
जनकपुर । प्रदेश २ मा कोभिड १९ संक्रमितको संख्या १० हजार नाघेको छ ।
आइतबार मात्रै यस प्रदेशमा २२७ जना संक्रमित थपिएका छन् । यी समेत कुल संक्रमितको संख्या १० हजार २२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आइतबार संक्रमित पुष्टि हुनेमा धनुषाका १४ जना महिलासमेत ७१ जना, महोत्तरीका सात जना महिलासमेत ३५ जना, सिरहाका एक जना महिलासमेत दुई जना, बाराका आठ जना महिलासमेत ३० जना, पर्साका १९ जना महिलासमेत ४९ जना, सर्लाहीका एक जना पुरुष, सप्तरीका एक जना महिलासमेत चार जना र रौतहटका एक जना पुरुष छन् ।
आइतबार १९ जना महिलासमेत ११४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमण मुक्त भएकाको कुल संख्या चार हजार ८४९ पुगेको छ ।
थप दुई जनाको मृत्यु
आइतबार कोरोना लागेका दुई जनाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका -२ की ६० वर्षीया एक जना महिला र रौतहटको मौलापुर नगरपालिका -३ का ३० वर्षीय एक जना पुरुषको मृत्यु भएको हो । यो समेत यस प्रदेशमा मृतकको संख्या ८६ पुगेको छ ।