काठमाडौं । नेपालमा असामयिक मृत्युको एक प्रमुख कारण हो, सवारी दुर्घटना । उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार, काठमाडौं उपत्यकामा मात्रै आर्थिक वर्ष २०८०/०८१ मा आठहजार ८८९ वटा दुर्घटना भए । जसमा १७७ जनाले ज्यान गुमाए भने २९० जना गम्भीर घाइते भए ।
कार्यालयका अनुसार, हरेक महिना उपत्यकामा ३०० देखि ४५० सम्म सवारी दुर्घटना भइरहेका छन् । देशभर दैनिक औसत सात जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाइरहेको नेपाल प्रहरीको तथ्यांक छ ।
सडक सुरक्षा कार्ययोजना अनुसारको व्यवस्थापन प्रणाली विकास गरिए हाल सवारी दुर्घटनामा परेर मृत्यु भइरहेको संख्या न्यूनीकरण गर्न सकिने विज्ञहरू बताउँछन् । हाल मृत्यु भइरहेकामध्ये ६० प्रतिशत घाइतेलाई बचाउन सकिने उनीहरूको दाबी छ ।
त्यसका निम्ति सडक सुरक्षा कार्ययोजना २०२१–२०३० मा एक नयाँ अवधारणा समेटिएको छ, पोस्ट क्य्रास रेस्पोन्स ।
कस्तो हो पोस्ट क्य्रास रेस्पोन्सको अवधारणा ?
सवारी दुर्घटना कुनै भवितव्य नभई टार्न सकिने परिघटना हो भन्ने अवधारणालाई पोस्ट क्य्रास रेस्पोन्सको रूपमा परिभाषित गरिएको छ । यसले तत्काल घटनास्थलबाट गरिने उद्धारदेखि अस्पताल पुर्याउँदासम्मको अवस्थालाई समेट्छ ।
नेपाल सरकारका लागि दुर्घटनापछिको उद्धार र उपचारसम्बन्धी विज्ञ तथा वरिष्ठ अर्थो सर्जन डा. अशोकरत्न बज्राचार्य भन्छन्, "सवारी दुर्घटना कुनै भवितव्य होइन, मानव सिर्जित घटना हो । त्यसैले निश्चित प्रणालीभित्र रहेर सर्वपक्षीय प्रयास गरे यसलाई न्यूनीकरण मात्रै होइन, अन्त्य नै गर्न सकिन्छ ।"
यसका निम्ति डा. बज्राचार्यकै पहलमा सडक सुरक्षा कार्ययोजना २०२१–२०३० भित्र पोस्ट क्य्रास रेस्पोन्स प्रणालीलाई चरणबद्ध ढंगले समेटिएको छ ।
डा. बज्राचार्यका अनुसार, यस प्रणालीले घाइतेको उद्धारका क्रममा चिकित्सकीय र गैरचिकित्सकीय दुवै पाटोलाई समेट्छ । जसमा घटनास्थलबाट घाइतेलाई बाहिर निकाल्ने, स्थलगत उपचार र एम्बुलेन्सको व्यवस्थापन र अस्पताल पुर्याउनेसम्मका प्रक्रिया समेटिएका छन् ।
साथै, प्रिहस्पिटल केयर, इन हस्पिटल केयर र पोस्ट हस्पिटल केयरसम्मको प्रक्रिया पोस्ट क्य्रासरेस्पोन्सभित्र समेटिएको छ । प्रिहस्पिटल केयरमा घटनास्थलबाट घाइतेको उद्धार गरी अस्पतालको बेडसम्म पुर्याउने प्रक्रिया समेटिएको छ ।
पोस्ट हस्पिटल केयरमा घाइते यदि अपांगता भएर निस्किएमा उसको थप स्वास्थ्य उपचार, त्यसपछिको पुलिस केस र कानुनी प्रक्रिया, घटनाको अनुसन्धान, बिमाबापत्को सुविधासम्मका प्रक्रिया समेटिएको छ ।
डा. बज्राचार्यका अनुसार, यस प्रणालीमा घटनास्थलमा पहिलो उद्धारकर्मीको रूपमा पहिलो देख्ने व्यक्ति 'फर्स्ट रेस्पोन्डर' रहन्छ । यो जिम्मेवारी सवारी चालक, ट्राफिक प्रहरी तथा र स्वयंसेवकलाई दिइन्छ । खबर प्राप्त गरी तत्काल उद्धार प्रक्रिया अघि बढाउन युनिफाइड कमान्ड सेन्टरको परिकल्पना गरिएको छ, जसमा निःशुल्क टोल फ्री नम्बर रहने छ ।
यस्ता व्यक्तिले दुर्घटनापछि तत्काल आफू सुरक्षित रहँदै, स्थितिलाई अवलोकन गर्ने र घटनास्थलबाट सम्बन्धित निकायहरूमा खबर गर्ने काम गर्छ । यसको संयोजन केन्द्रमा रहने युनिफाइड कमान्ड सेन्टरले गर्ने छ । सेन्टरले नै उद्धार वा उपचारका निम्ति जीपीएस जडित एम्बुलेन्सको पठाउने ल्याउने व्यवस्था गर्ने छ ।
घटनास्थलमा र्यापिड रेस्पोन्स टिम (आरआरटी) तत्काल पुग्ने प्रणाली हुने छ । जसमा अग्नि नियन्त्रक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी (पारामेडिक्स) र सवारीसम्बन्धी प्राविधिक र तालिमप्राप्त एम्बुलेन्स चालकको टिम रहन्छ । टिमले दुईवटा विधिबाट तत्काल उद्धार कार्य गर्ने छ ।
१. स्कुप एन्ड रन : दुर्घटनाबाट धेरैजना घाइते भएमा यो विधिबाट तत्काल स्पेसल स्ट्रेचरमा राखेर अस्पतालतर्फ लैजाने,
२. स्टे एन्ड प्ले : स्वाथ्यकर्मीको टोलीले घाइतेलाई स्थलगत उपचार (जस्तै : सीपीआर, अक्सिजन लगाउने) लगायत उपचार गर्ने ।
स्थलगत प्राथमिक उपचारपश्चात् अस्पतालको निर्क्यौल गर्ने र बेड सुरक्षित गरी अस्पतालसम्म पुर्याउने समन्वय पनि सेन्टरले नै गर्ने छ । यस प्रणालीमा टो एन्ड सेल्भेजको पनि व्यवस्था गरिएको छ । यो प्राविधिक टोलीसहित दुर्घटनास्थलमा अवरुद्ध सडक खोल्न वा दुर्घटनामा परेका सवारी साधन पन्छाउन प्रयोग हुने छ ।
यसको व्यवस्थापन पनि सेन्टरले नै गर्ने व्यवस्था छ । यी सबै प्रक्रियामा हाल उपलब्ध सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीको टोली नै परिचालिन हुने गरी व्यवस्था मिलाइने डा. बज्राचार्य बताउँछन् ।
पोस्ट क्य्रास रेस्पोन्स प्रणालीभित्र दुर्घटनाको उपचारपछि घाइते भएको अवस्थामा पुनर्स्थापना, पेसागत वा व्यावसायिक दैनिकीमा फर्किने वातावरण बनाउने, प्राविधिक तालिमसम्मका विषय समेटिएका छन् ।
दुर्घटनाको उपचारको क्रममा बिमा दाबीका निम्ति युनिभर्सल इन्स्योरेन्स कार्ड सिस्टमको अवधारणा राखिएको छ, जुन सबैखाले इन्स्योरेन्स सेवा प्रदायकका निम्ति मान्य हुने छ ।
हाल भएका स्रोत र साधनकै माध्यमबाट यो प्रणालीअनुसार अघि बढ्नसके हाल देखिएको दुूर्घटनापछिको अन्योलताको साटो तत्काल उद्धार कार्य सहज हुने छ । त्यतिमात्र नभई सवारी दुर्घटनाबाट हाल भइरहेको मानवीय, आर्थिक, सामाजिक क्षतिलाई समेत न्यूनीकरण गर्न सकिने डा. बज्राचार्यको विश्वास छ ।