site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
हिरोइन खोज्दाका दुःख

काठमाडौं । कर्णालीका कथा संघीय राजधानीका लागि आज पनि अक्सर धेरैलाई नयाँ नै लाग्छ । कारण त्यहाँका रैथाने कथा धेरैले काठमाडौं ल्याएर भन्न सकेका छैनन् वा भन्ने आँट गरेका छैनन् । भलै सर्ट फिल्म र एकाध फिचर फिल्म बनेका छन् । तर, सत्य यही हो– नेपाली दर्शकका लागि भन्दा पनि ती विदेशी आँखाका लागि बने । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि बनाइए । उतै देखाइए ।

लक्ष्मण (सुनार)लाई भने कर्णालीको कथा काठमाडौं र देशका ठूला सहरलाई देखाउने रहर थियो । यही हुटहुटीले उनी केही वर्ष पहिला बहुपति प्रथामा आधारित सिनेमा बनाउन स्क्रिप्ट लेखिरहेका थिए । दुर्भाग्य त्यो सिनेमा उनले बनाउन सकेनन् । त्यसपछि उनलाई लाग्यो– केही समय चलचित्र बनाउनु हुँदैन ।

एकदिन टोपेन्द्र विष्ट (चलचित्र बुलाकी निर्माता)ले उनलाई भने– एउटा सिनेमा बनाउनु पर्‍यो । टोपेन्द्रले कथा र निर्देशक करिब–करिब फाइनल गरिसकेका रहेछन् । प्रोडक्सनमा बसेर काम गर्ने सल्लाह भयो । कथा भने जारी प्रथामा थियो ।

Dabur Nepal
NIC Asia

कर्णालीका लक्ष्मण, आफ्नै गाउँठाउँका कथा उठाइरहन्थे । जारी प्रथा त उनले आफ्नै आँखाले देखेका थिए । त्यसैले उनलाई कथा ‘पोलिस’ गर्न थप सहज भयो । कथा तयार भयो । काम बाँकी रह्यो काष्टिङको । काष्टिङ पनि करिब–करिब लक्ष्मण आउनु अगाडि नै तयार थियो ।

हिरोइन भने कसलाई लिने तय भएको थिएन । भलै टोपेन्द्रको दिमागमा केही नाम थिए, जसलाई उनी आफ्नो सिनेमाको मुख्य अभिनेत्री बनाउन चाहन्थे । पछि लक्ष्मणले सिनेमा निर्देशन गर्ने तय भयो । अब काष्टिङमा उनको पनि हात हुने नै भयो । निर्माण पक्ष बसेर सिनेमामा कसलाई लिने भन्ने छलफल भयो । विभिन्न नामहरू आए ।

महिला चरित्रप्रधान सिनेमा । कथालाई न्याय गर्न सक्ने अभिनेत्री आवश्यक थियो । कथा बुझेर त्यसलाई न्याय गर्न नसके सिनेमा मथ्र्यो । त्यसैले अभिनयमा उम्दा कलाकार चाहिएको थियो, जसले कर्णालीका आम महिलाको कथा भन्न÷देखाउन सकोस् । सँगै निर्माण पक्षलाई आम पब्लिकले चिन्ने ‘फेस’ पनि चाहिएको थियो । लोभ थियो, सिनेमाको पब्लिसिटीमा पनि सहयोग होस् । यसका लागि लोकप्रिय फेस चाहिन्थ्यो ।

लक्ष्मणको हातमा सिनेमा आउनुभन्दा अगाडि नयाँ कलाकारलाई नायिकामा लिने तयारी थियो । चलचित्र विकास बोर्डमा भएको दर्तामा तिनै व्यक्तिको नाम छ ।

पछि लक्ष्मण सिनेमाको निर्देशक हुने भए । उनलाई लाग्यो– महिलाप्रधान सिनेमा हो, गिनिचुनेकै फेस चाहिन्छ । “महिलाकै कथा सिनेमामा भनिरहेका छौँ भने बलियो फेस चाहिन्छ, जसले सिनेमालाई पनि फाइदा गर्छ । राम्रोसँग काम गर्दा क्यारेक्टरलाई पनि न्याय मिल्छ भन्ने मलाई लाग्यो,” लक्ष्मण भन्छन् ।

त्यसपछि निर्माण पक्षले प्रस्ताव गर्‍यो, मेनुका प्रधानलाई । रंगमञ्चको बाटो हुँदै रजतपटमा पुगेकी मेनुका उम्दा अभिनेत्री हुन् । उनलाई प्रस्ताव गर्नुको कारण पनि त्यही थियो । मेनुकाले स्क्रिप्ट पढिन् । अपोजिट काष्टमा सायद उनलाई शंका लाग्यो । उनले अर्कोपटक काम गरौँला भनिन् । 

निर्माण पक्षले मेनुकालाई रोज्यो तर उनले रोजिनन् । सिनेमामा बहुपरिचित फेस अपोजिटमा थिएनन् । त्यसैले उनको निर्णय पनि त्यति धेरै अस्वाभाविक थिएन ।

त्यसपछि उनीहरू नीता ढुंगानाकोमा पुगे । नरेन खड्कामार्फत लक्ष्मणले प्रस्ताव गरेका थिए । नीताले पनि इन्कार गरिन् ।

सिनेमा त बनाउनु नै थियो । विकल्पमा लक्ष्मणले प्रस्ताव पुर्‍याए, बेनिशा हमालकोमा । उनी ‘प्रेमगञ्ज’को छायांकनमा थिइन् । उनीसँग पैसाको कुरा मिलेन । “उहाँसँग पेमेन्टमा कुरा मिलेन । उहाँले अलि धेरै माग्नुभयो । हामीसँग उहाँले माग्नुभए जति दिने पारिश्रमिक थिएन,” उनले भने ।

त्यसपछि निर्माण टिम पुग्यो– केकी अधिकारीकोमा । केकीले स्क्रिप्ट पनि पढिन् । तर, अन्तिममा उनीसँग पनि पारिश्रमिकमा कुरा मिलेन । केकीले डोल्पा पुगेर छायांकन गर्दा उक्त समयमा अरु काम गर्न नभ्याइने भन्दै पारिश्रमिकमा धेरै सम्झौता गर्न नसकिने बताइन् । लक्ष्मण नायिकाहरूले मागेको पारिश्रमिकप्रति धेरै असन्तुष्टि भने जनाउँदैनन् ।

“हामीले चाहेर पनि केही नायिकासँग काम गर्न सकेनौँ । कतिसँग त पारिश्रमिकमा कुरा मिलेन । एक महिनाभन्दा धेरै समय दिनुपर्छ । यो समय अरू काम गर्न पाइँदैन । पछि स्टुडियो र पब्लिसिटीमा पनि केही समय दिनुपर्छ । त्यसैले उहाँहरूले मागेको पारिश्रमिक पनि त्यति धेरै होइन,” उनी भन्छन्, “हाम्रो सन्दर्भमा भने केही फरक रह्यो । किनकि, हाम्रो चलचित्र विषयप्रधान चलचित्र हो । पूर्णरुपमा कमर्सियल नभएकाले पनि धेरै लगानी पारिश्रमिकमा मात्रै गर्न सक्ने अवस्था थिएन ।” 

सिनेमा बनाइरहेको र चलिरहेको ब्यानर नभएकाले पनि यो निर्माण टिमलाई पारिश्रमिकमा मात्रै लगानी गर्न ‘रिस्क’ थियो ।

अन्ततः लक्ष्मणले सुरक्षा पन्तलाई अफर गरे । ‘बहाव’को छायांकनमा रहेकी उनले स्क्रिप्ट हेर्छु भनिन् । स्क्रिप्ट पढेपछि सुरक्षाले भनिन्, ‘हुन्छ, म सिनेमामा काम गर्छु । तपाईं नयाँ पनि हुनुहुन्छ, त्यसैले तपाईंलाई इन्करेज गर्नका लागि पनि यो सिनेमामा मैले काम गर्नुपर्छ ।’

“मैले उहाँसँग म्युजिक भिडियोमा काम गरिसकेकाले पनि मलाई उहाँले विश्वास गर्नुभयो । म्युजिक भिडियोमा केही फरक गर्नुपर्छ भन्ने सोच सधैँ ममा हुन्थ्यो । त्यसले पनि सायद सुरक्षाजीलाई मप्रति विश्वास जगाएको हुनुपर्छ,” लक्ष्मण भन्छन् ।

लकडाउन भर्खर खुलेको थियो । अधिकांश कलाकार र प्राविधिकसँग काम थिएन । यस्तो समयमा काम गर्दा कलाकार र प्राविधिकलाई पनि काम पाउँदा सहज हुने र काम नभएको बेला थोरै बजेटमा काम गरौं है भन्न निर्माण पक्षलाई पनि सहज थियो । तर, बजार आफूले सोचेजस्तो नपाएको लक्ष्मण सुनाउँछन् । “उहाँहरूलाई कठिन अवस्थामा काम गराउँदा हामीले पनि केही राहत पाइएला भन्ने सोचेको थियौँ,” लक्ष्मण भन्छन् ।

लक्ष्मणसँग केही असन्तुष्टि भने छ । तर, सबैसँग होइन, केहीसँग । अझ स्पष्ट भन्दा व्यक्ति होइन प्रवृत्तिसँग । कथा, स्क्रिप्ट, क्यारेक्टरभन्दा पनि अरुअरु विषयमा धेरै अल्झिने गरेको उनले अनुभव गरेका छन् । काम गरेपछि डिमान्ड गर्ने हरेक व्यक्तिको अधिकार हो । तर, यसोभन्दै गर्दा बजारले कति धान्छ र रिटन्र्सको सम्भावना कति छ ? त्यसमा पनि ध्यान दिनुपर्नेमा उनको जोड छ ।

त्यसो त नयाँ मेकरलाई विश्वास गरिहाल्ने बजार पनि छैन । नयाँ मेकर भनेपछि यसले काम निकाल्न सक्ला र ? शंका धेरैमा देखिन्छ । सबैलाई विश्वास नगर्ने वातावरण बन्दा काम गर्नसक्ने पनि शंकाको मारमा परिरहेको उनी सुनाउँछन् । “सायद सुरक्षाजीले मलाई यसअघि म्युजिक भिडियोको काममा नदेख्नु भएको भए उहाँले पनि गर्नुहुन्नथ्यो होला,” उनी भन्छन् ।

निर्देशकले स्वतन्त्र भएर सिनेमा बनाउने अवस्था अझै नरहेको उनको अनुभव छ । नेपालमा अझै पनि वितरक, डिजिटल राइट्सका खरिदकर्ता, फरेन राइट्सका खरिद्कर्ताले बनाउने गरेको लक्ष्मण सुनाउँछन् । उनी आफैँ पनि यसका भुक्तभोगी हुन् ।

केही वर्ष अगाडि लक्ष्मण एउटा सिनेमा बनाउँदै थिए । ‘बुलाकी’पछि काम गर्ने समय तय भएको थियो । सबै योजना बनिसकेको थियो । हिरोइनले एग्रिमेन्ट गरिसकेकी थिइन् । लक्ष्मणले निर्देशकमा साइन गर्न बाँकी थियो । 

“वितरकले लक्ष्मणले सिनेमामा दयाहाङ राईलाई ल्याउन सक्दैन  भनेपछि मेरो ठाउँमा अर्को निर्देशक हायर गरियो,” लक्ष्मणले तीतो अनुभव सुनाए, “फिल्म त यहाँ निर्देशक होइन, अरुले बनाउने हो । लक लाग्यो भने मात्रै हो नयाँ निर्देशकले सिनेमा पाउने । यस्तो अवस्थामा फाइनान्सरहरू कति हाबी हुन्छन् होला ?”

नयाँ मेकरले आफूलाई प्रमाणित गर्न नै कठिन अवस्था रहेको सत्य स्वीकार्नु पर्ने उनी बताउँछन् । नयाँ मेकरले सानो बजेटमा चलचित्र बनाउनु पर्ने र यसमा कलाकार छनोटदेखि सम्झौता सुरु हुने लक्ष्मणको अनुभव छ ।

समाचार, सर्ट फिल्म तथा युट्युबमा कर्णालीका कथा थुप्रै आए । बिक्री पनि भए । तर, फिचर फिल्ममा भने कर्णालीको कथा क्यास हुन सकेको छैन । यसको उदाहरण ‘प्रकाश’ र चिसो मान्छे’लाई लिन सकिन्छ । राम्रो हाइप बनाएर पनि यी दुवै चलचित्रले अपेक्षित व्यापार गर्न सकेनन् । यसले लक्ष्मण आफूहरूलाई बेलाबेला झस्काउने गरेको तर हार नखाएको सुनाउँछन् ।

“कर्णालीको दुःख काठमाडौंमा बस्ने दर्शकलाई हेर्न मन नभएको हो अथावा दुःख देखाउने नै हो भने काठमाडौंकै देखाए भइगयो भन्ने हो कि,” उनी भन्छन्, “त्यसैले हामी मेकरलाई पनि त्यहाँको दुःख देखाउने कि सुन्दरता भन्ने दोधार छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro