
जनकपुर । प्रदेश २ मा सोमबार कोरोना लागेका चार जनाको मृत्यु भएको छ ।
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका –३ का ४० वर्षीय एक जना पुरुष, पर्सा जिल्लाको वीरगंज महानगरपालिका –२४ का ८० वर्षीय एक जना पुरुष, महोत्तरी जिल्लाको मनरासिसबा नगरपालिका –१ की चार वर्षीया एक बालिका र जलेश्वर नगरपालिका –२ की ६२ वर्षीया एक जना महिलाको मृत्यु भएको हो ।
सोमबार मृत्यु भएका चार जना मध्ये महोत्तरी, जलेश्वरकी ६२ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने दुई जनाको वीरगंज र एक जनाको महोत्तरीमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यी चार जनासमेत यस प्रदेशमा मृतकको संख्या ९० पुगेको छ ।
सोमबार प्रदेशका आठ मध्ये विभिन्न सात जिल्लामा एक सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषामा चार जना महिलासमेत २९ जना, महोत्तरीमा पाँच जना महिलासमेत सात जना, बारामा पाँच जना महिलासमेत २३ जना, पर्सामा आठ जना महिलासमेत ३४ जना, सर्लाहीमा २० जना महिलासमेत एक सय जना, सप्तरीमा एक जना महिला र रौतहटमा एक जना महिलासमेत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।