नेपालको संसदीय इतिहासमा उल्लेखनीय नजिर छाडेर जानुभएको छ । 

आधुनिक लोकतन्त्रमा शासन व्यवस्थामा सबैको प्रतिनिधित्व र समावेशिता हुनुपर्छ भन्ने मान्यता छ । यही सिद्धान्तलाई अनुसरण गरी उहाँले संसद्का हर कामकारबाहीमा विपक्षीको सक्रिय सहभागिता हुनुपर्ने हुनाले विपक्षी दलको अवाजलाई मुखरित हुन दिनुपर्छ भन्ने सिद्धान्त स्थापित गर्नुभएको थियो ।

कुनै पनि मानिसको योग्यता, दक्षता तथा क्षमतालाई चिन्न र जान्न सक्नुपर्छ । सही मानिसलाई सही ठाउँमा जिम्मेवारी दिने हो भने उल्लेखनीय उपलब्धि संस्था र मुलुकले प्राप्त गर्न सक्छ । कांग्रेसले त्यो बुझेर हो या नबुझीकन ढुंगानालाई २०४८ सालमा प्रतिनिधि सभाको सभामुख पदमा चयन गर्यो । 

Dabur Nepal

भन्ने गरिन्छ  प्रत्येक व्यक्ति दार्शनिक हुन्छ । त्यसैले एकजनाको सोच र कल्पना अर्कोसँग भिन्न हुन जान्छ । ढुंगाना र प्रदीप गिरी नेपाली समाजमा हुर्के बढेका उच्च कोटीका दार्शनिक थिए । सम्बद्ध राजनीतिक दल कांग्रेसले उहाँहरूको योग्यता, क्षमता र दर्शनलाई कहिल्यै चिन्न सकेन । 

अरू पार्टीमा पनि त्यस किसिमका उच्चकोटीका दार्शनिक होलान् । विडम्बना, अरू पार्टीले पनि त्यस्ता अद्भूत क्षमता भएका व्यक्तिलाई भन्दा आफनो नातेदार र चाकडीवाजलाई बढी महत्त्व दिँदा तिनको योग्यता, दक्षता र क्षमता राष्ट्र र जनताको हितमा प्रयोग हुन सकेन । यो हो ।

एक वरिष्ठ कानुन व्यवसायी, संविधान निर्माता र संवैधानिक कानुनका विशेषज्ञ, निष्पक्ष, तार्किक र विश्लेषणात्मक क्षमता भएका र निर्धक्कसँग जो सुकैसँग पनि आफ्नो तर्क राख्न सक्ने व्यक्तिलाई सभामुख पदमा चयन गर्नु अत्यन्त राम्रो कुरा थियो ।

नेपालजस्तो देशका लागि सभामुख अत्यन्त अप्ठेरो पद हो । सरकार प्रमुख र पार्टी प्रमुखले भनेको मान्दा संसद्को गरिमा, प्रभावकारिता, जवाफदेही र दक्षता बढ्दैन । अनि तिनको आदेश नमान्दा पार्टी पंक्तिबाट टाढिनपर्ने हुन्छ सभामुखले । त्यसैले नेपालमा सभामुख पदमा जान सामन्यतः कोही पनि चाहँदैनन् । 

दमननाथ ढुंगानाले भने त्यो अप्ठेरो पदको जिम्मेवारी अत्यन्त हिम्मतका साथ पूरा गर्नुभयो । सभामुख पदमा रहेर निष्पक्ष, प्रभावकारी र जवाफदेही भूमिका निर्वाह गर्दा ढंगानाले पार्टी पंक्तिबाट बाँचुन्जेल टाढिन पनि पर्यो । कांग्रेस, कम्युनिस्ट पार्टीहरूभन्दा अलि उदारवादी छ भन्ने सोचिन्छ । तर, कांग्रेस नेतृत्व पनि कम्युनिस्ट नेताहरुभन्दा भिन्न छैन भन्ने तथ्य ढुंगानासँग भएका व्यवहारले देखाउँछ ।

सभाुमख पदमा रहँदा ढुंगानाले योग्यता, दक्षता, सीप र क्षमताको भरपूर प्रयोग गर्नुभयो । सरकारका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामध्ये व्यवस्थापिका वा संसद्को भूमिका अत्यन्त ठूलो हुन्छ भन्ने तथ्य स्थापित गर्नुभएकै हो । 

संसद् देशको विधि निर्माण गर्ने संवैधानिक संस्था हो । यो विधि र नीति निर्माणमा मात्रै संलग्न नभएर कार्यकारिणीबाट भएका कामकारबाही र नीति, योजना, बजेट, कार्यक्रम तथा तिनको कार्यान्वयन अनुगमन तथा निगरानी गर्ने संस्था पनि हो ।

यस सन्दर्भमा कार्यकारिणीसँग प्रश्न सोध्ने र उसले गरेका कामकारबाहीबारे निगरानी राख्दै गलत भएमा सच्याउन लगाउने तथा देशमा अनियमितता, बेरुजु, सार्वजनिक साधन र स्रोत तथा दुरुपयोग, हिनामिना तथा भ्रष्टाचारलाई अन्त्य गर्ने काम पनि संसद्कै हो । यो काम गर्न संसद्को सभामुख वा अध्यक्ष योग्य, कुशल र दक्ष व्यक्ति हुनुपर्छ ।

कार्यकारिणी प्रमुख प्रधानमन्त्री प्र्रतिनिधि सभाबाटै निर्वाचित भए पनि कुर्सीमा पुगेपछि प्रतिनिधि सभालाई बेवास्ता गर्ने काम हुँदैआएको छ । यहीकारण संसद् र सरकारबीच सहकार्य र समन्वय हुनेगरेको देखिँदैन । सरकारलाई स्वेच्छाचारी शैलीमा चल्न दिने कि लोकतान्त्रिक भावना र आशयअनुसार चलाउने भन्ने संसद्को भूमिका भर पर्छ ।

विसं २०४६ सालमा लोकतन्त्रको पुनःस्थापनापछि प्रतिनिधि सभा नेपाली जनताका आशा र भरोसाको केन्द्र बन्न पुगेको थियो । विसं २०४८ सालमा निर्वाचित संसद्लाई साँच्चिकै जनताको आशाा, भरोसा तथा भाग्य निर्माण र देश विकासको केन्द्र बनाउन भरमग्दुर प्रयास पनि ढुंगानाले गर्नुभएकै हो ।

विसं २०४८ देखि २०५१ सम्म सभमुख पदमा रहेर प्रतिनिधि सभाको नेतृत्वकर्ता ढुंगानाले बहुमतको आधारमा हतार हतार विधेयक पारित गर्ने, संसद्मा उठेको प्रश्न र सवालको बेवास्ता गर्ने तथा ढाँटछल गरी शासन गने प्रवृत्ति रोक्नुभएकै हो । आफ्नै पार्टीको बहुमतीय सरकारको पक्षमा नउभिएर संविधान, देश र जनताको पक्षमा उभिएको सबैले देखेकै हो । ढुंगानाजस्तो साहसी र निर्भीक तथा निष्पक्ष सभामुख उहाँपछि कोही बन्न सकेनन् ।

त्यतिबेला कांग्रेस सरकारले भारतसँग गरेको टनकपुर सन्धिका विविध प्रावधानका विषयमा संसद्मा छलफल गर्नुपर्छ भनी तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लामै समयसम्म प्रतिनिधि सभामा आवाज उठायो ।

तिनको आवाजलाई सभामुख ढुंगानाले मुखरित गर्न पूर्ण अवसर दिँदै नेपालको संसदीय इतिहास र विकासमा बहुमतको सरकार र अल्पमत वा विपक्षको संसद् भन्ने भाष्यको विकास गर्नुभएको थियो ।

विपक्षी दलका सदस्यलाई समसामयिक विषयवस्तु र सरकारका गलत कामकारबाहीको सम्बन्धम बोल्न नदिने हो भने संसद्मा तिनको उपस्थितिको कुनै अर्थ रहँदैन । वास्तवमा भन्ने हो संसद् सत्तापक्षको मात्रै नभएर विपक्षी दलको पनि संस्था हो । उनीहरू पनि जनताद्वारा मत पाएर आएका संवैधानिक सदस्य हुन् । संसद्को सम्पूर्ण कामकारबाहीमा वपिक्षको सहभागिता अनिवार्य मानिन्छ ।

विपक्षी दललाई संसदीय कामकारबाहीमा सहभागी नगराउनु बेलायती मोडेलको आधुनिक संसदीय शासन व्यवस्थाको भावना र उद्देश्य पनि होइन भन्ने बुझेका तत्कालीन सभामुख ढंगानाले बहुमत ल्याउने दलको सरकार र विपक्षीको संसद् भन्ने  मान्यता स्थापित स्वाभाविक थियो ।

उहाँले विपक्षी दललाई धेरै महत्त्व दिएपछि आफ्नै पार्टी कांग्रेसका नेता÷सांसद असन्तुष्ट र क्रुद्ध बनेको दृश्यको प्रत्यक्षदर्शीमध्ये म पनि पर्छु संसद् सचिवालयमा कार्यरत भएका कारण । वास्तवमा भन्ने हो भने संसदीय कामकारबाहीमा विपक्षीलाई व्यापकरूपमा सहभागी नगराउनु त नयाँ किसिमको निरंकुशतन्त्र चलाउन खोज्नु नै हो । यो कुरा राम्ररी बुझेर उहाँले विपक्षीको संसद् भन्ने भाष्य स्थापित गर्नुभयो । यहीकारण २०५१ सालमा प्रतिनिधि सभा विघटन हुन गयो ।

ढुंगाना सभामुख हुँदा संसदीय समितिहरु पनि सक्रिय बन्ने दौडमा थिए । संसदीय कामकारबाही सुदृढ बनाउने बाटोमा ढुंगानाको नीति पछ्याउन नसक्दा समस्या सिर्जना भएका छन् । भारतका लोकसभाका पूर्व सभामुख शिवराज पाटिल सभामुख बन्नुअगाडि कांग्रेस (आई)का तर्फबाट मन्त्री बनेका थिए । सभामुख बनेपछि बल्ल लोकसभाको महत्त्व बुझेछन् । सरकारले विधि निर्माण र संसदीय अनुगमन र निगरानी बेवास्ता गरेको तथ्य पाटिलले बुझेछन् । 

सरकारको त्यस्तो प्रवृत्ति रोक्न संसदीय समिति आफनो दायित्व र जिम्मेवारीमा सक्रिय हुन निर्देशन दिएका थिए । ढुंगानाले त्यो तथ्य बुझेको देखिन्छ सभामुख हुँदाका बखत । उहाँजस्तो योग्य, दक्ष, काबिल, निष्पक्ष र स्वतन्त्र सभमुख नेपालको संघीय संसद्को प्रतिनिधि सभाले अब पाओस् ।

(लेखक संसद् सचिवालयका पूर्वसचिव हुन्)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro