site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
पांग्रा छुट्नु र जहाज हल्लिनु संयोगको त्रासमा बुद्धको फ्लाइट नम्बर यू४२५६

काठमाडौं  । कञ्चनपुरका दाइ/साथी सन्तोष चन्दको बुधबार बिहान करिब ११ बजे फोन आयो, ‘‘कृष्ण के छ ? कता हो ?’

’ म नियमितझैँ थापाथली अफिस आइसकेको थिए । मैले जवाफ र प्रश्न एकैसात गरे, ‘‘राजा म अफिसमा छु । किन र ?’’

सन्तोषको जवाफ आयो, ‘‘मैले एनिभर्सरी पार्टी गर्ने भएको छु । मन मिल्ले साथीहरूसित भेट पनि हुन्छ । तिमी पनि बिदा मिलाउँदै भोलि साँझ फिर्ता हुनेगरी आऊ । रवि दाइ (रवि धामी महेन्द्रनगर पोस्ट डटकमका अध्यक्ष) विरेन कुँवर (वीरेन्द्र) पनि आउँदै छन् ।’’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मैले सोचेँ– साथीले आफ्नो एनिभर्सरी पार्टीमा कञ्चनपुरबाट बोलाएपछि एक दिन त हो गइदिऊँ भन्ने लाग्यो । मैले हुन्छ नि त म पनि मिलाएर भनिदिएँ ।

रवि दाइ, वीरेन दाइ र मेरो ४ बजेको जहाजको टिकट भइसकेको थियो । कार्यालयमा बिदाबारे फेसबुक म्यासेन्जरबाट जानकारी गराएँ । तर, घरमा श्रीमतीलाई चाहिँ ढाटेँ । भनेँ, ‘‘कञ्चनपुर शुक्लाफाटा वन्यजन्तु आरक्षका बाघले हैरानी दिएको समाचार गर्न अफिसले खटाएको छ । सो समाचारका लागि म कञ्चनपुर जान लागेको छु है ।’’

श्रीमतीले अफिसको काममा निम्ति भनेपछि धेरै नसोध्लिन् भनेर त्यसो भनेको थिएँ । तर, कहिले फर्किने भनेर त सोधिछाडिन् । मैले भनेँ, ‘‘भोलि साँझ नै फर्किने हो ।’’

श्रीमतीबाट पनि सहमति पाएँ । एउटा समाचार लेख्दै अफिसबाट सिधै त्रिभुवन विमानस्थलतर्फ लागेँ ।

समय ३ः३० भइसकेको थियो । मेरो अनुमान थियो, ४ बजेको फ्लाइट भए पनि केही समय डिले नै हुन्छ । आधा घण्टामा पुग्ने अनुमानसहित पठाओमा गएँ ।

टिकट श्री एयरलान्सको थियो । त्यसो त, पछिल्लो समय मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भई नै रहेका थिए । अनि उडान ढिलो नै होला भन्ने पूर्वानुमान थियो । मेरोजस्तै दाइ वीरेन्द्रको पनि ‘फ्लाइट डिले’को अपेक्षा रहेछ ।

म त ३ः५५ तिर बोर्डिङ पासका लागि पुगेँ । रवि दाइ अघि नै पुगिसक्नुभएको थियो । बोर्डिङ पास लिने अन्तिम यात्रु हामी मात्रै थियौँ । रवि दाइ र मलाई एयरलाइन्सका कर्मचारीले आइडी कार्ड मागिसकेका थिए ।

हामीले एकजना आउन बाँकी भएको भन्दै कार्ड दिन इन्कार गर्‍यौँ । तर, उता उडानका निम्ति जहाज तयार भइसकेको जनाउँदै कार्ड लिँदै बोर्डिङ पास आफैँ ल्याइदिने भन्दै सुरक्षा जाँचका लागि हामीलाई पठाइयो । उता वीरेन्द्र दाइ आइपुग्नुभएकै थिएन ।

हामीले सुरक्षा जाँच गर्दासम्म धनगढी जाने अन्य यात्रुहरू भने विमानमा बसिसक्नुभएको थियो । हामीलाई भने विमानसम्म जान सानो भ्यानमा राखियो । समय ४–५ मिनेट मात्रै भएको थियो । उता वीरेन्द्र दाइ बल्ल बोर्डिङ पास लिन पुग्नुभयो । तर, बोर्डिङ पास दिँदै त्यही उडानमा राख्न नसक्ने भन्दै वीरेन्द्र दाइलाई रोकियो । उनी हामीसित जान नपाउने भए ।

हामी ४ः१० मा काठमाडौंबाट कञ्चनपुर जान धनगढीका लागि उड्यौँ । वीरेन्द्र दाइ भने छुट्नुुभयो । हामी १ घण्टा १५ मिनेटमा धनगढी ओर्लियौँ । वीरेन्द्र दाइ अर्को उडान ५ः३० बाट आउने भन्दै एयरपोर्टमा कुरिरह्यौँ । हामी उहाँको प्रतीक्षामा धनगढीमा कफी खाँदै बस्यौँ ।

तर, श्री एयरलाइन्सकै अर्को उडान भने ‘डिले’ भइदियो । ५ः३० मा उड्ने भनेको उडान साढे सात बजे उड्यो । उता निमन्त्रणा गर्ने सन्तोषको एनिभर्सरी पार्टी होटेल चेतनमा सुरु भइसकेको थियो । वीरेन्द्रको उडान ढिलो भएपछि हामी धनगढीबाट समेत उनलाई छाडेर कञ्चनपुर हानियौँ ।

धनगढीबाट महेन्द्रनगर यात्रामा अरू विशिष्ट व्यक्ति र महेन्द्रनगर पोष्टकै भाइ टेक धामी पनि जोडिए । सन्तोषको नवौँ एनिभर्सरी पार्टीमा पुग्यौँ । सन्तोष र भाउजू पवित्रालाई बधाई दियौँ । खानपिन सुरु गर्‍यौँ ।

त्यो बेलासम्म काठमाडौंमै छुट्नुभएका वीरेन्द्र दाइ पनि होटलमै भेटिनुभयो । हामी पार्टीमा झुमेका थियौँ । श्रीमतीले फेसबुक म्यासेन्जरबाट भिडियो कल गरिन् । रिसिभ गर्दा पार्टीको माहोलले समाचारका लागि कञ्चनपुर पुगेको होइन रै’छ भन्ने थाहा पाउलिन् र रिसाउलिन् भनेर ‘रिसिभ’ गरिनँ । टेक्स्ट म्यासेज गरेँ ।

निकुञ्जको सेमिनार भनी पार्टी खाँदै गरेको फोेटो सेन्ट गरिदिएँ । तर, यो सेमिनारको होइन, कसैको पार्टी हो भनेर शंका गरी त हालिन् । त्यसपछि सत्य बोल्न बाध्य भएँ, ‘‘साथीको एनिभर्सरी पार्टी हो, यसैका लागि आएको हुँ ।’’ त्यसपछि ‘इन्जोए’ गर्नु भनी उनी म्यासेन्जरबाट बिदा भइन् ।

जब काठमाडौं फर्किन धनगढी एयरपोर्ट पुग्यौँ...

बुधबार काठमाडौंबाट साथीको एनिभर्सरी पार्टीमा सहभागी हुन कञ्चनपुर पुगेका रवि दाइ र म बिहीबार ५ः५५ को बुद्धको विमानबाट फर्किने टिकट थियो ।

वीरेन्द्र दाइ भने केही दिन उतै बस्नेगरी जानुभएको रहेछ । उहाँ फर्किनुभएन । तर, कञ्चनपुरबाट हामीलाई बिदाइ गर्न सन्तोष, वीरेन्द्र, सुरेश जोशी र टेक भाइ पनि धनगढी एयरपोर्टसम्मै आए ।

गाडीमा सन्तोषको एनिभर्सरी पार्टीबारे गफिँदै ५ः३० तिर एयरपोर्ट पुगेका थियौँ । तर, एयरपोर्ट पुगेपछि उडान ‘डिले’ हुने खबर पायौँ । हामीलाई धनगढीबाट ल्याउन काठमाडौंबाट उड्नुपर्ने बुद्धको विमान त्रिभुवन विमानस्थलबाट उडेकै थिएन ।

हामीलाई लाग्यो– एक–दुई घण्टा ढिलो होला, त्यो बेलासम्म त आइहाल्ला । एयरपोर्टमा धेरै बस्नुपर्ने भएपछि विमानस्थलको क्यान्टिनमा खाजा खान थाल्यौँ । विमान आउने अत्तोपत्तो थिएन । बुद्ध एयरको विमानस्थलको टिकट काउन्टरमा एकजना मेरा मिल्ने साथी छन् । मैले उनलाई फोन गरेँ, ‘‘खै त बुद्धको विमान कहिले आइपुग्ने हो ? हामी त कुरेको कुरै भयौँ ?’’

साँझको ७ बजिसकेको थियो । साथीले जवाफ दिए, ‘‘अब उड्दै छ, यताको मौसम अलि खराब छ । त्यसैले अलि ‘डिले’ भयो । प्यासेन्जर जहाजमा बसिसके ।’’

५ः५५ को फ्लाइटबारे श्रीमतीलाई समेत जानकारी गराइसकेको थिएँ । तर, उडान मौसमका कारण ‘डिले’ हुने भएपछि उनलाई पनि चिन्ता लागेछ । काठमाडौंमा हावाहुरी चलेका कारण मौसम खराब छ भन्ने उनले पनि थाहा पाइसकेकी थिइन् ।

उनले फोन गरेरै मलाई साँझको टिकट सारेर शुक्रबार बिहान आउनुस् भन्ने सल्लाह दिन थालिन् । मैले ढिलो हुने भए पनि साँझ नै फर्किने निर्णय सुनाएँ । तर, ठीक त्यही बेला एउटा समाचार ‘भाइरल’ भइरहेको रहेछ ।

समाचार थियो- जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको टायर जनकपुरमै छुट्यो ।

बुद्धकै विमानमार्फत काठमाडौं आउने भएपछि चासो स्वाभाविक थियो । मनमा अलि चिसो पस्यो । समाचार सबै पढेँ । ६२ जना यात्रु बोकेको बुद्धले अगाडिको एउटा टायर जनकपुरमै छाडेको थियो । तर, सकुसल ल्यान्ड भएको खबरले त्यति चिन्तित भइनँ ।

५ः३० मा एयरपोर्ट पुगेका रवि दाइ र म करिब ३ घण्टाको पर्खाइपछि राति ९ बजे काठमाडौं फर्किंदै थियौँ । धनगढीबाट काठमाडौं फर्किने धेरै यात्रु थिएनन् । क्याप्टेन अनिशमान शाक्यले उडाएको जहाज ९ः८ मा धनगढी विमानस्थलबाट उड्यो । फ्लाइट नम्बर थियो, यू ४२५६ । पांग्रा छुटेको विमान नै यही त होइन भन्ने आशंका पनि मनमा कताकता थियो । तर, धेरै चासो राखिनँ ।

रवि दाइ र मेरो सिट विमानको अन्तिम भागतर्फको १५ ए र १५ बी थियो । पछाडि खाली थियो । हामी काठमाडौंका लागि उठेको ४० मिनेटपछि भने विमान अस्वाभाविक हल्लिन थाल्यो । जहाजका ‘क्रू मेम्बर’ले मौसमका कारण जहाज हल्लिरहेको हुँदा सिट बेल्ट राम्रोसित बाँध्न जानकारी गराए । जहाज हल्लिँदा भने डरले टिकट भोलिकै निम्ति किन सारिनँ भनी पछुतो लाग्यो । जहाज हल्लिँदा मभन्दा बढी त रवि दाइ नै डराएका थिए । त्यो डरबाट भाग्न रवि दाइ हँसाउने कुरा गर्न थाले । मैले त्यो चाल पाइसकेको थिएँ ।

भनेँ, ‘‘दाइ डराएर हसाउँने कुरा गर्न खोज्दै हुनुहुन्थ्यो । तर, लास्टै हल्लायो । यस्तो डर लागेको मलाई त पहिलोपटक हो ।’’ रवि दाइसँग भने एकपल्ट अमेरिका यात्रा गर्दा अन्तराष्ट्रिय उडानमा समेत यस्तै भएको अनुभव रहेछ ।

जब जहाज बढी हल्लिन्थ्यो, बुद्धको त्यही टायर छुटेको घटनाले सताउँथ्यो । विमान चढेको करिब ४५–५० मिनेटमा पानी दिन हाम्रो सिटमा आइपुगेकी एयर होस्टेससँग सोधेँ, ‘‘बुद्धले कसरी टायर नै छाडेर आयो ? ल्यान्ड कसरी गर्‍ यो ?’’

ती एयर होस्टेसले सीधा जवाफ फर्काइन्, ‘‘त्यो मलाई थाहा छैन ।’’ 

जहाज हल्लिनु र पांग्रा छुट्नुको संयोगले त्रासमा पारेको यात्रा बुद्ध एयरको फ्लाइट नम्बर यू ४२५६ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्