घरनजिकै स्नातकोत्तर तहसम्म अध्ययन अनुसन्धान हुने क्याम्पस छ । यसकारण म क्याम्पसको छिमेकी । आज क्याम्पस परिषद् भेलाको १७ औँ सभा । यो सभाले नेतृत्व निर्वाचन गर्नुपर्नेछ, रणकुशल नेतृत्वलाई अघि सार्नुपर्नेछ । यसर्थ, चुनाव भइरहेको छ ।
भोट हाल्न क्याम्पस परिसर पुगेँ । धेरैले तपाईँको पनि उमेददवारी देखेको थिएँ । किन फिर्ता लिनुभएछ त ! भनेर बाटबाटै सोध्नुभयो । कतिपयले दलगत उपस्थिति र परस्पर तँछाडमछाडले यसपालि पनि उपयुक्त नेतृत्व नआउने भयो, नेतृत्वका आँखाले हेर्दा क्याम्पसलाई चाहिने व्यक्तिहरूको प्रवेश नहुने भयो भन्नुभयो ।
भोट हाल्ने लाइनमा उभिँदै गर्दा र नामांकन रुजु गर्दासमेत केही उमेदवार साथीभाइले मलाई भोट दिनुस् है भन्नुभयो । हुन्छ, भोट हाल्दै गर्दा विवेक प्रयोग गरौँला तर भोट चाहिँ कसलाई र किन दिने ? फलानो भए किन नहुने र तपाई नै किन चाहिने ? प्रश्न गरेँ । उत्तर आएन ।
भोट हाल्न जाँदै गर्दा, भोट हाल्दै गर्दा र भोट हालेर फर्कंदै गर्दा मनैमन प्रश्नको चाङ लगाएँ । मन तैरियो – के होला अब ?
उमेदवारी फिर्ताको सन्दर्भ
बाहिरबाट हेर्दा क्याम्पस त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको एउटा अभिन्न अंगजस्तो लागे पनि यसको आन्तरिक पक्ष निकै कमजोर छ । यो जनचासो, चिन्ता र सरोकारको विषय हो । कमजोर पक्षलाई क्रमशः उठाउन र सरोकारवालासँगको प्रत्यक्षपरोक्ष ध्यानाकर्षण बढाउन परस्पर समन्वय होला, अक्षुण्य सहकार्य होला, उद्देश्यअनुरूप सहमति होला भन्ने अपेक्षा गरेको थिएँ ।
यही अपेक्षाका साथ उम्मेदवारी दिएको थिएँ । अन्ततः त्यस्तो भएन । सरोकारवालाको चासो र चिन्ताविना हुने क्याम्पस परिषद् भेलाले कस्तो नेतृत्व ल्याउला ? अनुत्तरित रहेँ । उत्तरविनाको प्रयत्न ठीक लागेन अनि उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेँ ।
अहिले क्याम्पसको अवस्था एकदमै कमजोर छ । क्याम्पस सुदृढ भएको भए परस्पर प्रतिस्पर्धा ठीकै हो तर यसलाई सुदृढ बनाउनु पर्नेछ । यो जिम्मेवारी आजको पुस्ताको काँधमा आइलागेको छ । अपेक्षितरूपमा सुदृढ बनाउन सरकोरवालाबीच समन्वय र सहकार्य आवश्यक छ । क्याम्पस बचाउन र नवप्रवर्तनमुखी कार्यक्रममार्फत संस्थालाई सरोकारवालामाझ राख्न परस्पर हुनसक्ने समन्वय, सहकार्य र सहमतीउन्मुख वातावरण बनाउन सकिन्थ्यो । बनेन । परिस्थिति चुनावमा पुग्यो ।
हाम्रो परिचयसँग जोडिएको र स्थानीय गहनाको रूपमा उभिएको 'पथरी बहुमुखी क्याम्पस' समुदायको आकर्षणको निर्विकल्प केन्द्र बन्न सकेको छैन । नीति अध्ययन र विषयगत अध्ययन अनुसन्धानको थलो बन्न सकेको छैन । क्याम्पस परिषद् नजिकँदै जाँदा आवश्यक योग्यता, रुचि अभिरुचि र विषयगत चाहना बोकेको व्यक्तिभन्दा पनि राजनीतिक नेतृत्व थन्क्याउने अर्थमा लिने गरिन्छ । यो दुई अवस्था र वस्तुगत परिवेशबिना निस्कने निष्कर्ष सही हुँदैन । किनभने हाम्रोमा चुनावपछि आउने परिणामलाई सहज स्वीकार्ने, जितेकाले जिम्मेवारी होइन बरु उन्माद बुझ्ने र हारेकासँग उसले पाएको मत बराबरको विश्वाससहित सहकार्य गर्ने ढंगले कहिल्यै लिइँदैन । यसरी शैक्षिक संघसंस्था, यसको व्यवस्थापन र प्रशासन चल्न सक्दैन र चल्दैन पनि ।
शुभेच्छास्वरूप केही शब्दोपहार
सामाजिक गतिविधिमा प्रत्यक्ष प्रभाव राख्ने स्थानीय समुदाय जोडिएको विद्यालयदेखि लिएर क्याम्पससम्म र चर्च गुम्बादेखि लिएर मठमन्दिरसम्म दलीयकरण गर्नुहुँदैन । मानिसको मानवीयभाव र सांस्कृतिक आस्थागत पक्ष प्रकट हुने यी ठाउँथलालाई राजनीतिकरण गर्नुहुँदैन । दलगत परिचय र अस्तित्वका साथ उभिनुहुँदैन भन्ने विषयमा म साह्रै प्रस्ट छु । दलीय व्यवस्थामा गैरदलीय कुरा गरेको होइन । अवस्था र परिवेशअनुसार मात्र दलगत उपस्थिति र यसको अग्रसरता लिनुपर्छ भन्ने हो । यद्यपि, यसपटक पनि भयो यस्तै ।
यसले केही न केही नतिजा त दिन्छ नै । एउटा नेतृत्व त उभिन्छ नै । नेतृत्वले आफ्नो पृथक रणकौशल योग्यता, नेतृत्वमा रहनुको प्रभावकारिता, संस्थागत जीवनको पारदर्शिता, समावेशी समाजको प्रतिनिधित्व र सामाजिक उत्तरदायित्व पूरा गर्न सकोस् भन्ने शुभेच्छास्वरूप केही वस्तुगत अवस्था र परिवेशलाई अघि सार्ने जमर्को गरेको छु ।
नेतृत्व र नेतृत्वको दूरदृष्टि
सामाजिक सरोकारका दृष्टिकोणले स्नातकोत्तर तहसम्मको अध्ययन अनुसन्धान हुने क्याम्पसको नेतृत्व कस्तो हुनुपर्छ भन्ने गम्भीर बहस र विमर्शको विषय हो । आफैंमा न्यूनतम् योग्यता हुनुपर्छ कि पर्दैन ? छलफल र विधानतः व्यवस्थापन गर्नुपर्ने विषय हो तर छैन ।
निर्माणकालका अगुवाहरूको समर्पणको प्रतिफलस्वरूप बनेको क्याम्पस प्राज्ञिक संस्थाको दृष्टिकोणले चलेको वा चलाइएको पाइँदैन । क्याम्पसको नेतृत्व लिने र चिन्ता अन्यत्र हुने, क्याम्पसको नेतृत्व लिने र समय नदिने, क्याम्पसको नेतृत्व र आफूकेन्द्रित चिन्तनग्रस्त विषयवस्तुलाई अघि सार्ने, क्याम्पसको नेतृत्व लिने र राजनीतिक उद्देश्य पूरा गर्नेजस्ता अभ्यासले क्याम्पसलगायत शैक्षिक संघसंस्थाहरू बिग्रिएका छन् । केही केही उठेका छन् । उठेकालाई नजिकैबाट अध्ययन गर्ने हो भने यही पाइन्छ जुन विषय हाम्रोमा छैन ।
यसकारण नेतृत्वले शिक्षाको गुणस्तरमा सुधार ल्याउँदै समुदायको आकर्षणको निर्विकल्प केन्द्र निर्माण गर्न सुस्पष्ट दृष्टिकोण अघि सार्नुपर्छ, समुदायमाझ राख्नुपर्छ । यसो गर्दा पस्कन सकिने वर्तमानमा देखिएका, भेटिएका चुनौतीका चाङमा उभिएर भविष्यका लागि उपस्थित कतिपय अवसरहरूको वस्तुगत पहिचान, सम्बोधन र व्यवस्थापन गर्न पनि सकिन्छ ।
पारदर्शिता र उत्तरदायित्व
व्यक्तिगतरूपमा कसैप्रति कटाक्ष पनि होइन, कसैसँग मेरो कुनै वैरभाव पनि छैन । कसैले केही ठान्छ भने यो उसैको समस्या हो मेरो होइन । संस्थागत जीवन सञ्चालनका सबै प्रक्रिया स्पष्ट हुनुपर्छ । आफू सामुदायिक क्याम्पस वा विद्यालयको नेतृत्व लिइरहँदा आफ्ना छोराछोरीहरू कहाँ पढ्छन् ? नातागोताका छोराछोरीहरू कहाँ पढ्छन् ? किन आफूले आफैँलाई र नातागोतालाई विश्वासमा लिन सकिएन ? जस्ता प्रश्नको उत्तरदेखि लिएर दैनन्दिनको प्रशासन र आर्थिक व्यवस्थापनदेखि नीति निर्माणसम्म पारदर्शिता हुनुपर्छ । यदाकदा देखिँदैन । उत्तरदायित्व बढाउन निर्णयहरू लिइरहँदा सरोकारवाला, स्वयं सदस्यहरू र सम्बन्धित पक्षहरूसँग बझाउने अर्थमा होइन सुझाउने अर्थमा राय साझा गरिनुपर्छ । तर, अपवादबाहेक गरिँदैन ।
समावेशिताको चित्र र चरित्र
एउटा कार्यकारी ठाउँमा आसिन व्यक्तिको आँखाले हेर्दा संस्थागत संरचनाभित्र समाजको चरित्र र वस्तुगत अवस्थाको प्रतिविम्ब सामाजिक संघसंस्थाहरूमा देखिनुपर्छ । शैक्षिक संघसंस्थामा चाहिने आधारभूत तहदेखि कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक र अन्य सरोकारवालाहरू शैक्षिक जनशक्तिको पहुँच र सहभागिता सुनिश्चित गरिनुपर्छ । सबैको सहअस्तित्वसहितको विचारलाई सम्मान गर्ने वातावरण बनाउनुपर्छ । सजातीय र विजातीय अर्थ र सर्तमा सही तर्कलाई गलत अर्थमा बुझ्न किमार्थ हुँदैन ।
यसपटक नेकपा (एमाले)ले अघि सारेको उम्मेदवारको अनुहारमा यो सर्वपक्षीय सहभागिता किन आएन ? कार्यसमितिको अध्यक्षदेखि लिएर लेखा परीक्षण समितिको सदस्यसम्म आइपुग्दा १४ जनालाई भोट हाल्नुपर्छ तर म एमाले भएकै कारण किन ११ ठाउँमा मात्र भोट हाल्नुपर्ने अवस्था विकास भयो । यसको असर पछिसम्म पर्दैन ? सहकार्य अभावमा एक्लाएक्लै लड्ने, भिड्ने अनि १४ जना उम्मेदवार चाहिनेमा ११ जनालाई मात्र अघि सार्ने ? यसको पनि उत्तर हुनुपर्छ कि पर्दैन ? समावेशीय सिद्धान्तअनुरुप यसको चित्र र चरित्र उत्रिएन । ध्यान दिनुपर्छ ।
कार्यक्रममा नवप्रवर्तन
हुन्छ, भोट हाल्दै गर्दा विवेक प्रयोग गरौँला तर भोट चाहिँ कसलाई र किन दिने ? फलानो भए किन नहुने र तपाईँ नै किन चाहिने ? प्रश्नको उत्तर नै यहिँनेर छ । परम्परागत शिक्षा अर्थात् प्रचलित शिक्षणले भएन, आजको विद्यार्थीलाई पुगेन । संकायगत क्षेत्रहरू कि कम भए, कि साँघुरिए । यसकारण क्याम्पस आकर्षणको थलो बन्न सकेन । सिकाइ केन्द्र बन्न सकेन । औसत पूर्वाधारसम्पन्न यस ठाउँमा विज्ञान संकाय, वाणिज्य संकाय, प्रशिक्षणमूलक कार्यक्रमहरू, भाषा कक्षाहरू, उद्यमशील तालिमहरू आदि चलाउन मेरो उम्मेदवारी हो भन्नसक्ने अवस्था धेरैमा छैन । शिक्षण विधिमा नवीनता ल्याउने, प्रविधि प्रयोग गर्ने र नयाँ अवधारणाहरूलाई आत्मसात् गर्ने संस्थागत नेतृत्व आवश्यकता विषय हो ।
समस्या समाधानको नेतृत्व
क्याम्पस एउटा परिवार हो । पारिवारिक मेलमा कहिलेकाहिँ आउने बेमेलजस्तै यदाकदा क्याम्पसमा पनि बेमेलको अवस्था आउन सक्छ, विगतमा आउने गरेको छ । यसको प्रत्यक्ष र परोक्ष असर विद्यार्थीदेखि लिएर अभिभावकसमक्ष पर्छ । ससाना कारणले पठनपाठन लामो समयसम्म ठप्प रहेको हामीले नजिकैबाट देखेका, भोगेका र बेहोरेका छौँ । बेलाबेलामा शिक्षा क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न सक्ने क्षमता आजको हाम्रो नेतृत्वमा हुनुपर्छ । संस्थागत हित सर्वोपरिताका लागि यथार्थपरक र व्यावहारिक निर्णय लिनसक्ने हुनुपर्छ ।
संगठित र व्यावहारिक सोच
संस्थाको जीवन प्रणाली आफैँमा एउटा संगठित जीवन हो । केही नीतिगत विषयवस्तुले यसलाई चलाइरहेको हुन्छ, बाँधिरहेको हुन्छ र गति प्रगतितर्फ उन्मुख गराइरहेको हुन्छ । लक्षित समुदायको सरोकार र आवधिक अपेक्षाको मिलन सम्मिलन संस्थागत जीवनको ठूलो पुँजी हो । यसलाई समेत संगठित र व्यावहारिक बनाउन नेतृत्वले आवश्यक अग्रसरता लिनुपर्छ ।
संस्थाको नीतिगत पक्ष तथा योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने भएकाले वस्तुगत समस्याको वस्तुगत ढंगले पहिचान गर्न, समुदायमैत्री योजना बनाउन, कार्यान्वयन गर्न र स्वमूल्यांकन गर्न सक्ने क्षमता आजको आवश्यक हो । यसतर्फ आउने नेतृत्वले प्रशस्तै मात्रामा ध्यान दिने अपेक्षा छ ।
सहकार्य र समन्वय
चुनाव हुनु नराम्रो पटक्कै होइन । यो लोकतन्त्रको उच्चतम व्यवस्थापन र उच्च तहको प्रयोग हो । तथापि, परस्पर समन्वय, सहमति र सहकार्य पनि आफैंमा लोकतन्त्र र समाजको लोकतन्त्रीकरणको सुन्दर पक्ष हो । विगतको नेतृत्वले चाहेको भए यसपटक पनि सहकार्यका लागि समन्वय र समन्वयमार्फत सहमति हुन सक्ने थियो । नेतृत्वले चाहेन वा भएन । एकातिर क्याम्पसको हालत खस्कनु र अर्कोतिर तामझामका साथ चुनाव हुनु राम्रो भएन । क्याम्पसको वस्तुगत अवस्थालाई हामीले राम्रोसँग पढेनौ वा बुझेनौ । विकसित परिस्थितिले हामीलाई एक ठाउँमा जोड्न सकेन । यो हाम्रालागि सिकाइ पनि हो ।
नजोडिएका यी कतिपय मनलाई एक ठाउँमा ल्याएर उभ्याउन, जोड्न र कस्न अब केही समय लाग्नेछ । वस्तुतः निकै गाह्रो हुनेछ । हाम्रो दैनन्दिनको जीवनदेखि टाढा रहेको व्यक्ति पनि क्याम्पसको परोक्ष सरोकार राख्ने सम्पत्ति हो । हामी प्रत्यक्ष सरोकारवाला, शिक्षक, अभिभावक, सरकारी निकाय तथा अन्य सरोकारवालाहरूसँग सहकार्य गरेर काम गर्नुपर्ने हुन्छ । नेतृत्व एकांगी भएकै कारण कसैसँग चासो र सरोकार राख्दैन भने यसले परस्पर समन्वय र सहकार्य गर्न सक्दैन रहेछ जुन आज निकै खट्किएको छ । यो आवश्यक क्षमता पहिचान यतिबेलाको प्रमुख विषय हो । अब नेतृत्वले ध्यान दिनुपर्छ ।
नैतिकता र इमानदारी
संस्थागत मूल्य निर्देशित आचरणका आँखाले हेर्दा शिक्षा क्षेत्रमा नेतृत्व गर्ने व्यक्ति प्रेरित तुल्याउन सक्ने नैतिकवान, इमानदार र निःस्वार्थ हुनुपर्छ । सेवाभावले उत्प्रेरित हुनुपर्छ । सेवाभावले उत्प्रेरित व्यक्ति व्यक्तित्वको हुलमाझ उभिन चाहने नेतृत्वले आफूलाई केन्द्रभागमा राखेर प्रस्तुत भएको कहिल्यै पनि सुहाएको छैन । संस्थागत जवाफदेहीको अभाव भनेको यथार्थपरक अध्ययन र नैतिक इमानमाथिको प्रश्न हो । सुशासनको प्रत्याभूति दिलाउन प्रथमतः स्वशासित रहने कुराले नेतृत्व स्वयं निःसंकोच, शान्त र समृद्ध भएको अर्थमा समुदायमाझ अनुभूति दिलाउँछ । यो अनुभूति नै नेतृत्वको उँचो नैतिकता र इमानदार अभिव्यक्ति, उपस्थिति र प्रस्तुतिको आधार बन्नसक्छ ।
सञ्चार कौशल
संस्थागत जीवनको सरोकारको पक्षसँग, संस्थाका सदस्यहरूसँग खुलेर संवाद गर्न सक्ने, प्रभावकारी तरिकाले विचारहरू प्रस्तुत गर्न सक्ने क्षमता आजको हाम्रो नेतृत्वमा आवश्यक छ । गर्न सकिने धेरै पक्षहरू छन् । तत्काल यतिमात्र पनि कमसेकम यसो गर्न सकियो भने यो शैक्षिक संघसंस्था यसको मर्यादाअनुरुप प्रभावकारी, गुणस्तरीय र अभिभावक विद्यार्थीकेन्द्रित बन्न सक्छ ।