काठमाडौं । दुई हजार ८४ दिन भयो, न उनी थाके न हारे, न त रहर नै ओइलायो । उनी निरन्तर लागिरहेकै छन् । कापीको पानामा पेन्सिलको चुच्चो डुलिरहेकै छ । आकृति बनिरहेकै छन् । त्यसैले त आजकाल सामाजिक सञ्जालमा तपाईं हामीमध्ये धेरैले देखिरहेका छौँ, विशेषगरी कलाकार, साहित्यकार तथा नेताहरूले पोस्ट गरेको उनीहरूको स्केच ।
ती स्केचका सर्जक हुन्, कृष्ण मरासिनी । पोखरा, न्युरोडका कृष्णको दैनिकी स्केचबाट सुरु हुन्छ । दिनको सुरुआत उनी अरूको स्केच कोरेर सुरु गर्छन् । दुई हजार ८४ दिन भयो उनले स्केच बनाउन सुरु गरेको । जुन दिनबाट उनले स्केच बनाउन सुरु गरे, आजसम्म बिराम लगाएका छैनन् । त्यसैले उनले दुई हजार ८४ वटा स्केच बनाइसकेका छन् ।
पूर्वप्रधानमन्त्री बीपी कोइरालादेखि अभिनेत्री मिथिला शर्मासम्मको स्केच उनले बनाइसकेका छन् । साहित्यकारदेखि राजनीतिज्ञसम्म र अग्रजदेखि उदयीमान व्यक्ति उनको स्केचमा अटाइसकेका छन् ।
कोही आग्रह गर्छन्, कसैको कृष्ण आफैँ बनाइदिन्छन् । आग्रह गर्नेसँग पारिश्रमिक लिन्छन् । अधिकांशको मनज्ञानले यतिकै बनाइदिन्छन् । जब एकाबिहानै कृष्णले म्यासेन्जरमा बडो मिहिनेतले खिपेर तयार पारिदिएको स्केच पठाइदिन्छन्, तब पाउने व्यक्ति दंग पर्दै भन्छन्, धन्यवाद कृष्ण सर ! कतिले पारिश्रमिक अफर गर्छन् । तर, आफैँले स्वेच्छाले बनाइदिएको के को पैसा ! तर, कसैले अर्डर गरेर बनाइदिएको भने उनी पारिश्रमिक लिन्छन्, तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म ।
स्केच हो बनाउन त समय लाग्छ । एउटा स्केच बनाउन दुईदेखि अढाई घण्टासम्म लाग्छ । कुनै दिन सहजै हुबहु स्केच बनिदिन्छ, कुनै दिन बनाउनै कठिन । “मुड छ भने छिट्टै राम्रो स्केच बन्छ, तर मुड छैन भने समय लाग्छ । समय नमिल्दा पनि गाह्रो हुन्छ । फोटो राम्रो भएन भने पनि चित्तबुझ्दो स्केच बन्दैन,” कृष्ण स्केच कोर्दाको अनुभव सुनाउँछन् ।
किन कोर्नु हुन्छ यति धेरै स्केच ? के हो उद्देश्य ? “केही छैन उद्देश्य, कसैले बनाऊ भनेर पनि बनाएको हैन,” जवाफमा कृष्ण भन्छन्, “त्यसैले त मैले स्केच बनाएर फेसबुकमा पोस्ट गर्दा लेख्ने गरेको छु बसिबियाँलो ।”
तर, स्केचप्रतिको उनको लगाव र त्यसमा गरेको मिहिनेत देखेर धेरैले भन्न थालेका छन्, ‘गिनिज बुकमा धेरै स्केच बनाउने स्वतन्त्र कलाकारका रूपमा नाम दर्ज गर्नुपर्छ ।’
तर, उनको यो उद्देश्य नै होइन । “साथी शुभेच्छुकहरूले भन्नुभयो । तर, मैले यसबारे सोचेकै छैन । मेरो यो उद्देश्य हुँदै होइन । तर पनि सुझाव र शुभेच्छाका लागि म कृतज्ञ छु,” उनमा नामको भोक देखिएन । कीर्तिमानको लोभ देखिएन ।
“अग्रजलाई सम्मान होस् र नवप्रतिभालाई प्रोत्साहन होस् भन्ने मेरो चाहना हो । यसमै म सन्तुष्ट छु,” कृष्ण भन्छन् ।
स्केच कोर्नु उनको सानैदेखिको सोख हो । घरमा दाइ चित्र कोर्थे । कृष्ण दाइको कला देखेर लोभिए । त्यसकै प्रभाव उनमा पनि पर्यो । चित्र कोर्न थाले ।
चित्र कोरेर हुने केही थिएन । कारण, सायद समय पनि त्यस्तै थियो । उनको बाटो मोडियो टेबलटेनिसतिर । टेबलटेनिसका आधा दर्जन राष्ट्रिय प्रतिस्पर्धमा भाग लिएका कृष्ण गण्डकी अञ्चल च्याम्पियनसमेत बने । ०४० देखि ०४७ सम्म टेबलटेनिस खेलेका कृष्णले यसबाट पनि बाटो मोडे ।
विवाह गरे । बालबच्चा जन्मिए । जिम्मेवारी थपियो । खेलेर पेट पालिँदैन थियो । त्यसैले उनी लागे सरकारी जागिरतर्फ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा जागिर सुरु गरे । ३५ वर्ष उनको यहीँ बित्यो । तर, चित्रमा उनको रूचि मरेन । त्यसैले जब फुर्सद भयो उनले चित्र बनाउँथे । वाटर कलरमा पनि उनले हात हाले । तर, पेन्सिल कलरमा अडिए ।
त्यसो त उनी जागिर गरिरहँदै यसमा मात्रै कहाँ अल्झिए र, फुर्सदमा चित्र कोरे । समय मिलाएर नाटक गरे । पोखराको क्षितिज समूहका सदस्य हुन् । थुप्रै नाट्य मञ्चन गरेका छन् उनले ।
‘हाम्रो समर्पण’, ‘अनि देउराली रुन्छ’लगायत थुप्रै नाटकमा अभिनय गरे । अभिनयको भोकले उनलाई केही टेलिसिरियलको पनि यात्रा गरायो । ‘सुनौलो संसारमा’ उनले अभिनय गरे । “हामी मोफसलमा बस्यौँ । त्यसैले निरन्तरता दिन सकेनौँ । सायद काठमाडौंमा बसेको भए आज पनि अभिनयमा हुन्थेँ कि !” कृष्ण भन्छन्, “क्षितिज नाट्य समूह हाम्रो थियो । प्रतिविम्ब नाट्य समूहमा प्रकाश घिमिरे, अनुप बराललगायत हुनुहुन्थ्यो । समूह फरक भए पनि हामी समकालीन हौँ ।”
टेबलटेनिस छोडियो, वनको जागिर सकियो । जागिरको सम्झनामा पेन्सन सुविधा बाँकी छ । मोफसलको बसोबासले अभिनयले निरन्तरता पाउन सकेन । अब उनीसँग सहजै उपलब्ध बाँकी छ स्केचको कला । त्यही कला खिपिरहेका छन् आज उनी । उनको कलामा कहिले देशी व्यक्ति अटाउँछन्, कहिले विदेशी अटाउँछन् । जे होस्, उनको स्केचको कला अविराम अगाडि बढिरहेको छ ।