
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले प्रसाईंलाई भारतको असामबाट पक्राउ गरेको दाबी कतिपयले गरेका छन् भने प्रहरीले भने झापाबाट पक्राउ गरेको जनाएको छ ।
बिहीबार (चैत २८) साँझ ब्युरोको टोलीले प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई असामको बास्काबाट पक्राउ गरेको थियो । तर, नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण प्रहरीले प्रसाईं पक्राउको बचाउ गर्दै खोजी जारी रहेको जनाएको थियो ।
प्रसाईंलाई शुक्रबार (चैत २९) बिहान झापाको भद्रपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं डीआईजी दिनेश आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । प्रसाईं प्रदर्शनका ‘कमान्डर’ थिए ।
प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन १०० भन्दा बढी राउन्ड गोली चलाएको थियो ।
त्यस दिन प्रसाईं प्रहरीको ज्यान लिने शैलीमा गाडी कुदाउँदै बानेश्वर पुगेका थिए । प्रदर्शन हिंसात्मक भएपछि उनी भागे । भागेर प्रसाईंसहित उनका अंगरक्षक खड्का भारत पुगेका थिए ।
चैत १५ गते रातिदेखि नै ब्युरोको टोली प्रसाईंको खोजीमा लागेको थियो । प्रसाईं चैत १५ गते ललितपुरस्थित आफ्ना गुरु पुष्कर खतिवडाको घर पुगेको खुलेको थियो । पुष्करलाई ब्युरोकै टोलीले यसअघि नै पक्राउ गरिसकेको छ । प्रसाईं त्यही दिन राति फलफूल खाएर पुष्करको घरबाट बाहिरिएका थिए ।
भारतका चार सहरपछि प्रसाईं आइपुगेका थिए असाम
प्रहरी अधिकारीका अनुसार, दुर्गा प्रसाईं सुरुमा नेपालबाट भारतको उत्तर प्रदेशस्थित प्रयागराज पुगेका थिए । प्रयागराजमा केही दिन बसेर उनी लखनऊ पुगेको खुलेको छ । नेपाल प्रहरीको टोली आफ्नो खोजीका निम्ति लखनऊ आएको सुइँको पाएपछि प्रसाईं त्यहाँबाट समेत भागेर नयाँ दिल्ली पुगेका थिए ।
प्रहरी अधिकारीका अनुसार, दिल्लीमा उनले भारतीय हिन्दु संगठन आरएसएसका केही उच्च तहका नेताकामा आश्रय खोजेका थिए । तर, आश्रय नपाएपछि असुरक्षित ठानेर उनी भारतकै राजस्थान पुगे । त्यहाँबाट असम पुगेका हुन् ।
त्यति बेलासम्म नेपाली प्रहरीको टोली उनलाई खोज्न भारतका विभिन्न ठाउँ पुगिसकेको थियो । प्रहरी प्रधान कार्यालयले आईजीपीको सिधा सम्पर्कमा खटिने विशेष ब्युरोका प्रमुख एवं डीआईजी सिद्धिविक्रम शाहलाई त्यसनिम्ति खटाएको थियो । शाह नेतृत्वको प्रहरी टोली भारतका विभिन्न सहर पुगेको थियो ।
ब्युरोबाहेक उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली समेत भारत पुगेको थियो । अनुसन्धान कार्यालयको टोलीको ‘कमान्ड’ एसपी अंगुर जिसीले गरेका थिए ।
अन्ततः प्रसाईं अराजक प्रदर्शन गरेको १४ दिनमा पक्राउ परेका छन् । प्रसाईंबाहेक हिंसात्मक प्रदर्शन आरोपमा यसअघि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर राणालाई पक्राउ गरेको छ । उनीहरूमाथि राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ । प्रसाईंमाथि समेत प्रहरीले यही मुद्दामा अनुसन्धान गर्नेछ ।