site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
चैत १५ को रणसंग्राम र नेपाली समाज

पूर्वराजावादीको संगठित एउटा समूह जसमा हिन्दू धर्मका अनुयायी, पुजारी, जोगी, सन्यासी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ता, पूर्वपञ्च, साबिक दरबारिया नातागोता, घरानियाँ, सरकारसँग रुष्ट, दलीय भागबन्डामा भाग नपाएका असन्तुष्टहरूलगायत थिए तिनले गत चैत १५ गते प्रदर्शन गरे । यस समूहले काठमाडौंको तीनकुनेमा मञ्च बनाएर भाषण दिने कार्यक्रमसमेत आयोजना गरेको थियो ।

कर्यक्रम त्यस्तो विध्वंसात्मक परिणाममा पुग्ला भन्ने कसैले चिताएको थिएन होला । त्यस दिन एकजना फोटो पत्रकारको अकाल मृत्यु भयो । तीनकुनेको एउटा घरमा आगजनी हुँदा उनी कोठाभित्रै आगोमा परे । अर्का एक निम्न मध्यम वर्गीय परिवारको एकमात्र आधार जसको काँधमा आमाबाबु, पत्नी, सन्तानको दैनिकी धान्ने जिम्मेदारी थियो तीसपैतीस वर्षीय ती युवाको पनि प्रहरीको गोली लागेर इहलिला समाप्त भयो ।

अल्पआयुमै आगो लागेको घरको कोठाभित्र जिउँदै जलेका फोटो पत्रकार जलेको समयको परिदृश्य कस्तो देखिन्थ्यो भने त्यहाँको सडक र आगो लगाएको घरबाहिर वरिपरि हज्जारौँ मानिसहरूको भिड यत्रतत्र दौडेका छन्, कुदेका छन्, ताली पिटेका छन् । ढुङ्गा हानेर गालीगलौज र होहल्ला गरेका छन् ।

घरको तलातलामा पुगेर हनुमानले लंका दहन गरे सरी आगो लगाए । कतिसम्म भने जोगी पहिरनधारीले पनि पत्थर वर्षाउने अवसर छाडेनन् । प्रहरीले पनि अश्रुग्यास छोडेको छ, गोली ठोकेको छ । यो सब देख्दा उहिले चन्द्रशमशेरले सती प्रथा उन्मूलन गर्नुअघि १८ औँ शताब्दीतिर अवला नारीहरूलाई जबर्जस्तीसँग हातखुट्टा बाँधी छाँद गरी होहल्लाका साथ झ्याली पिट्दै स्मसान घाटमा लगेर मृत पतिलाई जलाउन बालेको चितामा होमेकोजस्तो प्रतीत हुन्थ्यो ।

फोटो पत्रकार सुरेश रजकको जलेको शव आगो लगाइएको घरबाट एउटा कपडामा पोको पारेर निकालेको दृश्य टेलिभिजन र सञ्चार माध्यमहरूबाट देखाइएपछि त्यसरात निन्द्रा आउने कुरा नै भएन । आँखा बन्द गर्‍यो कि त्यही दर्दनाक दृश्य आँखामा घुमिरहन्थ्यो ।

हामीलाई त त्यस घटनाले यति मर्माहत बनायो भने परिवारलाई झन् के बितेको होला ? क्यामेरा र त्यसको स्ट्याण्ड बोकेर प्रचण्ड घाम, झरी, वर्षा रातदिन केही नभनी दौडेर भए पनि टेलिभिजनका निम्ति फोटो खिचेर पाएको तलबले छोरीलाई शिक्षादीक्षा दिलाउने र राम्रो हैसियतमा पुर्‍याउने उनको  सपना अधुरै रह्यो । पत्नीको आडभरोसा पनि मरेर गयो । उमेर बढ्दै गएपछि त्यही छोरीलाई पिताको अभावमा खल्लो लाग्नेछ । दुःखसुखमा शीरमाथि हात राख्ने पति र पिताको अभाव निश्चय नै ती आमाछोरीलाई हुनेछ ।

नेपालमा यस्तो घटना पहिले कहिल्यै कतै भएजस्तो लाग्दैन । एउटा नागरिकको घरलाई भिडले वर्षमान पुनको सालीको घर हो भनी मिथ्या कुराको प्रचार गरी आगो लगाएको देखियो । तर, त्यस घरमा गरी खानेहरूको पेसागत कार्यालय र पसलहरूमात्र रहेछ । एउटा कानुन व्यवसायीको फर्मको टेबुल, कुर्सी, किताबको दराज, मुद्दाका मिसिलहरूलाई खरानी हुने गरी जलाएको देखिएको छ जहाँ सुरेश रजकको शव भेटिएको थियो । सुरेशलाई त जिउँदै पोलेर मारे । कानुन व्यवसायी मित्रहरूको फर्मलाई भने आगो लगाएर मर्नु र बाँच्नुको दोसाँधमा पुर्‍याए ।

म स्वयं लामो समय कानुन व्यवसायी भएको हुँदा मलाई थाहा छ फर्मको दराजमा सजाएर राख्ने पुस्तकहरू पढ्न र सेवाग्राहीको आकर्षण दुवै प्रयोजनको निम्ति राखिन्छ । एउटा सक्षम ल फर्मको रूपमा प्रस्तुत गर्न धेरै पुस्तकहरू, राम्रा फर्निचर र सेवाग्राहीलाई बस्न आरामदायी मेच सोफा हुनुपर्छ ।

कानुन व्यवसायीको मूल सम्पत्ति त्यही कार्यालय हो । तसर्थ, यसमा व्यवसायीहरूको राम्रै लगानी भएको हुन्छ । यो एक दिनमा वा एक वर्षमा संकलित हुनसक्ने कुरा पनि होइन । वर्षौं वर्षका ऐन, कानुन, नजिर, पत्र पत्रिकाहरू, कानुन पत्रिकाहरू, विदेशी नजिरका पुस्तकहरू, कानुनी सिद्धान्तका पुस्तकहरू एक रात र एक दिनमा जम्मा हुनसक्ने सम्भव हुन्न । ती साधनहरू दुईगुना दाम दिन्छु भनेर किन्न खोज्दा पनि पाइँदैन ।
यो त वर्षौंवर्ष एकएक गरी जोड्नुपर्ने हुन्छ । अर्कातिर ती सेवाग्राहीहरूले विश्वास गरेर दिएका मिसिलको लिखतहरू कागजपत्रहरू जो जले ती अप्राप्य हुन् । फर्म जलेपछि कानुन व्यवसायी फुटपाथमा पुग्ने अवस्था हुन्छ ।

यसरी कसैको ल फर्म जलाइनु, भाटभटेनीको पसल लुटिनु, अनि नाफामा चलेको सरकारी जडीबुटी संस्थान जलाइनु नियति नभएर कसैको अभीष्ट पूरा गर्ने अभियान त होइन ? किनभने शंका गरिने ठाउँ छ । ल फर्म जलाइनुमा वकिलका धेरथोर भए पनि रिस गर्नेहरू पनि हुन्छन् ।

भाटभटेनी सुपरमार्केट पनि नेपालभर निरन्तर चलेकामा कैयौं प्रतिस्पर्धी व्यापारीहरूको टाउको दुखेको होला । यस संस्थाले नेपालमा प्रतिष्ठा कायम गरेको छ । एक जनजातिको छोराको एकलो प्रयासले विदेशमा स्थापित सरहको संस्थाले मुलुकको इज्जत नै कायम राखेको छ ।

जडीबुटी संस्थान कुनै मन्त्री वा भ्रष्टाचरी व्यापारी कोही कसैका लगानी नभई विशुद्ध नेपाल सरकारको लगानी भएको पूर्णतः नाफामा रहेको थियो । यसको उत्पादन विदेशमा पनि निर्यात हुने हुँदा यसको साइनो राजनीतिक वर्गसँग थिएन । तथापि भाटभटेनी र जडीबुटीमा प्रहरीले अश्रुग्यास हानेको पनि होइन, लाठी चार्ज गरेको र गोली चलाएको पनि थिएन भने त्यहाँका कामदार र कर्मचारीलाई जिउँदै जलाउन र लुटपाट गर्न किन आन्दोलनकारी पुगेका ?

नेपालमा झापाको आन्दोलन भनौ वा २०४६ र २०६३ जति पटकका आन्दोलन भएका छन् मर्ने चाहिँ निम्न वर्गका गरिब निमुखा नै हुन्छन् । नेता गण, राजा माहाराजा, धनाढ्य साहूमहाजन र ठूलाठालुका सन्तानको सहिद भएको दृष्टान्त बिरलै पाइन्छ । बरु तिनका सन्तानहरू अथाह रक्सी खाएर मरेका दृष्टान्त भने प्रशस्त छन् । नेपालमा आन्दोलनका वाहक नेताहरूले अनेकौं सपना बाँड्ने गर्छन् र जनतालाई आन्दोलनमा होमिन प्रेरित गर्छन् । तर जब सत्ताको रसास्वादन गर्ने अवसर आउँछ अनि आफ्ना सन्तानलाई मात्र सम्झेको पाइन्छ ।
माओवादी आन्दोलनको परिणाम त्यही नै भयो । परिवर्तनको नाममा हज्जारौँको संख्यामा भएका युवाहरूको नाङ्गा खुट्टामा एक जोर कपडाको जुत्ता, एक जोर खाँकीको बस्त्र लगाउन दिएर बन्दुक भिराइयो र के के नै हुन लागेको जस्तोगरी हौस्याएर रणमैदानमा पुर्‍याई मारियो वा मराइयो ।

यसरी गरिबको छोराछोरीहरूलाई उकासेर क्रान्तिको बिगुल फुक्ने नाममा नितान्त खोलेफाडो खाने गाउँघरका गरिबलाई नै शोषक सामन्ती र प्रतिक्रियावादी शक्ति हुन् भनी सफाया गर्ने अभियान पनि चल्यो ।
परिणामतः मार्ने पनि गरिबको छोरा र मारिने पनि गरिबको सन्तान नै भए । यस आन्दोलनमा १७ हजारले ज्यान गुमाए । तर, जसै पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री बने त्यसै दिन माओवादी आन्दोलनको समापन समारोह हुनपुगेको देखियो ।

अनि मर्ने मारिने सत्र हजारका जीवित अभिभावक, लालाबाला, आश्रितहरू तबसम्म रोए, धोए जबसम्म तिनको आँखाको आँसु स्वतः सुकेन । कति नाबालक धुलोमुलोमा हुर्किए वा सहाराबेगर विलुप्त भएर गए । बेपत्ता पारिएकाहरूको हकमा कति परिवारले फर्की आउने आशा मारेर १२ वर्ष बितिसकेको हुँदा काजक्रियासम्म पनि गरेको देखिएको छ ।

चैत १५ गते मारिने पनि गरिबै हुन् । श्रम नगरी छाक नटर्ने परिवारका सदस्य, प्रहरी पनि गुजाराको निम्ति केही उपाय नचली सिपाहीमा भर्ती हुन आउँछन् । सुरेश रजक खातापिता परिवारको सन्तान् हुँदा हुन् त डाक्टर वा इन्जिनिर बन्ने थिए होलान् ।
 
उक्त दिनको आन्दोलनमा ढुङ्गामुडा र आगजनी र बल प्रयोग गर्नेहरू पनि कुनै नेता वा गन्यमान्य व्यक्ति थिएनन् । आजभोलि ढुङ्गा इँटा हान्नेहरू ज्याला र भाडामा पनि पाइन्छन् । तसर्थ, मर्ने पनि गरिब र मार्ने पनि गरिब हुन् । यो घटनामा धेरैलाई गोली लाग्यो, धेरै प्रहरीहरू पनि घाइते भएका छन् । ती सबै सर्वसाधारण नेपाली जनता नै हुन् ।

यस्तो घटनामा सर्वविदितै छ नेपालमा छानबिन समिति गठन गर्ने नाटकको मञ्चन हुनेगरेको छ । तर, आजसम्म नेपालमा कुन घटनाको सत्यतथ्यसहितको वास्तविकता बाहिर आएको छ र ? प्रचलन के छ भने सरकारले आफूअनुकूलको व्यक्तिको मातहतमा अनुसन्धान गराउने गर्छ र आफ्नै अनुकूलको प्रतिवेदन तयार हुने गर्छ । 

सारांशमा आजसम्म सबै आन्दोलनको क्रममा गरीब र निमुखा नै मारिएका छन् । मर्नेको स्वजनलाई सहानुभूतिस्वरूप केही रकम क्षतिपूर्तिको रूपमा दिने चलन छ । यति गरिसकेपछि सरकारले आफ्नो कर्तव्य पूरा भएको ठान्छ । तर जसको आफन्त मारिन्छन् उसले त्यो घाउको पीडा बाँचुन्जेल सही रहनुपर्ने हुन्छ ।

नेपालमा आजसम्म आन्दोलनको इतिहास हेर्दा गरिब वर्गको मानवअधिकार स्थापना निम्ति भन्दै तिनलाई उचालेर आन्दोलनमा होमिएको देखिन्छ । तर जसै सत्ता परिवर्तन हुन्छ गरिब तहका मानिसहरू हिजो जहाँ थिए ती त्यही रहन्छन् । न त तिनको शिक्षादीक्षा रोजीरोटी पेसा व्यवसायको व्यवस्थाका निम्ति योजना नै कोरिन्छ न त तिनको स्तर उन्नतिका लागि विकासका योजना कार्यान्वयन हुनेगरेको छ ।
आजसम्मका अन्दोलन एउटा सत्ताधारीले एक अर्को सत्ताधारीलाई सत्ता सुम्पने कर्मकाण्ड हुँदैआएका छन् । सत्ता प्राप्तिमात्र सबैथोक होइन । सत्तामा नमरुन्जेसम्म लिसो झैँ टाँसी रहनु पनि महानता होइन । महानता प्राप्ति त धन हुने र मन हुनेले जनहितको काम गरे हुन्छ । जनताबाट सम्मान पाउने र तिनको मनमा बास गर्ने हो भने त्यो जतिको शक्तिशाली व्यक्तित्व कसैको हुँदैन । लङ्गौटी लगाएर भारतीय जनताको हित गर्न हिँडेका महात्मा गान्धीले राजसिंहासनमा बस्नु पनि परेन र प्रधानमन्त्री पनि हुनुपरेन । संसारले पनि उनलाई मानेको छ । धन नहुने तर मन हुनेहरूले पनि मौखिक रूपमा हात चलाएको भरमा गरिबी र पिछडिएका वर्गका निम्ति काम गरेर देवतुल्य बन्न सक्ने रहेछन् ।

नेपालमा सत्ता भए सबैथोक हुन्छ भन्ने प्रवृत्ति कायम हुँदा एकपटक सत्तामा आसीन भएपछि नछाड्ने प्रवृत्ति छ । कारण हो, सपरिवार आनन्दसँग लडीबुडी गरी यसो आरामका साथ बिहान बेलुकी अङ्गरक्षहरूबाट पाउने सलामी, जायज/नाजायज मार्गबाट अकुत धनको संग्रह र विदेशमा सम्पत्ति लुकाउने अवसर, सरकारी पैसामा सपरिवार देश विदेशको भ्रमण आदि जस्ता कुरा सरलसँग भोग्न पाइन्छ ।

आजसम्म सत्ताधारीहरूले जनताका लागि के के गरे ? कुनै समय राणाकालमा गल्लावालाहरूले नेपाली युवालाई गाउँ घर घुमीघुमी ब्रिटिस सेनामा भर्ती गराएबापत तत्कालीन शासकले बिट्रिस सरकारबाट मोटो रकमको थैली पाउँथे । आजभोलि त्यही कार्यको नाम वैदेशिक रोजगार राखिएको छ । मानव तस्करहरू गाऊँघरमा घुमेर मलेसिया, खाडी मुलुक, रुस र अरू जोखिमयुक्त मुलुकमा नेपाली युवालाई भर्ती गराउँछन् । भोक, शोक अभावमा हुर्केका ग्रामीण क्षेत्रका युवाहरूको शरीरमा मासु लागेको देखेपछि आकर्षण दिएर फकाएर विदेशमा पुर्‍याइन्छ । साबिकमा पजनी थियो ।  त्यो पजनी घुमउरो पारामा कानुनको रूपमा आएका छन् ।

सत्ताधारीहरू जो जसले एकपटक सत्ताको स्वाद चाखेको छ ऊ सत्ता प्राप्तिको खेलकै होडमा देखिन्छ । यसै खेलमा राणाले १०४ वर्ष पञ्चायतले तीस वर्ष प्रजातन्त्रले २०४६ देखि २०६२ सम्म अनि गणतन्त्रले १९ वर्ष भोग्यो । यसबीच सत्तामा बसी दोहन गर्नेले दोहन गरे तर जनता शून्यको शून्यमा रहे ।
 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro