काठमाडौं । नेपाली चलचित्रको इतिहास ‘सत्य हरिश्चन्द्र’लाई मान्ने हो भने २००७ सालमा निर्माण भएको थियो । भलै, यो हिन्दी चलचित्रको नेपाली रूपान्तरण भएकाले नेपाली भूमिमा बनेको ‘आमा’लाई नै नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र मान्नुपर्ने धेरैको धारणा छ ।
‘सत्य हरिश्चन्द्र’लाई पहिलो चलचित्र मान्ने हो नेपाली चलचित्रको इतिहास ७१ वर्ष लामो भयो । ‘आमा’लाई पहिलो चलचित्र मान्ने हो भने ५७ वर्ष लामो इतिहास नेपाली चलचित्रले बोकेको छ ।
दुईमध्ये जुनसुकै चलचित्रलाई पहिलो मान्ने हो भने पनि नेपाली चलचित्रले आधा शताब्दीभन्दा लामो यात्रा तय गरिसकेको छ । यो यात्रामा थुप्रै पुस्ताले आफूलाई नेपाली चलचित्र उद्योगमा उभ्याइसकेका छन् ।
‘सत्य हरिश्चन्द्र’ हिन्दी चलचित्रको नेपाली भाषामा रूपान्तरण मात्रै थियो । यसमा न नेपाली कलाकार थिए न नेपाली निर्देशकले नै निर्देशन गरेका थिए । त्यसैले पनि यो चलचित्रलाई नेपाली चलचित्रको इतिहास नमान्नेहरुको ठूलो जमात छ ।
यसपछि ‘आमा’ निर्माण भयो । यसलाई हिरासिंह खत्रीले निर्देशन गरेका थिए । उनी नेपाली मूलका भारतीय थिए । यो चलचित्रमा नेपालीसँगै भारतीय कलाकार पनि थिए । निर्देशक भारतका, केही कलाकार पनि भारतका भएकाले यसमा भारतको झल्को आउनु अस्वाभाविक थिएन ।
नेपालमा पहिलो पुस्ताका निर्देशकका रुपमा प्रकाश थापा, शम्भु प्रधान, प्रताप सुब्बा, तुलसी घिमिरेलगायत भित्रिए । पहिलो पुस्ताका निर्देशक अधिकांश नेपाली मूलका भारतीय थिए । उनीहरुको ऐतिहासिक सम्बन्ध मात्रै नेपाल र नेपालीसँग थियो । त्यसैले उनीहरु मुम्बई र बंगाली चलचित्रबाट प्रशिक्षित थिए ।
निर्देशक मनोज पण्डित तुलसी घिमिरे बंगाली मेलो ड्रामाबाट प्रभावित भएकाले उनका चलचित्रमा केही गाउँले परिवेश, गाउँको समस्या देखिने गरेको बताउँछन् । यो पुस्ता करिब ५० को दशकसम्म सक्रिय रह्यो । बलिउडमा प्रशिक्षित भएकाले यो पुस्ताले बनाएका चलचित्रमा बलिउड फिल्मको झल्को आइरह्यो । बलिउड सूत्रमा रहेर चलचित्र निर्माण भइरह्यो ।
यही समय भारतसँग नेपालले एमओयू गरेर केही नेपालीलाई चलचित्र पढ्न भारत पठायो । भारतको एफटीटीआईमा पढेर आएका निर्देशकहरुले चलचित्र निर्माण गरे । तुलनात्मक रुपमा नेपाली मूलका भारतीयहरुले बनाएका चलचित्रभन्दा यी निर्देशकले बनाएका फिल्ममा देशप्रतिको उत्तरदायित्त्व देखिए पनि भारतीय चलचित्रको प्रभाव भने ररिरह्यो ।
निर्देशक पण्डित सरकारले चलचित्र अध्ययनका लागि भारत पठाउनु नेपाली चलचित्रमा बलिउड फर्मुला कायम रहिरहनुको मुख्य कारण भएको बताउँछन् । लक्ष्मीनाथ शर्मा, प्रेम बस्नेतहरुको पुस्ता हो यो । भारतमा फिल्म प्राविधिक पढेर आउनेको संख्या पनि रहेकाले बलिउड फिल्मको प्रभाव नेपालमा रहिरह्यो ।
५० कै दशक अगाडि नेपाली साहित्यमा आधारित रहेर चलचित्र निर्माण गर्ने निर्देशक पनि देखिए । तीमध्येका हुन्, यादव खरेल, चेतन कार्की आदि । उनीहरुका चलचित्रमा साहित्यले समेटेका परिवेशहरु त आए । तर, यी चलचित्रले पनि नेपाली मौलिक पन नै भने दिन नसकेको निर्देशक पण्डितको भनाइ छ ।
५० को दशकमा असिस्टेन्ट पुस्ता निर्देशकमा रूपान्तरण भयो । ५० को दशक अगाडिका निर्देशकको सहायक भएर काम गरेको पुस्ताले चलचित्र निर्माण सुरु गर्यो । नारायण पुरी, दयाराम दाहाल, दीपक श्रेष्ठ, उज्ज्वल घिमिरेलगायत यो पुस्तामा पर्छन् ।
५० को दशकलाई नेपाली चलचित्रको ‘कालो दशक’ भन्छन्, निर्देशक मनोज पण्डित । यो कालखण्डमा भारतीय चलचित्रको हुबहु चलचित्र निर्माण भएको उनको भनाइ छ । “भारतमा पढेर आएको पुस्ताले पढेर, काम गरेर आएको थियो । तर, ती निर्देशकको सहायक भएर आएको पुस्ता, जसले निर्देशकलाई सहयोग गरेको थियो, त्यो पुस्ताले सुटिङ देखेकै भरमा निर्देशन गर्न सुरु गर्यो,” निर्देशक मनोज भन्छन्, “यो समयमा झन् कमजोर चलचित्र बने । ५० को दशक अगाडि प्रोडक्सन मेनेजरको काम गरेकाहरुले चलचित्र असिस्टेन्ट डिरेक्टरलाई प्रोड्युस गर्न थाले ।”
यो दशकलाई उनी नायक/नायिका विवादमा तानिएको समयका रुपमा पनि लिन्छन् । प्राविधिक हिसाबले पनि यो दशकमा कमजोर चलचित्र बनेको उनको समीक्षा छ ।
५० को दशकको मध्यतिरबाटै नेपालमा वैकल्पिक धारको सुरुआत भइसकेको थियो । छिरिङ रितार शेर्पा, नवीन सुब्बा, मनोज पण्डितहरुले तत्कालीन समयमा यथार्थमा नेपाली पन झल्कने चलचित्र बनिरहेका छैनन् भनेर मौलिक चलचित्रको आवश्यकता महसुस गर्दै यसमा सक्रियता देखाए । छिरिङले ‘मुकुण्डो’, नवीनले ‘नुमाफुङ’ बनाए । मनोजले दासढुंगा निर्माण गरे ।
यही समय ‘उजेली’ र ‘चमेली’ निर्माण भए । यी चलचित्र तथा टेलिचलचित्रले नेपालमा वैकल्पिक चलचित्रको धार प्रारम्भ गरे । नेपाली मौलिक कथा आफ्नै शैलीमा भन्न सुरु गरे । यही समय दीपक रौनियारले पनि यो धारका चलचित्रलाई सहयोग गरेको मनोज बताउँछन् । यो वैकल्पिक धारका निर्देशक ०६४/६५ सम्म सक्रिय रहे । फन्डिङको अभावमा यो पुस्ताले निरन्तर चलचित्र भने बनाउन सकेन ।
यसपछि भने डिजिटल पुस्ता सुरु भयो । भूषण दाहालले चलचित्र ‘कागबेनी’ निर्माण गरेपछि डिजिटल पुस्ता सुरु भयो । आलोक नेम्वाङ, सिमोस सुनुवारलगायत म्युजिक भिडियो निर्देशकहरु चलचित्र निर्देशनमा आए । यसले चलचित्रको बजार केही फराकिलो बनाउन सहयोग गर्यो ।
डिजिटल पुस्तापछि नेपाली चलचित्र उद्योग डीबीडी पुस्तामा प्रवेश गर्यो । डीबीडीमा विश्वभरका चलचित्र हेरेर अन्तर्राष्ट्रिय चलचित्रको ज्ञान लिएर चलचित्र बनाउने पुस्ता यसमा पर्छ । निश्चल बस्नेत, दीपेन्द्र के खनाल, पिताम्बर पाण्डे आदि यो पुस्ताका निर्देशक हुन् । निश्चल बस्नेतले ‘लुट’ बनाएर नेपाली चलचित्रको ट्रयाक चेन्ज गरिदिए । नयाँ ‘आइडिया’मा दीपेन्द्र के खनालले ‘चपली हाइट’ निर्देशन गरे ।
पछिल्लो पुस्ता हो, फिल्म कलेज पढेर आएको नयाँ पुस्ता । मीन भाम, नरेशकुमार केसी, विनोद पौडेल, सुजित बिडारी आदि यो पुस्ताका निर्देशक हुन् । मीनले ‘कालो पोथी, नरेशले ‘डाइङ क्यान्डल’, विनोद पौडेलले ‘बुलबुल’, सुजितले ‘ऐना झ्यालको पुतली’ निर्देशन गरे । यी चलचित्रले इन्टरनेसनल फिल्म फेष्टिभलको यात्रा पनि तय गरे ।
नवीन, छिरिङ र दीपकका चलचित्र पनि इटरनेसनल फिल्म फेष्टिभलमा गएका थिए । तर, उनीहरुका चलचित्रले पनि नेपाली दर्शकको ‘टेस्ट’मा परिवर्तन ल्याउन सकेनन् । समीक्षा राम्रो पाउने तर दर्शक नपाउने समस्या रह्यो । यो समस्या आजको पुस्ताले पनि भोगिरहेकै छ ।
नेपाली चलचित्रको इतिहासमा आधा दर्जन पुस्ताले काम गरिसके पनि उल्लेख्य उपलब्धि हासिल हुनसकेको छैन । बम्बइया सूत्रबाट चलचित्र मुक्त हुन नसक्नु र कथा भन्ने आफ्नै शैली आफ्नै विकास नगर्नु नै नेपाली चलचित्रले फड्को मार्न नसक्नुको कारण रहेको कलाकार दीपकराज गिरी बताउँछन् । जबसम्म कुनै पनि चलचित्र उद्योगको आफ्नै शैली विकास हुँदैन त्यतिञ्जेलसम्म छुट्टै पहिचान नहुने र विस्तार पनि नहुने दीपकको निष्कर्ष छ ।
नेपालमा ठूलो संख्यामा चलचित्र बनिरहे पनि फिल्म कच्लरको विकास हुनसकेको छैन । कुनै पनि पुस्ताले बनाएका चलचित्रले मास अडियन्स अपिल गर्न सकेका छैनन् ।