
जनकपुर । प्रदेश २ मा शुक्रबार कोरोना लागेका दुई जनाको मृत्यु भएको छ ।
भारतको आन्ध्रप्रदेशको विशाखापटनममा घर भइ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –३, रमदैयामा बस्दै आएका ६२ वर्षीय एक जना पुरुष र सप्तरीको राजविराज नगरपालिका –७ का ४८ वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएको हो । यो समेत यस प्रदेशमा मृतकको संख्या ९८ पुगेको छ ।
यस्तै, शुक्रबार प्रदेश २ का विभिन्न जिल्लामा १६९ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनुषमा १३ जना महिलासमेत ३४ जना, महोत्तरीमा ११ जना महिलासमेत ४३ जना, सिरहामा १० जना पुरुष, बारामा चार जना महिलासमेत १९ जना, पर्सामा छ जना महिलासमेत २६ जना, सर्लाहीमा एक जना पुरुष, रौतहटमा एक जना पुरुष र सप्तरीमा तीन जना महिलासमेत १३ जनामा संक्रमण भएको हो ।
शुक्रबारसम्म यस प्रदेशमा कुल संक्रमितको संख्या १० हजार ९ सय ७७ पुगेको छ । ती मध्ये पाँच हजार तीन सय ५९ जना कोरोनामुक्त भएका छन् । शुक्रबार एक सय पाँच जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।