
नेपाली कांग्रेसमा पन्ध्रौं महाधिवेशनको ‘मिति’को अत्तोपत्तो छैन । तर, नेताहरु देश दौडाहाकै प्रतिस्पर्धामा छन् । त्यस्तै प्रतिस्पर्धाको अग्रस्थानमा छन् डा. शेखर कोइराला । चौधौं महाविशेनमा शेरबहादुर देउवाका प्रतिस्पर्धी कोइराला पन्ध्रौँ महाधिवेशनमा सभापति बनेर छाड्ने धूनमा देखिन्छन् ।
विधानले देउवालाई सभापतिको प्रत्यासी बन्न दिँदैन । त्यसकारण कोइराला बढी उत्साही भएको देखिन्छ । कांग्रेस–एमाले सत्ता–सहयात्राको आलोचक देखिने देखिने कोइराला जसरी सत्ता सञ्चालन हुँदैछ, यसबाट अफ्ठ्यारो परिस्थिति उत्पन्न हुन सक्ने टिप्पणीसमेत गर्छन् ।
कांग्रेस भावी महाविधेशन, देश दौडाहा र सरकारको कार्यशैलीबारे बाह्रखरीका लागि हरिबहादुर थापा र बलराम पाण्डेले गरेको कुराकानीको सम्पादित अंश ।
–तपाईं देश दौडाहामा हुनुहुन्छ, कांग्रेस कार्यकर्तासहित आम मानिसको धारणा के पाउनुभएको छ ?
म निरन्तर जिल्ला–जिल्लामा घुमिरहेको छु । मैले के देखेँ भने सरकारसँग सन्तुष्ट देखिँदैनन्, हाम्रा कार्यकर्ता पनि । यो अचम्मको विषय भएको छ । काठमाडौंमा कसैले हालिमुहाली गरेका होलान्, सरकारसँग खुसी पनि होलान् । तर जिल्लाका कार्यकर्ता खुसी छैनन् ।
मन्त्री हामीकहाँ आउँदा हामीलाई पनि खुसी लागेको होला, तर कार्यकर्ता र जनता खुसी छैनन् । कामका हिसाबले र कार्यकर्ताको सोचाइ हेर्दा कतै खुसी देखिँदैनन् । सरकारमा बसेर पनि केही गर्न सकेन भन्ने मलाई पनि लागेको छ र कार्यकर्ताको मनोविज्ञान पनि त्यही पाउँछु ।
प्रदेशमा जाँदा त्यही अवस्था छ । विकास बजेट नै खर्च हुन सकेन भन्ने छ । मन्त्रीहरुले पनि प्रदेशमा आफ्नो क्षेत्रमा केही खर्च गर्नुभएको छ, त्यसबाहेक भएको छैन । जनताले के पाए ? भन्ने प्रश्न गर्दात केही पाएनन् । म हिँडिरहेको महाधिवेशन केन्द्रित भेटघाट नै हो । महाधिवेशनका सन्दर्भमा कुरा गर्दा मैले उत्साहित पाएँ ।
–महाधिवेशन सन्दर्भमा कार्यकर्ता खुसीको हुनुको कारण चाहिँ के हो ?
स्वाभाविक हो, १५औँ महाधिवेशनमा नेतृत्व परिवर्तन हुन्छ । विधानले शेरबहादुर देउवालाई महाविधेशनमा उमेदवार बन्न रोकिसकेको छ । अब नेतृत्व परिवर्तन हुन्छ भन्ने त विधानले नै भनिसक्यो । तर अझै को हुन्छ भनी भन्न सक्ने अवस्था छैन ।
म जिल्लामा जाँदा मेरो गुटमात्रै होइन सबै साथीहरुलाई समानरुपमा भेटघाट गरिरहेको छु । उहाँहरुसँग भेट्दा केहीबाहेक महाधिवशेन समयमा हुनुपर्छ, तपाईंले कोसिस गर्नुपर्छ भन्छन् । मैले पनि तपाईंहरुले तलबाट दबाब दिनुस्, सामाजिक सञ्जालबाट दबाब दिनुस् भनेर भन्ने गरेको छु ।
– कांग्रेसको गुटबन्दी तलैसम्म पुगेको छ कि, के पाउनुभयो ?
म सुदूरपश्चिम गएँ । त्यहाँ जाँदा मेरो ग्रुपका साथीहरुबाहेक संस्थापन पक्षका सबैजसो साथीहरुले मलाई भेट्नुभयो ।
कसैले खुलारुपमा भेट्नुभयो कसैले बन्द कोठामा भेट्नुभयो । मैले जिल्लाअनुसार पनि भेटेको थिएँ । म सुर्खेत गएँ । त्यहाँ १० जिल्लाका साथीहरु बोलाएको थिएँ । त्यहाँ पनि संस्थापन र इतरसमूह भन्ने थिएन । सबै पक्षका हुनुहुन्थ्यो ।
– तपाईं महाधिवेशन केन्द्रित भन्नुहुन्छ, तर प्रक्रिया नै सुरु भएको छैन । अझसम्म प्रक्रिया सुरु नहुँदा समयमा हुने सम्भावना त पूरै टर्यो होइन र ?
अब समस्या के छ भने क्रियाशील सदस्यता नवीकरण हुनुपर्यो । यसमा केही कारण छन् । पहिलो कारण, पहिला–पहिला नवीकरण अधिवेशनको समयमा हुन्थ्यो । त्यही सोचेका हुन सक्छन् ।
नवीकरण गर्दा पैसा लाग्छ, पैसा कहाँबाट ल्याउने भन्ने हुन्छ । गाउँमा पैसाको पनि समस्या पनि छ । पहिला–पहिला नेताहरुले तिरिदिन्थे । यतिखेर सबै नेताहरु चुप लागेर बसेको देखिन्छ ।
तर पदाधिकारीले जति चाहना राखेर नवीकरण गराउनुपर्थ्यो । त्यो भएको छैन ।
– कार्यकर्तालाई महाधिवेशन समयमै हुन्छ भन्ने तर नेतृत्वले ०८४ को चुनावपछि भन्ने अवस्था किन आइरहेको छ ?
महाधिवेशनको माहोल बनेकै छैन । नयाँ क्रियाशील वितरण नै भएको छैन । कांग्रेस पदाधिकारीको जिम्मेवारी हो । हामीले भन्नेमात्रै हो ।
– महासमितिबाट पारित भएको दस्तावेज अझै सार्वजनिक हुन सकेको छैन, अनि कार्यकर्ताले समयमै महाधिवेशन हुन्छ भनेर पत्याउछन् ?
हो, सार्वजनिक भएको छैन । तर, समयमा महाधिवेशन भएन भने नेपाली कांग्रेस कमजोर हुन्छ । यसमा दुई मत छैन । केही दिन पहिला सभापतिकहाँ ११ जना साथीहरु जानुभयो, हामीले मिडियाबाट सुनेअनुसार चुनावपछि महाधिवेशन भन्ने कुरा गर्नुभयो भन्ने आयो । त्यो भनेको कांग्रेसका लागि ‘डिजास्टर’ हुन्छ ।
– त्यसबेला सभापतिले पनि ०८३ असारमा आफू प्रधानमन्त्री भएपछि महाधिवेशन गराउने भन्नुभएको रहेछ, हुने त्यही हो ?
उहाँ प्रधानमन्त्री भएलगत्तै हुँदा पनि हुन्छ । उहाँ ०८३ असारमा प्रधानमन्त्री बन्नुहुन्छ, दश महिनापछि स्थानीय तहको निर्वाचन आउँछ । निर्वाचनको मुखमा महाधिवेशन हुने अवस्था छैन ।
नेताहरूलाई मेरो प्रश्न छ– के महाधिवेशन नगरी यसैगरी कांग्रेस चलाउन मिल्छ र ? उहाँहरुले कांग्रेसमा धेरै भोटो फटाउनुभएको छ । अनि चुनावपछि भन्दा पनि ‘हुँदैन’ भन्न किन सक्नुभएन ?
– महाधिवेशन चुनावपछि जाँदा के फरक पर्छ र ?
कांग्रेसभित्र मात्रै होइन, देशैमा परिवर्तन खोजेका छन् । नेतृत्वको परिवर्तन खोजेका छन् । कांग्रेस, एमाले सबैतिर देखिन्छ । मिडियाबाट पनि त्यो देखिन्छ ।
नेतृत्व त्यसै फाल्ने त होइन । प्रक्रियाबाट नै जाने हो । सभापति शेरबहादुर देउवालाई फेरि सभापति हुन विधानले नै रोकेको छ । उहाँ फेरि चुनाव लड्नुहुन्न होला । विधान परिवर्तन गर्ने अवस्था त देखिँदैन । अधिवेशन समयमा गर्न तदारुकता पदाधिकारीले देखाउनुपर्ने होइन ।
– विगतमा पनि कांग्रेसको महाधिवेशन समयमा भएको थिएन भन्ने तर्क दिइँदैछ, यसलाई के भन्नुहुन्छ ?
यो तर्क मैले पनि मानेँ । त्यसबेला संविधान जारी गर्ने समय आएको थियो । संविधानमै व्यवस्था गरेर ६ महिना बढाउन सकिने बनाइयो । तर, त्यो दुर्भाग्य थियो । कांग्रेसको महाधिवेशनका लागि केन्द्रित गरेर संविधानमा समय तोक्न मिल्छ ? त्यसबाहेक पनि राप्रपा र अखण्ड पार्टीलाई ल्याइयो । त्यो के का लागि ल्याइएको थियो भन्ने अझैसम्म पुष्टि हुन सकेको छैन ।
खाली क्रियाशीललाई म्यानेज गर्न ल्याइएको जस्तो देखिन्छ । उहाँहरुलाई ल्याइएको भनी डेढ वर्ष सारियो । ०८२ को मंसिरको डेढ वर्ष हिसाब गर्दा ०८४ लाग्छ । त्यसपछि सार्न पाइँदैन । अनि कसरी चुनाव पनि महाधिवेशन हुन्छ ?
– अर्को पार्टीसँग मिलेपछि थप गर्न पाइने भन्ने कानुनका आधारमा सारिँदैछ भन्ने कुरा पनि आएको छ त ?
त्यो पाइँदैन । जे गरे पनि तोकिएको समयभन्दा डेढ वर्ष बढी लैजान पाइँदैन । कानुन विपरीत जान पाइँदैन ।
– सभापतिले ११ भाइलाई दिएको सन्देश के थियो भने सात बँुदे सहमति पूर्ण कार्यान्वयन गराउने हो भने पहिला महाधिवेशन हुन सक्दैन । सभापति परिवर्तन भएपछि म प्रधानमन्त्री हुन सक्दिनँ भन्ने उहाँको धारणा थियो । दलको नेता कायम राखेर जान सकिँदैन ?
सभापति संसदीय दलमा बहुमतमा हुनुहुन्छ । त्यसमा कसैले च्यालेन्ज गरेको छैन । शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्नुहोस् । म त अझै के भन्छु भने जसरी सरकार बनेको छ तर चलेको छैन । मैले सरकार बनेको देख्छु तर चलेको देख्दिनँ । कांग्रेस नेतृत्वको सरकार बनोस् न !
–०८३ असारअघि नै सम्भावना छ ?
कोसिस त गर्नपर्यो नि ! शेरबहादुर देउवाकै नेतृत्वमा आओस् न ! हामीले सरकारको नेतृत्व गर्ने होइन । संसदीय दलको नेताले नै गर्ने हो । दलको नेतामा उहाँको स्पष्ट बहुमत छ । हामी च्यालेन्ज गर्न सक्ने अवस्थामा छैनौँ ।
– तर कतिपयको आशंका चाहिँ तपाईंले यो बीचमा नै दलको नेता परिवर्तनका लागि चलखेल गर्नुभएको छ भन्ने सुनिन्छ, वास्तविकता के हो ?
कसरी परिवर्तन हुन्छ र ? म सम्भावना देख्दिनँ ।
– तपाईंले संस्थापन पक्षका सांसदहरुसँग कुरा गर्नुभएको र दलको नेता परिवर्तन गर्न लाग्नुभएको छ भन्ने सुनिन्छ...
म लाग्ने भनेको के हो भने मसँग जति संख्यामा सांसद हुनुहुन्छ, म सधैँ बढाउन खोज्छु । त्यो स्वाभाविक हो । यो प्राकृतिक प्रक्रिया पनि हो । सांसदहरुलाई भेटेर मलाई सहयोग गर भन्छु ।
त्यो संख्या बढाउन खोज्नु स्वाभाविक प्रक्रिया हो । तर पुग्दैन । म गर्छु भनेर मात्रै भएन । सांसदको संख्या पुग्दै पुग्दैन ।
– शेरबहादुर देउवालाई ‘तपाईं नै दलको नेता कायम रहनुहुन्छ’ र प्रधानमन्त्री पनि तर महाधिवेशन समयमा गरौँ भन्नुभएको छैन ?
मैले नै धेरैपल्ट भनिसकेँ उहाँलाई । यो कुरा ११ भाइसँग उहाँले भेट्नुअघि नै कुरा गरिसकेको छु ।
– तपाईंको भनाइमा पार्टी सभापति देउवाको जवाफ के रह्यो त ?
उहाँ चाँडै महाधिवेशन गराउँछु भन्नुहुन्छ । समयमा गराउँदिनँ भनी भन्नुहुन्न ।
उहाँले मलाई कहिले पनि चुनावपछि गराउँछु भन्नुभएको छैन । सात बुँदे स्पष्ट छ । त्यहाँ कांग्रेस सभापति शेरबहादुर देउवा लेख्नु पर्थ्यो कि पर्दैनथ्यो त्यो बेग्लै कुरा हो, तर त्यो स्पष्ट छ । उहाँ नै बन्दा केही छैन । तर अधिवेशन गराउनुपर्यो । अब यो च्यालेन्ज गर्ने भनेको हामीसँग बहुमत भए पो ! त्यो अवस्था छैन । त्यसैले दलको नेता परिवर्तनको तयारी छैन ।
– तपाईं र महामन्त्री गगनकुमार थापा एक ठाउँमा हुँदा संसदीय दलमा बहुमत नजिक–नजिक पुग्नुभएको थियो, दुईतिर हुँदा समस्या भएको हो ? एक ठाउँमा हुन किन सक्नुभएन ?
यो एक ठाउँमा हुने नहुने कुरा फरक हो । मानिसहरु कसरी सोच्छन् भने लगातार भेट हुनुपर्यो, गुटमा छलफल हुनुपर्यो । तर त्यसरी मात्रै एक ठाउँमा भइने होइन । एकता छैन भनेको होइन । मानिसको अर्कै सोचाइ छ । म के सोच्छु भने तपाईं र मेरो राजनीतिक ‘वेभलेन्थ’ मिल्छ कि मिल्दैन ?
तपाईंले मलाई कसरी विश्वास गर्नुहुन्छ र मैले तपाईंलाई कसरी विश्वास गर्छु भन्ने महत्वपूर्ण कुरा हो । हामी दुई जनाको बीचमा कुनै खराबी छैन । मनमुटाव पनि छैन । भोलिको राजनीतिमा को कहाँ हुन्छ भन्ने कुरा यतिखेरै भन्न सकिने अवस्था छैन ।
– तर १४औँ महाधिवेशनमा सँगै हुनुहुन्थ्यो, दलको नेताको चुनावमा सँगै हुनुहुन्थ्यो । यतिखेर देश दौडाहा छुट्टाछुट्टै भइरहेको देखिन्छ..., यसैले संकेत गर्दैन र ?
गगन थापा पार्टीको महामन्त्री हुनुहुन्छ । त्यसैले उहाँ सभापतिसँग नजिक हुनुपर्ने स्वाभाविक पनि होला । मैले त्यसलाई अन्यथा लिनै मिल्दैन । घुमफिर गर्नु पनि ठीकै हो ।
– गगन थापा भोलि शेरबहादुर देउवाकै उमेदवार बन्नुभयो भने ...
मलाई केही अप्ठेरो पर्दैन । जो उमेदवार भए पनि फरक पर्दैन । म १४औँ महाधिवेशनमा पनि आफ्नो बलमा लडेको हुँ । त्यसबेला आएको मत पनि हेरेको छु ।
– सभापति नजिकका नेताहरुसँग तपाईंहरु दुवैजनाको निकै बाक्लो भेटघाट छ भन्ने सुनिन्छ, कति नेताले सहयोग गर्ने आश्वासन दिनुभएको छ ?
मैले पहिला पनि भनेँ । राजनीतिलाई वैचारिक हिसाबले हेर्नुपर्छ । म लगातार चार पटक बूढानीलकण्ठ गएँ भने शेखर देउवासँग नजिक छ भनी विश्लेषण हुन्छ, तर त्यसो होइन ।
गगनसँग भेट हुँदा पनि त्यही हो । सभापति र महामन्त्रीको लगातारको भेटलाई अन्यथा लिनुहुँदैन । लगातार भेट्नु पनि पर्छ । तर वैचारिक हिसाबले को कहाँ छौँ भन्ने कुरा महत्वपूर्ण हो ।
शेरबहादुर देउवाका साथीहरुलाई पनि मैले राम्रैसँग भेट गरेको छु । यो राजनीति हो, भोलि कसले के गर्छ भनेर भन्न निकै गाह्रो छ ।
सबैको आ–आफ्नो महत्वाकांक्षा हुन्छ । कतै भएन भने अर्कोतिर लाग्ने अवस्था पनि हुन्छ । यो सबै कुरालाई बुझेर हामी हिँड्नुपर्छ । शेरबहादुर देउवाका ग्रुपका साथीहरुसँग मेरो राम्रो सम्बन्ध छ ।
– एमाले र माओवादीको सरकार हुँदा तपाईंले नै कांग्रेस र एमाले मिल्नुपर्छ भन्नुभयो, कोसीमा विद्रोह गराएर देखाउनुभयो । तर, गठबन्धन सरकारको सबैभन्दा अघि सरेर विरोध गर्ने पनि तपाईं नै देखिनुहुन्छ किन ?
यो के हो भने अलि विस्तारमा बुझ्नै पर्छ । एमाले र माओवादीबीच सरकार हुँदा मैले ओलीलाई भेट गरिराखेको हो । केपी ओलीसँग मैले बालकोटमा ३–४ पल्ट भेट पनि गरेकै हुँ । पहिले कोसीको सन्दर्भमा हामी मिलेर गरौँ भनेर सरकार बनायौँ ।
त्यहाँ अलिकति ‘बुझाइमा समस्या’ भयो । मैले त्यसबेला हिक्मत कार्कीलाई नछाड्नूस् है भनेर भनेको थिएँ । मैले त्यहीबेला ओलीजीसँग कुरा गर्नुपर्ने थियो, गरिनँ । मेरो गल्ती त्यहीँनेर भएको हो । ठ्याक्कै बेलुका कार्कीले छाड्नुभयो । त्यसबेला मैले ओलीजीलाई भेटेको भए हुन्थ्यो । कमजोरी त्यसबेला मबाट भएको हो ।
त्यसबेला हाम्रै तर्फबाट विवाद पनि आयो । त्यसपछि फेरि ओली र मेरो सम्पर्क बढ्दै गयो । यसरी चल्दैन भन्ने हामी दुवै जनाको निष्कर्ष थियो ।
के गर्नेभन्दा कांग्रेस र एमालेको सरकार बनाउने, संविधान संशोधन गर्ने भन्ने कुरा पनि पटक–पटक भएकै हो । अरु के गर्न सकिन्छ भनी कुरा पनि भएको हो । निर्वाचन प्रणालीका विषयमा पनि लामो कुराकानी भएको हो ।
कुरा गर्दै जाँदा उहाँले भन्नुभयो– सरकार कांग्रेसकै नेतृत्वमा बन्नुपर्यो । उहाँले नै भन्नुभएको हो, मैले भनेको होइन । म त कांग्रेस नेतृत्वमै चाहन्थेँ । कांग्रेस नेतृत्वमा उहाँको बढी जोड थियो ।
मलाई के विश्वास छ भने कांग्रेस नेतृत्वको सरकारले मात्रै देशलाई सही तरिकाले अघि बढाउन सक्छ । कांग्रेसले बिगार्दैन । मान्छेले आफ्नो रोजीरोटी गरेर खान पाउँछन् । सरकारले के गर्ने हो मान्छेलाई विश्वास नै छैन ।
– सरकार कांग्रेस नेतृत्वमा भएको भए के फरक हुन्थ्यो र ? सत्तारुढ पार्टीले त्यसो भन्न मिल्छ र ?
मैले मलाई लागेको कुरा भनेको हुँ । जति सुकै जे गरे पनि अन्तर्राष्ट्रिय रूपमा कांग्रेसलाई हेर्ने दृष्टिकोण फरक छ ।
कांग्रेसलाई वास्तवमा अन्तर्राष्ट्रिय जगतले हेर्ने दृष्टिकोणै फरक छ । कांग्रेसलाई मात्र राम्रोसँग ‘रिकग्नाइज्ड’ गरेको देख्छु म ।अत्यसैले अहिलेको अवस्थामा धेरै फरक पर्न सक्थ्यो ।
कांग्रेसलाई विश्वासको आधार पनि मान्छन् । अरु पार्टीले भोलि के गर्छन्, सिद्धान्त एउटा व्यवहार अर्कै छ भन्ने ढंगले हेर्छन् ।
– तपाईंहरुले संविधान संशोधन गर्ने भनेर गठबन्धन गर्नुभयो तर हुन सकेन, गृहकार्य पनि भएको छैन ?
मसँग कुनै सल्लाह भएको छैन । अहिले दुई–दुई जना संयन्त्रमा हुनुहुन्थ्यो । अब पाँच पाँच जनाको बनाउने भन्ने सुनेको छु ।
मेरो भनाइ त्यसो गर्न हुँदैन भन्ने हो । पार्टीको संयन्त्रले सरकार चलाउने होइन । सरकारलाई पूरा चल्न दिनुपर्छ । संविधान संशोधनको एजेन्डामा संसद्मा रहेका सबै दललाई मिलाएर लैजानुपर्छ ।
संविधान जनताको डकुमेन्ट हो । त्यसैले संसद्भित्र रहेका सबै दलबीच सल्लाह गरेर अघि बढ्नुपर्छ । दुई तिहाई नै भए पनि एक्लै अघि बढ्न मिल्दैन । संसद्मा रहेका सबै दललाई विश्वासमा लिनैपर्छ ।
माओवादीसहित सबै दललाई मिलाएर लैजानुपर्छ । त्यो संसदीय समिति बनाए पनि हुन्छ । बाहिरबाट बनाउने भए आयोग बनाएर जान सकिन्छ ।
यो संयन्त्र बनाउने भन्ने कुरामा मेरो चित्त बुझ्दैन । सरकारभित्र बसेका मानिस बसेर गरे हुन्छ । शेरबहादुर देउवाले सरकार चलाउँछु भनेर हुँदैन ।
बाहिरबाट सुझाव दिन सकिन्छ, संयन्त्र जरुरी छैन । अब संयन्त्र हुँदा हुँदा गाउँसम्म पुग्यो । भोलि एमालेसँगै प्रतिष्पर्धा गर्नुपर्ने छ ।
मैले के भन्ने गरेको छु भने मन्त्रीबीच सहकार्य भए हुन्छ । बाहिर भएकाले हामी सरकारमा छैनौँ, सत्तापक्ष हौँ । हामी प्रतिष्पर्धा गर्छौँ र खबरदारी पनि गर्छौँ ।
–तर तपाईंको विरोधलाई सरकार ढाल्ने षड्यन्त्रको रुपमा पनि लिएका छन्...
मैले यो भन्दा के प्रष्ट पारौँ । म सरकार ढाल्ने खेलमा छैन । आफैँ ढल्यो भने त के गर्न सक्छु र !
– सरकार आफैँ ढल्ने सम्भावना देख्नुहुन्छ र ? गठबन्धन ०८४ सम्म जाँदैन ?
यो जसरी जाँदैछ, सरकार जसरी चल्दैछ । सरकार जसरी निरंकुश तरिकाले हिँड्न खोज्दैछ, त्यसले राम्रो संकेत गरेको छैन । संसद् छलेर अध्यादेश ल्याएको छ, किन चाहियो अहिले ती अध्यादेश ? सरकारले ल्याएका कानुनको मस्यौदा हेर्नुहोस् ।
उपसभामुख हटाउन हस्ताक्षर गराउनेजस्ता कुराले सरकारको ध्यान के मा छ भन्ने देखिन्छ । हामीले हटाउनै पर्दैन, त्यस्तो अवस्थामा जनताले सरकार हटाउन सक्छन् । जनता नै सडकमा आउने दिन आउन सक्छ ।
जनतालाई सडकमा आउन बल पुर्याइदिने काम राज्यको होइन । राज्यले त्यसलाई रोक्नुपर्छ । पाथीभरामा सबैभन्दा बढी खराब संकेतहरु देखिँदैछ । सरकारले बेलैमा आन्दोलनरत पक्षसँग किन वार्ता गर्न सक्दैन ?
वार्ता गरी समस्या समाधान किन नगरेको ? बसेर छलफल गरेको भए हुँदैनथ्यो ? एउटा झिल्को बल्यो भने के हुन्छ ? नेपालमा अहिले सबैभन्दा बढी संवेदनशील क्षेत्र हो कोसी प्रदेश ।
त्यहाँको समस्या समाधान गर्न सरकार किन तयार छैन ? जनता एकपल्ट सडकमा आए भने गाह्रो हुन्छ ।
म कांग्रेसको जिम्मेवार नेता हुँ । त्यसैले सरकार खसाउन लाग्ने भन्ने कुरै आउँदैन । यो गर्दा गर्दै जनता सडकमा आउँछन् कि भन्ने चिन्ता छ ।
– दुई ठूला पार्टी मिलिरहँदा कार्यकर्ताको मनस्थिति भोलि चुनावी प्रतिष्पर्धा गर्दा कस्तो असर गर्ला ?
यो अति चिन्ताको विषय हो । एमाले धेरै संगठित पार्टी हो । कांग्रेस बढी लथालिंग छ । हामी एमालेजस्तो संगठित छैनौँ । दुई ठूला पार्टी एक ठाउँमा छौँ ।
यस्तो अवस्थामा निरंकुशतातर्फ अघि बढ्ने सम्भावना हुन्छ । तर लामो समयसम्म हामी त्यसरी जाँदा कांग्रेसको हातबाट परिस्थिति अन्तै जान सक्छ ।
– त्यो भनेको ...
सरकार गएपछि अर्को कसरी बन्छ ? मलाई कतै डर लाग्छ बंगलादेशको जस्तै अवस्था हुने त होइन ? जनता सडकमा निस्किएपछि कसको के लाग्छ ? रोक्न सक्ने अवस्था छैन । यो देशमा जे पनि भइरहेको छ । नेपालमा मात्रै होइन विश्वकै अवस्था संवेदनशील हुँदै गएको छ । हामी थप जिम्मेवार भएर अघि बढ्नुपर्ने अवस्था छ ।
जनतालाई जे भनिएको थियो, त्यसमा सरकार दृढ भएर लाग्नुपर्छ । माओवादी र मधेसवादी दललाई विश्वासमा लिनुपर्छ । संसद्मा रहेका सबै दललाई मिलाएर लैजान सक्नुपर्छ ।
– सरकारलाई अहिलेसम्म ठूला अवरोध केही छैन, तर काम देखाउन किन सकेन ?
यो कुरा वास्तवमा मैले पनि बुझ्न सकेको छैन । यस्तो सहज अवस्थामा पनि किन परिणाम दिन सकेकोे छैन ? उहाँहरुलाई सरकार गठन हुनासाथ दल विभाजनसम्बन्धी अध्यादेश किन चाहियो ? के का लागि ? त्यो मैले खुलेरै विरोध गरेको हो ।
शेरबहादुर देउवाले त्यसबेला प्रधानमन्त्रीसँग शेखर कोइरालासँग कुरा नगरी हुँदैन भन्नुभएछ । के कारणले त्यो ल्याउनुपर्छ ? झन्डै दुई तिहाई मत भएको सरकारलाई अवरोध के को थियो ?
अहिले कुलमान हटाउने तयारी भएको छ, किन हटाउने ? भन्ने मेरो प्रश्न छ । चार महिनापछि जो पदावधि पूरा गरी स्वतः घर जाँदैछ, उसलाई किन हटाउने ? पूरा सरकार त्यसैमा लागेको छ । त्यसको सट्टा अन्तै शक्ति लगाए हुँदैन ?
– कांग्रेसकै ऊर्जा मन्त्री हुनुहुन्छ, तपाईंहरु किन हटाउन लागेको भनेर सोध्नुहुन्न ?
कांग्रेस, एमाले जो भए पनि किन हटाउने ? जसले राम्रो काम गरेको छ, उसैलाई हटाउने किन ? नराम्रो काम गरेको भए कारबाही गर । तर गिजोल्ने काम नगर । देशको संवेदनशिलता बुझ्नु पर्दैन । सबैलाई बाइपास गरेर हुन्छ र ?
– यति शक्तिशाली सरकार संसद्लाई ‘बाइपास’ किन अध्यादेश जारी गर्दैछ ?
संसद्ले कानुन बनाउने हो । यसको प्रक्रिया लामो छ । उहाँहरुलाई दिक्क लागेको होला । तर, छिटो भनेर मात्रै हुँदैन ।
कानुन बनाउने प्रक्रिया नै लामो छ । अध्यादेशको जति विरोध गरे पनि ‘ह्वीप’ लागेपछि मत दिनैपर्यो । मेरो प्रश्न किन ल्याउनुपर्यो भन्नेमात्रै हो । संसद् छल्ने होइन । राज्य चल्नै सकेन भने फरक कुरा हो ।
– अध्यादेश किन पारित हुन सकेन ?
उहाँहरुले उपेन्द्र यादव र माधव नेपालको पार्टीसँग कुरा गर्दै हुनुहुन्छ । सामाजिक सञ्जाललाई पनि नियन्त्रण गर्ने होइन नियमन गर्ने हो । कानुन त्यहीअनुसार बन्नुपर्छ । सरकारमा बस्नेलाई के लाग्दो रहेछ भने सधैँ कुर्सीमा बस्छु । समस्या भनेकै यही हो । कति बस्ने हो थाहा छैन, तर कानुन बनाउँदा तत्काल आफूलाई मात्रै हेरेर हुँदैन ।