site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
नेपाल-भारत सीमामा बुद्धको मूर्ति भेटाउने नेपाली एसएसबीको नियन्‍त्रणमा

जनकपुर । महोत्तरीको मनरासिसबा नगरपालिका ९, बथनाहाबाट भारतीय सुरक्षाकर्मी (एसएसबी) को टोलीले एक युवालाई नियन्त्रणमा लिएको छ ।

बथनाहा घर भएका २० वर्षीय बलिन्द्र सदालाई सीमा क्षेत्र (नोमेन्स लाइन) बाट करिब डेढ मिटरभित्र पसेर एसएसबीको चारजनाको टोलीले नियन्त्रणमा लिएको स्थानीयले जनाएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका स्थानीय चन्दन दुवेका अनुसार सदालाई एसएसबीले सीमापारी सहश्राममा रहेको एसएसबी क्याम्पमा थुनेर राखेको छ ।

घटना बुधबार बिहानको हो । बथनाहा सदा बिहानै उठेर सीमापारि एउटा पानी जमेको खाल्टोमा माछा मार्न गए । पानीमा उनले कुनै धातुले बनेको गौतम बुद्धको आकर्षक मूर्ति भेटाए । मूर्ति पाउनेबित्तिकै खुसीले गद्‍गद भएका सदा ‘भगवान भेटाएँ’ भन्दै उफ्रिँदै घर फर्किए । गाउँमा मूर्ति हेर्न भिड नै लाग्यो ।

केही बेरपछि नेपालतर्फका एकजना माछा मार्ने व्यक्तिले पानी भरेको खाल्टोमा गौतम बुद्धको मूर्ति फेला पारेको भन्दै पारितर्फको गाउँमा पनि हल्ला फैलियो । लगत्तै सहश्राम क्याम्पबाट एसएसबीका चारजनाको टोली बथनाहा आइपुग्यो । 

उनीहरुले भारतीय भूमिबाट ल्याएको मूर्ति फिर्ता मागे । सदाले मूर्ति दिन नमानेपछि त्यहीँबाट उनलाई नियन्त्रणमा लिएर गएको दुवेले जानकारी दिए । 

स्थानीय मरुवाही प्रहरी चौकीका इन्चार्ज असई देवेन्द्र गिरीले घटनालाई पुष्टि गरेका छन् । “घटनाबारे मैले जानकारी पाउँदा तथ्य बुझ्‍ने प्रयास गरेको छु,” असई गिरीले बाह्रखरीसँग भने, “बलिन्द्र सदाले भारतीय भूमिमा मूर्ति भेटेको विषयमा द्विविधा छैन । जहाँसम्म बलिन्द्रलाई एसएसबीले नियन्त्रणमा लिएको भन्‍ने कुरो छ, स्थानीयले उसको घरबाटै नियन्त्रणमा लिएको भनिरहेका छन् । एसएसबीले भने सीमापारिबाटै नियन्त्रणमा लिएको जिकिर गरिरहेको छ ।” 

एसएसबीको उक्त क्याम्पका इन्चार्ज काम विशेषले सीतामढी पुगेको र त्यहीँका अर्को एकजना सिभिल पोसाकमा रहेका प्रतिनिधिसँग कुरा गर्दा आफूले त्यस्तो जानकारी पाएको गिरीले बताए । उनले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको बाह्रखरीलाई बताए ।

स्थानीय बासिन्दासमेत रहेका नेता दुवेले भने मूर्तिवारि वा पारि जहाँ भेटे पनि एसएसबीले नेपाली भूमिमा प्रवेश गरी कुन अधिकारलाई टेकेर नेपाली नागरिकलाई नियन्त्रणमा लिएको भन्‍ने प्रश्‍न तेर्स्याएका छन् । “मैले बुझेसम्म एसएसबीले त्यसै पनि कसैलाई गिरफ्तार गर्ने अधिकार छैन । अझ नेपाली भूमिमा प्रवेश गरी एक नेपालीलाई नियन्त्रणमा लिन कोसँग अनुमति लिएको हो ?” दुवेले भने, “भारतीय पक्षले यो ज्यादती गरेको हो । यो ज्यादतीविरुद्ध हामी संघर्षमा उत्रिनु नपरोस् ।”

बलिन्द्र सदालाई एसएसबीले नियन्त्रणमा राखेर कुटपिट गरेको जानकारी पाएको बताउँदै तत्काल बिनाकुनै सर्त रिहा गर्न माग गरे । उनले यो विषयलाई समान्य रुपमा नलिएर राज्यको सुरक्षा चुनौती र भारतीय पक्षको ज्यादतीलाई गम्भीर रुपमा लिन नेपाल सरकारसँग माग गरे । 

क्याप्सन
हिलो-पानीमा बलिन्द्र सदाले भेटाएको बुद्धको मूर्ति ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro