
जनकपुर । प्रदेश २ मा मंगलबार ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । तीमध्ये पर्सामा मात्रै १२४ जना संक्रमित थपिएका हुन् ।
मंगलबार पर्सा जिल्लामा २९ जना महिलासमेत १२४ जना, बारामा १२ जना महिलासमेत ५९ जना, धनुषामा १२ जना महिलासमेत ५४ जना, महोत्तरीमा चार जना महिलासमेत १३ जना, सिरहामा दुई जना महिलासमेत १३ जना, सर्लाहीमा दुई जना महिलासमेत तीन जना, रौतहटमा १९ महिलासमेत ४४ जना र सप्तरीमा पाँच जना महिलासमेत १४ जना संक्रमित थपिएका हुन् ।
पर्सा जिल्ला प्रहरी कार्यालयमा पाँच जना, पर्साकै विर्ता प्रहरी चौकीका दुई जना र धनुषा प्रहरीका एक जनासमेत मंगलबार आठ जना सुरक्षा निकायका व्यक्तिमा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै, जानकी हेल्थकेयरका पाँच जना, जानकी मेडिकल कलेजका दुई जना, नेश्नल मेडिकल कलेजका दुई जना गरी स्वास्थ्य निकायका नौ जना संक्रमित भएका छन् ।
मंगलबारसम्म यस प्रदेशमा कुल संक्रमितको संख्या सात हजार पाँच सय पुगेको छ । ती मध्ये तीन हजार सात सय ९० जना डिस्चार्ज भएका छन् । मंगलबारमात्रै ४८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।