
जनकपुर । प्रदेश २ मा मंगलबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । यो घटनासहित मृतकको संख्या धनुषामा चार पुगेको छ । प्रदेश २ मा भने अहिलेसम्म कोरोना संक्रमणबाट ३१ जनाको मृत्यु भइसकेको पनि मन्त्रालयले पुष्टि गरेको छ ।
मंगलबार जनकपुरस्थित बैंकको एउटै शाखामा ६ जनासमेत प्रदेश २ मा १७४ जनामा संक्रमण भएको छ । तीमध्ये धनुषामा १८, महोत्तरीमा १०, सिरहामा नौ, बारामा सात, पर्सामा ६५, सर्लाहीमा २१, रौतहटमा ४० र सप्तरीमा चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धनुषाको मुक्तिनाथ बैंकका दुई महिलासमेत ६ जना, जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाका सात र एनबी बैंक, राष्ट्रिय वाणिज्य बैंक, हंसपुर नगरपालिका, जनकनन्दनी गाउँपालिकामा एक-एक जनाका दरले संक्रमित भएका छन् ।
महोत्तरीको जिल्ला प्रशासन कार्यालयमा एकजना, जिल्ला अस्पतालमा दुई, जलेश्वर नगरपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको छ । बारामा सशस्त्र प्रहरी बल, निजगढका एकजनासहित सातजनामा संक्रमण देखिएको छ । पर्साको बिर्तास्थित वडा प्रहरी कार्यालयमा एक महिलासमेत आठजना, जिल्ला प्रहरी कार्यालयका एकजना, कृषि सामग्री लिमिटेडका एकजना, नेसनल मेडिकल कलेजका तीनजना, नारायण अस्पतालका तीन महिलासमेत चारजना, बिर्ताका १० जना र वीरगन्ज महानगरपालिकास्थित विभिन्न वडाका २४ जनासमेत ६५ जनामा संक्रमण पुष्टि भएको छ । योसमेत यस प्रदेशमा जम्मा संक्रमितको संख्या ६ हजार ६८ पुगेको छ ।