-1742355287.jpg)
काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको चित्लाङमा विगत डेढ वर्षदेखि सञ्चालनमा छ । फरक अवधारणा र विश्वस्तरका विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले अहिले स्नातकोत्तर र पीएचडी कार्यक्रम सञ्चालन भइरहेका छन् ।
विश्वविद्यालयको अहिलेको अवस्था कस्तो छ, कसरी अन्यभन्दा पृथक ढंगले अघि बढिरहेको छ भन्नेबारे बाह्रखरीले विश्वविद्यालयका अध्यक्ष राजेन्द्रध्वज जोशीसँग कुराकानी गरेको छ । प्रस्तुत छ भिडियो कुराकानीको सम्पादित अंश–
–नेपालमा यति धेरै विश्वविद्यालय सञ्चालन भैरहेको अवस्थामा नयाँ विश्वविद्यालय किन चाहियो के हो यसको अवधारणा ?
नेपालमा यसअघि रिसर्च ओरिएन्टेड विश्वविद्यालय थिएनन्, देशको आर्थिक उन्नतिका लागि रिसर्चले टेवा दिनुपर्छ ।
पुराना विश्वविद्यालय पनि रिसर्च ओरिएन्टेड हुनसक्थे तर राजनीतिको रोगले गिजोल्यो । देशलाई बाटो देखाउन नसक्ने उच्च शिक्षाले देश बिग्रिरहेका बेला नयाँ प्राविधिक विश्वविद्यालयको आवश्यकता महसुस गरेर मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय खोलेका हौँ ।
–विश्वविद्यालयको संगठनात्मक संरचना कस्तो छ ? कसरी राजनीतिभन्दा पर रहेर अघि बढिरहेको छ ?
राजनीतिभन्दा पर रहेर नयाँ आयामको सुरुवात गर्न मलाई इन्जिनियरिङ अध्ययन संस्थान र विश्व बैंकमा हुँदा नै अवधारणा विकास भएको हो ।
कुनै पनि विश्वविद्यालयमा जब प्रधानमन्त्री, मन्त्री र कुनै पनि राजनीतिक पावर भएको व्यक्ति पदमा नहुने भएपछि राजनीतिक प्रभाव हुँदैन । हाम्रो संगठनात्मक संरचनामा अध्यक्ष विदेशी समेत हुनसक्ने व्यवस्था छ ।
यसैगरी हाम्रो संरक्षक समितिले अध्यक्ष वा सभापति चयन गर्छ, जो दलीय राजनीति गर्दिन भन्ने कबुलियत गरेको हुन्छ । लामो समय शिक्षा क्षेत्रमा गुजारेर उपलब्धी हासिल गरेको व्यक्ति हुनुपर्छ ।
राजनीतिसँग नियम र नियुक्तिको कनै सम्बन्ध नरहनु नै विश्वविद्यालयलाई स्वायत्त ढंगले अघि बढाउन सक्ने आधार हो ।
अर्को महत्वपूर्ण कुरा विश्वविद्यालयको ऐन म आफैँले लेख्ने र संसदसम्म प्रस्तुत गर्ने अवसर पाएँ । जसमा नयाँखाले संरचनाको व्यवस्था गरियो ।
सबैभन्दा ठूलो विवाद विदेशी अध्यक्ष हुने व्यवस्था थियो । तर सबै पुरानै व्यवस्थाअनुसार गरेर नयाँ रिजल्टको अपेक्षा गर्न सकिँदैन भनेर मैले नयाँ ऐन लेखेँ त्यही पारित भयो ।
संरचना अन्तर्राष्ट्रियस्तरको र अत्यन्तै स्वतन्त्र ढंगको छ । यसले हामीलाई फरक र स्वायत्त रुपमा अघि बढ्न मार्ग प्रशस्त गरेको छ ।
–विश्वविद्यालय जुन अपेक्षा र उद्देश्यअनुसार स्थापना गरिएको थियो त्यसैअनुरुप अघि बढेको छ ?
समग्रमा भन्नुपर्दा विश्वविद्यालय सञ्चालनमा आएको डेढ वर्षमा जे भएको छ त्यो चिताएकोभन्दा राम्रो भएको छ । सबैभन्दा ठूलो कुरा विश्वविद्यालयका कुनै पनि पाटोमा राजनीतिक हस्तक्षेप र प्रभाव छैन ।
दोस्रो कुरा विद्यार्थीको पाटोबाट हामी सन्तुष्ट छौँ हाललाई २५ जनाले विश्वास गर्र्नु पनि हाम्रो ठूलो उपलब्धि हो । धेरै विश्वविद्यालयमा विद्यार्थी अनियमित भइ पढाइमा सिरियस नभइरहेको अवस्थामा हामीले लगातार पाँच दिनसम्म अनुपस्थित भए भर्ना रद्द हुने व्यवस्था गरेका छौँ ।
हाम्रोमा ब्याक पेपर हुँदैन । कुनै विषयमा फेल भए एउटा सेमेष्टरमा तीनपटक फेरि जाँच दिन पाउँछ त्यो पनि रिजल्ट भएको एक–दुई हप्ताभित्रै । सबै विषयमा फेल भए ६ पटकसम्म पुनः परीक्षा दिन पाइन्छ त्यही सेमेष्टरमा । त्यसमा पनि पास नभए उसले अध्ययन अगाडि बढाउन पाउँदैन ।
हामी रिसर्च ओरिएन्टेड भएकाले केही न केही प्रविधि विकास गरोस् भनेर पढाइ गर्छौँ । हरेक विद्यार्थीले प्रत्यक्ष रुपमा आर्थिक उपार्जनमा सहयोग हुनेखाले प्रोजेक्टमा काम गराइन्छ ।
अहिले पनि विद्यार्थीहरु ग्रुपमा काम गरिरहेका छन् वन डढेलो नियन्त्रणदेखि बाँदर आतंक नियन्त्रण, कृषिका प्रविधि विकासलगायतका क्षेत्रमा ।
२५ ले हरेकले एक–एक प्रोजेक्टमा काम गर्दैछन्, हरेकले थेसिस बुझाइसक्दा केही न केही नयाँ आविष्कार भएकै हुन्छ । यति छिटो होला भन्ने कल्पना थिएन धेरै राम्रो भएको छ ।
–मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई पैसा दिएर पढाउँछ किन ?
हो, हामीले पीएचडी र स्नातकोत्तर गरेर अहिले २५ जना विद्यार्थी पढाइरहेका छौँ । नबुझेमा हामी सफल हुँदैनौं ।
२५ नै जनालाई पूर्ण छात्रवृत्ति दिएका छौँ । विद्यार्थीलाई पेमेन्ट गर्नुको अर्थ यो हो कि राम्रो विद्यार्थी विदेश जान नपरोस् । उसलाई यहाँ पढेपछि के गर्ने भन्ने अध्ययनकै क्रममा प्रत्याभूति होस् । पढाइप्रति सिरियस होस् ।
र यो विद्यार्थीको व्यावहारिक सीप विकास गर्न प्रोत्साहनका लागि पनि यो अभ्यास गरेका हौँ ।
विश्वका जनुसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्नसक्ने विद्यार्थी उत्पादन गर्ने हो भने यो अभयास अत्यन्तै आवश्यक छ ।
–अहिले विश्वविद्यालय आर्थिक रुपमा कसरी कस्को सहयोगबाट चलिरहेको छ ?
अहिले भन्नुपर्दा विश्वविद्यालय नेपाली सहयोगी मनहरुको सहयोगबाट नै चलिरहेको छ । अहिलेसम्म ३२५ जनाले दाताले एक रुपैयाँदेखि १० लाखसम्म पनि सहयोग गरेका छन् । यो अर्थिक वर्षमा सरकारले प्रदान गरेको जम्मा साढे ६ करोड रुपैयाँ मात्रै हो त्यो पर्याप्त छैन ।
प्राविधिक शिक्षाको क्षेत्रमा निजी उद्योगधन्दाले पनि सामाजिक उतरदायित्व अन्तरगत विद्यार्थीलाई लगानी गर्नु पर्छ र सरकारले पनि गर्नुपर्छ ।
हामीले अहिले दाताहरूबाट पाएको रकमबाट छात्रवृत्ति दिइरहेका छौँ । यो शैक्षिक सत्रमा दुई जनालाई दिन सकेनौँ तर केही प्रतिशत छुट गरेका छौँ । हामीलाई सहयोग गर्ने भनेको नेपाली सहयोगी हातहरू नै हुन् तर त्यो रकम पनि पर्याप्त छैन ।
विश्वविद्यालयको अहिले अक्षयकोष छ, यो कोषमा एक अर्ब रुपैयाँ जम्मा गर्ने हाम्रो लक्ष्य छ । जसबाट हाम्रोमा पढ्ने सबै विद्यार्थीलाई छात्रवृत्ति दिन पुगोस् ।
दाता सडक भनेर करिब चारसय मिटर दाता सडक बनाउदैछौँ त्यसमा पनि दाताको सहयोग रकम र त्यसको प्रतिफल दिगो हुनेगरी रुख रोप्ने योजना बनाएका छौँ ।
–विद्यार्थीको छनोट कसरी गर्नुहुन्छ ?
स्नातकोत्तर होस् या पीएचडीको विद्यार्थीको क्षमता पहिचान लिखित वा मौखिक रुपमा राम्रो अंक ल्याएर मात्रै हुँदैन । भर्नाका लागि छनौट गर्न विद्यार्थीलाई पर्सनल स्टेटमेन्ट लेखाउछौँ उसको इतिहास र रिसर्च गर्न चाहेको विषयवस्तुबारे, सीभी पनि माग्छौँ ।
त्यसपछि लिखित परीक्षा लिन्छौँ, त्यसमा उसको प्रस्तुति शैली जाँच गर्छौँ । र अन्तिममा अन्तर्वार्ता हुन्छ र प्रवेश गराउँछौँ ।
–विश्वविद्यालयको नयाँ योजना के के छ ?
अहिले नै हामीले धेरैवटा कार्यक्रम चलाइरहेका छौँ । एक वर्षमा पाँचवटा कार्यक्रम भनेको धेरै ने हो । अब तत्काल कार्यक्रम थप्ने योजना छैन तर साइबर सेक्युरिटीमा केही थप गर्ने योजना छ । एउटा विषयमा स्नातक तहको कार्यक्रम सुरू गर्ने पनि योजना छ । ज्यादै ठूलो विश्वविद्यालय बनाउने हाम्रो लक्ष्य छैन ।