
जनकपुर । कोरोनाले सबैभन्दा बढी प्रभावित जिल्लामध्ये एक हो पर्सा । मुलुकमा आवश्यक सबैभन्दा बढी उपभोग्य वस्तु आयात हुने प्रमुख भारतीय नाकाले वीरगन्ज महानगरपालिकालगायत जिल्लाभर असर पुगेको छ । वीरगन्जमा मालबाहक यातायातका साधनसँगै मानिसहरु सहजै सीमा वारिपारी गरिरहेका छन्, यो नै कोरोनाको दृष्टिकोणले सबैभन्दा बढी जोखिम हो । प्रभावकारी व्यवस्थापन हुन नसक्दा यही नाकाले काठमाडौंसम्म संक्रमणको असर फैलिएको सरोकारवाला बताउँछन् ।
पर्सामा मात्रै बिहीबारसम्म संक्रमितको संख्या दुई हजार ३०२ पुगिसकेको छ । जिल्लाका ३६ जना संक्रमितको ज्यान गइसकेको छ । संक्रमित र मृतकको संख्या आधारमा देशकै सबैभन्दा बढी प्रभावित जिल्ला पर्सा हो ।
कोरोना संक्रमितको सकेसम्म ज्यान जोगाउन वीरगन्जमा रहेको नारायणी अस्पतालले हालै उपचार विधिमा ‘प्लाज्मा थेरापी’ थपेको छ । यसले धेरै हदसम्म मृत्युदर घटाउने विश्वास व्यक्त गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सञ्जय ठाकुरले प्लाज्मा थेरापीप्रति चिकित्सकको भरोसा बढेको बताउँछन् ।
सबभन्दा पहिले प्लाज्मा के हो भनेर बुझ्नु आवश्यक छ । मानिसको रगतमा रहेको तरल पदार्थ हो प्लाज्मा । रातो कोष, सेतो कोष, प्लेटलेट र तरल पदार्थ मिलेर रगत बनेको हुन्छ । तीमध्ये रातो कोष, सेतो कोष र प्लेटलेट छुट्याएर हटाइदिएपछि बाँकी रहेको तरल पदार्थ नै ‘प्लाज्मा’ हो ।
के हो प्लाज्मा थेरापी ?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले अनुसन्धानकै क्रममा यो विधि कोरोना संक्रमण भएर अति सिकिस्त बिरामीलाई बचाउन प्रयोग गरिरहेको छ । यो विधि डा. ज्ञानेन्द्र कार्कीको अगुवाइमा पहिलोपटक काठमाडौंस्थित शिक्षण अस्पतालमा सुरु गरिएको थियो । त्यहाँ सफल परिक्षणपछि धरान र बुटबलमा पनि सुरु भयो । यतिबेला डा. ठाकुरको सक्रियतामा वीरगंजको नारायणी अस्पतालमा पनि प्लाज्मा थेरापी गर्न थालिएको छ ।
कोरोना संक्रमितमा तीन प्रकारका बिरामी देखिएका छन् । समान्य अवस्थाको, गम्भिर अवस्थाको र अति गम्भिर । बिरामीको स्वास्थ्य अवस्था अति गम्भिर भएपछि अन्त्यमा भेन्टिलेटरमा राखेर उपचार गरिन्छ ।
खासगरी भेन्टिलेटरमा पुगेका बिरामीलाई जोगाउन चिकित्सकले निकै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । भेन्टिलेटरबाट बिरामीको स्वास्थ्य अवस्थामा सुधार आउने सम्भावना निकै कम हुन्छ । यस्तो बेला प्लाज्मा थेरापीले राम्रो काम गरेको अनुभव डा. ठाकुरको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा एक त भेन्टिलेटरकै अभाव छ । जहाँ भेन्टिलेटर उपलब्ध छ त्यहाँ सञ्चालन गर्ने दक्ष जनशक्तिको अभाव छ ।
यस्तो अवस्थामा प्लाज्मा थेरापी भरपर्दो विधि सावित भएको बताउँछन् ठा. ठाकुर, “अति गम्भिर बिरामीलाई प्लाज्मा थेरापी गरेपछि उसलाई तत्काल खतरा बाहिर ल्याउन सक्ने सम्भावना उच्च हुन्छ । यो गरे पनि कुनै बिरामीलाई भेन्टिलेटरमा पठाउनुपर्ने अवस्था पनि आउन सक्छ । तर, धेरै हदसम्म यो थेरापीले तत्काल बिरामीलाई भेन्टिलेटरमै पठाउनुपर्ने बाध्यताबाट मुक्त गराउन सक्छ ।”
यसको प्रमुख तीन फाइदा छन् । अति गम्भीर बिरामीलाई केही सुधारको अवस्थामा ल्याउँछ । जसले गर्दा भेन्टिलेटरको आवश्यकता कम गर्छ । अर्को, बिरामीको लक्षण कम हुँदै जान थाल्छ । यो थेरापी सुरु गरेको तेस्रो दिनसम्म लक्षण हराउने सम्भावना बढी हुन्छ । र तेस्रो फाइदा भनेको प्लाज्मामा रहेको एन्टीबडीले भाइरसलाई मार्ने काम गर्छ र यसले करिब सात दिनसम्ममा बिरामीलाई भाइरसमुक्त गर्न सक्छ ।
बिरामीलाई कसको प्लाज्मा दिने ?
डा. ठाकुरका अनुसार कोरोना भाइरस संक्रमण भएकामध्ये रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता उच्च हुने व्यक्ति मात्र पुनः स्वस्थ हुन सक्छ ।
कोरोनालाई जितेपछि उसको शरीरमा एन्टिबडी निर्माण हुन पुग्छ । त्यसैले एकपटक कोरोना संक्रमित भएको व्यक्ति कोरोनामुक्त (निगेटिभ रिपोर्ट) भएपछि संक्रमित भएर सिकिस्त भएका बिरामीलाई आफ्नो प्लाज्मा दान दिएर जोगाउन सकिन्छ । कम्तिमा १८ वर्ष उमेर पुगेको, ५५ किलो तौल भएको, कुनै दीर्घरोग नभएको र पूर्ण स्वास्थलाभ भएको व्यक्तिले कोरोना संक्रमित भइ मुक्त (नेगेटिभ) भएको १५ दिनपछि प्लाज्मा दान गर्न सक्छन् ।
यसका लागि नारायणी अस्पतालको सहयोगमा रेडक्रसको शाखामा प्लाज्मा संकलन केन्द्र तथा प्लाज्मा बैंक नै खडा गरिएको डा. ठाकुरले बाह्रखरीलाई जानकारी दिए ।
उनका अनुसार एकजनाको प्लाज्माबाट तीनजना बिरामीको थेरापी गर्न सकिन्छ । नेपालमा प्लाज्मा संकलन गर्ने मेसिन पर्याप्त छैन । यो धेरै महँगो पनि हुन्छ । त्यसैले तत्काल एक पिन्ट रगत लिएर त्यसबाट रातो कोष, सेतो कोष र प्लेटलेट हटाएर प्लाज्मा तयार गर्ने गरेको उनले बताए । यो केही झन्झटिलो जस्तो देखिए पनि कोरोना संक्रमित भई अत्यन्तै गम्भीर अवस्थामा पुगेका बिरामीलाई जोगाउन प्लाज्मा थेरापी विधि प्रभावकारी रहेको डा. ठाकुरको भनाइ छ ।
सांकेतिक तस्बिर