
जनकपुर । धनुषाको सबैला नगरपालिकामा नगर प्रमुख विजयशंकर प्रसाद साहविरुद्ध उपप्रमुख निलु देवी कापरका सहयोगी, समर्थकसहित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।
नगर क्षेत्रमा कोरोना संक्रमण फैलिएपछि नगर कार्यपालिकाले नै नगर क्षेत्रमा हाट, बजार लगायत कुनै किसिमको बैठक, भेला, जुलुस लगायत क्रियाकलाप नगर्न नगराउन सर्वसधारणको नाउँमा आदेश जारी गर्ने निर्णय गरेको थियो । नगर कार्यपालिकाको उक्त निर्णयलाई धज्जी उडाउँदै आइतबार नगर क्षेत्रभर प्रदर्शन तथा कोणसभा आयोजना गरिएको हो ।
दुई सय भन्दा बढी मोटरसाइकलमा निस्केका प्रदर्शनकारीले नगर प्रमुख साह विरुद्ध नारावाजी गर्दै नगरपालिकाका सबै वडा घुमेका छन् । नगर प्रमुख साहले बन्दाबन्दीको मौका छोपेर चुरे क्षेत्रबाट काठ ओसारपसार गरी अवैध कारोबार सञ्चालन गरेको आरोप उपप्रमुख कापरको छ । कापरका श्रीमानसमेत रहेका पूर्व गाविस अध्यक्ष रामपदार्थ कापरको नेतृत्वमा निस्केको जुलुसमा नगरका पार्टी नेतासहित सर्वसधारणको समेत सहभागीता रहेको उपप्रमुखको भनाई छ ।
दुई साता अगाडि चुरे क्षेत्रबाट तीन वटा ट्रयाक्टर लोड भएको काठ सहित प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले काठसहित ट्रयाक्टर नियन्त्रणमा लिएपछि सबैलाका नगर प्रमुख साहले इलाका प्रहरी कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्म पुगेर छुटाउन प्रयास गरेका थिए । प्रहरीले काठ खरिद गरेको कागजात उपलब्ध गराउन भनेपछि साह पछि हटेका थिए ।
नगर उपप्रमुख कापरले अवैध ढुवानी भइरहेको काठ नियन्त्रणमा लिएर प्रहरीले सर्जमिन गर्दा स्थानीयले प्रष्ट रुपमा साहको काठ रहेको भनेको हुँदा सोही अनुरुप कारवाही प्रक्रिया अघि बढ्नुपर्ने माग गरेकी छिन् ।
कोरोना कहरको बहाना बनाएर विकासको काम ठप्प पारी अवैध कारोबारमा सक्रिय भएको भन्दै कापरले साह विरुद्ध भ्रष्टाचार मुद्दामा कारवाही चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेकी छिन् । प्रदर्शनमा नेकपाका स्थानीय नेता कापरसमेत कारी यादव र जुगेश्वर यादव लगायत सहभागी थिए ।