site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली पहिचानका लागि प्रमोदको विम्बात्मक फ्रेम
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

हलिउडमा त्यति बेला सिनेमा बन्न छोड्यो, जति बेला आर्थिक विकास र प्रविधिमा फड्को मार्‍यो । विकासको मनोविज्ञानले हलिउडमा एचडी रेसियोमा फिल्म बन्न थाले । कारण, अमेरिकाले आफूलाई सुपरपावरका रूपमा प्रस्तुत गर्नु थियो ।

भारतले गोल्डेन फ्रेममा सिनेमा बनाउँछ । यसको अर्थ सिनेमामा एउटा पात्र शक्तिशाली हुन्छ । त्यहाँको सिनेमामा हिरोइजम देखिन्छ । यो उसको मौलिक स्टाइल हो । भारतीय सिनेमामा हिरोइजम देखिनुको कारण त्यहाँ भगवान् मानिन्छ । भगवान् मान्नेले चामत्कारिक परिवर्तनमा विश्वास गर्छन् । त्यसैले भारतीय आफ्नो चलचित्रमा हिरोइजम देखाउँछन् ।

जापानीले आफ्नो सटमा घुँडादेखि सुरु गर्छन् । कारण, उनीहरू खाना खान घुँडा टेकेर बस्ने गर्छन् । त्यसलाई उनीहरूले मौलिकता दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

रुसमा सिनेमामा क्यारेक्टर प्रस्तुत गर्दा पछाडिबाट घुमाएर अगाडि ल्याइन्छ । सस्पेन्स ट्रिकी ब्याक सट हुन्छ । त्यो युद्धसँग सम्बन्धित हुन्छ ।

अधिकांश कोरियन सिनेमामा कुनै पात्रलाई अप र कुनैलाई डाउन राखेर खिचिन्छ । कुसानमा राखेर अर्को पात्रभन्दा केही अग्लो ठाउँमा बसेको देखाइन्छ । कारण, देशभित्रको आर्थिक असमानता हो । यति अध्ययन गरेका निर्देशक प्रमोद कँडेललाई पहिल्यै थाहा थियो, नेपालमा गोल्डेन सटमा सिनेमा खिचिन्छ । अर्थात्, भारतको जस्तै । अस्वाभाविक भने होइन । कारण, नेपालका हरेक क्षेत्रमा भारतको दबदबा आजपर्यन्त छँदै छ । चलचित्रमा हुनु कुन नौलो भयो र !

Royal Enfield Island Ad

तर, यही बाटोमा हिँडिरहनु आश्चर्यको विषय हो । किन आफ्नै विशेषतायुक्त सिनेमा बनाउँदैनौँ ? यसका लागि किन प्रयास गर्दैनौँ ? कि मौलिकता दिने कुनै विम्ब नै छैन ?

विश्वकै अग्लो सगरमाथा हाम्रै हो । संसारभर दर्शन छोड्ने बुद्ध हाम्रै हुन् । वीर गोर्खाली हामी नै हौँ । यसैलाई मौलिकता दिएर आफ्नै ट्रेडमार्क बनाउन सक्दैनौँ ? प्रमोदको मथिंगलमा यी कुराले घर गर्‍यो ।

समय लकडाउनको थियो । घरभित्रै बस्नुको विकल्प थिएन । वीर गोर्खाली, सगरमाथा र बुद्धबाहेक पनि अरू केही ट्रेडमार्क हुन सक्लान् नेपाली सिनेमामा ? अनि, सुरु गरे उनले इतिहासको अध्ययन । कोरोना त्रासले समय उपलब्ध गराएको थियो । उनले सदुपयोग गरे ।

राणाशासनदेखि लोकतान्त्रिक गणतन्त्र र एमाले र माओवादी एकतासम्म आइपुग्दाका घटनाक्रम पढे । वि.सं. २००७ सालको क्रान्ति, ०१७ सालको ‘कू’, ०३६ सालको जनमतसंग्रह, ०४६ सालको जनआन्दोलन, ०५२ बाट सुरु माओवादी आन्दोलन, ०६२/६३ को दोस्रो जनआन्दोलन, मधेस आन्दोलन तथा माओवादी र एमालेको एकतासम्मको अध्ययन गरे ।

अध्ययनबाट उनले थाहा पाए, नेपालमा राजनीतिक अस्थिरता छ । सबैले भन्दै आएको र देख्दै आएको पनि यही नै हो । त्यसमा पनि जति जति बेला दलहरू मिलेका छन्, देशमा क्रान्ति भएको छ । चाहेको व्यवस्था आएको छ । संविधान बनेको छ । जति बेला दलहरूबीच तिक्तता बढेको छ, देशमा अस्थिरताले निरन्तरता पाएको छ ।

राजनीतिक स्थिरता नहुँदा देशले विकासको गति लिन सकेको छैन । जसको मार जनताले बेहोर्नु परिरहेको छ । के यो नै नेपाली सिनेमाको ट्रेडमार्क बन्न सक्तैन ? प्रमोदले आफैँले आफैँलाई प्रश्न गरे । निष्कर्षमा पनि पुगे, सकिन्छ ।

“हरेक देशले आफ्नो सिनेमाको सर्ट डिजाइन गर्दा देशको भूगोल, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक पक्षलाई आधार बनाउँदा रहेछन्,” प्रमोद भन्छन्, “मैले अध्ययन गर्दा के थाहा पाएँ भने, विश्वलाई राजनीतिले दिशा दिँदो रहेछ । जुन देशमा राजनीतिक स्थिरता छ, ती देशले विकास गरेका छन् । जुन देशमा राजनीतिक स्थिरता छैन, ती देशको विकास पनि हुन सकेको छैन । राजनीतिक अस्थिरताले आर्थिक अस्थिरता पनि सिर्जना गर्दो रहेछ । आर्थिक स्थिरताले नागरिकका सोच पनि अस्थिर हुनेरहेछन् । जिन्दगी सहज होस् भनेर हामी इजी मनी खोजिरहेका छौँ । तर, सम्भव नभएपछि हामी एकै समय विश्वविद्यालय पनि भर्ना भइरहेका छौँ र दूतावासमा राहदानी पनि पेस गरिरहेका छौँ । दोहोरो मनोविज्ञानमा हामी छौँ । त्यसैले अस्थिरता नै हाम्रो विशेषता हो । यसैलाई ट्रेडमार्क बनाऊँ भनेर मैले सट डिजाइन नै त्यस्तै गरेँ ।” 

कस्तो सट डिजाइन ?
चलचित्रमा प्रमोदले फरक तरिकाले सट डिजाइन गरेका छन् । “हामीले हरेकपटक विस्तारै सट टेकिङ उठाएर ल्याउँछौँ । र, एउटा टाइममा पुगेपछि त्यो सट क्र्यास गर्छौँ । किनभने, हाम्रोमा पटकपटक पोलिटिकल क्र्यास भएको छ,” उनी भन्छन् ।

नेपालमा बहुदलीय व्यवस्था छ । धेरै राजनीतिक दल छन् । केही दल प्रजातान्त्रिक विचारधाराका छन्, केही कम्युनिस्ट विचारधाराका छन् । पार्टी जति धेरै भए पनि विचारका हिसाबले यी दुई धारभित्रै छन् । जति बेला दुवै विचारधारा भएका दल एक ठाउँमा उभिएका छन्, त्यति बेला राजनीति सही ट्रयाकमा गएको छ । जब उनीहरू एक ठाउँमा बस्दैनन्, राजनीति क्र्याक भएको छ । त्यसैले उनले सट डिजाइन पनि त्यहीअनुसार गरे ।

चलचित्रमा मुख्य भूमिकामा सन्ध्या भन्ने क्यारेक्टर छ । उनी माइक्रोबायोलोजी लिएर कलेज पढ्छिन् । लेफ्ट विचारधारासँग नजिक हुन्छिन् । विद्रोही स्वभावकी छिन् । सिनेमाभर लेफ्ट साइडमा देखिन्छिन् । सन्ध्याका बुवा बनारसमा पढेर आएका छन् । संस्कार, संस्कृतिमा विश्वास गर्छन् । परिवारको जिम्मेवारी छ । उमेर ५० नाघिसकेको छ । यथास्थितिवादमा विश्वास गर्छन् । त्यसैले प्रमोदले उनलाई सिनेमाभर राइट साइडमा राखेका छन् ।

“हामीले फ्रेमलाई दुई भागमा विभाजन गर्‍यौँ । सधैँ लेफ्टमा सन्ध्यालाई र राइटमा उनका बुवालाई राख्यौँ । उनी सिनेमाभर सेन्टरसम्म आउँछिन्, तर सेन्टर क्रस गरेर राइट जान्नन्,” प्रमोद स्पष्ट पार्छन्, “तर, सन्ध्याका बुवा र उनकी श्रीमती सधैँ राइट साइडमा हुन्छन् । उनीहरू बोर्डरसम्म आइपुग्छन्, तर क्रस गरेर कहिले पनि लेफ्टमा पुग्दैनन् ।”

जब जब बुवाछोरी र आमाछोरीको सम्बन्ध राम्रो हुन्छ, सट पनि स्टाब्लिस हुँदै आउँछ । दुवै विस्तारै सेन्टरमा आउँछन् । जब जब द्वन्द्व बढ्दै जान्छ, सट पनि अनिस्टेबल हुँदै जान्छ र एक्सट्रिममा पुग्छ ।

सिनेमामा सन्ध्याको भाइ सेन्टर अथवा बीचमा छ । उसलाई दिदीको कुरा सुन्दा हो जस्तो लाग्छ, बुवाआमाको सुन्दा पनि हो जस्तो लाग्छ । उसलाई कन्फ्युजनमा रहेको नेपाली समाजको विम्बका रूपमा प्रयोग गरिएको प्रमोद सुनाउँछन् ।

“यो फ्रेम हामीले हाम्रो पहिचानका लागि डिजाइन गरेका हौँ । हामी इन्टरनेसनल मार्केटमा जाने हो भने हाम्रो आफ्नै पहिचान हुनुपर्छ, जुन अरू देशको हुन्छ,” उनी भन्छन्, “आज विश्वमा साउथले आफ्नो छुट्टै ट्रेडमार्क बनाएको छ । साउथ मुभी भन्नेबित्तिकै एक्सन सिन आउँदा लो एंगलबाट उठाएर स्लो मोसनमा तीनचार कदम हिँडेर उडेर हिरोइजम देखाउने भन्ने दिमागमा आउँछ ।”

आफ्नो फ्रेम लिएर जाँदा मात्र पहिचान बनाउन सहज हुने उनी बताउँछन् । गोल्डेन फ्रेममा सिनेमा खिचेर विदेश जाँदा प्रोडक्सन भ्यालु रिच भएका भारतीय चलचित्र नै सबैको रोजाइमा पर्ने सत्यलाई नजरअन्दाज गर्न नहुनेमा उनको जोड छ ।

“हामीले विदेशी बजार खोज्ने र रोज्ने हो भने अब आफ्नै फ्रेम बनाउनुको विकल्प छैन । त्यसैले हामीले यो प्रयास गरेका हौँ,” प्रमोद भन्छन्, “अहिले पनि हामीले प्रयास गरेनौँ भने ढिलो हुन्छ भन्ने हाम्रो बुझाइ हो । अब हामीले पनि नयाँ काम गर्न सकेनौँ भने कसले गर्छ भन्ने हो ।”

त्यसको सुरुआत कसैले गर्नेपर्ने उनी बताउँछन् । नेपाली अडियन्सले बाहिरको सिनेमा हेरिरहेकाले प्रयोग गरिएको ‘बहाव’लाई पनि बुझ्ने प्रमोदको अपेक्षा छ । “नयाँ कुराको खोजी र प्रयोग हामीले गरेका हौँ,” उनी भन्छन्, “ओस्कारमा परेका सिनेमा हेर्नुस्, हरेक सिनेमाले केही न केही एक्सपेरिमेन्ट गरेकै छन् ।”

दर्शकले बुझ्दैनन् भनेर सधैँ नयाँ प्रयोग गर्न डराए नौलो कामै नहुने उनको भनाइ छ । “आज तपाईंले बुझ्नुभयो, भोलि अर्कोले बुझ्छ,” उनी भन्छन्, “हामी यही समाजमा बस्छौँ भने हामीले बुझ्दै जाने कि बुझ्ने अर्को समाजमा सिफ्ट हुने ? पक्कै पनि बसिरहेको समाजमै बसेर बुझाउने हो ।”

तर, यही फ्रेम नै सधैँको ट्रेडमार्क हुनुपर्छ भन्ने नरहेको उनी स्पष्ट पार्छन् । योभन्दा राम्रो फ्रेम डिजाइन गर्न सके त्यसलाई स्थापित गर्न सकिनेमा उनी विश्वस्त छन् ।

प्रमोदको लेखन तथा निर्देशन र श्रीधर पौडेलको लगानीमा निर्मित चलचित्र शुक्रबार रिलिज भएको छ । मुख्य भूमिकामा सुरक्षा पन्त र कमलमणि नेपाल छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro