site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र चलाउन चर्चा र भाइरलको पछि लाग्दै निर्माता/निर्देशक

काठमाडौं । समय फेरिए पनि नेपाली चलचित्रको प्रचारशैली फेरिएको छैन । पोस्टर, टिजर, ट्रेलर र गीत नै प्रचारको माध्यम बन्ने गरेका छन् । केही फेरिएको भनेको डिजिटल प्रचार हो, सामाजिक सञ्जालमार्फत गरिने पब्लिसिटी हो ।

मिडिया अन्तर्वार्ता र मोफसल टुर पनि चलचित्र प्रचारको पुरानै फर्म्याट हो । त्यसो भए नयाँ के त ? किन प्रचारको नयाँ शैली भित्र्याउन सकिएन ?

चलचित्रको प्रचारका लागि छुट्टै 'क्रिएटिभ' जनशक्ति र कम्पनी आवश्यक भइसकेको स्वयं चलचित्रकर्मी बताउँछन् । तर, यो आवश्कता पूर्ति गर्ने न कुनै कम्पनी जन्मिएको छ, न कुनै मेकर नै । त्यसैले जे छ, त्यही घिसिपिटीमै चलचित्रको प्रचार भइरहेको छ ।

त्यसैले होला, सायद आफ्नो चलचित्र चलाउन अहिले निर्देशक तथा निर्माताहरू सस्तो प्रचारमा केन्द्रित भएका छन् । भाइरलको पछि लागेका छन् ।

कोही आफ्नो चलचित्रको प्रचारका लागि ‘मिदी’का पछि लाग्छन् त कोही भाइरल ‘तरकारीवाली’को । कोही सन्नी लियोनीका पछि लाग्छन्, कोही चर्चित गायकको ।

चलचित्र ‘कबड्डी’को प्रचारका लागि भाइरल ‘मिदी’लाई प्रयोग गरिएको थियो । चलचित्रको हाइप बढाउन ‘पासवर्ड’ले गीतमा सन्नी लियोनीलाई आइटम गीतमा नचाएको थियो । 

सामाजिक सञ्जालमा को भाइरल छ, सके उसलाई चलचित्र खेलाउने नभए प्रचारमा प्रयोग गर्ने प्रवृत्ति बढेको छ । केही समयअगाडिदेखि यो चलन छ । 

पहिलो नेपाली पोर्नस्टार बन्छु भनेर चर्चामा आएकी अर्चना पनेरूलाई चलचित्र ‘छेस्को’को हिरोइन् नै बनाइएको थियो । अर्चना न त कलाकार थिइन् न त अभिनयमा रुचि । तर, चलचित्र निर्माता र निर्देशकले उनको चर्चालाई ‘क्यास’ गर्न खोजे ।

‘छेस्को’का निर्माता तथा निर्देशकलाई उनको चर्चा ‘क्यास’ गर्नुमात्रै थियो । निर्मार्ता र निर्देशक सफल भए ? यस सिनेमाको व्यापारले पनि देखाएको थियो ।    

“सस्तो र भाइरलको पछि लाग्दा त्यसको नकारात्मक असर पर्छ, यो केही हदसम्म देखिसकेको पनि छ,” अभिनेत्री वर्षा शिवाकोटी भन्छिन्, “चलचित्रकर्मी र उसले बनाएको ‘कन्टेन’ नै ‘स्मार्ट’ हुनुपर्छ ।” 

वर्षाको यो भनाइले भाइरलको पछि लागे पनि त्यसले मेकरको उद्देश्य खासै पूरा नभएको संकेत गर्छ । ‘छेस्को’को बक्सअफिस कलेक्सन निकै कमजोर थियो ।    

“भाइरल र चर्चाका लागि पछि लागे पनि त्यो दिगो समाधान होइन । जे चल्छ र जस्तो चल्छ भन्ने लाग्छ, त्यसलाई क्यास गर्न खोजेजस्तो देखिन्छ,” अभिनेत्री वर्षा भन्छिन्, “दीर्घकालीन हिसाबले भने यो राम्रो होइन ।”

मेकरले रचनात्मक पक्षमै जोड दिनुपर्नेमा उनको जोड छ । चलचित्रको प्रचार पनि सिनेमासँग कहीँ कतै जोडिनुपर्ने वर्षा बताउँछिन् ।

“बजारमा जे चलेको छ र त्यसलाई क्यास गर्दा फाइदा हुन्छ भन्ने लागेको खण्डमा पनि भाइरल भएको चिज सिनेमामा मिट गर्छ कि गर्दै भन्ने कुराले अर्थ राख्छ,” वर्षा अगाडि थप्छिन्, “भाइरलका पछि लाग्नु भनेको क्रिएटिभ पक्षमा कम्प्रमाइज गर्नु हो ।” 

‘भाइरल’ छोटो समयका लागि मात्रै हुने उनको भनाइ छ । करोडौँ रुपैयाँ लगानी गरेर बनाएको चलचित्र उल्टै जोखिममा पर्ने उनको बुझाइ छ । ‘भाइरल’ क्षणिक हुने भएकाले अन्ततः चलचित्रकर्मी रचनात्मकतामै फर्किनुपर्ने वर्षा बताउँछिन् ।

दुर्गेश थापा हरेक अन्तर्वार्तामा भन्दै आएका छन्– म खासमा गायक होइन, पफर्मर हुँ । स्वरले भन्दा पनि गीतको फरक डिजाइनले मेरो गीत चलेको हो ।

उनी स्वयं आफू गायक होइन भन्छन् । तर, चलचित्रकर्मी उनैलाई आफ्नो सिनेमामा गीत गाउन लगाउँछन् । दुर्गेशले ‘रंगी’ चलचित्रका लागि गीत तयार पारे । ‘ह्रस्व दीर्घ’का लागि गीत गाए । त्यसअघि उनले ‘छ माया छपक्कै’का लागि गीत गाएका थिए, ‘बिच्च बिच्चमा’ ।

त्यो गीत चलेपछि आफ्नो चलचित्रको हाइप बढाउन धेरै निर्माता र निर्देशकले दुर्गेशलाई खोज्छन् । 

आइतबारमात्र दुर्गेशले गाएको चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको छ । दुर्गेश पछिल्लो समय सिनेमाको पब्लिसिटीका लागि प्रोमोसनल गीत गाउँदैनन् । यदि, उनले प्रोमोसनल गीत गाउने हो भने हरेक चलचित्रमा उनका गीत हुने थिए । 

प्रोमोसनल सङ पनि चलचित्रको नजिक हुनुपर्छ । चलचित्रको विषयवस्तुसँग मेलखाने हुनुपर्छ । तर, पछिल्लो समय विषयको हिसाबले कुनै साइनो–सम्बन्ध नै नभएका गीत ओएसटी भन्दै चलचित्रको गीत भनेर राख्ने गरिएको छ । 

बजारमा को चर्चित छ, पपुलर छ, उसैलाई प्रयोग गर्ने गरिएको छ । यसको उदाहरणका रूपमा चलचित्र ‘लाज शरणम्’को ‘नेपाल हाँसेको’ र्‍यापलाई लिन सकिन्छ । यो र्‍याप ‘लाज शरणम्’का कति सान्दर्भिक थियो ? यो चलचित्र हेर्नेले समीक्षा गरिसकेका छन् । चलचित्र समीक्षकले लेखिसकेका छन् । 

तर, पनि किन राखियो ? प्रस्ट छ, काठमाडौं महानगरका मेयर बालेन शाहको लोकप्रियता । चलचित्रको निर्माण टिमले बालेनको लोकप्रियता क्यास गर्न खोजेको थियो ।

उनको र्‍याप राखेपछि पहिलो त चलचित्रको हाइप बढ्छ । दोस्रो, बालेनका शुभेच्छुकले चलचित्र हेरिदिन्छन् कि भन्ने अपेक्षा हो । सामाजिक सञ्जालमा राम्रो 'फ्यान फलोइङ' रहेको र उनका शुभेच्छुक पनि धेरै भएकाले बालेनले चलचित्रबारे केही सेयर गरिदिए पनि हलमा दर्शक आउँछन् भन्ने निर्माण टिमको विश्वासले उनको र्‍याप चलचित्रमा समावेश गरेको निर्विवाद सत्य हो । 

सकेसम्म नेपाली चलचित्रकर्मीले लोकप्रिय व्यक्ति कसैलाई छोड्दैनन् । र्‍यापर भिटेनको संघर्षमा चलचित्र बनाउने तयारी धेरै भइसक्यो । स्क्रिप्ट लेख्नका लागि 'स्क्रिप्ट राइटर'लाई उनले समय नदिएरमात्रै रोकिएको हो । यदि, उनले आफ्नो संघर्षको कथा बताइदिएको भए केही वर्षअगाडि नै भिटेनको बायोपिक आइसकेको हुन्थ्यो । 

सामाजिक सञ्जालमा लोकप्रिय रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङलाई त चलचित्रमा नै खेलाइसके । चलचित्र ‘खगुरे ब्रो’मा उनलाई छोटो भूमिकामा देखाइएको थियो । 

के भयो त परिणाम ? ‘खजुरे ब्रो’को पनि देखिसकेको छ । ‘लाज शरणम्’को पनि देखिसकेको छ । 

यतिमै कहाँ रोकियो र नेपाली चलचित्र उद्योग, राजनीतिक दलका शीर्ष नेतृत्वलाई खोलाउन पाए तीनका कार्यकर्ताले हेरिदिन्छन् कि भनेर बहालवाला प्रधानमन्त्रीलाई समेत आफ्नो चलचित्रमा खेलाउन भ्याए । 

चलचित्र ‘नमेटिने घाउ’मा बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित विभिन्न दलका शीर्ष नेतालाई छोटै भूमिकामा भए पनि खेलाए । चलचित्रको पोस्टरमै ओली र नेपालको तस्बिर राखेर बेच्ने प्रयास गरे । ठूला पार्टी र पपुलर नेतालाई अभिनय गराउँदा उनीहरूका कार्यकर्ताले चलचित्र हेरिदिन्छन् । र, बक्सअफिसमा चलचित्रले राम्रो व्यापार गर्छ भन्ने यसका मेकरको अपेक्षा थियो । 

परिणाम के भयो ? चलचित्रलाई दोस्रो दिन नै हलमा टिकाउन कठिन भयो । बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, माओवादी केन्द्रका नेता, राप्रपाका नेतासमेतले अभिनय गरेको चलचित्र दर्शकले रुचाएनन् । 

नेताको जतिसुकै पपुलारिटी होस्, जतिसुकै कार्यकर्ता हुन्, चलचित्र चलेन । यसले वर्षा शिवाकोटीले भनेको चलचित्र चल्न अन्ततः कन्टेन्ट नै चाहिन्छ भन्ने कुरालाई पुष्टि गर्छ । 

पपुलर अनुहार, चर्चा र सस्तो प्रचारले चलचित्र चल्दैन भन्ने कुरा प्रस्ट पार्छ । चलचित्रसँग साइनो सम्बन्ध नहुने ओएसटीले पनि चलचित्र चलाउने क्षमता नराख्ने अहिलेसम्मको अभ्यासले प्रस्ट हुन्छ । 

सामाजिक अभियन्ता हुन् वा नेता अथवा गायक, अनुहार हेर्न दर्शक हलमा जाँदैनन् । चलचित्र त्यसको ‘मेरिट’ अथवा गुणका आधारमा चल्छ । राम्रो छ भने चल्छ, नराम्रो भए चल्दैन ।

तर, निर्देशक र निर्माता बजारमा कसको चर्चा छ, सामाजिक सञ्जालमा कसको फलोअर्स बढी छ, उसैलाई चलचित्रमा खेलाउन र गाउन लगाउन केन्द्रित छन् । अहिलेसम्मको अभ्यासले यो प्रयोग असफल भइसकेको आँखै अगाडि छ । तर, पनि किन सचेत हुँदैनन्, निर्देशक तथा निर्माता ?

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro