
जनकपुर । रौतहटको गरुडा इलाका प्रहरी कार्यालयमा एकजना थुनुवाको मृत्यु प्रकरणले उत्पन्न भएको तनाव अझै सेलाएको छैन । प्रहरीले दिएको यातनाकै कारण थुनुवाको मृत्यु भएको भन्दै मृतक पक्षले लगातार प्रदर्शन गरेपछि कार्यालयका इन्चार्ज डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको छ ।
यतिले पनि माहोल शान्त नभएपछि प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले यातना दिने प्रहरी कर्मचारीलाई तत्काल निलम्बन गरी कारवाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ ।
मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले लेखेको उक्त सिफारिस पत्रमा भनिएको छ, “मृतकको शव परीक्षणमा संलग्न चिकित्सकको प्रारम्भिक भनाइअनुसार मृतकको हात र पिठ्यूँमा चोटको निशान देखिएको छ । तसर्थ यस घटनामा संलग्न दोषी प्रहरी कर्मचारी उपर प्रारम्भिक प्रतिवेदनको आधारमा तत्काल निलम्बन गरी विश्वसनीय छानबिन प्रक्रिया अगाडि बढाइ कानुन बमोजिमको कारवाही गर्न मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ४ को उपदफा १ को देहाय (च) बमोजिम सिफारिस गरिन्छ ।”
के हो घटनाको रहस्य ?
घटना गत साउन ३१ गतेको हो । रौतहटको गरुडा नगरपालिका –८, जिगंडिया घर भएका २२ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या गरियो । गाउँदेखि करिब एक किलोमिटर दुरीमा ठूलो नर्सरी छ । स्थानीय लखन साहले फलफुलका बोट, विरुवा हुर्काएर बेच्न तयार पारिएको उक्त नर्सरीमा निरञ्जन सात वर्षदेखि कामदार थिए ।
साउन ३१ गतेको दिन आमाले निरञ्जनलाई घर बोलाउन नर्सरी पुगेकी थिइन् । नर्सरीका साहु लखन साहले ‘आज धेरै काम छ, बरु भोलि घर जान सकिन्छ’ भन्दै फर्काएका थिए । कामको चाप देखेर निरञ्जनले ‘समय पाए साँझसम्म आउने नभए भोलि’ भन्दै साहुसँगै दुई सय रुपैयाँ मागेर आमालाई थमाइदिए र काममा लागे । आमा घर फर्किइन् ।
साँझ धर्मगुरु रामरहिमको जन्मदिन अवसरमा नर्सरीमै भोज आयोजना गरिएको थियो । लखन साह आफु शाकाहरी रहेको हुँदा नर्सरीमा शाकाहारी भोजकै आयोजना गरिएको थियो । केही कामदारलगायत युवाहरुलाई नजिकैको एक होटलमा मदिरासहितको भोज व्यवस्था गरिएको थियो ।
निरञ्जनलगायत केही युवाहरु लखन साहकै खर्चमा आयोजना गरिएको होटलको भोजमा सहभागी भए । निरञ्जनसँगै उनकै गाउँका शेख आजाद पनि उक्त भोजमा सहभागी थिए । कोही अपरिचित व्यक्ति आएर शेखलाई ५० हजार रुपैयाँ थमाइदियो । खानपिन सकेपछि सबैजना घर जाने सल्लाह भयो । त्यसको केही बेरपछि गाउँभन्दा केही परको दुरीमा पुगेपछि बाटो छेउमै निरञ्जनको घाँटी रेटेर पानीमा फालियो ।
घटनावारे भोलिपल्ट बिहान मात्रै गाउँमा हल्ला फैलियो । प्रहरीले अपराधी खोज्न सुरु गर्यो । गरुडास्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज डीएसपी ज्ञानकुमार महतो आफैँ पनि हत्यारा खोज्न सक्रियतापूर्वक लागे । साँझसम्म ११ जना पक्राउ परे । प्रहरीले नर्सरी सञ्चालक लखन साह र राजाराम साहसमेत उनका दुई छोरा, स्थानीय विजय राम, अजय रञ्जन (राम), अर्जुन राम, सिकेन्द्र पासमान, विवेक यादव र शेख आजाद सहितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढायो ।
घटना अनुसन्धानको क्रममा शेख, अजय, विजय, अर्जनु, विवेक, राजाराम र राजारामका भाइविरुद्ध प्रहरी प्रतिवेदनको आधारमा मुद्दा दर्ता भयो । अन्य चार जनाको संलग्नता नदेखिएको भन्दै प्रहरीले सोधपुछ गरी छोड्यो । निरञ्जनको परिवारले लखन साह, उनका दुई छोरा र गाउँकै शेख आजादविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो ।
घटना अनुसन्धानकै क्रममा भदौ १० गते निरञ्जनको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका सात जनामध्ये विजय राम सिकिस्त भए । उनलाई उपचारको लागि वीरगञ्जस्थित नेश्शनल मेडिकल कलेजमा पठाइयो । उपचारको क्रममा त्यहीँ उनको मृत्यु भयो । प्रहरीले विजयको दुवै किड्नीमा समस्या आएपछि डाइलासिस पनि भइरहेको अवस्थामा स्वास्थ्य समस्या आएर मृत्यु भएको दाबी गरिरहेको छ । मृतक परिवारले भने प्रहरीले दिएको यातना सहन नसकेर विजयको मृत्यु भएको आरोप लगाइरहेको छ ।
विजयको मृत्यु भएको दोस्रो दिन मृतक पक्ष प्रहरीविरुद्ध प्रदर्शनमा उत्रिए । उनीहरुको भीडलाई साम्य पार्न नसकेपछि तत्काल इलाका प्रहरी कार्यालयका इन्चार्ज महतोलाई प्रदेश प्रहरीको कार्यालय, जनकपुर बोलाइयो । स्थानीयले महतोलाई तत्काल निलम्बन गरी विजयलाई यातना दिने प्रहरी कर्मचारीविरुद्ध कारवाही माग गर्दै प्रदर्शन गरिरहेको छ ।
यसैबीच, प्रदेशस्थित मुख्य न्यायाधिवक्ताको कार्यालयले विजयलाई यातना दिने प्रहरी कर्मचारी विरुद्ध प्रहरी प्रतिवेदन आधारमा निलम्बन गरी कारवाहीको सिफारिस गरेको हो ।
सांकेतिक तस्बिर