काठमाडौं । नेपाली चलचित्र उद्योगमा स्वस्थ प्रतिस्पर्धा छैन । कुनै एउटा चलचित्रले राम्रो कलेक्सन गर्यो भने त्यस्तै दर्जनौँ चलचित्र निर्माण हुन्छन् । यसको उदाहरणका रुपमा ‘छक्का पञ्जा’ र ‘लुट’लाई लिन सकिन्छ । यी दुई चलचित्रले राम्रो कलेक्सन गरेपछि यस्तै चलचित्र बनाउने प्रयास थुप्रै मेकरले गरे । भलै, यसमा सफल हुनेको संख्या भने न्यून नै छ ।
स्वस्थ प्रतिस्पर्धा मात्रै होइन, स्वस्थ आलोचना पनि छैन । कारण, आलोचना सुन्ने सहनशीलता नै छैन । समूहगत काम गर्ने संस्कारको अभाव रहेको चलचित्र उद्योगमा राम्रो काम गर्नेहरुको पनि नकारात्मक आलोचना गर्ने र सच्चिने अवसरका लागि इमानदार कमेन्ट गर्दा त्यसलाई नकारात्मक आलोचना ठान्ने गरिएको स्वयं चलचित्रकर्मीहरु नै बताउँदै आएका छन् ।
त्यसैले कसको काम मनपर्छ भनेर बोल्न पनि अधिकांश कलाकार तथा मेकर हिचकिचाउँछन् । यद्यपि, हामीले केही मेकर तथा कलाकारसँग कसको काम मनपर्छ भनेर बुझ्ने प्रयास गरेका छौँ ।
दीपकराज गिरी
दीपकराज गिरी सकेसम्म अधिकांश नेपाली चलचित्र हेर्छन् । तर, उनी आजसम्म प्रशंसा गर्न लायक चलचित्र खासै नभेटेको बताउँछन् । यद्यपि, आफूले रियाक्टिभ भएर कुनै पनि चलचित्र राम्रो नलागेको भने नभनेको उनी स्पष्ट पार्छन् ।
तर, मेकरका हिसाबले भने निश्चल बस्नेत, दीपेन्द्र के खनाल र प्रदीप भट्टराईको काम मनपर्ने उनी बताउँछन् । उनीहरु आफ्नो विधामा स्किलफुल रहेको दीपकले महसुस गरेका छन् ।
प्रदीप भट्टराईमा स्क्रिप्टको सेन्स राम्रो रहेको उनी बताउँछन् । “शत्रुगतेको स्क्रिप्ट प्रदीप र म बसेर तयार गरेका हौँ । प्रदीपसँग बसेर छलफल गरेर काम गर्ने हो भने राम्रो स्क्रिप्ट निकाल्न सकिन्छ भन्ने मैले महसुस गरेको छु,” दीपक भन्छन् ।
सिनेमा भनेको संवादै संवाद मात्रै होइन । यसमा बिम्ब, प्रतीकमार्फत पनि धेरै कुरा भन्न सकिन्छ र सिनेमा दृश्य भाषा भएकाले दृश्यमार्फत पनि धेरै कुरा देखाउन सकिन्छ भन्नेमा दीपकलाई निश्चल बस्नेत अब्बल लाग्छ । प्रतीकात्मक दृश्यमार्फत चलचित्रमा धेरै कुरा भन्ने प्रयास गर्ने भएकाले उनलाई निश्चल मनपर्ने गरेको हो ।
सिनेमा भोगाइहरुको प्रतिबिम्ब हो र त्यसलाई डार्क कमेडीमा सुन्दर हिसाबले प्रस्तुत गर्न सक्ने दीपेन्द्र के खनालको क्षमताको प्रशंसक हुन् दीपक ।
“सिनेमा कमेडी हो । दीपेन्द्रको झोलेको एउटा दुःखी पात्रको जीवन र मृत्युको दुःख देखेर, त्यसमा पात्रले भोग्ने भोगाइ देखेर हाँस उठ्छ,” दीपक भन्छन्, “धेरै दर्शक तथा मेकर दीपेन्द्रको पशुपतिप्रसाद मन पराउँछन् होला, तर म उनको झोलेको फ्यान हुँ ।” डार्क कमेडीमा प्रस्तुत गर्ने दीपेन्द्रको शैलीले दीपकलाई लोभ्याउँछ ।
निश्चल बस्नेत
वर्ल्ड सिनेमा हेर्न थालेपछि सुरुमा राम्रा लागेका नेपाली चलचित्रमा पनि थुप्रै कमजोरी भेटिने निर्देशक निश्चल बस्नेत बताउँछन् । ३०/४० वटा नेपाली चलचित्र हेरेपछि बल्ल एउटा चलचित्र राम्रो लाग्ने उनी बताउँछन् ।
“३०/४० वटा चलचित्र हेरेपछि बल्ल आफूलाई चित्तबुझ्ने एउटा चलचित्र भेटिन्छ । धेरै चलचित्र नै भेटिँदैन अहिले पनि,” निश्चल भन्छन् ।
तर, उनलाई चलचित्र ‘साँघुरो’ मन परेका मध्ये एक चलचित्र हो । यो फिल्म रिलिज हुँदा निश्चल चलचित्र क्षेत्रमा आबद्ध भइसकेका थिए । त्यसैले ‘साँघुरो’मा टेक्निकल रुपमा कमजोरी देख्दादेख्दै पनि उनलाई यो चलचित्र मन पर्यो । “जुन विषयलाई उठाउन खोजेको छ, त्यसलाई मजाले न्याय गरेको चलचित्र हो साँघुरो,” उनी भन्छन्, “यसमा जति कथा छ, निर्देशकले चलाख भएर भनेका छन् । टेक्निकल रुपमा केही गडबडी हुँदाहुँदै पनि कलाकारको पफर्मेन्स र स्टोरी टेलिङको शैली निकै राम्रो थियो ।” ‘साँघुरो’ जोयस पाण्डेले निर्देशन गरेको चलचित्र हो ।
निश्चललाई मनपर्ने अर्को चलचित्र हो, ‘ह्वाइट सन’ । हेर्दा आफूलाई आनन्द आएको उनी सम्झिन्छन् । यसको स्क्रिन प्लेले निश्चलको मन छोएको हो । “सिनेमेटोग्राफी ठाउँठाउँमा हाबी भएको हो कि भन्ने लागे पनि स्टोरीबाट विचलित भएर अन्त जान दिँदैन,” उनी भन्छन्, “त्यसैले हेर्दा आनन्द आएको चलचित्र थियो ह्वाइट सन ।” ‘ह्वाइट सन’ दीपकर रौनियारले निर्देशन गरेको चलचित्र हो ।
‘जात्रा’ पनि निश्चललाई मन परेको चलचित्र हो । ‘जात्रा’ हेर्दा मन प्रफुल्ल भएको उनी बताउँछन् । “जात्रा हेर्दाहेर्दै म कमेडी फिल्म हेरिरहेको छु भन्ने होइन, राम्रो फिल्म हेरिरहेको छु भन्ने भावना आउँछ,” निश्चल भन्छन्, “यसमा प्रदीपले स्क्रिन प्ले मजाले लेखेर कलाकारले त्यसलाई न्याय गरेका थिए । फिल्म कलाकारले आफ्नो पकडमा राखिरहेको देखिन्छ ।” ‘जात्रा’ प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र हो ।
करिष्मा मानन्धर
करिष्मा मानन्धरले थुप्रै भयो चलचित्रमा काम गर्न छोडेको । उनी अहिले केही गीत तर ब्रान्डको प्रोमोसनका लागि ब्रान्ड एम्बेस्डरका रुपमा धेरै काम गरिरहेकी छन् । त्यसैले पछिल्लो समय उनको रोजाइका चलचित्र वा चलचित्रकर्मी को भनेर समीक्षा गर्दिनन् । तर, केही दशकअगाडिको कामको मूल्याकंन भने उनी गर्छिन् ।
उनलाई नीर शाह मन पर्ने निर्देशक हुन् । कारण, उनले समकालीन समयमा चलनचल्तीका भन्दा केही फरक चलचित्र बनाए । जस्तै, ‘वसन्ती’, ‘वासुदेव’, ‘मसान’ आदि ।
“उहाँले एउटाभन्दा अर्को अलि फरक चलचित्र बनाउनुहुन्थ्यो । चलिरहेको ट्रेन्ड नपछ्याएर फरक विषयवस्तु उठाउन खोज्नुहुन्थ्यो,” करिष्मा भन्छिन्, “इतिहास र तत्कालीन समाजलाई आफ्नो चलचित्रमा उठान गर्नुहुन्थ्यो । त्यो जरुरी पनि थियो, किनभने हाम्रो चालचलन र इतिहास के हो भनेर भोलिको पुस्तालाई थाहा पाउन पनि त्यस्ता चलचित्र चाहिन्छ । किनकि, ती चलचित्रले देशको कालखण्ड बोकेको हुन्छ ।” देशको तत्कालीन समय र समाजको प्रतिनिधित्त्व नीर शाहका चलचित्रले देखाउने भएकैले उनका चलचित्र मनपर्ने गरेको करिष्मा सुनाउँछिन् ।
पछिल्लो समय टिमवर्कमा काम गरिरहेका चलचित्रकर्मीहरु उनलाई मनपर्छ । चलचित्रले समेट्न नसकेका स्थान र समुदायको कथा भन्न नसकिरहेका बेला नयाँ–नयाँ कथा भनिनुपर्ने बताउँदै उनी भन्छिन्, “कुनै निश्चित अनुहार र विषयलाई मात्रै दोहोर्याइरहेका बेला कसैले नभनेको वा नजरअन्दाज गरेको विषय उठाइरहेका समूहको काम मलाई मन परेको छ ।”