काठमाडौं । नेपाली मेकरहरुले राम्रा चलचित्र बनाउन नसकेको समीक्षा हुने गरेको छ । दृश्य भाषा नै नबुझी चलचित्र निर्देशन गर्ने निर्देशकहरु पनि रहेको समीक्षकहरुले बताउने गरेका छन् । चलचित्र समीक्षा गर्ने कतिपय समीक्षकहरु नै कालान्तरमा चलचित्र निर्देशकमा परिणत भएका छन् ।
‘सेतो सूर्य’ निर्देशक दीपक रौनियार हुन् अथवा ‘नुमाफुङ’ निर्देशक नवीन सुब्बा समीक्षक हुँदै निर्देशनमा आएका हुन् । ‘बधशाला’ र ‘दासढुङ्गा’ निर्देशक मनोज पण्डित हुन् अथवा ‘गोपी’ अथवा ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामा हुन्, दुबै चलचित्र समीक्षक हुन् । भलै मनोजले सुरुमा चलचित्र निर्देशन गरेर बीचमा समीक्षा गरेका हुन् ।
दृश्य भाषा नै नबुझी निर्देशन गर्ने निर्देशक रहेको भन्दै समीक्षा गर्ने समीक्षकले निर्देशन गरेका चलचित्र पनि उस्तै रहेका चलचित्रकर्मीहरुले टिप्पणी गरेका छन् । समीक्षकका चलचित्रको समीक्षा पनि उस्तै हुने गरेका छन् ।
समीक्षक हुनु र निर्देशक हुनुमा ठूलो भिन्नता रहेको निर्देशक मनोज पण्डित बताउँछन् । समीक्षा विश्लेषणात्मक प्रक्रिया भएको तर निर्देशन व्यवाहारिक पक्ष भएको उनको भनाइ छ ।
“समीक्षा विश्लेषणात्मक पक्ष हो । तर, चलचित्र बनाउनु व्यवाहारिक पक्ष हो । आर्थिक, सामाजिक, रणनीतिक पक्षबाट चलचित्र निर्माण हुने हो,” मनोज भन्छन्, “विद्वत्त्व र व्यवाहारिक ज्ञानबीच हाम्रो समाजमा ठूलो खाडल छ । विद्वत्त्व व्यवाहारका लागि हो तर हाम्रोमा विद्वत्त्व विश्लेषणका लागि मात्रै भएको छ । विद्वत्त्व व्वयवाहारमा रुपान्तरण कम हुँदा समीक्षकले बनाएका चलचित्र अपेक्षित नहुनुको मुख्य कारण हो ।”
धेरैजसो समीक्षकहरु आफ्नो वाल्यकालमा भारतीय चलचित्र हेरेर हुर्किएकाले त्यसको प्रभाव उनीहरुको काममा देखिने गरेको मनोजको भनाइ छ । पछिल्लो समय अमेरिकन, युरोपियन तथा अन्य चलचित्र हेर्न थालेपछि आफूलाई स्थापित गर्न बलिउडभन्दा पनि अरु चलचित्र राम्रा भनेर भन्न थाले पनि उनीहरुको अन्तस्करणमा भने भारतीय चलचित्रको प्रभाव हावी रहेको उनी बताउँछन् ।
“त्यसैलै उनीहरुले बनाएको चलचित्रमा भारतीय सिनेमाको झझल्को प्रष्टै देखिन्छ । नेपाली समीक्षकको पृष्ठभूमी भारतीय चलचित्रलाई गाली गरेर आएको छ । तर, उनीहरुको भित्री तहमा भारतीय सिनेमा नै बसेको हुँदा उनीहरुले बनाएका चलचित्रमा त्यसको प्रभाव धेरै देखिएको छ,” मनोज भन्छन्, “विचार युरोपियन चलचित्रको पक्षमा प्रकट गर्ने तर मनभित्र भारतीय चलचित्र हुँदा यही दोधारमा धेरै समीक्षकले चलचित्र बनाएका छन् ।”
नेपाली समीक्षकले बनाउने चलचित्रमा सबभन्दा ठूलो समस्या दोधारे चरित्र रहेको उनको भनाइ छ । समीक्षकहरुले न कमर्सियल न आर्टिस्टक दुवै नभएर दोधारको अवस्थामा रहेर चलचित्र बनाइरहेको भन्दै उनी भन्छन्, “समीक्षकहरु बजारसँग सम्झौता गरेर प्रोडुसर, वितरक र कलाकारको प्रभावमा पर्ने गर्दा उनीहरुका चलचित्रमा दोधारे मनस्थिती स्पष्टै देखिन्छ ।”
निर्देशक नवीन सुब्बा फिल्म मेकरहरुले जस्तै कतिपय फिल्म समीक्षकहरुले पनि समीक्षा गरिरहेको बताउँछन् । चलचित्र बनाउने काम सजिलो नभएको उनको निष्कर्ष छ । “चलचित्रमा कथा, कथा वाचन, सिनेमोटोग्राफी, सिनेमेटोग्राफीभित्र फोटो, पेन्टिङ, लेन्स, लेन्स साइज, एंगलजस्ता कुराहरु बुझ्नुपर्छ । साउन्ड कलरका कुराहरु हुन्छन्,” उनी भन्छन्, “यी सबै कुराहरु समीक्षकलाई थाहा हुँदैन, जुन कुरा चलचित्र खिच्दा थाहा हुनुपर्छ ।”
चरित्र निर्माण, अभिनय, कलाकार छनोटजस्ता सबै पक्षमा अब्बल नभएसम्म समीक्षा गरेकै भरमा राम्रो चलचित्र बनाउन नसकिने उनी बताउँछन् । कलाकारले कसरी काम गर्छ र उसलाई कसरी गाइड गर्ने भन्ने ज्ञान पनि निर्देशकमा हुनुपर्नेमा उनी जोड दिन्छन् ।
“चलचित्र निर्माणको व्यवाहारिक पक्षबारे डेफ्थ ज्ञान नभएसम्म निर्माण गर्न सकिँदैन । तर, समीक्षा गर्नु भनेको एउटा प्रोडक्को अध्ययन गरेर त्यसप्रति आफ्नो धारणा राख्ने मात्रै हो,” नवीन भन्छन् ।
समीक्षकहरुले आफूले समीक्षा लेखेजस्तै चलचित्र पनि राम्रो बनाइदिए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । “नवीन सुब्बा, मनोज पण्डित, दीपेन्द्र लामाको समीक्षा हामीले लामो समय पढ्यौं । उहाँहरुमा जति फिल्म लिट्रेसी छ, त्यही अनुसारको उहाँहरुबाट चलचित्र पनि आइदिए हुन्थ्यो भन्ने अपेक्षा हुँदोरहेछ,” निर्देशक दीपेन्द्र के खनाल भन्छन्, “उहाँहरुबाट चलचित्र भनेको यस्तो हुँदोरहेछ, यसरी बनाउने रहेछ भन्ने सिक्न पाइयोस् भन्ने आकांक्षा हुँदोरहेछ ।”
दीपेन्द्र समीक्षकहरुका पनि कमजोर चलचित्र नै आइरहेको बताउँछन् । “उहाँहरु चलचित्र यस्तो हो है भनेर लेख्नु बोल्नुहुन्छ । तर, त्यही अनुरुपको चलचित्र किन आइरहेको छैन । यो मेरो पनि प्रश्न हो,” उनी भन्छन्, “यस्तो हुनुपर्छ र बनाउनुपर्छ भन्नु र फिल्डमा गएर चलचित्र बनाउनुबीच ठूलो अन्तर छ ।”
विदेशको कुनै चलचित्रको उदाहरण दिएर त्यस्तै चलचित्र नेपालमा बनाउनु पर्छ भन्दैमा त्यो सम्भव नहुने उनी बताउँछन् । “यहाँ धेरै अवरोधहरु छन्, यो कुरा जसले चलचित्र बनाइरहेका छन्, उनीहरुलाई मात्रै थाहा छ । थ्योरीमा भन्नु र व्यवाहारमा निकाल्नु फरक कुरा हो ।”
राजेन्द्र सलभदेखि दीपेन्द्र लामासम्म रङ्ग पत्रकारिता गर्दागर्दै निर्देशनमा आइपुगेका निर्देशक हुन् । राजेन्द्र र दीपेन्द्रसँगै प्रकाश सायमी, विजयरत्न तुलाधार, सुचित्रा श्रेष्ठ, केपी पाठक, मोहन निरौला, फुलमान बल, सुव्रत आचार्य, डब्बु क्षेत्री, दीनेश डिसी, गणेशदेव पाण्डे, दीपक रौनियार, लक्ष्मण सुवेदी आदि रङ्गपत्रकारिताबाट निर्देशनमा आइपुगेका हुन् ।