
सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र क्वीन्सल्यान्ड राज्यका प्रिमियर डेभिड क्रिसाफोलीले त्यहाँ रहेका नेपालीहरूको प्रशंसा गरेका छन् । ब्रिसबेनमा नेपाल महोत्सवका अवसरमा प्रधानमन्त्री अल्बानिजले शुभकामना सन्देशमार्फत र प्रिमियर डेभिडले प्रमुख अतिथीको हैसियतमा अष्ट्रेलियाको विकास र विस्तारमा समेत महत्त्वपूर्ण भूमिका रहँदै आएको भन्दै प्रशंसा गरेका हुन् ।
लेबर पार्टीका सांसद मिल्टन डिकले प्रधानमन्त्रीको सन्देश सुनाउँदै नेपाल महोत्सवप्रति सद्भाव प्रकट गर्दै अष्ट्रेलियामा नेपाली समुदायले पुर्याउँदै आएको योगदानको उच्च मूल्याकंन भएको बताएका थिए । अष्ट्रेलियाको बहुसांस्कृतिक पहिचान र समृद्धिमा नेपालीहरूको भूमिका प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले महोत्सवको सफलताको कामना गरेका थिए ।
प्रधानमन्त्री अल्बानिजद्धारा हस्ताक्षरित सन्देशमा भनिएको छ, “नेपाली अष्ट्रेलियनहरू सक्रिय, मेहनती र समर्पित समुदाय हुन्, जसले हाम्रो देशलाई अझ सशक्त र समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।”
उनले एनआरएनए अष्ट्रेलिया र सम्पूर्ण आयोजक टोलीलाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै, भविष्यमा पनि यस्ता पर्वहरूबाट समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
एनआरएनए अष्ट्रेलियाका महासचिव सन्तोष कुवँरले प्रधानमन्त्रीको सद्भावपूर्ण सन्देशले सम्पूर्ण नेपाली डायस्पोरालाई उत्साहित बनाएको बताए । कुवँरले भने, "नेपाली समाज बढ्दै जाँदा अष्ट्रेलियाको मूल राजनीतिमा पनि धेरै थोरै प्रभाव पर्नु नेपाली समुदायका लागि गौरवको कुरा हो ।"
महोत्सवमा नेपाली कला संस्कृति झल्काउने विविध कार्यक्रम, नेपाली खाना र नेपाली गीत संगीतको बेजोड प्रस्तुति रहेको थियो । नेपालबाट आएको कन्दरा ब्यान्ड र विवेक श्रेष्ठ, युवराज चौलागाईं तथा समीक्षा अधिकारीले महोत्सवमा रंग भरेका थिए ।