काठमाडौं । कोरोना संक्रमणका कारण चलचित्र रिलिज हुन नपाउँदा १ अर्ब ७५ करोड रुपैयाँ लगानी ‘फ्रिज’ भएको छ । चलचित्र निर्माता संघका अनुसार ८२ वटा चलचित्रमा १ अर्ब ७५ करोड रुपैयाँ लगानी भएको छ ।
संघका अध्यक्ष आकाश अधिकारीका अनुसार ३५ वटा निर्माण सम्पन्न भइसकेका र पोस्ट प्रोडक्सनमा रहेका २२ र केही छायांकन गर्दागर्दै रोकिएका २५ वटा चलचित्र गरी ८२ सिनेमामा लागानी भइसकेको छ ।
“८२ सिनेमामा रहेको झन्डै १ अर्ब ७५ करोड लगानी डेढ वर्षबाट फ्रिज भएर बसेको अवस्था छ । उक्त लगानीको जोखिम (बैंकको सावाँ–ब्याज) चलचित्र निर्माताले खेपिरहेका छन् । यसबाहेक हलमा भएको १२ अर्बभन्दा धेरै रकम जोखिममा छ । २२ वटा सिनेमा हल बन्द भइसकेका छन् । ३०–४० वटा सिनमा हल बन्द हुने क्रममा रहेको चलचित्र संघका महासचिव अशोक शर्मा बताउँछन् ।
कोरोना संक्रमणको पहिलो चरणबाटै बन्द रहेको चलचित्र क्षेत्र हालसम्म खुल्न सकेको छैन । बीचको समय अन्य पेसा तथा व्यवसायहरु सञ्चालनमा आए पनि चलचित्र क्षेत्रले त्यो मौका पाएन । केही चलचित्र छायांकनमा गए पनि उल्लेख्य संख्यामा चलचित्र प्रदर्शन भएन । सरकारले ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न दिए पनि ठूला ब्यानरका चलचित्र प्रदर्शन भएका थिएनन् । र, अझै कहिलेसम्म यो अन्योलको समय रहने हो थाहा छैन ।
चलचित्र निर्माता संघ र चलचित्र संघले आगामी मौद्रिक नीतिले आफूहरुका माग सम्बोधन गर्नुपर्ने भन्दै नेपाल राष्ट्र बैंकलाई सुझाव दिइसकेका छन् । अर्थमन्त्री विष्णु पौडेललाई भेटेर पनि मारमा परेको चलचित्र क्षेत्रलाई तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।
सरकारले चलचित्रकर्मीका माग सुन्छ भन्ने निश्चित छैन भने सुने पनि माग कति सम्बोधन हुन्छ ठेगान छैन । सरकारले गरेको सहयोगले थला परेको चलचित्र क्षेत्र उक्सिएला भन्नेमा स्वयं चलचित्रकर्मीलाई नै विश्वास छैन । “राजनीतिज्ञहरुको स्वाभाव नै हो हुन्छ–हुन्छ भन्ने नगर्ने, त्यसैले आश्वासन पाइयो भनेर ढुक्क हुने अवस्थाचाहिँ छैन,” निर्देशक, निर्माता तथा कलाकारसमेत रहेका अशोक शर्मा भन्छन् ।
निर्माताको अरबौँ रकम फ्रिज भएको छ, हलहरु बन्द हुन थालिसके । चलचित्रकर्मी बेरोजगार बनेको लामो समय भइसक्यो । वितरकहरु झन्डै दुई वर्षदेखि कामविहीन छन् । यो अनिश्चितकालीन दलदलबाट बाहिर निस्किने उपाय केही छैन ?
डिजिटल प्लेटफर्म सिनेमा हलको विकल्प हुनसक्छ । कोभिड–१९ को महामारीले रोकिएका चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज गर्न सकिन्छ । जुन बलिउड, हलिउड र विश्वका अन्य ठूला चलचित्र उद्योगले पनि गर्दै आएका छन् ।
निर्देशक मनोज पण्डितले आफ्नो चलचित्र एक डिजिटल प्लेटफर्ममा रिलिज गर्ने घोषणा गरिसकेका छन् । लामो समयदेखि विभिन्न कारणले रिलिज नभएको चलचित्र उनी अब डिजिटल प्लेटफर्ममा रिलिज गर्ने बताउँछन् । “कसै न कसैले सुरु गर्नैपर्छ । त्यसैले म मेरो चलचित्र यो वर्ष डिजिटल प्लेटफर्मममा रिलिज गर्छु,” मनोज भन्छन् ।
डिजिटल प्लेटफर्मको विकास र विस्तार भइदिएको भए अहिले यो महामारीमा पनि चलचित्र क्षेत्र चलायमान भइरहेको हुने थियो भन्छन्, निर्देशक हेमराज बिसी भन्छन् । “हामी अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा गइसकेका हुन्थ्यौँ भने अहिले हामी चलचित्र वर्षौँदेखि होल्ड गरेर बस्नुपर्ने थिएन,” हेमराज भन्छन्, “त्यसैले अब हामीले डिजिटल प्लेटफर्मका लागि चलचित्र बनाउन सुरु गर्नुपर्छ । म पनि अब डिजिटल प्लेटफर्मकै लागि चलचित्र बनाउने सोचमा छु ।”
धेरै निर्देशक तथा निर्माताहरु अब डिजिटल प्लेटफर्ममा जान ढिलो गर्न नहुने बताउँछन् । त्यसैले अब भरपर्दो डिजिटल प्लेटफर्मको विकास गरेर त्यसमा चलचित्र रिलिज गर्नुपर्नेमा उनीहरुको जोड छ ।
तर, यो सम्भव छ ?
कलाकार तथा निर्माता दीपकराज गिरी भन्छन्, “आवश्यकता हो । तर, नेपालमा म यो तत्काल सम्भावना देख्दिनँ ।”
आवश्यकता छ भनेर नै आफूले युट्युबमा फिल्म नराखेर डिजिटल प्लेटफर्ममा रिलिज गरेको र सकेसम्म बिनापैसा हेर्ने कल्चरका कारण पाइरेसी भएको उनी बताउँछन् । “नेपामा पनि डिजिटल प्लेटफर्म आवश्यक छ भनेर आलोचित हुँदाहुँदै पनि मैले युट्युबमा चलचित्र नराखेर राम्रो प्लेटफर्म पर्खिएँ । डिजिटल प्लेटफर्म आयो र उहाँहरुले राम्रो छ भनेर आश्वासन दिनुभयो । मैले पनि राम्रै पैसा पाएपछि दिएँ । तर, चलचित्र यसरी पाइरेसी भयो कि फेसबुकभरि पाइरेसी भयो,” दीपक भन्छन्, “विदेशमा पाइरेसी भए पनि यति धेरै दर्शक छन्, पाइरेसी भएको लो क्वालिटीको चलचित्र हेर्दिनँ, पैसा तिरेरै हेर्छुभन्दा पनि लगानीकर्तालाई घाटा हुँदैन । तर, दर्शकको संख्या नै कम भएको नेपालमा पाइरेसी भए लगानीकर्ता डुब्छ ।”
नेपालमा भएका डिजिटल प्लेटफर्मले पनि ठूलो मात्रामा लगानी गर्न नसक्दा सहज नहुने उनको भनाइ छ । “तपाईं नेट्फ्लििक्समा निश्चित रकम तिरेपछि त्यहाँ सयौँ चलचित्र हेर्न पाइन्छ । तर, नेपालका डिजिटल प्लेटफर्ममा कतिवटा चलचित्र छन् ? तीनवटा चलचित्र हेर्न कति पैसा तिर्ने ?,” उनी भन्छन्, “हामीसँग लाइभलिटी पनि गतिलो छैन र तत्काल हुन पनि सक्दैन । त्यसैले म यो तत्काल सम्भावना देख्दिनँ ।”
नेट्फिल्क्स, अमेजन प्राइममा केही नेपाली चलचित्रले जाने प्रयास गरे पनि त्यो सम्भव भएन । कारण जति पनि यी डिजिटल प्लेटफर्मको सब्सक्राइबर नेपाली छन्, उनीहरु विदेशी कार्डबाट पैसा पेमेन्ट गरिरहेका छन् । वा विदेशमा बस्ने साथीभाइले पैसा तिरिदिरहेका छन् । त्यसैले उनीहरुले नेपालको भूगोलमा हाम्रो सब्सक्राइबर कति छ भनेर हेर्दा नदेखिएपछि नेपाली चलचित्र नलिने गरेको दीपक बताउँछन् । नेपालमा पेमेन्ट गेटवे पनि सहज छैन ।
डिजिटल प्लेटफर्म विकास गर्नै नसकिने भन्ने त होइन । तर, नेपाली चलचित्रकर्मीहरुमा रहेको संस्कार र संस्कृति हेर्दा तत्काल सम्भव नरहेको उनी बताउँछन् । फिल्म क्षेत्रको कसरी विकास गर्ने भनेर प्यानल डिस्कसन गर्नुपर्ने र एकले अर्कोको चलचित्रलाई सर्पोट गरौँ भन्ने भावनाको विकास नभएसम्म भरपर्दो डिजिटल प्लेटफर्म विकास गर्न नसकिने उनी बताउँछन् ।
“एउटाको सिनेमा रिलिज हुँदा अरु सबै त्यसको विपक्षमा हुन्छौँ । सहकार्यको संस्कार नै छैन । सबै मिलेर हामी एउटा डिजिटल प्लेटफर्म खोलौँ । त्यो राम्रोसँग विकास नहुँदासम्म सबै मिलेर काम गरौँ । धेरै प्रतिस्पर्धा नगरौँ,” उनी भन्छन्, “बलिउड र हलिउड सिनेमासँग भिड्नुपर्छ, त्यसैले कार्यगत एकता गर्दै पहिला नेपाली चलचित्रको आधार बलियो बनाऔँ । त्यसपछि जे गरौँला भन्ने सोच नै छैन ।”
एउटाले डिजिटल प्लेटफर्म खोल्यो भने त्यसलाई म किन फिल्म दिने भन्ने संस्कार रहेको भन्दै आफू रहेको उद्योग पूर्ण व्यावसायिक नहुँदासम्म हुने प्रतिस्पर्धाले माथि उठ्न नदिने उनको भनाइ छ । धरातल नै कमजोर रहेको अवस्थामा एउटै उद्योगमा रहेका व्यक्तिहरुबीच एकता आवश्यक रहेको उनी बताउँछन् ।
“एकले अर्कोलाई गाली गर्ने, व्यावसायिक सिनेमा बनाएकाले कलात्मक सिनेमा बनाउनेलाई गाली गर्ने, कलात्मक सिनेमा बनाउनेले व्यावसायिक सिनेमालाई सिनेमा नै नमान्ने प्रवृत्ति छ,” दीपक भन्छन्, “एकले अर्कोको अस्तित्त्व स्वीकार गर्न नसक्ने नेपाली परम्परा रहेसम्म मलाई लाग्दैन कुनै एउटा काम गरौँ भन्नलाई यसैले दिँदैन । यही अवस्था रहँदासम्म कुनै पनि डिजिटल प्लेटफर्म सम्भव छैन ।”
डिजिटल प्लेटफर्ममा खासै आकर्षण नदेखिएको र यसको मुख्य कारण फ्रेस फिल्म रिलिज नहुनु भएको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् ।
नेपालमा अरुले निर्माण गरिदिएको बाटोमा हिँड्ने तर आफैँ बाटो बनाउन कोही अग्रसर नहुने उनी बताउँछन् । भारतमा डिजिटल प्लेटफर्म ओटीटी र निर्माता दुवैले सुरुमा दर्शकलाई बानी पार्न ठूलो सम्झौता गरे । “दशर्कलाई बानी पार्न दिलबेचारा ओटीटीमा रिलिज गर्दा एकैदिन झन्डै करोड सब्सक्राइब भएको खबर आएको थियो । हाम्रोमा डिजिटल प्लेटफर्म खोल्ने तर आफू लगानी नगर्नेहरु धेरै छन्,” दीपेन्द्र भन्छन्, “मेरो चलचित्र चिसो मान्छेमा लगानीमा थपेर ३० लाख रुपैयाँ कुनै डिजिटल प्लेटफर्मले दिन्छ भने म हलमा रिलिज नगरी डिजिटल प्लेफर्ममा रिलिज गर्छु, कोही तयार छ ?”
युट्युबमा आइसकेका चलचित्र डिजिटल प्लेटफर्ममा हालेर दर्शकको आकर्षण नहुने उनको भनाइ छ । मेकर र कन्टेन्ट राम्रो भएर हाइप बनाएको चलचित्र डिजिटल प्लेटफर्मले रिलिज गरेपछि दर्शक त्यसतर्फ तानिने अन्यथा सधैँ यस्तै अवस्था रहने उनी बताउँछन् ।
“मेरो चलचित्र आमाबाट मैले डिसहोमबाट करिब ६० लाख रुपैयाँ लिएँ । अहिले हाइप बनाएको राम्रो चलचित्र डिसहोम र डिजिटल प्लेछफर्ममा हाल्ने हो भने डिसहोमले ग्रामीण भेग कभर गर्छ र डिजिटल प्लेटफर्मले इन्टरनेटको पहुँच भएका र विदेशका दर्शकलाई समेट्छ,” उनी भन्छन्, “राम्रो फिल्म कसैले यो बेला डिजिटल प्लेटफर्ममा रिलिज गर्न आँट गर्ने हो भने लगानी कभर गर्ने सम्भावना छ । तर, यो सुरु गर्न नै कोही तयार छैन ।”
यद्यपि, डिजिटल प्लेटफर्मका लागि भनेर कमजोर चलचित्र बनाउने र रिलिज गरेको अवस्थामा भने त्यो सम्भव नहुने उनको भनाइ छ ।
नेपालमा केही डिजिटल प्लेटफर्म भए पनि हल रिलिज नभएका हाइप बनाएका चलचित्र रिलिज गर्न नसक्दा दर्शक यसमा आकर्षित हुनसकेका छैनन् ।